शाम्बाला : पेमाको आत्मिक यात्रा

शाम्बाला : पेमाको आत्मिक यात्रा


आफ्नै विवाहको तयारी गरिरहेकी पेमा (थिन्ले ल्हामो) लाई थाहा छ, आफ्नो विवाह तीन जना पुरुषसँग हुँदैछ। डोल्पाको बहुपति प्रथाको चलन रहेको समाजमा विवाहयोग्य स्त्रीलाई चलनको विषयमा थाहा नहुने भन्ने पनि हुन्न। पेमालाई जब उनको आमाले स्त्रीको पति बहु भए पनि प्रिय पति भने एकै हुन्छ भनेर सिकाइरहेकी हुन्छिन् त्यसले बहुपति प्रथा र यससँग जोडिएको स्त्रीको मनस्थिति बुझ्न थोरै मद्दत गर्छ र चलचित्रले बोक्ने मर्मलाई सम्बोधन गर्ने छाँट देखाउँछ।

डोल्पा पुगेर आफ्नो दोस्रो फिचर फिल्म खिचेका मीनबहादुर भामले सामाजिक परम्परा, पितृसत्तात्मक चिन्तन, हिमालको सुन्दरता र कुरुपता र दर्शनलाई घोलमेल गरेर सुन्दर फूलबारीको निर्माण गर्नमा धेरै हदसम्म सफल भएका छन्। भामले मक्किइसकेको थोत्रो नेपाली सिने निर्माण विधिमा अन्तिम काँटी नभए पनि धेरै गह्रुंगो हम्मरले प्रहार गरेका छन्। त्यो विधि पुन: बौरिए नेपाली सिने दर्शकहरुले दुखान्तको अर्को अध्याय झेल्न बाध्य हुनेछन्। चलचित्र हेरिसकेपछि अन्तर्राष्ट्रिय रूपमा ख्यातिनाम प्राप्त भामको दोस्रो चलचित्रले किन यत्रो विघ्न चर्चा पायो भनेर सायदै दर्शकले कपाल दुखाउनुपर्नेछ। तर पनि चलचित्र गति निस्तेज रह्यो भन्ने टिप्पणी प्रति निर्देशक भाम गम्भीर नै रहलान् भन्ने अपेक्षा छ र नेपाली कथा पनि सब-टाइटल हेर्नुपर्‍यो भने निधारका रेखा खुम्च्याएर गरिने टिप्पणी प्रति किञ्चित ध्यान दिनुहुँदैन भन्ने नमागिएको सल्लाह समेत छ।

पेमाको विवाह तीन दाजुभाइ– जेठो टासी (तेन्जिन दल्ह), माहिलो कर्मा (सोनाम तोप्देन) र कान्छो दावा (कर्म वाङ्याल गुरूङ) सँग परम्परा अनुसार एकै पटक भएको छ। विवाह समारोहमा धार्मिक संस्कार चलाउन बसेको रिम्पोचेले जेठोलाई सफल दाम्पत्य जीवनको, माहिलोलाई परिआए अध्यात्मिक चीवर फेरेर सांसारिक म्याख्ला लगाउने र कान्छोलाई चकचक नगर्ने आशीर्वाद दिएका छन्।

पेमामा स्वविश्वास छ, गहिरो सुझबुझ छ, विवाह गरेर आएको घर र घरका तीन श्रीमान् प्रति राख्नुपर्ने माया र ममतामा सचेत छिन्। माहिलो कर्मा गुम्बा जान खोज्दा आफ्नो घोडा चढेर जान भन्छिन् भने कान्छो दावाको बिग्रँदो पढाइ प्रति चिन्तित छिन्।

पेमा तीन भाइकी एकल श्रीमती भए पनि, जेठो टासीको पेमाप्रति पहिलो हक छ। टासी र पेमा विवाह पछिको प्रेमपूर्ण परिवेशमा यसरी रमेका छन् कि टासीले तिब्बत जाने चिठी गाउँलेका अगाडि पढ्न सुरू गर्दा नै पेमाको बदलिएको भावभङ्गिमाले धेरै गहिरो भावनात्मक रसको छनक मिल्छ।

टासी व्यापारको सिलसिलामा तिब्बतलाई गोडा लम्काइरहेको बेला पेमालाई कान्छो श्रीमान् दावाको पढाइको सिलसिलाले राम सर (कर्मा) सँग भेट गराउँछ भने सो भेटले पेमालाई अन्तिमसम्म नमेटिने चोट दिन्छ।

पेमाको गर्भमा रहेको भ्रूणलाई समाजले राम सरको हो भनेर हल्ला उडाउन थालेपछि समाजले त पेमालाई लाञ्छना लगाउँछ नै सँगै पेमाको नाबालक श्रीमान् दावाको अहम् समेत चोटिल हुन्छ। तिब्बतबाट घर फिर्ता हुने गाउँलेको भीडमा पेमाले टासीलाई नदेखेपछि पेमाको मनमा चिसो पस्छ।

मनको चिसो टासीको सहयात्रीहरूसँग बाँडेपछि पेमाले गाउँको हल्लाले टासीको मन भरङ्ग भयो र मुख लुकाउन टासी गाउँलेका आँखा छलेर उतै बसे भन्ने थाहा पाउँछिन्। पेमाको टासीलाई भेट्टाउन र कुरा स्पष्ट पार्न निस्किएको यात्राले पेमालाई शाम्बाला प्राप्त हुन्छ, पेमाको आत्मिक यात्रा पूर्ण हुन्छ।

पेमा, टासी, कर्मा र राम सर 

पेमाको स्वभाव हक्की र आत्मविश्चासले पूर्ण छ। आफ्नो विवाहको तयारीमा आफैं खटिएकी पेमालाई थाहा छ, एकै पटक तीन जना पतिसँग विवाह गर्दाको परिणाम र त्यसको लागि तयार देखिन्छिन्।

टासीसँगको प्रेमालापपछि माहिलो श्रीमान्‌लाई गुम्बा जाने बेला आफ्नो अति प्रिय घोडा लैजान आग्रह गर्नु, कान्छो र नाबालक श्रीमान्‌लाई रातमा तारालाई हेरेर जिब्रो निकालेर बस्न लगाउनु र पढाइप्रति चिन्तित हुनुले पेमाको सुझबुझलाई समेत दर्शाउँछ। टासीलाई खोज्न दावालाई एउटा चिठी लेखेर बिदाइ हुनु र आफ्नै आमालाई झुक्याएर लामो यात्रामा निस्किनुले पेमाको आत्मविश्वासको झलक दिन्छ।  लामो दूरीको यात्रामा लक्ष्य बोकेर निस्कने काम आत्मविश्वासी बाहेक अति वा अल्पविश्वासीबाट सम्भव हुँदैन।

पेमाको शाम्बाला (बौद्ध दर्शन अुनसार परम आनन्द/शान्तिको स्थान) पनि सानो हौसलाबाट प्राप्त हुने कुरा थिएन। त्याग र तपको अतिशय आहुति बेगर शाम्बाला प्राप्त पनि हुँदैन। आफूप्रतिको विश्वास साथ निस्किएकी पेमा समाजलाई आफ्नो अन्तिम परीक्षा त लिन दिएकी छिन् तर परीक्षाको परिणामबाट आफू धेरैमाथि पुगिसकेकी छिन्।

टासी सामान्य व्यापारी हो। तिब्बत गएर व्यापार गर्नु र घरको आर्थिक लगायत भारको जिम्मा टासी माथि छ। पेमासँगको विवाहपछि टासीको मन फुरूङ्ग परेको छ। प्रेमका फुर्के क्षणहरूमा टासी रमाएको छ। टासीले पेमालाई गाउँकै महिलालाई इङ्गित गर्दै महिला धेरै परपुरूषसँग सल्किएको र यस्ता स्त्रीसँगको संगत नगर्नु भनेर भन्नुले टासीमा रहेको पितृसत्तात्मक सोचलाई प्रस्ट पार्छ र पेमाले पनि ढिलोचाँडो सो सोचबाट शिकार हुनुपर्ला भन्ने अघिल्लो संकेत मिल्छ।

भावनाप्रधान टासीका भावना आफूलाई शंका गर्ने, हानि गर्ने नकारात्मकता केन्द्रित छ भने पेमाको सकारात्मक केन्द्रित छ। नकारात्मकता र सकारात्मकता बीच मेल नहुनु त प्रकृतिसंगत सिद्धान्त हो।

चीवर लगाएर गुम्बा बसेको कर्माको चरित्रमा दोधारेपन छ। कर्मा कहिले भिक्षुले घोडा चढ्नुहुँदैन भनेर भन्छन् भने कहिले सिकेर घोडा चढ्छन्। गुरूको वचनलाई सर्वोपरि त ठान्छन् तर गुरूले आवश्यक परेको खण्डमा घरको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा प्रति चासो देखाउँदैनन्। दोधारे मनस्थितिले लामो यात्रामा हिंड्न सदैव कठिन हुन्छ।

पूरै चलचित्रमा एक मात्र गैर-रैथाने पात्र राम सरको भूमिका सानो तर कथाको लयलाई बिथोल्ने छ। पेमाको कान्छो श्रीमान्‌को मास्टर राम सरले पेमाका दुई श्रीमान्‌लाई दुई चिठी दिन्छन् जसले दुवैलाई पेमाबाट टाढा पुर्‍याउँछ।

राम सरले टासीलाई दिएको चिठीले टासीलाई तिब्बतबाटै गुप्तवासमा पुर्‍याउँछ भने राम सरको चिठीकै सन्देशले कर्मालाई यात्राबाट गुरु वियोगमा गुम्बा पुर्‍याउँछ। कसै-कसैको भूमिका कसैको जीवनमा लय विथोल्नलाई नै हुने गर्दछ।

चलचित्रका पात्र पेमा, टासी, कर्माहरूले कलाकार नभएर पनि गरेको अभिनयले दर्शकको मन लोभ्याउँछ भने पेमालाई कलाकार होइन भनेर पत्याउन मनै लाग्दैन। पेमाको जीवन्त अभिनय एरिक भ्यालीको हिमालय क्याराभानको थिन्ले लेण्डुपको अभिनयसँग दाँज्न लायक छ, अझ पेमाको उत्कृष्ट छ।

कलाकार कर्माको भूमिका सानो छ तर थप अभ्यास गरेको भए अझ तिनको पात्रमा समेत निखार आउने सम्भावनाको स्थान भने थियो।

शाम्बाला : पेमाको आत्मिक यात्रा

चलचित्रको निर्देशकीय संवाद, व्याकरण र हास्यचेत 

टासी र पेमाको विवाहपछिको पहिलो रात जब टासी आफ्नो कोठामा प्रवेश गर्छ, आफ्ना दुई जुत्ता माथिको ढोकामा टाँग्छ। जब, अन्तिममा टासी र पेमा बीच संवाद हुन्छ, संवाद गर्नुपूर्व कोठामा प्रवेश गर्दा पुन: टासीले ढोकामा आफ्ना जुत्ता टाँग्छ। पहिलो दृश्यमा क्यामेरा टासीसँगै कोठा प्रवेश गर्छ तर दोस्रो दृश्यमा भने क्यामेरा बाहिर पेमालाई पर्खेर बसेको छ। किनभने, क्यामेरालाई र पछाडिका निर्देशकलाई थाहा छ, यहाँ भित्र पस्नुपर्दैन।

विवाहको पहिलो रात पछिको बिहान जब पेमाका तीन श्रीमान्‌लाई लहरै एकै ऐनामा देखाइन्छ, टासी र दावा मासु खाँदैछन् भने कर्मा अलि बेग्लै बसेको छ। किनभने निर्देशकलाई थाहा छ, टासी र दावाले पेमाको सतित्व माथि प्रश्न गर्नेछन् तर कर्मालाई भ्रूण कसको हो भन्दा पनि भ्रूणले बाँच्न पाउनुपर्ने कुरासँग धेरै सरोकार हुनेछ।

अनावश्यक संवादको भारबाट ग्रस्त हुने नेपाली सिनेमाको रोगबाट शाम्बाला मुक्त छ। चलचित्रको संवाद नेपाली भाषामा नभएर पनि ठ्याक्कै शब्द दर शब्द आवश्यक हो कि होइन भनेर बुझ्न गाह्रो छ तर जति अनुवाद भएर स्क्रिनमा आउँछ त्यतिले आँखालाई शीतल पार्छ।

गुम्बा जाँदा कर्माले भिक्षु घोडा चढ्दैनन् भन्दा दावाले चढ्न पनि आउनु पर्‍यो नि भन्नु, टासी घर नआएको बेला दावाले मदिरा सेवन गरेर पेमालाई पितृसत्तात्मक दृष्टिले तथानाम भन्नु र टासीलाई खोज्न जाँदा गाउँलेसँग पेमाको टासीलाई देखेको छ, घोडा देखेको छ भनेर सोध्दा गाउँलेले दिएको जवाफ निर्देशकले प्रयोग गरेको हास्यचेतका उदाहरण हुन्। केही ‘पोलिटिक्कली करेक्ट’ नभए पनि निर्देशकको प्रयोग प्रशंसनीय छ।

पेमाको शाम्बाला

पेमाको शाम्बाला चलचित्रमा स्थान विशेष नभएर अनुभूति विशेष हो भन्ने भान हुन्छ। दृढ संकल्प र आत्मविश्वास बोकेर घरबाट निस्केकी पेमाले जब टासीलाई भेट्छिन् र टासीले सुन्दर भविष्यका निम्ति भ्रूणको हत्या गर्नु श्रेयस्कर हुन्छ भन्ने अनुदार विचार व्यक्त गर्छ र पेमा त्यहाँबाट चुपचाप निस्किन्छन्, त्यसैमा पेमाको जित हुन्छ। पितृसत्तात्मक विचारसँग नलत्रिएर जसै पेमाको यात्रा पूर्ण हुन्छ, पेमाले आफ्नो शाम्बाला प्राप्त गर्छिन्।

यात्रामा पेमाले आफ्नो प्रिय घोडा नाम्खालाई बिदाइ गर्नु मोक्ष प्राप्त गर्नुपूर्व आफ्नो अमूल्य वस्तु गुमाउनुपर्ने नियतिको परिणाम होला।

र अन्तिममा, माधवप्रसाद घिमिरेले भूषण दाहालसँगको एउटा अन्तर्वार्तामा जीवन जिउन जान्नेहरूले स्वर्ग जानुपर्दैन भनेर भनेको कुरा शाम्बाला हेरिरहँदा पेमाको यात्राबाट स्मरण भइरह्यो।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School