प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

फोटो :एपी/रासस
स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो। यो जितसँगै स्वीट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ।
खेलको निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने म्यानुअल अकांजीको प्रहार बाहिरियो।
त्यस्तै, कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरिँदा टोली पराजित हुन पुग्यो।
सन् १९५४ को विश्वकपपछि स्वीट्जरल्यान्ड पहिलोपटक क्वार्टरफाइनलमा पुगेको हो। सन् १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्वीट्जरल्यान्ड त्यसयता सधैँ समूह चरण र अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो। १३औँ पटक विश्वकप खेलिरहेको स्वीट्जरल्यान्डले चौथो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
यससँगै विश्वकपको अन्तिम १६ का खेलहरू सकिएका छन्। अब स्वीट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिनाले इजिप्टमाथि ३–२ को कठिन तथा पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।