प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार

अमेरिकी राष्ट्रिय गुप्तचर विभागकी प्रमुख तुलसी गबार्डले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
आफ्ना श्रीमान् अब्राहम विलियम्सलाई दुर्लभ प्रकारको हड्डीको क्यान्सर देखिएपछि आगामी जुन महिनाको अन्त्यदेखि लागू हुने गरी गबार्डले राजीनामाको घोषणा गरेकी हुन्। गबार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको पत्रमा दुर्भाग्यवश जुन ३०, २०२६ देखि लागू हुने गरी आफ्नो पद छाड्नुपरेको उल्लेख गरेकी छन्।
उनले पत्रमा लेखेकी छन्, “आफ्ना श्रीमान् अब्राहमलाई हालै अत्यन्त दुर्लभ प्रकारको हड्डीको क्यान्सर भएको पुष्टि भएको छ। आगामी केही हप्ता र महिनाहरू उनका लागि निकै कठिन हुनेछन्। यस्तो अवस्थामा म सार्वजनिक सेवाबाट अलग भएर उनको साथमा रहन चाहन्छु।”
राष्ट्रपति ट्रम्पले गबार्डको निर्णयप्रति सम्मान व्यक्त गर्दै उनको कामको प्रशंसा गरेका छन्। उनले राष्ट्रिय गुप्तचर विभागका प्रमुख सहायक निर्देशक आरोन लुकासलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइने बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “उनका श्रीमान् अब्राहमलाई दुर्लभ प्रकारको हड्डीको क्यान्सर भएको छ र उनी स्वाभाविक रूपमा आफ्नो श्रीमानको साथमा रहन चाहन्छिन्। उनले उत्कृष्ट काम गरेकी छन्, हामी उनलाई सम्झिरहनेछौँ।”
गत केही सातादेखि गबार्डले प्रशासन छाड्न लागेको चर्चा चले पनि उनले यसअघि त्यस्तो सम्भावनालाई अस्वीकार गर्दै आएकी थिइन्। उनले ह्वाइट हाउसको ओभल कार्यालयमा राष्ट्रपति ट्रम्पलाई भेटेर औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।
गबार्डले आफ्नो पत्रमा श्रीमान् अब्राहम आफ्नो जीवनको सबैभन्दा बलियो जग रहेको उल्लेख गरेकी छन्। अफ्रिकामा सैन्य मिसन, राजनीतिक अभियान तथा सरकारी जिम्मेवारीका कठिन समयमा श्रीमानको साथले आफूलाई सधैँ मजबुत बनाएको उनले बताएकी छन्।
तर, उनको कार्यकाल विवाद र मतभेदले पनि भरिएको थियो। विशेषगरी इरानसम्बन्धी अमेरिकी नीतिमा उनले दिएका अभिव्यक्तिहरू ह्वाइट हाउसको आधिकारिक धारणा भन्दा फरक देखिएका थिए।
सन् २०२५ मा इरानमाथि अमेरिकी आक्रमण हुनुअघि गबार्डले विश्व परमाणु विनाशको संघारमा पुगेको चेतावनी दिएकी थिइन्। अमेरिकी संसदमा दिएको बयानमा गबार्डले इरानले सक्रिय रूपमा परमाणु हतियार निर्माण नगरेको दाबी गरेकी थिइन्। तर ट्रम्पले सार्वजनिक रूपमा उनको भनाइ अस्वीकार गर्दै भनेका थिए, “मलाई उनले के भनिन् मतलब छैन, इरान परमाणु हतियारको निकै नजिक पुगेको थियो।” त्यसपछि अमेरिकाले इरानका परमाणु केन्द्रमाथि “मिडनाइट ह्यामर” नामक सैन्य कारबाही सञ्चालन गरेको थियो।
गबार्डले सन् २०२० को अमेरिकी निर्वाचनमा धाँधलीको अनुसन्धानमा पनि सक्रिय भूमिका खेलेकी थिइन्। उनले जर्जिया राज्यको फुल्टन काउन्टी निर्वाचन कार्यालयमा संघीय अनुसन्धान निकायले गरेको छापामार अनुसन्धानस्थलमै पुगेर निरीक्षण गरेकी थिइन्, जसले थप विवाद निम्त्याएको थियो। धेरै पूर्व गुप्तचर अधिकारीहरूले घरेलु कानुनी अनुसन्धानमा राष्ट्रिय गुप्तचर प्रमुखको प्रत्यक्ष संलग्नताले गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका थिए।
तुलसी गबार्ड अमेरिकी सेनाको रिजर्भ फौजमा समेत आबद्ध छिन्। उनी हवाई राज्यबाट निर्वाचित पूर्व डेमोक्र्याट सांसद हुन्। अमेरिकी संसदमा पुग्ने उनी पहिलो सामोअन मूलकी तथा हिन्दू धर्म मान्ने सदस्यका रूपमा इतिहास बनाएकी थिइन्।
उनले सन् २०२० मा डेमोक्र्याट पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी थिइन्, तर पछि पार्टी छाडेर रिपब्लिकन पार्टीमा प्रवेश गरिन्। सन् २०२४ को चुनावमा उनले ट्रम्पलाई समर्थन गर्दै चुनावी अभियानमा सक्रिय भूमिका खेलेकी थिइन्। त्यसपछि ट्रम्पले उनलाई अमेरिकी गुप्तचर समुदायअन्तर्गत रहेका १८ वटा निकायको समन्वय गर्ने सर्वोच्च पद ‘राष्ट्रिय गुप्तचर प्रमुख’ मा नियुक्त गरेका थिए।