विश्व फुटबलमा हाबी बन्दै स्पेन

विश्व फुटबलमा हाबी बन्दै स्पेन


२६ साउन, काठमाडौं । स्पेनले अहिले हरेक स्तरको फुटबलमा दबदबा कायम गरेको छ ।

स्पेनको पुरुष टिमले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो । महिला टिमले गत वर्ष विश्व कपको उपाधि जितेको थियो ।

युरोपियन क्लब फुटबलमा पनि स्पेनकै टोलीले दुई ठूलो उपाधि जितेका छन् । रियलले मड्रिडले पुरुषतर्फ च्याम्पियन्स लिग र बार्सिलोनाले महिलातर्फको च्याम्पियन्स लिग जितेका थिए ।

पेरिस ओलम्पिकको फुटबलमा फाइनल पुगेको स्पेनले पुरुष यू-२३ टोलीले ओलम्पिक स्वर्ण पदक जितेको छ । शुक्रबार भएको फाइनलमा स्पेनले आयोजक फ्रान्सलाई ५-३ ले पराजित गरेको छ । स्पेनको महिला टिम भने सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदै बाहिरिएको छ ।

स्पेनको फुटबलका लागि यो ठूलो उपलब्धीहरुको सूची हो । र उसको प्रतिस्पर्धी देशहरुका लागि भने यो चिन्ताको विषय बन्न सक्छ । कसरी स्पेन विश्व फुटबलमा हावी बनिरहेको छ त ? बीबीसीले त्यसका केही कारणहरु प्रस्तुत गरेको छ ।

जितको भावनालाई सामान्यीकरण

स्पेनले सन् २०१२ पछि पहिलो पटक युरो कपको उपाधि जित्यो । वास्तविकता हेर्दा यी दुई उपाधिको बीचमा स्पेनको राष्ट्रिय टिम संकटकालीन अवस्थामा थियो ।

तर स्पेन जब कुनै पनि प्रतियोगिताको अन्तिसम्म पुग्छ त्यसमा उनीहरु शीर्ष स्थानमै पुग्छन् । तथ्याङ्कमा हेर्दा पनि त्यो देखिन्छ ।

विश्वकप, युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग वा यूईएफए कप/युरोपा लिग सबैमा स्पेनको पुरुष टिम २७ पटक फाइनल पुगेकामा सबै स्पेनकै पक्षमा नतिजा आएको छ ।

यस्तै महिलातर्फ पछिल्लो दशकयता मात्र व्यवसायिक सुरुवात भएको स्पेनी टिमले पनि सुखद नतिजा दिन थालेको छ ।

महिला टिमले विश्वकपमा सहभागिता जनाएको तेस्रो पटकमै इंगल्याण्डलाई हराएर विश्वकप जितेको थियो । स्पेनले सन् २०१५ को महिला विश्वकपमा डेब्यु गरेको थियो ।

स्पेनको महिला टिमले यसै वर्षको सुरुमा यूईएफए नेसन्स लिगको उपाधि जितेको थियो । यस्तै बार्सिलोनाले पछिल्लो दुई महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

‘स्पेनको महिला फुटबलमा भएको परिवर्तन विशेष  प्रभावकारी देखिएको छ’, हाल  पत्रकार रहेकी पूर्वफुटबलर मारिया गारिडोले बीबीसीसँग भनिन् । १० वर्षअघि उनले बार्सिलोनाबाट खेल्दा महिलाका लागि ला मासिया (बार्सिलोनाको खेलाडी उत्पादन गर्ने एकेडेमी) थिएन ।

‘हामी आफैँले यातायात खर्च व्यहोर्नुपर्थ्यो । हाम्रो अभिभावकले हामीलाई प्रशिक्षणमा ल्याउँथे र हामीले कुनै पैसा पाउने थिएनौं’, मारियाले भनिन् । तर, पछिल्लो पाँच वर्षमा अवस्था नाटकीय रूपमा सुधार भएको छ । त्यहाँ महिला फुटबललाई प्रमोट गर्न उल्लेख्य काम भएका छन् । धेरै युथ एकेडेमीहरु बनिरहेको छ । राम्रो सुविधा र वातावरण छ । महिलाको लागि पनि छुट्टै एकेडेमी बनेको छ ।

उनले यो परिवर्तनले महिला फुटबलमा क्रान्तिमात्रै ल्याएको नभई स्पेनमा महिला फुटबलको लागि सम्मान समेत हुन थालेको बताइन् ।

पुरुष र महिला टिमको यो सफलताका साथै पछिल्लो दशकमा स्पेनले युथ लेभलमा पनि धेरै उपाधि जितेको छ । ती टिमबाट आएका खेलाडीहरुले सिनियर फुटबलमा विनिङ मेन्टालिटी समेत सँगै लगेका छन् ।

२० वर्षीय साल्मा पाराउलो स्पेनले विश्वकप जित्दाको टिमको सदस्य थिइन् र बार्सिलोनाबाट दुई पटक महिला च्याम्पियन्स लिगको उपाधि जितिसकिन् ।

उमेर समूहमा उनले यू-२० र यू-१७ विश्वकप जितेकी थिइन् । साथै यू-१७ युरोपियन च्याम्पियनसिप समेत जितेकी थिइन् ।

पाराउलोले गत वर्ष फिफासँगको कुराकानीमा आफूहरुले सबै कुरा जितिरहेको र अन्त्यमा जित्नुलाई सामान्यीकरण गरेको बताएकी थिइन् । ‘हामीले जे गर्‍यौँ त्यो असाधरण छ’, उनले भनेकी थिइन् ।

प्रशिक्षकको निरन्तरता

स्पेनको पछिल्लो सफलतामा प्रशिक्षकको निरन्तरताले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । स्पेनलाई २०२४ को युरो च्याम्पियन बनाउँदा प्रशिक्षक लुइस डे ला फुएन्टेले नेतृत्व गरेका थिए । ६३ वर्षीय फुएन्टेले सन् २०२२ मा स्पेनी टिमको जिम्मेवारी लिएका थिए ।

तर उनले त्यसअघि स्पेनको यू–१९, यू–२१ र यू–२३ उमेर समूहमा टिमलाई प्रशिक्षण दिइसकेका थिए । जर्मनीमा युरो च्याम्पियन बन्नु स्पेनको टिमसँग उनको तेस्रो उपलब्धी हो । यसअघि उनले यू-१९ र यू-२१ मा पनि उपाधि जितेका थिए ।

विश्व फुटबलमा हाबी बन्दै स्पेन

‘टिममा रहेका अधिकांश खेलाडीलाई फुएन्टे एकेडेमीदेखि नै चिन्थे उनीहरु टिमको रुपमा विकास हुँदै थिए’, स्पेनका पूर्वमिडफिल्डर जुआन माटाले भने, ‘यो वर्तमानको मात्रै टिम होइन, यो टिम भविष्यको लागि पनि हो ।’

स्पेनको महिला टिमले विश्वकपको उपाधि जित्दा प्रशिक्षक रहेका जोर्ग भिल्डा ८ वर्षदेखि राष्ट्रिय टिमको प्रशिक्षक थिए । फुटबल संघका अध्यक्ष लुईस रुबियल्सको विवादमा परेपछि भिल्डा बर्खास्तीमा परे ।

उनले पनि त्यसअघि यू–१७ र यू–१९ टिमट समेत उपाधि जितिसकेका थिए ।

भिल्डालाई उनको सहायक प्रशिक्षक मोन्टसे तोमले रिप्लेस गरिन् । तोम स्पानिस महिला टिमको पहिलो महिला मुख्य प्रशिक्षक समेत बनिन् । उनको प्रशिक्षणको पहिलो प्रयासमा फेब्रुअरीमा स्पेनले फ्रान्सलाई हराएर नेसन्स लिगको उपाधि जित्यो ।

‘यू–१७ र यू–१९ टिमको प्रशिक्षकलाई सिनियर टोलीमा पदोन्नति गर्दै अभ्यासले स्पेनको सिनियर टोलीमा निरन्तर रणनीतिक दृष्टिकोण र दर्शनलाई गति दिएको छ’, गारिडो भन्छिन् ।

यस्तो अभ्यासले खेलाडीहरुलाई परिचित नेतृत्वसँग काम गर्न हुने र उमेर समूहदेखि सिनियर स्तरसम्म एकीकृत खेल शैलीको सुनिश्चित गर्ने उनले बताइन् ।

परिभाषित फुटबल शैली

सन् २००० को अन्तिम र २०१० दशकको सुरुवातमा अवधिमा स्पेनको टिमले दबदबा बनाउँदा उनीहरु छोटो पास र  ‘टिकी टाका’ शैलीका कारण चर्चित थियो ।

‘टिकी टाका’ युग अब धेरै हदसम्म समाप्त भइसकेको छ । तर, स्पानिस फुटबलले अझै यसको सिद्धान्तलाई छाडेको छैन । यसले उनीहरुलाई विकसित गरेको छ ।

विश्व फुटबलमा हाबी बन्दै स्पेन

पोसेसन अझै पनि उनीहरुको खेलको मुख्य भाग बनेको छ । तर यो पहिले जस्तो प्रभावकारी भने छैन ।

युरो २०२४ मा क्रोएसियाविरुद्ध ३-० को जित निकाल्दा विपक्षी टिमको भन्दा स्पेनको थोरै बल पोसेसन थियो । युरो २००८ को फाइनलयताका १३६ खेलपछि मात्र स्पेनको टिममा यस्तो भएको थियो ।

टेक्निक र पोसेसन अझै पनि स्पेनिस टिमको मुख्य विशेषता हो । यही दुई  कुरा महिला र युवा फुटबलमा पनि मुख्य केन्द्रमा छ ।

अन्तिम उद्देश्य भनेको सबै स्तरमा खेलाडीलाई सबै लेभलमा खेल शैलीसँग परिचित गराउनु हो ।

‘स्पेन टिमको बारेमा राम्रो पक्ष भनेको खेलाडीलाई आफ्नो भूमिका थाहा छ र यसलाई कसरी लागु गर्ने थाहा छ’, म्यानचेस्टर सिटीका पूर्व डिफेण्डर मिकाह रिचर्डसले स्पेनले युरो २०२४ मा इंग्लयाण्डलाई हराएपछि भनेका थिए ।

रिचर्डसले इंग्ल्याण्ड मैदानमा उत्कृष्ट खेलाडीहरु ल्याउन केही पछि परेको तर स्पेनले भने आफ्नो शैलीमा प्रभाव पार्न सक्ने खेलाडीलाई टिममा ल्याउन सफल भएको बताएका थिए ।

चुम्बन घटनाको असर मेटिँदै

पछिल्लो समय विश्वकपमा स्पेनकी फर्वाड जेनी हार्मोसलाई उनको अनुमति बिना चुम्बन गरिएको घटना सार्वजनिक भएपछि स्पेनिस फुटबल केही विवादमा तानियो । स्पेनिस फुटबलका अध्यक्ष रुबियालेसले उनलाई चुम्बन गर्दा हार्मोसले आफूमाथि यौन दुर्व्यवहार भएको भनेकी थिइन् ।

त्यसपछि अध्यक्ष रुबियालेसले राजीनामा दिए । त्यो घटनाले प्रत्यक्ष रुपमा स्पेनको महिला फुटबल टिमलाई असर गरेको थियो । ‘त्यो घटनापछि स्पेनिस फुटबलले विकासको गति दिन भने छोडेको छैन’, गरिडोले भनिन् । यो घटनापछि केही नकरात्मक ध्यान तानेर मनोबलमा असर गरेपनि स्पेनको बलियो फुटबल प्रणाली र क्षमतावान खेलाडीहले पुटबललाई ट्रयाकमै राख्न मद्दत गरेको गारिडोले बताइन् ।

यो काण्डले भविष्यमा स्पानिस फुटबलमा सकारात्मक परिवर्तन ल्याउने र फुटबल महासंघभित्र थप पारदर्शिता, समावेशीता र लैङ्गिक समानताको लागि जोड दिने पनि उनले बताइन् । गारिडोले केही सुधारको आवश्यकता रहेको र त्यसले अझै बलियो र समावेशी हुन सक्ने बताइन् ।

 बीबीसीमा प्रकाशित सामग्रीको अनुवाद





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School