विवेकको खडेरी र ‘मास हिस्टेरिया’


अरस्तुले २३ सय वर्षअघि नै ठम्याएका थिए– भूगोल, अर्थतन्त्र र सैन्य सामथ्र्यको त्रिवेणीले प्रजातन्त्रको आयु र राष्ट्रियताको आयतन तय गर्छ। आजको विश्व राजनीतिमा सबै देशको राष्ट्रिय स्वाभिमानको परिभाषा र सार्वभौमिकताको गहिराइ एउटै छैन। एउटा महाशक्तिका लागि सार्वभौमिकता ‘शक्ति प्रदर्शन’को माध्यम होला तर नेपालजस्तो भूसंवेदनशील देशका लागि यो केवल ‘अस्तित्वको रक्षा’ र ‘स्वाधीनताको खोजी’ हो।

जबसम्म हाम्रो आर्थिक र सैन्य नीतिले भौगोलिक यथार्थलाई सम्बोधन गर्न सक्दैन, तबसम्म प्रजातन्त्रका नाराहरू केवल दार्शनिक विलासिता मात्र बन्नेछन्। हामी प्रजातन्त्र र राष्ट्रियताको नारा त जोडसँग लगाँउछांै तर भदौ २३ र २४ गतेपछि देखिएका दृश्य, अवस्था र सरोकारवालाका भूमिका त नियालेका छौं ? के यसलाई चुनावमा गम्भीर विषय बनाएका छौं? यो अवस्था कसरी बन्यो भन्ने गम्भीर समीक्षा यस लेखमा नगरी अहिलेको अवस्थामै केन्द्रित हुनेछु।  

‘मास हिस्टेरिया’ र नेपाली समाज

गम्भीर मनोयुद्धको भूमरीमा नेपाल र हाम्रो समाज फसेको छ। समाज एउटा अनौठो र डरलाग्दो ‘मास हिस्टेरिया’बाट गुज्रिरहेको छ। सामाजिक सञ्जालका पर्दाहरूमा देखिने आक्रोश, गालीगलौज र समर्थनले हाम्रो समाज कुन दिशातिर जाँदै छ भन्ने गम्भीर प्रश्न खडा ग¥यो। आखिर हामी कसरी विवेकहीन भिडमा फेरियौं ?

यो मास हिस्टेरिया कुनै संयोग मात्र होइन, यो एक लामो प्रक्रियाको उपज थियो। एकाएक देखिनुमा भने यसको मुख्य ‘भाइरस’ डिजिटल अल्गोरिदम बन्यो।

अल्गोरिदमले मानिसलाई उसको रुचिअनुसारका उग्र सामग्री मात्र पस्किन्छ। विगत ५–७ वर्षदेखि नै परम्परागत संस्थाहरू (न्यायपालिका, प्रेस, राजनीति) प्रतिको अविश्वासलाई हतियार बनाएर एउटा यस्तो आधार तयार पारियो कि ‘तथ्य’भन्दा ‘हल्ला’ बढी बिक्न थाले। जब मान्छेले बारम्बार एउटै प्रकारको प्रोपागान्डा सुन्छ, उसको मस्तिष्कले त्यसलाई परम सत्य मान्न थाल्छ।

समाजमा ऐँजेरु पलाउँदा त्यसलाई फाल्नुपर्ने बुद्धिजीवी र मिडिया आफैं  रक्षात्मक बने।  यसका दुई कारण छन्–  

भिडको डरः भिड यति आक्रामक भयो कि तथ्य बोल्नेहरूलाई तत्कालै ‘दलाल’ वा ‘विरोधी’को ट्याग झुन्ड्याइयो। तब विवेकशील मान्छेहरू पनि ‘सेल्फ–सेन्सरसिप’मा गए।

मूलधारका मिडियाले पनि गहिराइमा पुगेर विश्लेषण गर्नुभन्दा ‘भ्युज’ र ‘ट्रेन्डिङ’को पछि लाग्दा समाजमा भ्रम फैलाउन मद्दत पुग्यो।

तुलनात्मक अध्ययनका लागी समय र धैर्य चाहिन्छ। तर सामाजिक सञ्जालले तत्काल प्रतिक्रियाको लत लगाइदिएपछि  हामी प्रतिक्रियाले सञ्चालित मान्छेमा फेरिएको पत्तै पाएनौं । प्रतिक्रियाबाट मात्रै चल्न थालेपछि मान्छेको सोच्ने शक्तिलाई आग्रहले किचिदिन्छ। तब कसैलाई नायक मान्छौं भने उसको कमजोरी देख्नै चाहँदैनौं र कसैलाई शत्रु मान्छौं भने उसको सही कुरा पनि सुन्दैनौं।

लोकप्रियतावादका प्रायोजकहरूले जनताको आक्रोशलाई सत्ता चढ्ने भर्‍याङ बनाउन चाहन्छन्। उनीहरूले कहिल्यै जटिल समस्याको ठोस समाधान दिँदैनन्, बरु एउटा ‘काल्पनिक शत्रु’ खडा गरेर मान्छेलाई उत्तेजित बनाइराख्छन्।

संकेत नै सन्देश हुन्छ। युवा पुस्ता वर्तमान अवस्थाबाट वाक्क छ। उसले नयाँ नायकको पृष्ठभूमि वा मार्गचित्र हेर्नुभन्दा पनि उसको ‘बोलीको जादु’ हेरेर भविष्य सुम्पिरहेको छ। पृष्ठभूमि नकेलाई बनाइएका यस्ता नायकहरूले समाजलाई कता लैजान्छन् भन्ने कुरामा युवाहरूले विवेक प्रयोग गर्न ढिलो हुँदा राजनीतिक दुर्घटनाको संकेत नै थाहा नपाउने अवस्था पुग्यो।

हाम्रो पृष्ठभूमिले आदर्श निर्माण गर्नुपर्ने हो, तर अहिले ‘भाइरल’ हुनु नै आदर्श बनेको छ। हामीले भिडबाट अलग्गिएर, तथ्य र तर्कका आधारमा तुलनात्मक अध्ययन गर्ने बानी बसालेनौं भने हामी स्वतन्त्र नागरिक होइन, केवल ‘डिजिटल गोठालाहरू’द्वारा निर्देशित एउटा भिड मात्रै रहनेछौं। समाजलाई हिस्टेरियाबाट बचाउन अब प्रत्येक व्यक्तिले ‘म किन यो कुरा पत्याउँदै छु?’ भनेर आफूलाई प्रश्न गर्न जरुरी भइसक्यो।

यो अवस्था भ्रष्ट शासकहरूले नै निम्त्याएका हुन्। भ्रष्टहरूलाई त परिवर्तन गर्न सकिएला, तर भिडले सिर्जना गर्न सक्ने अस्थिरताबाट देशलाई फर्काउन भने निकै कठिन हुनेछ।  

उत्तेजनाले मात्तिएको समाज भिडमा परिणत भएपछिको राष्ट्रिय त्रासदी बुझ्न विश्वमा भएका दुई दशक यताका लोकप्रिय आन्दोलनले पैदा गरेको अस्थिरता र ती देशहरूको अहिलेको अवस्था नियाले स्पष्ट हुन्छ। रूप त्यसका फरक छन्, तर त्यसका निष्कर्ष एकै प्रकारका।  त्यहाँका चेतनशील नागरिक, मिडिया, प्राज्ञिकजन, नयाँ सोचका युवामा समयमै किन चेत खुलेन भन्ने प्रश्न आज गम्भीर बनेको छ। नेपाली समाजमा फैलिएको ‘मास हिस्टेरिया’को रोग पनि त्यस्तो हिस्टेरिया हो, जसले विवेकलाई उत्तेजनामा फेरिदिएर न अरूको अनुभवबाट सिक्न दिन्छ, न त आफ्नै बुद्धिलाई काम गर्न दिन्छ।

यो भाष्यको तयारी लामो समयदेखि भइरहेको थियो। तर सिंहदरबार छिर्नेबित्तिकै आफूलाई सर्वशक्तिमान् शासक ठान्नेहरूले कहिल्यै ‘गलहत्याइन सकिन्छ’ भन्ने सोचेनन्। सडकमा पछारिएपछि मात्र थाहा हुन्छ– चुनावको बहुमत वा दुईतिहाइले मात्र सत्ता जोगिँदो रहेनछ। परिस्थिति यस्तो बनेको छ कि सबै कुरा आँखाअगाडि नै ध्वस्त हुँदै गइरहेको छ, तैपनि अहंकारीहरू अझै भ्रममै छन्।

निर्वाचन र संसदीय व्यवस्था: केही अनुत्तरित प्रश्नहरू

सबै कुराको केन्द्र राजनीति नै  हो। शंका, अनिश्चतताको बाबजुद निर्वाचनको माहोल तातिरहेको छ। नागरिकहरू आफ्ना धारणा बनाउँदै छन् तर समाज र समयले भने केही यस्ता प्रश्नहरूको उत्तर खोजिरहेको पनि छ, जसको सम्बोधनबिना लोकतन्त्र केवल एउटा आवरण मात्र बन्ने खतरा छ।

१. संसद्को मर्यादा र उम्मेदवारको नैतिकता

हिजो जसले ‘संसद्’को औचित्यमाथि प्रहार गरे वा जसले यस संस्थाको गरिमालाई जलाउने प्रयास गरे, आज उनीहरू नै सांसद बन्ने दौडमा छन्। यहाँ एउटा गम्भीर प्रश्न उब्जिन्छ– के हिजो सदनको अपहरण गर्नेहरूबाटै आउने सदनको रक्षा सम्भव छ ? निर्वाचित हुँदैमा मात्र सदन सार्वभौम हुन सक्दैन। यसका लागि सदस्यहरूको संवैधानिक निष्ठा अनिवार्य हुन्छ।

२. सरोकारवाला निकायको भूमिका र निर्वाचनको अर्थ

सदनको सुरक्षा र सार्वभौमसत्ताको विषयमा जबसम्म प्रमुख सरोकारवाला निकायहरू, विशेष गरी अदालत र राज्यका सुरक्षा अंगहरू (जंगी अड्डा) ले विगतका विचलनहरूलाई पाठको रूपमा लिई संवैधानिक सर्वोच्चताको ग्यारेन्टी गर्दैनन्, तबसम्म चुनावको अर्थ, महत्त्व र जनअपेक्षामाथि प्रश्नचिह्न लागिरहनेछ।

३. दलीय ‘ह्विप’ र सांसदको स्वतन्त्र विवेक

सदनलाई वास्तविक अर्थमा सार्वभौम बनाउन राजनीतिक दल र उम्मेदवारसँग स्पष्ट नीति हुनुपर्छ। हालको व्यवस्थामा ‘ह्वीप’का कारण सांसदको अधिकार पार्टी नेताको खल्तीमा सीमित हुने गरेको छ।

हृदयको आवाज सांसदहरू केवल दलका प्रतिनिधि मात्र होइनन्, उनीहरू जनताका प्रतिनिधि हुन्। दलीय निर्णय र जनप्रतिनिधिको स्वतन्त्र विवेकबिचको सन्तुलन मिलाउने विधिवत व्यवस्था अबको आवश्यकता हो।

४. उम्मेदवारको वैचारिक धरातल र राष्ट्रिय दृष्टिकोण

सांसद भनेको केवल आफ्नो क्षेत्रको विकास गर्ने ‘एजेन्ट’ मात्र होइन, उनीहरू राष्ट्रिय विधायिका हुन्। त्यसैले उम्मेदवारहरूले निम्न विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ–

आर्थिक–राजनीतिक चिन्तनः देशको जर्जर अर्थतन्त्र उकास्ने र सांस्कृतिक पहिचान जोगाउने ठोस खाका के छ?

भूसंवेदनशीलता र परराष्ट्र नीतिः नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा हाम्रा छिमेकी महाशक्ति राष्ट्रहरू (भारत र चीन) सँगको सम्बन्ध कस्तो हुनुपर्छ ? छिमेकीको संवेदनशीलतामा नेपालको दायित्व के हुने?

विश्व साँघुरिइसक्यो। महाशक्तिहरूका स्वार्थहरू हरेक देशसँग जोडिएका हुन्छन्। वैदेशिक सहायता र कुटनीतिमा कसैको पक्षपोषण नगरी ‘राष्ट्रिय हित’लाई केन्द्रमा राख्ने प्रतिबद्धता उम्मेदवारसँग छ कि छैन?

चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो त राज्यका अंगहरूलाई जवाफदेही बनाउने र आगामी पाँच वर्षका लागि देशको भाग्य कोर्ने अवसर पनि हो। जबसम्म यी नीतिगत र नैतिक प्रश्नहरूको उत्तर खोजिँदैन, तबसम्म पात्र फेरिएलान् तर प्रवृत्ति फेरिने छैन।

चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो त राज्यका अंगहरूलाई जवाफदेही बनाउने र आगामी पाँच वर्षका लागि देशको भाग्य कोर्ने अवसर पनि हो। जबसम्म यी नीतिगत र नैतिक प्रश्नहरूको उत्तर खोजिँदैन, तबसम्म पात्र फेरिएलान् तर प्रवृत्ति भने फेरिने छैन।

त्यसैले मतदान केन्द्रतर्फ पाइला बढाउनुअघि आफैंलाई प्रश्न गरौं– के हामीले रोज्न लागेको उम्मेदवारले सदनको गरिमा बुझेको छ? के ऊसँग राष्ट्रिय संकट र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने न्यूनतम बौद्धिक धरातल छ?

अबको निर्वाचनमा केवल ‘पार्टी’ र ‘प्रतीक’ हेरेर होइन, उम्मेदवारको ‘नीति’ र ‘नियत’ हेरेर विवेक हामी प्रयोग गर्छौं कि अवेग र आग्रहमा ? संसद्लाई नेताहरूको इसारामा नाच्ने थलो बनाउने कि जनताको आवाज गुन्जने सार्वभौम थलो बनाउने भन्ने कुरा आज हाम्रो हातमा छ। याद राखौं, हाम्रा आजका साना लापरबाहीले भोलिको पुस्ताले सदन र व्यवस्थाकै अपहरण भएको टुलुटुलु हेर्नुपर्ने स्थिति भने नआओस्।  

प्रकाशित: २८ माघ २०८२ ११:१६ बुधबार





Source link

Leave a Comment