प्रकाशित मिति : २५ असार २०८३, बिहिबार

फोटो :एपी/रासस
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स प्रतियोगिताको अन्तिम चारमा पुगेको हो। यो हारसँगै विश्वकपमा मोरक्कोको यात्रा समाप्त भएको छ।
मोरक्को सन् १९५६ मा फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको देश हो। यसअघि २०२२ को विश्वकप सेमिफाइनलमा पनि मोरक्को फ्रान्ससँगै पराजित भएको थियो। त्यतिबेला फ्रान्ससँग पराजित हुनुअघि विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोलीको कीर्तिमान मोरक्कोले बनाएको थियो।
अमेरिकाको बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको हो। एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न चुकेका थिए। तर, दोस्रो हाफमा भने उनी गोल गर्न सफल भए र अर्को गोलका लागि असिस्ट समेत गरे। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।
सन् २०१८ मा रुसमा भएको विश्वकप उपाधि जितेको फ्रान्स सन् २०२२ मा कतारमा भएको फाइनलमा भने अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
खेलको ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ६६औँ मिनेटमा उनकै उत्कृष्ट पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० को जित निकाल्न सफल भयो। दुई पटकको विश्व विजेता फ्रान्सले अब सेमिफाइनल खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
गोल्डेन बुट र कीर्तिमानको दौड
यो गोलसँगै एमबाप्पेले यस प्रतियोगितामा अर्जेन्टिनाका लियोनेल मेसीको ८ गोलको बराबरी गरेका छन्। तर, बढी असिस्ट गरेका कारण एमबाप्पे अहिले ‘गोल्डेन बुट’ को दौडमा अगाडि छन्।
विश्वकपको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानका लागि पनि मेसी र एमबाप्पेबीच कडा प्रतिस्पर्धा देखिएको छ। ३९ वर्षीय मेसीको नाममा २१ गोल छ भने २७ वर्षीय एमबाप्पे २० गोलका साथ उनलाई पछ्याइरहेका छन्।