प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार
विदेशमा रहेका नेपाली नागरिकलाई खोजतलास, उद्धार, कन्सुलर सहायता तथा कानुनी परामर्श सेवा थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले मोबाइल एप ‘मोफा मित्र’ सञ्चालनमा आएको छ। मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका हुन्।
कन्सुलर सेवा विभागका अनुसार ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपालीले विभिन्न कन्सुलर सेवा मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
विदेशमा मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउने वा सम्बन्धित मुलुकमै अन्त्येष्टि गर्ने प्रक्रियासम्बन्धी निवेदन पनि एपमार्फत दिन सकिनेछ। त्यस्तै, वैदेशिक रोजगारीका क्रममा हुने दुर्घटना वा मृत्यु पश्चात् प्राप्त हुने बीमा तथा राहतसम्बन्धी निवेदन दर्ताको सुविधा पनि राखिएको विभागले जनाएको छ।
एपमार्फत विदेश बसाइका क्रममा आइपर्ने समस्या तथा गुनासो दर्ता गर्न सकिनेछ भने दर्ता गरिएका निवेदन कुन चरणमा पुगेका छन् भन्ने जानकारी ‘ट्र्याकिङ’ प्रणालीमार्फत लिन सकिने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूको सम्पर्क विवरण, सेवासम्बन्धी प्रश्नोत्तर, विभिन्न देशको सुरक्षा अवस्था, यात्रासम्बन्धी जानकारी तथा सरकारी सूचनासमेत एपमार्फत प्राप्त गर्न सकिने जनाइएको छ। एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध उक्त एप गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत डाउनलोड गर्न सकिने विभागले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन्। सार्वजनिक सेवालाई थप सहज, नागरिकमैत्री र पहुँचयोग्य बनाउन यो एप प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।
“विदेशमा काम गर्न जानेहरूलाई गन्तव्य मुलुकका नियम र कानुनबारे पर्याप्त जानकारी नहुँदा कन्सुलर सेवाको आवश्यकता बढेको छ,” मन्त्री खनालले भने, “विदेशमा रहेका व्यक्तिका आफन्तलाई आवश्यक जानकारी उपलब्ध गराउन पनि यो सेवा उपयोगी हुनेछ।”
कार्यक्रममा सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगमा विस्तार भइसकेको जानकारी गराइएको थियो। कानुनी सेवा हाल ५०० स्थानीय तहमा पुगिसकेको जानकारी पनि दिइएको थियो।
कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीको हकहित संरक्षण तथा अप्ठ्यारो अवस्थामा सहयोग पुर्याउन एप महत्वपूर्ण माध्यम बन्ने बताइन्। विदेश जाने नेपालीको सङ्ख्या बढिरहेका बेला यो एप प्रभावकारी हुने विश्वास पनि उनले व्यक्त गरिन्।
उनका अनुसार एपमार्फत दर्ता गरिएका निवेदनको अवस्था र प्रक्रिया मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिएको छ।
