प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार

नेपालको अध्यागमन विभाग
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका अन्य कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने भएको छ। अध्यागमन विभागले यस विषयमा स्पष्ट पार्दै श्रमिकहरूलाई थप सहज बनाएको हो।
यसअघि वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायतका कागजात पेस गर्नुपर्ने जनाएको थियो।
तर, विभागले अब विदेश यात्रा गर्ने नेपाली नागरिकहरूलाई कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।
‘भिजिट भिसा’ मा प्रस्थान गर्ने नेपाली नागरिकका हकमा भने कम्तीमा छ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति (भिसा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको विभागले स्पष्ट पारेको छ।
वैदेशिक रोजगार विभागले यही चैत २३ गते प्रकाशित गरेको सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूमा अन्योल बढाएको भन्दै अध्यागमन विभागले उक्त स्पष्टीकरण दिएको हो।