लागूऔषधको डरलाग्दो लत : RajdhaniDaily.com


अधिकांश सेवनकर्ता ‘मानसिक रोगी’, झन बढ्यो सुरक्षा खतरा

काठमाडौं । बढ्दो लागूऔषध प्रयोगका कारण सामाजिक सुरक्षा र मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ । प्रहरीले नियमितरूपमा एन्टी ड्रग अपरेसन सञ्चालन गर्दै आए पनि नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् ।

पछिल्ला दिन पक्राउ परेका लागूऔषध प्रयोगकर्ताविरुद्ध सामाजिक अमनचयनमा असर पारेको उजुरी दर्ता हुने क्रम बढेको र त्यस्ता सेवनकर्ताको मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

नेपाल प्रहरीको लागूऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी १ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कैलालीका ५ जनासहित मकवानपुर, सिराहा, तनहुँलगायतका जिल्लाबाट २० जनालाई लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार पनि विभिन्न स्थानबाट २२ जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो भने शुक्रबार कैलाली, धनुषा, सर्लाहीलगायतका जिल्लाबाट ९ जना पक्राउ परेका छन् ।

ब्युरोले विभिन्न अपरेसन सञ्चालन गरेर पछिल्ला दिनमा लागूऔषध नियन्त्रणमा तीव्र प्रगति गरेको छ । पछिल्ला तीन दिनमा मात्र औषतमा दैनिक १८ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । यो मानसिक स्वास्थ्य र सुरक्षाका दृष्टिले चिन्ताजनक भएको चिकित्सक र प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौं उपत्यकादेखि तराईका सीमा नाका, पूर्व–पश्चिम राजमार्ग र विभिन्न शहरी केन्द्रहरूमा दैनिकजसो लागूऔषध बरामद र पक्राउका घटना सार्वजनिक भइरहेका छन् । यसले नेपालमा लागूऔषधको प्रयोग र कारोबार दुवै विस्तार भइरहेको संकेत गरेको छ ।

प्रहरीका अनुसार पछिल्लो समय ब्राउन सुगर, हेरोइन, गाँजा, चरेस, ट्रामाडोल, नाइट्राजेपाम, डाइजेपाम, फेनेरागनजस्ता लागूपदार्थको अवैध कारोबार र प्रयोग बढ्दो क्रममा छ । भारतसँगको खुला सीमा, संगठित तस्करी सञ्जाल, बेरोजगारी, युवा पुस्तामा बढ्दो तनाव तथा सामाजिक दबाबका कारण लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको सरोकारवालाको विश्लेषण छ । प्रहरीले नियमितरूपमा एन्टी ड्रग अपरेसन सञ्चालन गर्दै आएको भए पनि लागूऔषध नियन्त्रण अझै चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीहरू बताउँछन् । लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयहरूले संयुक्तरूपमा होटल, रेस्टुराँ, डेरा, मनोरञ्जनस्थल तथा शंकास्पद क्षेत्रहरूमा छापा मार्दा ठूलो परिमाणमा लागूऔषध फेला परिरहेको छ ।

लागूऔषधसहित पक्राउ पर्नेको संख्या बढ्दै जानु प्रहरी सक्रियताको परिणाम मात्र नभई समाजमा लागूऔषध प्रयोग फैलिँदै गएको संकेतका रूपमा पनि हेरिएको छ । मनोचिकित्सकहरूका अनुसार पछिल्ला वर्षहरूमा उपचारका लागि आउने युवामध्ये ठूलो हिस्सा कुनै न कुनै प्रकारको लागूऔषध प्रयोगसँग सम्बन्धित समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । मानसिक अस्पताल ललितपुर पाटनमा कार्यरत साइक्याट्रिक डाक्टर अनन्त अधिकारीका अनुसार कूल मानसिक स्वास्थ्य समस्यायुक्त मानिसमध्ये ७० प्रतिशतभन्दा बढी लागूऔषध प्रयोगकर्ताहरू रहेका पाइन्छन् ।

मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव

मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार लागूऔषधको नियमित प्रयोगले मस्तिष्कको कार्यप्रणालीमा प्रत्यक्ष असर पार्छ । सुरुवाती अवस्थामा प्रयोगकर्ताले तनाव कम भएको, आनन्द महसुस भएको वा आत्मविश्वास बढेको अनुभव गरे पनि दीर्घकालीन प्रयोगले अवसाद, चिन्ता, अनिद्रा, स्मरणशक्ति कमजोर हुने, निर्णय क्षमता घट्ने, आक्रामक व्यवहार, भ्रम तथा मनोविकृति (साइकोसिस) जस्ता समस्या निम्त्याउन सक्छ ।

विशेषगरी ब्राउन सुगर, हेरोइन र विभिन्न प्रकारका सिन्थेटिक लागूऔषधले मस्तिष्कमा गम्भीर असर पार्ने चिकित्सकहरूको भनाइ छ । केही अवस्थामा लामो समयसम्मको प्रयोगले आत्महत्याको जोखिमसमेत बढाउने अनुसन्धानहरूले देखाएका छन् ।

मनोचिकित्सकहरूका अनुसार अहिले अस्पतालमा आउने धेरै युवामा लागूऔषधसँगै डिप्रेसन, एन्जाइटी डिसअर्डर, प्यानिक डिसअर्डर र व्यवहारजन्य समस्या पनि देखिने गरेका छन् । कतिपय अवस्थामा लागूऔषधको लत र मानसिक रोग एकअर्कासँग जोडिएर आउने भएकाले उपचार प्रक्रिया झन् जटिल बन्ने गरेको छ ।

लागूऔषधको सबैभन्दा ठूलो असर किशोर तथा युवामा देखिन थालेको छ । विद्यालय र कलेज अध्ययनरत विद्यार्थीसमेत प्रयोगकर्ताको सूचीमा देखिन थालेपछि अभिभावक, शिक्षक र स्वास्थ्यकर्मी चिन्तित छन् । लागूऔषधको सम्पर्कमा पुगेका युवाहरू साना साना कुराहरूमासमेत परिवार र आफन्तलाई धम्क्याउने तथा आफैंलाई हानी हुने क्रियाकलापसमेत गर्न तयार हुने डा.अधिकारी बताउँछन् । साथीहरूको दबाब, सामाजिक सञ्जालबाट प्रभावित जीवनशैली, बेरोजगारी, पारिवारिक तनाव, सम्बन्धविच्छेद, विदेश जाने असफल प्रयास, भविष्यप्रतिको अन्योल तथा मानसिक तनावका कारण युवाहरू लागूऔषधतर्फ आकर्षित हुने गरेको विज्ञहरू बताउँछन् ।

एकपटक प्रयोग सुरु भएपछि त्यसले बिस्तारै लतको रूप लिने र त्यसपछि शारीरिक तथा मानसिक दुवैरूपमा निर्भरता बढ्ने भएकाले समयमै रोकथाम आवश्यक रहेको उनीहरूको भनाइ छ । प्रहरीका अनुसार चोरी, लुटपाट, हिंसा तथा अन्य आपराधिक घटनामध्ये केही लागूऔषधको लतसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । लतका कारण खर्च जुटाउन नसक्ने अवस्थामा प्रयोगकर्ताले अपराधको बाटो रोज्ने जोखिम पनि बढ्ने गरेको पाइएको छ । लागूऔषध सुईंमार्फत प्रयोग गर्नेहरूमा एचआईभी, हेपाटाइटिस–बी र सीलगायतका संक्रामक रोगको जोखिम पनि उच्च हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नेपालमा लागूऔषध नियन्त्रणका लागि कानुनी व्यवस्था, प्रहरीको विशेष ब्युरो तथा विभिन्न सरकारी निकाय सक्रिय भए पनि समस्या अपेक्षितरूपमा घट्न सकेको छैन । विशेषज्ञहरूका अनुसार यसको प्रमुख कारणहरूमा खुला सीमा, अन्तर्देशीय तस्करी सञ्जाल, नयाँ प्रकारका सिन्थेटिक लागूऔषधको प्रवेश, अनलाइन माध्यमबाट हुने कारोबार, कमजोर पुनः स्थापना सेवा तथा प्रयोगकर्तालाई अपराधीका रूपमा मात्र हेर्ने सामाजिक दृष्टिकोण रहेका छन् । कतिपय प्रयोगकर्ता पक्राउ परेर छुटेपछि पुनः पुरानै लतमा फर्किने गरेका छन् । यसको प्रमुख कारण पर्याप्त परामर्श, मनोसामाजिक सहयोग तथा पुनः स्थापना कार्यक्रमको अभाव रहेको सरोकारवालाहरू बताउँछन् ।

मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार लागूऔषध प्रयोगकर्तालाई केवल कानुनी कारबाही गरेर मात्र समस्या समाधान हुँदैन । उनीहरूलाई उपचार, परामर्श, पुनःस्थापना तथा समाजमा पुनःएकीकरण गर्ने कार्यक्रमलाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइन्छ । डिटक्सिफिकेसन, औषधीय उपचार, मनोपरामर्श, पारिवारिक सहयोग, व्यवहार परिवर्तन कार्यक्रम तथा पुनः स्थापना केन्द्रहरूको प्रभावकारी सञ्चालनमार्फत पुनः प्रयोगको जोखिम घटाउन सकिने चिकित्सकहरूको भनाइ छ ।

सरोकारवालाहरूका अनुसार लागूऔषध नियन्त्रणलाई सुरक्षा चुनौतीका रूपमा मात्र नभई सार्वजनिक स्वास्थ्य र मानसिक स्वास्थ्यको गम्भीर विषयका रूपमा हेर्न आवश्यक छ । प्रहरीको कारबाहीले तस्करी नियन्त्रणमा सहयोग पु¥याए पनि प्रयोगकर्ताको संख्या घटाउन शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पुनः स्थापना र समुदायको सहभागिता अपरिहार्य हुन्छ ।

पछिल्ला दिनमा प्रहरीले लागूऔषधविरुद्ध अपरेसन तीव्र बनाइरहेका बेला बढ्दो प्रयोगकर्ता संख्या र त्यसबाट उत्पन्न मानसिक स्वास्थ्य संकटले नेपालका लागि अर्को गम्भीर सामाजिक चुनौतीको संकेत गरेको छ । नियन्त्रणका लागि कानुन कार्यान्वयन, सीमामा निगरानी, उपचार सेवा विस्तार, मानसिक स्वास्थ्य कार्यक्रम सुदृढीकरण र युवालाई लक्षित रोकथाम अभियान एकसाथ अघि बढाउन नसके आगामी दिनमा यसको सामाजिक तथा आर्थिक लागत अझ महँगो हुने चेतावनी विज्ञहरूले दिएका छन् ।

(Visited 26 times, 1 visits today)





Source link

Leave a Comment