प्रकाशित मिति : ११ असार २०८३, बिहिबार

फोटो :एपी/रासस
विश्वकप फुटबल अन्तर्गत इक्वेडरले अप्रत्याशित नतिजा निकाल्दै नकआउट चरणमा स्थान पक्का गरेको छ। पूर्व विश्वविजेता जर्मनीलाई २–१ को गोल अन्तरले हराउँदै इक्वेडर नकआउट चरणमा पुगेको हो।
अमेरिकाको न्युयोर्क/न्युजर्सी स्टेडियममा भएको खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै लेरोय सानेले गोल गरेपछि जर्मनीले अग्रता लिएको हो।
त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी गोन्जालो प्लाटाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि रोमाञ्चक जित निकाल्यो।
यसैबीच, यसै समूहको अर्को खेलमा कुरासाओमाथि जित निकाल्दै आइभोरी कोस्टले पनि नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइभोरी कोस्टले कुरासाओविरुद्ध २–० गोल अन्तरको जित निकालेको हो।
खेलमा आइभोरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे। उनले खेलको सातौँ र ६४ औँ मिनेटमा गोल गरेका हुन्। समूह ‘इ’ मा इक्वेडरसँग पराजित भए पनि जर्मनी ६ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
समान अङ्क बनाएको आइभोरी कोस्ट गोल अन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा पुगेको छ। त्यस्तै, ४ अङ्क बनाएको इक्वेडर पनि तेस्रो हुने टोलीहरूमध्ये उत्कृष्ट स्थानमा पर्दै नकआउट चरणमा पुग्न सफल भयो। केवल १ अङ्क जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ।
