वैदेशिक रोजगारीको प्रलोभन: मानव बेचबिखन र ठगीमा बढ्दै महिलाको संलग्नता



प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार

वैदेशिक रोजगारीको प्रलोभन: मानव बेचबिखन र ठगीमा बढ्दै महिलाको संलग्नता

वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगी तथा मानव बेचबिखनमा महिलाको संलग्नता बढ्दै गएको छ। आकर्षक तलब, निःशुल्क भिसा, छिटो श्रम स्वीकृति तथा सहज प्रक्रियाको आश्वासन दिएर सर्वसाधारणलाई झुक्याउने र रकम असुल्ने घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएका छन्। मानव बेचबिखन र ठगीजन्य अपराधमा संलग्न हुने महिलाहरूको संख्या हरेक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी राजन लिम्बुका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको वैशाखसम्म मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा १ हजार ३ सय ६१ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये ९४६ जना पुरुष र ३८९ जना महिला रहेका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २०१ जना पक्राउ परेका छन्, जसमध्ये १५२ जना पुरुष र ४९ जना महिला रहेका छन्।

पछिल्लो ५ वर्षको तथ्याङ्क अध्ययन गर्ने हो भने आर्थिक वर्ष २०७७/७८ मा ६१ जना, २०७८/७९ मा ६४ जना, २०७९/८० मा ७३ जना र २०८०/८१ मा ६७ जना महिला पक्राउ परेका थिए। आर्थिक वर्ष २०८१/८२ मा ७५ जना पक्राउ परेकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मात्रै ४९ जना पक्राउ परिसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङ्कमा उल्लेख छ।

पछिल्लो पटक वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई आकर्षक तलब, सहज रोजगारी र छिटो भिसाको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न देश पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन भएका उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।

वैदेशिक रोजगारीको प्रलोभन: मानव बेचबिखन र ठगीमा बढ्दै महिलाको संलग्नता

प्रहरीका अनुसार पक्राउ परेकामध्ये लक्ष्मी थापा कार्की र प्रिया बानियाँले क्रमशः ग्रीस र जापान पठाइदिने आश्वासन दिएर रकम असुलेका थिए। रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्दै आएकी ३१ वर्षीया लक्ष्मी थापा कार्कीले एक जना पीडितबाट ग्रीसमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ।

त्यसैगरी, काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानियाँले जापान पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। रकम बुझाएपछि विदेश पठाउने प्रक्रिया अगाडि बढाउने आश्वासन दिए पनि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले लक्ष्मीलाई काठमाडौँ महानगरपालिका–३ बाट तथा प्रियालाई बुढानीलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो।

यसैबीच, वैदेशिक रोजगारीको नाममा ठगी गरेको अर्को घटनामा थप चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ घर भई ललितपुर महानगरपालिका–९ बस्दै आएका १८ वर्षीय किशोर, काभ्रेको पनौती नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–३१ बस्ने ३५ वर्षीय अस्कर हुमागाईं, मोरङ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने ४५ वर्षीय पवित्रजंग बुढाथोकी तथा दोलखा घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ४१ वर्षीया बेलुमाया तामाङ रहेका छन्।

प्रहरीको अनुसन्धानअनुसार अस्कर हुमागाईं र ती किशोरले जापानमा रोजगारीको अवसर उपलब्ध गराइदिने भन्दै २५ जना व्यक्तिबाट जम्मा ४० लाख ३० हजार रुपैयाँ उठाएका थिए। उनीहरूले आकर्षक तलब, राम्रो कम्पनीमा जागिर तथा छोटो समयमा जापान पठाइदिने आश्वासन दिएर रकम संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रकम लिएपछि उनीहरूले पीडितहरूसँग सम्पर्क तोडेका थिए। त्यसैगरी, पवित्रजंग बुढाथोकीले माल्टा पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख ३० हजार रुपैयाँ र बेलुमाया तामाङले सर्बिया पठाइदिने भन्दै दुई जना पीडितबाट ३ लाख रुपैयाँ लिएकी थिइन्। विदेश पठाउने प्रक्रिया अगाडि बढाइरहेको भनी विश्वास दिलाए पनि निर्धारित समयमा पठाउन नसकेपछि दुवै जना सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरीले किशोरलाई काठमाडौँ महानगरपालिका–६ बाट र पवित्रजंग बुढाथोकीलाई काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ गरेको थियो। त्यसपछि अस्कर हुमागाईंलाई काठमाडौँ महानगरपालिका–३१ बाट तथा बेलुमाया तामाङलाई बुढानीलकण्ठ नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपालमा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या निरन्तर बढिरहेको छ। रोजगारीको खोजीमा रहेका धेरै युवा राम्रो आम्दानीको आशामा विदेश जान इच्छुक हुने भएकाले ठगी गर्ने समूहहरूले यही अवस्थाको फाइदा उठाउने गरेका छन्।

आकर्षक तलब, निःशुल्क भिसा, छिटो श्रम स्वीकृति तथा सहज प्रक्रियाको आश्वासन दिएर सर्वसाधारणलाई झुक्याउने र रकम असुल्ने घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएको नेपाल प्रहरीका सूचना अधिकारी दीपशम्शेर जबराले जानकारी दिए।

पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १ हजार ३३ वटा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ। ती घटनामा पीडित महिलाको संख्या ८ सय २० र बालिकाको संख्या ४ सय ५५ पुगेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मात्रै १ सय १७ जना महिला र ६८ जना बालिकासहित कुल २ सय ४७ जना व्यक्ति मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित बनेका छन्।

वैदेशिक रोजगार विभाग र प्रहरी प्रशासनले विदेश जान चाहने व्यक्तिहरूलाई आधिकारिक रूपमा दर्ता भएका म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै आएका छन्। कुनै पनि व्यक्ति वा संस्थालाई रकम बुझाउनुअघि आवश्यक कागजात, अनुमतिपत्र तथा वैधानिक प्रक्रियाबारे जानकारी लिन पनि सम्बन्धित निकायले अनुरोध गरेको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि निगरानी बढाइएको जनाएको छ। पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको र दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

महिलाहरू ठगी र मानव बेचबिखनतर्फ लाग्नुको प्रमुख कारण आर्थिक नै रहेको अधिवक्ता भगवती पाण्डे ‘शीतल’ले बताइन्। आन्तरिक बसाइँसराइ, बढ्दो आवश्यकता, आत्मनिर्भर बन्ने चाहना पूरा गर्न पैसा कमाउनुपर्ने बाध्यता र परिस्थिति महिलामा रहेको अधिवक्ता पाण्डेको भनाइ छ। महिलामा कानुनी ज्ञानको अभाव रहेको भन्दै उनले ‘फास्ट ट्र्याक’बाट पैसा कमाउने लोभका कारण महिलाहरू अपराधकर्मतर्फ उन्मुख हुन पुगेको बताइन्।





Source link

Leave a Comment