विश्वकपमा भिएआर विवाद र ट्रम्प प्रकरण: फिफाको निष्पक्षतामाथि प्रश्न


विश्वकप फुटबल २०२६ को नकआउट चरण (अन्तिम १६) अन्तर्गत साबिक विजेता अर्जेन्टिना र इजिप्टबिचको खेल मैदानको प्रतिस्पर्धाभन्दा पनि रेफ्रीका विवादास्पद निर्णय र भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को भूमिकाका कारण विश्वभर चर्चामा रहेको छ।

मंगलबार राति अमेरिकाको एटलान्टा स्टेडियममा भएको अत्यन्तै तनावपूर्ण खेलमा साबिक विजेता अर्जेन्टिनाले ३–२ को संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। तर खेलका फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्जियर र भिएआरको निष्पक्षतामाथि गम्भीर प्रश्नचिह्न उब्जिएको छ। अब अर्जेन्टिनाले शनिबार क्वार्टरफाइनलमा स्विजरल्याण्डको सामना गर्नेछ।  

यो घटनासँगै जारी विश्वकपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा फिफाले खेलाडीको प्रतिबन्ध फुकुवा गरेपछि देखिएको राजनीतिक हस्तक्षेप, स्थापित खेल नियमहरूको तोडमोड र अरब–प्यालेस्टाइन भावना जोडिएपछि फुटबलको सर्वोच्च निकाय (फिफा) को संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउन थालिएको छ।

खेलको १४ औँ मिनेटमा इजिप्टका यासेर इब्राहिमले गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए। १९ औँ मिनेटमा निकोलस तागलियाफिकोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्री लेटेक्जियरले अर्जेन्टिनालाई पेनाल्टी दिए ।  

तर पनि कप्तान लियोनेल मेस्सीको उक्त प्रहारलाई इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। खेलको मुख्य विवाद त्यतिबेला सुरु भयो जब भिएआरले मैदानको धेरै पछाडि लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको भन्दै इजिप्टको एउटा वैध देखिने गोललाई रद्द गरिदियो।

यद्यपि इजिप्टले ६७ औँ मिनेटमा दोस्रो गोल थप्दै २–० को अग्रता लियो। तर भिएआरको उक्त निर्णय र खेलको अन्त्यतिर अर्जेन्टिनाको प्रहारका क्रममा इजिप्टले पेनाल्टी नपाउनु, अनि रेफ्रीले इजिप्टका खेलाडीहरूलाई लगातार पहेँलो कार्ड दिनु खेलको निष्पक्षतामाथि ठुलो धक्का साबित भयो।

विवादको मुख्य बिन्दु खेलको ५८ औँ मिनेटमा निम्तियो, जहाँ मोस्ताफा जिकोले मोहम्मद सलाहको पासमा इजिप्टका लागि उत्कृष्ट गोल गरे। इजिप्ट २–० को बलियो स्थितिमा पुगेपछि जिकोले जर्सी फुकालेर खुसीयाली मनाएका थिए।  

तर, भिएआरको हस्तक्षेपपछि रेफ्री लेटेक्जियरले मनिटर जाँच गर्दै ‘बिल्ड–अप’ (गोलको तयारी) मा मारवान अत्तियाले अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजको जर्सी तानेको र खुट्टामा कुल्चेको भन्दै उक्त गोललाई रद्द गरिदिए।  

खेल विश्लेषकहरूका अनुसार उक्त कथित फाउल गोल हुनुभन्दा ३० सेकेन्डभन्दा अगाडि मैदानको अर्को कुनामा भएको थियो, जुन भिएआर प्रोटोकलको सामान्य सीमाभन्दा बाहिर मानिन्छ।

त्यसको केही मिनेटमै (६७ औँ मिनेटमा) जिकोले पुनः गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाउन सफल भए। तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले क्रिस्टियन रोमेरो (७८ औँ मिनेट), लियोनेल मेस्सी (८२ औँ मिनेट) र इन्जो फर्नान्डेज (९०+२ मिनेट) को गोल मद्दतमा ३–२ को पुनरागमन जित निकाल्यो।  

इन्जोको विजयी गोल हुनुअघि अर्जेन्टिनाको पेनाल्टी बक्सभित्र एलेक्सिस म्याक अलिस्टरले इजिप्टका हाम्दी फाथीलाई स्पष्ट रूपमा तानेको भए पनि भिएआरले त्यसलाई सामान्य रूपमा बेवास्ता गर्दा इजिप्टका खेलाडी र प्रशिक्षक आक्रोशित देखिन्थे।

खेल सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफू घर जान लागेको र प्रतियोगिताका अब कुनै पनि खेल नहेर्ने घोषणा गरे।  

उनले आफूहरूमाथि अन्याय भएको, पेनाल्टी पाउनुपर्ने ठाउँमा नपाइएको र गोल कुन आधारमा रद्द गरियो भन्ने कुरा बुझ्न नसकिएको भन्दै आक्रोश पोखे। हारका बाबजुद आफ्ना खेलाडीहरूले योजनाबद्ध रूपमा उत्कृष्ट प्रदर्शन गरेकोमा गर्व गर्दै उनले मोहम्मद सलाह र ओमर मार्मोस बाहेक मुख्यतया स्थानीय घरेलु लिगका खेलाडीहरू बोकेर पनि विश्वका जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित भएको जिकिर गरे।

त्यस्तै, गोल रद्द गरिएपछि इजिप्टका मिडफिल्डर मोस्ताफा जिकोले निराशा व्यक्त गर्दै रेफ्रीले अन्यायपूर्ण फैसला गरेको दाबी गरे। यस्तो स्पष्ट र खुला दमन देखिँदा साना टोलीहरू जतिसुकै राम्रो खेले पनि शक्ति र पैसाको अगाडि टिक्न सक्दैनन् भन्ने उदाहरण यो खेल बनेको उनको तर्क थियो।  

यद्यपि, इजिप्ट ऐतिहासिक खेल खेल्दाखेल्दै पराजित भए पनि राष्ट्रपति अब्देल फताह अल–सिसीले टोलीको बहादुरीको प्रशंसा गर्दै सामाजिक सञ्जाल ‘एक्स’ मा उनीहरूको उपलब्धिमा गर्व रहेको र भविष्य अत्यन्तै उज्ज्वल रहेको भन्दै धन्यवाद दिएका छन्। इजिप्टको फुटबल महासंघले पनि ट्विट गर्दै खेलाडीहरूले ठुलो जिम्मेवारी पूरा गरेको भन्दै खुःशी व्यक्त गरेको छ।  

यो खेल केवल फुटबलमा मात्र सीमित रहेन। अस्ट्रेलिया विरुद्धको अघिल्लो जितमा इजिप्टका प्रशिक्षक होसाम हसनले मैदानमा प्यालेस्टाइनको झण्डा फहराएर उक्त जित प्यालेस्टिनी जनतामा समर्पित गरेका थिए। त्यसैले यो खेल गाजा र अरब जगत्का लागि भावनात्मक रूपमा निकै महत्त्वपूर्ण थियो।  

बेलायतका लागि प्यालेस्टिनी राजदूतले इजिप्टका खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै रेफ्रीको निर्णयको कडा आलोचना गरेका छन्। गाजामा बमबारी भइरहेका भवनहरूको भग्नावशेषबिच पालमा बसेर खेल हेरिरहेका फुटबल प्रशंसकहरूले फिफाले भ्रष्ट रेफ्री नियुक्त गरेर आफूहरूको खुसीको त्यो सानो क्षण पनि खोसेको भन्दै सामाजिक सञ्जालमा पीडा पोखिरहेका छन्।

यस घटनालाई लिएर विश्व फुटबलका स्थापित दिग्गज र विश्लेषकहरूले पनि फिफा र रेफ्रीको कडा आलोचना गरेका छन्। पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले खेलको निर्णयमाथि टिप्पणी गर्दै यसलाई ‘दिनदहाडै भएको लुटपाट’ को संज्ञा दिएका छन्।  

गोल भइसकेपछि ३० सेकेन्ड अघिको घटना खोजेर रद्द गर्नु खेलको नियमको उपहास भएको उनको भनाइ छ। त्यस्तै, खेल विश्लेषक जेमी क्यारागरले यो गोल कुनै अर्को ठुलो टोली विरुद्ध भएको भए यसरी रद्द नहुने दाबी गर्दै भिएआरको प्रयोगमा धेरै विरोधाभासहरू देखिएको तर्क गर्छन्।

जारी विश्वकपमा मैदानभित्रको भिएआर विवाद मात्र नभई, खेलभन्दा बाहिर राजनीतिक व्यक्तित्व र आयोजक राष्ट्रको स्वार्थलाई प्राथमिकता दिइएको भन्दै फिफाको तटस्थतामाथि झन् ठुलो प्रश्न उठेको छ।  

यसको सबैभन्दा ज्वलन्त उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी खेलाडी फोलारिन बालोगन जोडिएको प्रकरण बनेको छ। सियाटलमा भएको प्रि–क्वार्टरफाइनल खेलमा अमेरिका बेल्जियमसँग ४–१ ले लज्जास्पद रूपमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तर, यो खेल फुटबलको नतिजाभन्दा बढी राष्ट्रपति ट्रम्प मुछिएको ठुलो राजनीतिक विवादका कारण विश्वभर चर्चा र आलोचनाको केन्द्रमा रह्यो। अमेरिकालाई हराएको बेल्जियमले अब शनिबार क्वार्टरफाइनलमा स्पेनको सामना गर्नेछ।

विवादको सुरुवात तब भयो, जब अमेरिकाका मुख्य स्ट्राइकर फोलारिन बालोगनले बोस्निया एण्ड हर्जगोभिना विरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए। नियमअनुसार उनले बेल्जियम विरुद्धको खेलमा स्वचालित रूपमा एक खेलको प्रतिबन्ध भोग्नुपर्ने थियो।  

तर, फिफाको अनुशासन समितिले फिफा अनुशासन नियमको सहारा लिँदै उक्त प्रतिबन्धलाई अनौठो तरिकाले पूर्ण रूपमा स्थगित गर्‍यो। जसकारण बालोगन बेल्जियमविरुद्ध मैदान उत्रिन सफल भए। खेललगत्तै राष्ट्रपति ट्रम्पले आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर उक्त रातो कार्डको निर्णयलाई ‘पुनरावलोकन’ गर्न लगाएको र ‘आफ्नै पहलमा प्रतिबन्ध हटेको’ सार्वजनिक रूपमै स्वीकार गरेपछि विश्वभर यसको कडा विरोध भयो। फिफामाथि राजनीतिक दबाबमा झुकेको र खेलको निष्पक्षताको धज्जी उडाएको गम्भीर आरोप लाग्यो।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) ले फिफाले ‘लक्ष्मण रेखा पार गरेको’ र फुटबलको खेल भावना समाप्त पारेको भन्दै कडा आपत्ति जनाएको छ। बेल्जियम फुटबल संघले बालोगनलाई खेलाउने निर्णयविरुद्ध दर्ता गरेको आकस्मिक अपिललाई फिफाले तुरुन्तै अस्वीकार गरिदिएको थियो।  

हाल युरोपेली सांसदहरू र खेलकुद विज्ञहरूले फिफा अध्यक्ष इन्फान्टिनोको यो कदमले खेलको साख गिराएको भन्दै उनीमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। कतिपयले त फिफाको संस्थागत भ्रष्टाचार अन्त्य गर्न उनको राजीनामा समेत माग्न थालेका छन्।

फिफाको राजनीतिक लाचारी र दोहोरो मापदण्डको अर्को कुरूप रूप इरान राष्ट्रिय फुटबल टोली र अन्य साना राष्ट्रहरूमाथि गरिएको विभेदपूर्ण व्यवहारमा पनि देखियो।  

आयोजक राष्ट्र अमेरिकाको कडा राजनीतिक दबाब र भिसा प्रतिबन्धका कारण इरानका मुख्य प्रशिक्षक, व्यवस्थापक र सहयोगी स्टाफहरूलाई भिसा दिन अस्वीकार गरियो। यति मात्र होइन, अमेरिकाको विवादास्पद ‘ट्राभल ब्यान’ (भ्रमण प्रतिबन्ध) का कारण समूह चरणबाटै बाहिरिएको इरानले ठुलो समस्या भोग्नुपरेको थियो।  

विश्वकपमा छनोट भएका हाइटी, आइभोरी कोस्ट र सेनेगल जस्ता देशका खेलाडी, अधिकारी र प्रशंसकहरूले समेत कडा भिसा जटिलता र विभेदको सामना गर्नुपर्‍यो।  

फिफाले इरानलाई अमेरिकामा स्थायी ‘बेस क्याम्प’ राख्न समेत नदिएपछि टोली मेक्सिकोको टिजुआनामा बस्न बाध्य भयो। खेल खेलिने अघिल्लो दिन मात्रै अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएलगत्तै केही घण्टाभित्रै विमान चढेर देश छोड्नुपर्ने अपमानजनक र कडा यात्रा नियम फिफाले इरानमाथि थोपर्‍यो।  

इरानले पटक पटक गरेको अपिलको सुनुवाइ पनि भएन। अझ उदेकलाग्दो कुरा त, विश्वकपका लागि छनोट भएका सोमालियाका एक रेफ्रीलाई सबै वैध कागजात हुँदाहुँदै पनि अमेरिकी अध्यागमनले प्रवेश अनुमति दिएन, जसमा फिफा पूर्ण रूपमा मूकदर्शक बन्यो।  

खेलको प्राविधिक तयारी र खेलाडीहरूको शारीरिक ‘रिकभरी’ जस्तो संवेदनशील विषयलाई बेवास्ता गर्दै शक्ति र राजनीतिक स्वार्थ अनुरूप साना र अफ्रिकी राष्ट्रहरूलाई उत्पीडनमा पारिनुले फिफा ‘समान अवसर’ को खेल सिद्धान्तबाट पूर्ण रूपमा च्युत भएका टिप्पणी भइरहेको छ।  

मैदानबाहिरको यो अन्यायपूर्ण राजनीतिक निर्णयबाट आक्रोशित बनेको बेल्जियमले खेलमा पूर्ण रूपमा दबाब बनाउँदै अमेरिकालाई ४–१ ले स्तब्ध पार्‍यो।  

खेलको ९ औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटेलाएरेले पहिलो गोल गरेका थिए। ३१ औँ मिनेटमा अमेरिकाका मलिक टिलम्यानले फ्री–किक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए पनि त्यसको ठिक ६१ सेकेन्डभित्रै डे केटेलाएरेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि अग्रता दिलाए।  

५७ औँ मिनेटमा अमेरिकी गोलकिपर म्याट टर्नरको गल्तीको फाइदा उठाउँदै हान्स भानाकेनले तेस्रो गोल गरे भने ९०+३ मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले ४–१ को शानदार जित निश्चित गर्‍यो।

खेल जितेपछि बेल्जियमका खेलाडीहरूले मैदानमै डोनाल्ड ट्रम्पको चर्चित चुनावी ‘डान्स स्टेप्स’ को नक्कल गर्दै अमेरिकाको खिल्ली उडाएका थिए। बेल्जियम फुटबल टोलीको आधिकारिक सामाजिक सञ्जालमा उक्त सेलिब्रेसनको तस्बिर राख्दै ‘यसलाई उल्ट्याएर देखाऊ’ भन्दै ट्रम्प र फिफाको पक्षपातपूर्ण निर्णयमाथि कडा व्यंग्य गरिएको थियो।  

यो खेल सुरु हुनु ठिक अघि फिफाले अमेरिकी फुटबलका दुई उच्च अधिकारीहरू (साम जापाटका र फ्रान्क प्यानल) लाई निलम्बन गरेको थियो। तर अमेरिकी फुटबल संघका अनुसार यो प्रतिबन्ध रंगशालाको प्रतिबन्धित क्षेत्रको नियम उल्लंघन गरेका कारण लागेको हो। त्यसको ट्रम्प–बालोगन विवादसँग कुनै सम्बन्ध छैन।

अर्कातर्फ, इजिप्ट र अर्जेन्टिनाबिचको खेलको अन्तिम मिनेटमा मैदानमा भएको पक्षपातपूर्ण प्रदर्शनलाई बेवास्ता गरिएको झोँकमा इजिप्टका प्रशिक्षक होसाम हसनले ‘एक्स’ आकारमा आफ्नो हात क्रस गरेर फिफाको ‘जातिवाद विरोधी प्रोटोकल’ सक्रिय गर्ने इशारा गरेका थिए। फिफाको नियम अनुसार यो इशारापछि रेफ्रीले तुरुन्तै खेल रोक्नुपर्ने हुन्थ्यो, तर रेफ्री लेटेक्जियरले त्यसलाई पूर्ण रूपमा बेवास्ता गरे।  

जारी विश्वकपमा फिफामाथि अतिरिक्त टेलिभिजन विज्ञापनका लागि जबरजस्ती ‘हाइड्रेशन ब्रेक’ राखेको र टिकटको मूल्य अत्यधिक महँगो बनाएर चरम व्यावसायिक नीति अपनाएको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ।  

यी तमाम आरोपबिच फिफाको ‘फेयर प्ले’ को नारा केवल एउटा देखाउने दाँत मात्र साबित हुने चिन्ता बढेको छ। यद्यपि, हारका बाबजुद इजिप्टका कप्तान मोहम्मद सलाह र उनको टोलीलाई होटल बाहिर समर्थकहरूले ‘अघोषित विजेता’ का रूपमा भव्य स्वागत गरेका छन्।  

एजेन्सीको सहयोगमा

प्रकाशित: २४ असार २०८३ १५:४० बुधबार





Source link

Leave a Comment