News Summary
Generated by OK AI. Editorially reviewed.
- अमेरिकी गायिका टेलर स्विफ्टको नेपालका सहरी युवापुस्ता माझ ठूलो क्रेज रहेको छ र उनका फ्यानहरूलाई \’स्विफ्टीज\’ भनिन्छ ।
- स्विफ्टले १२ वर्षको उमेरदेखि गीत लेख्न शुरू गरेकी थिइन् भने १४ वर्षमै सोनी म्युजिकसँग आबद्ध भएर आफ्नो सङ्गीत यात्रा अघि बढाएकी हुन् ।
स्टेजको केन्द्रमा एक जना गायिका अग्लो स्टुलमा बसेर कालो रङको अकोस्टिक गितार बजाइरहेकी छिन् । उनले टाउकोमा टोपी भएको गाढा रङको हुडी र खैरो पाइन्ट लगाएकी छिन् । हुडीको टोपीले उनको अनुहार र कपालको केही भागलाई ओझेलमा पारेको छ । उनको अगाडि एउटा माइक स्ट्यान्ड राखिएको छ । र, त्यही माइकको नजिकै झुकेर गितारको धुनसँगै उनी गाउनमा मग्न छिन् ।
… गिभेन वान चान्स, इट वाज अ मोमेन्ट अफ विकनेस
एन्ड यू सेड, एस…
यति गाइसकेपछि उनले अकोस्टिक गितार फ्याँकिदिन्छन् । गीतको बिट परिवर्तन हुन्छ । उनी स्ट्यान्डिङ पोजिसनमा निरन्तर गाउन थाल्छिन् । पहिलेभन्दा अझ ऊर्जाका साथ –
यु शुडभ सेड, नो
यु शुडभ गन होम…
आज १७ वर्षपछि पनि उनको ऊर्जा उस्तै छ । सायद पहिलेभन्दा अझ बढेको छ । शुडभ सेड, नो गाइरहेकी उनी अरू कोही नभएर टेलर स्विफ्ट हुन् ।
०००
अमेरिकन गायिका भएता पनि नेपालमा उनको फ्यान फलोइङ ठूलो संख्यामा छ । शहरी युवा पुस्ता माँझ उनको बलियो पकड छ । त्यसमाथि नेपाली स्विफ्टीजहरू सामाजिक सञ्जालमा पनि सक्रिय छन् । उनका फ्यानहरूलाई स्विफ्टीज भनेर सम्बोधन गर्ने गरिन्छ । समग्रमा, स्विफ्टोनोमिक्स, महिला सशक्तिकरण, गीत लेखन र सम्बन्ध – एउटा स्विफ्जीटका लागि काफी छ ।
संगीतको विशाल आकाशमा केही नक्षत्रहरू हुन्छन् । तिनको चमकले आँखा मात्र बहलाउँदैन । तिनले मानवीय हृदयको भित्री कुनालाई स्पर्श गर्छन् । आधुनिक विश्व संगीतको मञ्चमा टेलर स्विफ्ट त्यस्तै एउटा नाम हो ।
तर, स्विफ्ट आफ्नो लागि गीत लेखन अझै पनि रहस्यमयी विषय भएको सुनाउँछिन् । यो उनका लागि एउटा जादुमयी प्रक्रिया हो । जबकि उनी वर्षौँदेखि गीत लेखिरहेकी छिन् । दशकौंदेखि चर्चित र चार्ट टपिङ गीतहरू लेखिरहेकी छिन् । आखिरमा उनका शब्दहरू कसरी जन्मिन्छन् ?
उनी भन्छिन्, ‘मैले धेरै तरिकाले गीतहरू सुरु गरें । धेरै तरिकाले तिनलाई अन्त्य पनि गरें । तर यो ठ्याक्कै कसरी हुन्छ ? म अझै पनि पूर्णरूपमा बुझ्न सक्दिनँ ’
उनका गीतहरू कहिलेकाहीँ आकस्मिक वर्षा जस्तै आउँछन् । कहिले भने लामो यात्रा र मन्थन चाहिन्छ । त्यसपछि मात्र गीत पूर्ण हुन्छ । उनका सिर्जनाका केही मुख्य आधार छन् । पौराणिक कथा, दन्त्यकथा, पुस्तक, सिनेमा र आफ्नै जीवनका उतारचढाव । यिनलाई उनको प्रेरणा पनि भन्न सकिन्छ ।
स्विफ्टको एउटा बलियो मान्यता छ । युवावस्थामा मान्छेले भावनाहरू निकै सघन रूपमा महसुस गर्छ । ऊ विवरणहरूमा बढी ध्यान दिन्छ । विशेष गरी १७ देखि २२ वर्षको उमेरमा यस्तो बढी हुने उनको भनाइ छ । अहिले उनी परिपक्व भइसकेकी छिन् । तर, उनी यो बानीलाई अझै जोगाउन चाहन्छिन् । किनकि त्यसैमा सिर्जना लुकेको हुने उनको बुझाइ छ ।
कसैको कमिजको बाहुलामा परेको मैनबत्तीको खरानी । एउटा पुरानो टाँक । कसैको आँखाको सानो इसारा । यस्ता मसिना विवरणले भावनाको एउटा ठूलो कथा बनाउँछन् । यसमा स्विफ्टको बलियो विश्वास छ ।
‘मैले सधैं त्यस्ता भावना आफ्नो लेखनमा जीवित राख्न खोज्छु । श्रोताले पनि यो भावनालाई आफ्नै सम्झना जस्तै गरी महसुस गरोस् भन्ने मेरो चाहना हो’ उनी भन्छिन् ।
०००
स्विफ्टको सिर्जनात्मक यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । उनले १२ वर्षको उमेरदेखि नै गीत लेख्न सुरु गरेकी थिइन् । गीत लेखनसँगै वाद्ययन्त्रसँग उनको सम्बन्ध पनि जोडिएको थियो । त्यसपछि त गीत लेखन स्वतः उनको जीवनको आधारस्तम्भ बन्यो ।
उनको सुरुवाती लेखनमा कन्ट्री र फोक संगीतको प्रभाव ज्यादा थियो । त्यस्ता गीतले एउटा कथा भन्थे । उनलाई हर्पर भ्याली पीटीए वा डिक्सी चिक्सको गुडबाई अर्ल खुबै मन पर्थ्यो । यी कथा भन्ने शैलीका गीत हुन् ।
यस्ता गीतमा एउटा निश्चित संरचना हुन्थ्यो । पहिलो हरफमा एउटी केटीले पाठ सिक्छे । कोरसमा त्यसको अर्थ खुल्छ । दोस्रो हरफमा ऊ हुर्कन्छे । अनि त्यही पाठको नयाँ अर्थ निस्कन्छ । उनले यो कथावाचनको सीप सानैमा सिकेकी थिइन्।
शब्दको बुनाइ र अभिव्यक्तिमा उनलाई फरक प्रभाव पर्यो । उनलाई इमो संगीत र ड्यासबोर्ड कन्फेसनल ब्यान्डका शब्दहरूले ताने । सामान्य र बोलिचालीका वाक्यांशलाई कसिलो बनाउने शैली उनले त्यहीँबाट सिकिन् ।
उनी जम्मा १४ वर्षकी हुँदा सोनी म्युजिकसँग आबद्ध भएकी थिइन् । त्यसपछि उनी नासभिलको म्युजिक रो पुगिन् । त्यहाँ स-साना घर र कटेजहरू थिए । कोठाकोठामा गीतकारहरू हुन्थे । तिनीहरू नयाँ धुनको खोजीमा रहन्थे । स्विफ्टले त्यही आफ्नो समय बिताउन थालिन् ।

उनी स्कुल सकेर हरेक दिन यात्रा गर्थिन् । आमासँग ३० मिनेटको बाटो काट्थिन् । उनी नयाँ गीतकारहरूसँगको सत्रहरूमा सामेल हुन्थिन् । उनलाई सधैँ एउटा डरले सताउँथ्यो । मान्छेहरूले उनलाई सानो बच्चा सम्झनेछन् । उनले गीत लेखेको अभिनय मात्र गरेको ठान्नेछन् । त्यसैले उनी पूर्वतयारी गर्थिन् ।
उनी ४-५ वटा झन्डै सकिएका गीत सधैँ साथमा बोक्थिन् । आधा लेखिएका रचना र १० वटा जति आकर्षक हुकहरू पनि बोक्थिन् । यसो हुँदा कसैले पनि उनको क्षमतामाथि प्रश्न उठाउन सक्दैनथ्यो ।
नासभिलमा उनले एउटा विशेष शैली अपनाइन् । यसलाई ‘ब्रेकिङ द फोर्थ वाल’ भनिन्छ। यसमा गीतभित्रै गीतकै सिर्जनाको चर्चा गरिन्छ । उदाहरणका लागि उनको प्रसिद्ध गीत ‘आवर सङ’ लाई हेरौँ ।
उनले गीतको अन्त्यमा भन्छिन् –
आई ग्राब्ड अ पेन एन्ड एन ओल्ड नेप्किन
एन्ड आई रोट डाउन आवर सङ
अर्थात्
मैले कलम र एउटा पुरानो नेप्किन समातेर हाम्रो गीत लेखेँ
यसले सुन्नेलाई कलाकारको सिर्जनात्मक क्षणसँग सिधै जोड्छ।
०००
खासमा स्विफ्टको लेखनमा भाषाको जादु हुन्छ । व्याकरणको पनि उस्तै बलियो हुन्छ । उनी अनुप्रास र शब्दहरूको ध्वनिमा खेल्न रुचाउँछिन् । उदाहरण ‘आवर सङ’ नै लिऔं । यो गीतमा उनले ‘रियर लो’को साटो ‘रियल स्लो’ प्रयोग गरिन् । उनलाई एउटै अक्षरबाट शब्द अन्त्य र सुरु भएको मन पर्दैन ।
उनी पुराना उखानहरू आधुनिक परिवेशमा ढाल्न सिपालु छिन् । पुस्तकका क्लासिक हरफहरू र सिनेमा संवादहरूलाई पनि नयाँ रूप दिन्छिन् । उनले ‘ह्यामलेट’को हरफहरूलाई समेत आफ्नै शैलीमा पुन: परिभाषित गरेकी छिन् । उनका गीतहरूमा ‘विपरीतार्थ’को धेरै प्रयोग हुन्छ । मान्छेको व्यक्तित्व विरोधाभास र जटिलताले भरिएको हुन्छ । उनी यही ठान्छिन् ।
गीतको संरचनामा स्विफ्टले ‘ब्रिज’ लाई निकै महत्त्वपूर्ण स्थान दिन्छिन् । उनले नासभिलमा शास्त्रीय संरचना सिकेकी थिइन् । यसमा भर्स, कोरस, ब्रिज र पुन: कोरस हुन्थ्यो । उनले यो संरचनालाई सधैं सम्मान गरिन् । तर पछि भने उनले नयाँनयाँ प्रयोग गरिन् । उनले आफ्ना प्रिय सहकर्मी ज्याक एन्टोनोफसँग सहकार्य गरिन् । उनीहरूको सहकार्यले ‘र्यान्ट ब्रिज’को सुरुवात नै भयो ।
यो गीतको बीचमा आउने विशेष भाग हो । यहाँ भावनाहरूको अविरल धारा बग्छ । यो कुनै कविता जस्तो हुँदैन । यो मान्छेको चेतना प्रवाह जस्तै हुन्छ । डर, आवेग र प्रेम एकसाथ चिच्याएर व्यक्त भएझैं हुन्छ ।
स्विफ्टका लागि ‘ब्रिज’ एउटा अवसर जस्तै हो । यसले ठूलो चित्रलाई टाढाबाट हेर्न मद्दत गर्छ ।
‘तपाईंले गीतको सुरुवाती हरफमा रङ र ब्रसका धर्काहरू मात्र देख्नुहुन्छ । तर ब्रिजमा पुगेपछि मात्र २० फिट पछाडि हट्नुहुन्छ । अनि सिंगो चित्र र त्यसको अर्थ बुझ्नुहुन्छ,’ उनी सुनाउँछिन् ।
आउट अफ द वुड्स, क्रुएल समर र इज इट ओभर नाउ? जस्ता गीतका ब्रिजहरू यसका उत्कृष्ट उदाहरण हुन् ।
यसको सबैभन्दा जीवन्त उदाहरण उनको चर्चित गीत ‘अल टु वेल’ हो । यो गीत एउटा रिहर्सलको क्रममा उनले तयार पारेकी थिइन् । गीतमा लामो आवेग पोखिएको छ । त्यसबेला उनी २१ वर्षकी थिइन् ।

एउटा पीडादेखि गुज्रिरहेकी थिइन् । उनले साउन्डचेकको क्रममै चार वडा कर्डहरू बजाएर मनमा आएका कुराहरू गाइरहिन् । साउन्ड इन्जिनियर थिए । उनले त्यो आवाज रेकर्ड गरिरहेका थिए । त्यसैले आज यो गीत अस्तित्वमा छ ।
यसरी स्विफ्ट कन्फेसनल अर्थात् आत्मस्वीकारोक्तिपूर्ण लेखन पनि गर्छिन् । कतिले यही कारण उनको आलोचना गर्ने गरेका छन् । आफ्ना व्यक्तिगत कुरा गीतमा ल्याएर भद्रगोल बनाउँछिन् भन्ने उनीहरूको आरोप छ । तर स्विफ्ट यसलाई कला क्षेत्रको दोहोरो मापदण्ड मान्छिन् । पुरुष कलाकारले आफ्नो रिस वा प्रेम व्यक्त गर्दा त्यसलाई ‘कला’ मानिने तर महिलाले गर्दा चाहिँ किन आलोचना हुने ? उनी प्रश्न गर्छिन् ।
उनी र्याप संगीतमा हुने बिफ (विवाद) र महिलाको आत्मस्वीकारोक्तिपूर्ण लेखन तुलना गर्छिन् । दुवैबीच समानता रहेको उनको भनाइ छ । अझ यसलाई एउटा सांगीतिक विधाका रूपमा हेरिनुपर्छ भन्ने उनको तर्क छ ।
आजकल नयाँ पुस्ताका धेरैले यस प्रकारको गीत लेख्छन् । यो प्रवृत्ति बढिरहेकोमा उनी खुसी छिन् ।
श्रोताहरू उनका गीतहरू खोतल्ने प्रयास गर्छन् । ती गीत कसका बारेमा हुन् भनी खोज्छन् । तर स्विफ्टका लागि ती गीतहरू आफ्नै भोगाइ हुन् । ती उनको शिल्प र अथक मेहनतको उपज हुन् ।
अहिले संगीतको दुनियाँमा उनी सफलताको शिखरमा छिन् । तर अझै पनि भित्री रूपमा उनी त्यही १२ वर्षकी केटी हुन् । उनी आज पनि हातमा कलम र कागज लिन्छिन् । उनी नयाँ भावनालाई शब्दमा उतार्न आतुर हुन्छिन् ।
