लाइटहाउस अडिसी


आकाश जोडिएको महासागरको क्षितिजबाट बेजोडले बगेर आएको हावा र छालले खिइँदै गरेको बालुवाको ढिस्कोलाई बेस्सरी हानेपछि बाँकी बसेको पानीको बुँद भित्ताभरि छरियो। लाइटहाउसको बाल्कोनीमा रेलिङ समातेर उसले हेरिरह्यो आकाश चिर्दै बटारिएर भित्ता र चट्टानमा ठोकिएको छालमाथि उडिरहेको सिगल।

बादल तल छ आज, लाइटहाउसको गजुर छुनेगरी । फर्नेल लेन्सरुमको बाहिर उभिएर उसले देख्यो चिसो हावाको झोंकामा छाल जस्तै लहर लहरमा तरेली परेर कुदिरहेको काँसको फूललाई, पानीको छाललाई, त्यसमाथि उडिरहेको सिगलको पखेटाहरूलाई, र लाइटहाउस मुनि खिइँदै झरेको बालुवाको थुम्कोलाई। हावाको वेग बाक्लो छ। छालले बोकेर ल्याएको हावाले नुनिलो गन्ध छोडेर गयो।

नीलो पानीलाई धनुष आकारको बगरले छुट्याएको छ। बगरको भित्तामाथि बालुवा, त्यसमाथिको पाखाभरि काँस घारी। र माथि लाइटहाउस। बालुवाको भित्ता पहिरोले लछारेको छ। काँसको बुच्का बुच्की बोकेर खसेको बालुवा सिधै समुद्रको नीलो पानीमा धसिन्छ। हरे! कति छोटो जीवन रहेछ त्यो काँसको! मन अघाउन्जेल फुल्न पनि भ्याएन! बादलको घुम्टोमुनि बालुवाको पहिरो अँध्यारो सुरुङ जस्तै लाग्छ।

हजारौं वर्षदेखि अक्विना क्लिफमा पानीको छाल यसरी बजारिएको छ। मुटु हुन्थ्यो त्यसको भने गाइरहेको हुनेथ्यो दुःखको गीत। सायद चिच्याउँथ्यो होला! यस्तो सोचिल्याउँदा उसको मन दुःखले भरियो।

छालहरूले यसरी नै खियाउँदै लाने हो भने यो ढिस्कोको निसाना मेटिनेछ केही वर्षमा, र लाइटहाउस पानीको निलो गर्तमा भासिनेछ।

उसले सोच्यो सदियौंदेखि यसरी नै ठोक्किइरहेको पानीको धारले काटेको बालुवाको ढिस्कोलाई किन यतिबेलै ढल्न परेको? के यो लाइटहाउस केही छिनमै पानीमा बिलाएर जानेछ? लेन्सरुमबाट फन्फनी घुमिरहेको उज्यालोले पानीजहाजलाई गाइड गर्नुपर्दैन अब? सलल बगेर जानुपर्दैन एटलान्टिक पारि त्यो पानीजहाज? सबै चीज अब यहीं रोकिन्छ? समय पनि? हामी कहाँ हुनेछौं त्यसपछि?

आफूसँगै सबैको अस्तित्व टुंगिएको कल्पना गर्‍यो। र फुलिंदै गरेको हातको नसा हेर्‍यो, र आँखाको चेपनेरी बढ्दै गएको आफ्नै अनुहारको चाउरी सम्झियो उसले। भरिलो दिन जस्तो झर्झराउँदो उज्यालो थियो अनुहार केही अघिसम्म पनि। बाटो छेक्ने आँखाहरू कति थिए; रुमालमा बेरिएको निम्तो, पोष्टकार्डमा उनिएको कवितामय हरफ, चमेली फूलको सुगन्ध। सम्झना र बाडुल्की बाटोभरि जस्तै हुन्थे सधैं। आँखा चिम्म गरिनसक्दा ती सबै सम्झनाहरू उडे जस्तै भो अहिले, पानीको फोका जस्तै! कति छिटो जान्छन् दिनहरू! थापाथलीनेर बाग्मती तरेर बानेश्वरहुँदै एअरपोर्ट हिंडेको हिजै जस्तो लाग्छ। दशक, दश दिन भन्दा छिटो सकिएछ।

उसले बाल्कोनी पर हेर्‍यो। हावा र छाल उसैगरी चलिरहेको छ। सिगल कावा खाइरहेको छ चिसो पानी छोएर उठेको बादल माथि। हावा बतासिएर आउँदा त्यसका पखेटाहरू अझ लामो बन्छ र हुर्रिएर छालको नजिक पुग्छ। बतास कम भएपछि माथि उड्छ, र सानो सानो बन्दै जान्छ। त्यतिबेला ती सेता पखेटाहरू जगतको कुनै सुदूर किनारतिर लागे जस्तो देखिन्छ।

परतिर पसारिएको किनारमा, ढुंगाको बगरमा छालहरूले छोडेको सेतो फिंज कोप्चा कोप्चीमा अड्किएको छ। त्यतातिर, चिसो पानीमा खुट्टा चोबल्दै सिउ सिउ गर्दैछन् कोही। कोही काँसघारीको थुम्काथुम्कीमा फोटो खिचाउँदै छन् ओठ उचालेर, ङिच्च दाँत देखाएर, मुख उज्यालो पारेर। भुईं कुहिरो जस्तो बादलले छोपेर जान्छ केहीबेरमै, र दिन अँध्यारिन्छ। तस्वीरले बोक्ने सम्झना मोबाइलमै बस्छ। नभए फेसबुकमा। फोटो धुने झन्झट कसले गरोस्, सधैं आफैंसँग बसिरहने हो र? भएको त छोडेर हिंड्नुपर्छ पत्तै नभई।

खै, के छुट्छ! सायद, आफू बाहेक सबै। आफ्नो भन्ने नै के हुने र’छ र आखिर, सम्झना बाहेक; साँघु, जात्रा, मेला–पर्म, चाड; सप्पै त्यही त भो आखिर।

परदेखि मानिसहरू आउँदैछन् आदिम जस्तो देखिने ढुङ्गाको सिंढी चढेर। घुमाउरो सिंढीमा उक्लिंदै जानुपर्छ सानो चौंडिलोमा उभिएको माटो रंगको लाइटहाउस पुग्न। बाल्कोनीमै जम्मा भैसके केही। कोही अझै उक्लिंदै छन्। कति मान्छे थेग्न सक्छ होला यो पुरानो घरले, उसको दिमागमा चस्का पस्छ।

बाल्कोनीको पल्लो छेउमा एउटा जोडी सेल्फी खिच्दैछन् हात पसारेर, पूरै जीउ रेलिङ बाहिर निकालेर। बारबाट तल खसिएला भन्ने डर पनि छैन! जाबो फोटोको लागि ज्यान मोल्न तयार छन्। यस अघि पनि देखिएको थियो यो जोडी जस्तो लाग्यो उसलाई। सायद, अघि ओक ब्लफ्समा जिंजरब्रेड कटेजको कागती रंगका घरहरूको लहरतिर हुनुपर्छ।

भीड थियो त्यो दन्त्य कथाको जस्तो लहर परेका गर्मी छल्ने घरहरूको अगाडि खुल्ला चर्चमा, त्यसैको बगलको ग्रिल हाउसमा। त्यहाँ घाम थियो, पानीको बाफ भरिएको ह्युमिड हावाले उखर्माउलो तातो थियो, र बियरको तिर्खा, र ट्याभर्नको झ्याल अघि मान्छेहरूको लामो लाइन। त्यहीं थियो ऊ, चिसो समर एल समात्दै। सितन, लोब्सटर टोष्ट। टेबल कुनै खाली थिएन। आउटडोर प्याटियो छाताले छेक्ने घाम थिएन त्यतिबेला। घाम उकालो चढ्दै जान्थ्यो, जोडीहरूको जीउ खुल्दै आउँथ्यो। गजबको सम्बन्ध देखिन्थ्यो घाम र मान्छेहरूको पहिरनमा।

घामको तातो चर्किंदै जाँदा, रूखका पातहरू बाक्लिंदै आउँथे, शरीर नांगिदै झर्थे। उसले हेर्‍यो टेबलका टेबल रक्सी र सितनमा मस्त उमेरहरू, बाक्लिएका वाईसेप्स र ट्राईसेप्स, भुक्क उठेका वक्षहरू। उठेका वक्षहरूको कर्भबाट उसले देख्यो केपजाँदै गरेको आईल्याण्ड क्विन पर समुद्रमा, र भाईनयार्ड हेभन पोर्टछेउ हार मिलेर उभिएका निजी बोट। त्यही फेरीले छाडेको थियो उसलाई केहीबेर अघि यो टापुमा।

रोकिईदिए हुने नि घाम केहीवेर। ऊ यसरी नै हेर्न चाहन्थ्यो यो क्षणलाई आँखामा राखेर, सायद मनमा राखेर। तब न एक्लो महसुस गर्न पर्दैनथ्यो! तिर्खाले मात्रै भरिएको हुनुपर्दैनथ्यो।

भित्र टिभीमा चुनावी बहसको समीक्षा अझै चलिरहेकै छ। खास सुन्नैपर्ने केही थिएन बुढाहरूको कुरा । “घरमा श्रीमती दोजिया हुँदा तिमी पोर्न स्टारसँग सुतिरा’थ्यौ।” एक जनाको कुरो गहिरो थियो, आवाज मलिनो!

के के तर्कनामा उसले सोच्यो- उता भर्खर केपी ‘बा’को सरकार बनेछ। टाइमलाइन त्यसैले भरिएको छ। बालेनले नयाँ सडक किनार खनिभ्याएका छैनन्। यता चुनावको सिजन छ। पर, प्यारिसमा चुनाव सकियो के रे! लण्डनतिर यसपल्ट सत्ता लेवरको हातमा पुग्यो, चुनाव अघि नै बीबीसीको अनुमान त्यस्तै थियो।

सम्झियो- हिजो साँझ ऊ होटलको बार्दलीमा थियो, साँझ डुबिसकेको घामको प्याजी रंग बादलमा रंगिएको थियो, र अग्लो स्यागामोर पुलमाथि कुदेका कारहरूमा घामको मधुरो उज्यालो पोतिएको, केही छिन पछि फायर वर्कसको पटाका आकाशमा पड्किएर रंगीविरंगी रङहरू सयपत्रीको थुंगा जस्तै झरेको। अढाइ सय वर्ष पहिलेको स्वतन्त्र संग्रामको सम्झना, समय अनुसार फेरिएको छ रमाउने तरिका।

त्यही बारुद पड्काएर भगाएका थिए रेडकोटधारीहरूलाई। अहिले त्यही बारुद पड्काएर रमाइरहेका छन्। काँचुली फेर्दै जान्छ समय पनि मान्छेकै उमेर जस्तो। साँझको गोधूलि घुम्टो र बिहानको भोर त्यही ‍हुनुपर्छ सायद! उमेर अनुसार समयको पनि कुनैबेला टेस्टोस्ट्रोन हाई हुँदो हो! कति न्यानोग्राम होला अहिले?

भित्र टिभीमा चुनावी बहसको समीक्षा अझै चलिरहेकै छ। खास सुन्नैपर्ने केही थिएन बुढाहरूको कुरा ।

“घरमा श्रीमती दोजिया हुँदा तिमी पोर्न स्टारसँग सुतिरा’थ्यौ।” एक जनाको कुरो गहिरो थियो, आवाज मलिनो!

“पोर्न स्टारसँग सुतेको छैन” अर्कोको डाँको चर्को, तर झुट!

घाँटी बसेको स्वरमा बाइडेनका कुरा बुझ्न अलि गाह्रो। विचरा! उनको के दोष, दोष त उमेर हो! मन भएर मात्र हुँदैन समय आफूसँग नरहे! अर्का ट्रम्प, पूरै ढाँट, गलत तथ्य। भाग्यको लेखा हो कि, जे बोले नि पत्याइदिने आधी भोटर्स छन् उनका पछि अझै पनि। डेमोक्रेसीको दुर्दशा!

रुढीवादीहरूको बोलवाला बढेको छ त्यता पनि, र यता पनि। सोसल मिडियाको विस्तारले यस्तो रुढीलाई बढारेर लैजान्छ भन्ने कत्रो विश्वास थियो मान्छेहरूमा, विचारको स्वतन्त्रता साँच्चै समान बनाइदियो सबैलाई भन्ने थियो; त्यसैलाई पो बढार्छ कि जस्तो छ अब त!

चमक देखेन उसले दुवैको तर्कमा। जीवन बाँचेर हेर्न तर्कले कत्ति भरथेग गर्दैन। यद्यपि नबिराई अघि हिंड्न बाटो देखाइदिन्छ। दुवैको तर्क हेर्दै जाँदा उसलाई यस्तो लागेको थियो दिनभरि उज्यालोमा उकालो चढ्दै उज्यालैमा देउराली पार गरेर ओरालो झरेको साँझ हो अहिलेको बेला।

देशको, साम्राज्यहरूको जीवन पनि यस्तै हुँदो हो- बुल एण्ड वियर मार्केट जस्तो, अपट्रेण्ड र डाउनट्रेन्ड! यो देशको हेजेमोनीको चुली कहाँ हो ? कि चुचुरोबाट ओरालो झर्न थालेको?

यति तर्काना गरिसक्दा पनि बार्दलीमै थियो ऊ, स्क्रिन स्क्रोल गर्दै। र नोटिफिकेसनको घण्टीसँगै ईन्वक्समा बेनामी सन्देश झरेको थियो।

प्रिय लेखक,

कसरी हराउनुभयो, हैरान छु सम्झिएर। वर्षौं भयो नि! अब त बिर्सिने बेला भैसक्यो जस्तो लाग्छ कस्तो थियो तपाईंको बोली भनेर। भाकाहरू फेरिएर गए त्रिशूलीमा बगेको पानी जस्तै। जमानाको भाका नयाँ समयकाहरूले नचिन्ने बेला हुन लागिसक्यो यसरी नै हराउनुभयो भने। र मैले पनि नसम्झिउँला भन्ने पिर लागेर लेखेको। तपैंलाई त सम्झना पनि आउँदैन होला के ? हुन पनि, पर हिंडेको मान्छेले छोडेर हिंडेको बाटोको माया मानेर के नै गर्नु ! यताको पिर गरेर पनि हुन्छ नै के। तपैंको कति खाँचो छ यहाँ। यतै सुहाउने मान्छे हो के तपैं त! हिजो तपैं कस्तो जवान हुनुहन्थ्यो, कस्तो जोश थियो। डाँडाको माथि पुग्दा हावाले उडाएको कपाल जस्तो लचक थियो। हामी त्यस्तै देख्थ्यौं हप्तैपिच्छे। आज पनि त्यस्तै हुनुहोला। यो पनि बेला हो, कति पर्खिन्छ र? भोलि फ्याट्ट सक्किजान्छ। छिट्टै आउनुस् ल!

तपैंको शुभचिन्तक।’

लाइटहाउसको बाल्कोनीमै अझै टोलाइरहेको थियो ऊ सपनाबाट बिउँझिए जस्तो तरंगित हुँदा। तल बगरको किनारमा अझ धेरै सिगल आइसकेछन्। पानीको छाल माथि उठेछ, पूर्णिमाको रात नजिकै हुनुपर्छ। उसले आकाश हेर्‍यो, बादल झन् तल झरेछ, अँध्यारोले छोपे जस्तो, यत्तिकै सकिने हो कि दिन जस्तो! टिङ्ङ, मोबाइलमा नोटिफिकेसन बज्यो। चुनावी सभामा ट्रम्पलाई गोली लागेछ। ब्रेकिङ न्युज क्याप्सन माथि फोटोमा देखियो, दाहिने गाला हुँदै चिउँडोसम्म बगेको रगतको धर्को र सिंढीमा ओरालो झर्दै गरेको सिक्रिट सर्भिसको हुल!

तल, काँसको एउटा गाँज बालुवाको ढिस्को बोकेर क्लिफबाट सिधै पानीको निलो गहिराइमा भासियो।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School