प्रकाशित मिति : २० असार २०८३, शनिबार

फोटो :एपी/रासस
फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा किलियन एम्बाप्पेले गरेको एक मात्र गोल नै फ्रान्सलाई अन्तिम आठमा पुर्याउन निर्णायक बन्यो। एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स क्वार्टफाइनलमा प्रवेश गरेको हो ।
१८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स १०औँ पटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यस जितसँगै फ्रान्स लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। यसअघि सन् २०२२ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको थियो।
जारी विश्वकपमा एम्बाप्पेको यो सातौँ गोल हो। प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एम्बाप्पेसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि शीर्ष स्थानमा छन्। उनीहरू दुवैले अहिलेसम्म समान ७–७ गोल गरेका छन्।
अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोको सामना गर्नेछ। यसअघि भएको ‘राउन्ड अफ १६’ को खेलमा क्यानडालाई पराजित गर्दै मोरक्कोले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। हालसम्म सात पटक विश्वकप खेलिसकेको मोरक्को क्वार्टरफाइनलमा पुगेको यो दोस्रो पटक हो।