विद्यार्थीसँग जोडिन ‘विद्यार्थी महोत्सव’

विद्यार्थीसँग जोडिन ‘विद्यार्थी महोत्सव’


नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको सहभागिता अत्यन्तै अर्थपूर्ण रह्यो । उच्च राजनीतिक पदमा पुगिसकेकाहरू समेत आजको भूमिका भन्दा उतिबेलाको विद्यार्थी इतिहास सम्झेर धेरै गर्व गर्छन् ।

तरबारको धारमा टेकेर विद्यार्थी संगठनहरूले पञ्चायत र राजतन्त्रबाट देशलाई मुक्ति दिन भूमिका खेले, वर्षौंदेखि बाँधिएको साङ्लोबाट स्वतन्त्र भए । तर त्यो साङ्लोबाट निस्किएर कुन यात्रा तय गर्ने भन्नेमा चाहिं सबै संगठन चुके ।

स्वतन्त्रता महत्वपूर्ण थियो, तर यो मात्र सबैथोक थिएन । व्यवस्था परिवर्तन पछि विद्यार्थी राजनीतिको शैली फेरिएन ।

नेपालमा कुनै पनि विद्यार्थी संगठन शैक्षिक मुद्दा मार्फत स्थापित भएका छैनन् भन्दा फरक पर्दैन । हरेक क्षेत्रमा विद्यालयको पहुँच पुर्‍याउन, छात्राहरूलाई स्कुलसम्म, शिक्षालाई निःशुल्क बनाउन जस्ता आजसम्म जति पनि शैक्षिक परिवर्तन भएको छ, यी सबैमा विद्यार्थी संगठनहरूको योगदान त छ, तर आज पनि विद्यार्थी संगठनलाई चिन्ने भनेको उनीहरूले गरेको व्यवस्था परिवर्तनको आन्दोलन, राष्ट्रियताको आन्दोलन र सामाजिक जागरणको अभियान सम्झेर नै हो ।

एकातिर, प्रविधिको विकाससँगै भएको ग्लोबलाइजेसनले नयाँ पुस्ताका विद्यार्थीलाई पहिलाका विद्यार्थी भन्दा फरक बनाइदिएको छ । आजका विद्यार्थी कसैको इतिहास सुनेर/सम्झेर उनीहरूप्रति अनुगृहीत हुने पक्षमा छैनन्, संसारभर आफ्ना लागि अवसर खोजिरहेका आजको पुस्ताका विद्यार्थी आफूले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने वैज्ञानिक र व्यावहारिक शिक्षाको खोजीमा छन् ।

अर्कातिर, उनीहरू पेट्रोलको मूल्य बढेर भन्दा समयमा परीक्षा नपाएर चिन्तित छन्, पृथ्वीको अर्को ध्रुवमा भइरहेको युद्ध भन्दा परीक्षा नियन्त्रण कार्यालयमा पैसा बुझाउन लड्नुपर्ने लडाइँले तनाव छ । अर्काे शब्दमा ठूला विषयवस्तुमा केन्द्रित हुन स–सानो कुराले अवरोध गरिरहेको छ ।

त्यसमाथि विद्यार्थी सङ्गठनहरूको बुझाइ र नयाँ पुस्ताका विद्यार्थीको बुझाइको दूरी बढ्दैछ ।

विद्यार्थी संगठनका कार्यकर्ताहरूले विद्यार्थीलाई आकर्षित पार्न कलेजमा डेस्क स्थापना गरेर फारम भरिदिन्छन्, विद्यार्थीलाई यो उनीहरूको जागिर होला जस्तो लाग्छ । विद्यार्थी सङ्गठनहरू झन्डा लिएर सडकमा आन्दोलित हुँदै आउँछन्, नयाँ विद्यार्थीलाई यसका लागि कसैले फन्डिङ गरेको होला भन्ने लाग्छ ।

आज विद्यार्थी संगठनमा जति पनि मान्छे लागेका छन् उनीहरू प्रायः कालान्तरमा कुनै दलको नेता हुन या लाभ लिन सोचेर लागेका छन् भन्दा फरक पर्दैन । विद्यार्थी संगठन नेतृत्व विकास गर्ने ठाउँ मात्र हैन, यो आफंैमा एउटा आन्दोलन बोक्ने र जागरण सृजना गर्न ठाउँ हो ।

विद्यार्थी आन्दोलन आज संक्रमणको अवधिमा छ । हिजो फरक खाले आन्दोलनबाट स्थापित भएकाहरू आज सबैजसो विद्यार्थी संगठनको नेतृत्वमा छन्, र उनीहरूमा बिल्कुलै नयाँ खाले आन्दोलन हाँक्नुपर्ने जिम्मेवारी छ ।

संगठनले एकपटक इशारा गर्दा हजारौं विद्यार्थी एकैपटक सडकमा आउँछन् भन्ने धङधङी अहिले पनि छ । तर यथार्थ धेरै फरक भइसकेको छ । आजका विद्यार्थीलाई उनीहरूले निःशुल्क पढ्न पाए भन्ने कुरा कुनै उपलब्धि लाग्दैन, छात्रवृत्ति, पाठ्यक्रम, विद्यालयको संरचना, कम्प्युटर ल्याब, साइन्स ल्याब, लाइब्रेरी यी कुरा स्वाभाविक लाग्छन्, यसका लागि कसैप्रति अनुगृहीत किन हुने ? भन्ने लाग्छ ।

हुनपनि, वर्तमान विद्यार्थी संगठनको आन्दोलनले आजको नयाँ पुस्ताको विद्यार्थीको जीवनमा के फरक पारेको छ ? भन्ने प्रश्नको आलटाल गर्न सकिन्छ । तर गतिलो जवाफ कसैले दिन सक्ने अवस्था छैन ।

विद्यार्थी आन्दोलनको दिशा र शैली परिवर्तन गरेर मात्र आजको विद्यार्थी आन्दोलनले दिशा लिन सक्छ । विद्यार्थीको बुझाइ/चाहना एकातिर, विद्यार्थी संगठनको नेतृत्वको बुझाइ अर्कोतिर हुँदा विद्यार्थी आन्दोलन कहिलेकाहीं मञ्चन हुने दृश्य भन्दा फरक बन्न सकेको छैन ।

आज संसारमा विद्यार्थी आन्दोलन विभिन्न विषयमा केन्द्रित छ । विशेषगरी क्लाइमेट चेञ्ज, शैक्षिक प्रणाली सुधार, सामाजिक न्याय र समानता, भ्रष्टाचार नियन्त्रण, विज्ञान प्रविधिको प्रयोग, नेतृत्व विकास जस्ता कुरामा संसारको विद्यार्थी आन्दोलन केन्द्रित छ ।

नेपाली विद्यार्थी आन्दोलनले यी विषयहरूलाई आफ्नो मुद्दा नबनाएको होइन, तर आन्दोलनमा नयाँ विद्यार्थी जोड्न नसक्दा यसको महत्व घट्दो छ ।

आजको विद्यार्थी किशोरावस्थामै क्याम्पस प्रवेश गर्छ, २५ वर्ष पुग्दासम्म प्रायः विद्यार्थीले स्नातकोत्तरसम्मको पढाइ सिध्याएका हुन्छन् । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्षको उमेर हद तोकिएको छ ।

यसबाट के बुझिन्छ भने आजका वास्तविक विद्यार्थीहरू भनेका नयाँ पुस्ताका विद्यार्थीहरू हुन् ।

नयाँ पुस्ताका विद्यार्थीमा देशको बिग्रँदो अवस्थाले गर्दा एकखाले निराशा उत्पन्न भएको छ, विशेषगरी राजनीतिक दलहरूप्रतिको वितृष्णा चरम छ । राजनीतिक दल र विद्यार्थी संगठनको कार्यशैली उस्तै खाले भइरहने हो भने आजका विद्यार्थी नेताहरू नयाँ विद्यार्थीको आँखामा ‘झोले’ भन्दा माथि उठ्न सक्दैनन् ।

विद्यार्थीहरूको ठूलो पंक्तिले अपनत्व महसुस गर्ने किसिमका कार्यक्रम लिएर विद्यार्थीमाझ नगएसम्म अबको विद्यार्थी मूभमेन्ट ब्युँतिंदैन । हिजो विद्यार्थीका लागि व्यवस्था परिवर्तनको आन्दोलन प्यारो थियो, आफ्ना आधारभूत अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था थियो, सीमित विकल्पहरू थिए । ज्यानको बाजी लगाएर आन्दोलनमा होमिन्थे, आजका विद्यार्थी आफूलाई विश्वबजारमा बिक्ने बनाउने ध्याउन्नमा छन् ।

विज्ञान, प्रविधि, कला, नेतृत्व क्षमता जस्ता कुराको माध्यमबाट संसारसँग जोडिन र आफ्नो उपस्थिति देखाउन चाहन्छन् । उनीहरूको उद्देश्यमा इँटा थप्ने काम आजको विद्यार्थी आन्दोलनले गर्नुपर्छ । आफ्नो उद्देश्यसँग जोडिन उनीहरूसँग हजार बाटा छन्, विद्यार्थी आन्दोलन यसका लागि सारथि बन्नुपर्छ ।

यी र यस्ता समस्याहरू पहिल्याएर अगाडि बढ्न अनेरास्ववियुले विद्यार्थी महोत्सवको आयोजना गर्दैछ । यो महोत्सवले विद्यार्थी आन्दोलनमा नयाँ विद्यार्थी जोड्ने उद्देश्य लिएको छ । यो महोत्सवमा टायर बाल्ने, ढुंगामुढा गर्ने प्रतियोगिता छैन ।

धम्क्याउने या चाकडी गर्ने इभेन्ट छैन, अबको विद्यार्थी आन्दोलनमा यस्ता प्रतिभाको आवश्यकता छैन भन्ने सन्देश अनेरास्ववियुले यो महोत्सव मार्फत दिएको छ ।

महोत्सवमा लाइभ म्युजिक, लाइभ प्रोजेक्ट, करियर काउन्सिलिङ, युथ पार्लियामेन्ट डिबेट एण्ड डायलग, कल्चरल एक्जिविसन, इ गेमिङ, लिगल क्याम्प, युनिभर्सिटी इन्फो, लाइभ पेन्टिङ, फिल्म स्क्रिनिङ एण्ड डकुमेन्टेसन जस्ता कार्यक्रम राखिएका छन् । अहिलेको आन्दोलन हाँक्ने प्रतिभा यस्तो खाले हुनुपर्छ भन्ने कुराको संकेत यो महोत्सवले गरेको छ ।

अखिलले विद्यार्थी महोत्सवमा समेटेका विषयवस्तु मूलतः आजका पुस्ताका विद्यार्थीको आकर्षणको विषयहरू हुन् । नयाँ पुस्ताका विद्यार्थीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने र उनीहरूले अपनत्व महसुस गर्ने कार्यक्रमहरू हुन् । अखिलले महोत्सवमा मनोरञ्जनका लागि नयाँ पुस्तामा सर्वाधिक रुचाइएका कलाकार र ब्याण्डहरूको प्रस्तुति राखेको छ, सामुदायिक विद्यालयका लागि निःशुल्क स्टल राख्ने व्यवस्था मिलाएको छ ।

यो महोत्सवले नयाँ विद्यार्थीलाई विद्यार्थी आन्दोलनमा जोड्ने कुराको संकेत देखिइसकेको छ । स्कुल, कलेजका विद्यार्थीले यो महोत्सवबारे विभिन्न तरिकाले प्रचार गरिरहेका छन् । विद्यार्थी संगठनका कुनै पनि गतिविधिमा चासो नराख्ने विद्यार्थीहरूको ठूलो पंक्तिले प्रचार गरिरहेको छ ।

यिनै संगठनहरूले गरेका विभिन्न गतिविधिबारे नकारात्मक प्रतिक्रिया दिने जमातले पनि यो कार्यक्रमलाई सकारात्मक रूपले लिएको देखिन्छ ।

आशा गरौं, महोत्सवलाई तमाम विद्यार्थीले आफ्नै कार्यक्रमको रूपमा लिनेछन्, महोत्सवले विद्यार्थी आन्दोलनको मोडल र विद्यार्थी संगठनप्रति बुझाइ दुवैमा परिवर्तन ल्याउनेछ ।

(संग्राम अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School