रेस्टुरेन्टको बिल तिर्ने विवादमा बेलायती पर्यटकद्वारा ‘करी हाउस’ सञ्चालकको हत्या



प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार

white ceramic plate on brown wooden table

Photo by Hitesh Dewasi

क्यानाडामा एक रेस्टुरेन्ट सञ्चालकको मृत्यु भएको घटनामा संलग्न तीन बेलायती नागरिकहरूले आफ्नो गल्ती स्वीकार गरेका छन्। रेस्टुरेन्टको पैसा नतिरेको विषयमा भएको विवादपछि ती सञ्चालकको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

टोरन्टोबाट करिब १९० किलोमिटर उत्तर–पश्चिममा पर्ने ओवेन साउन्डमा एक बेलायती परिवारसँगको हातहालाहालपछि ४४ वर्षीय सरिफ रहमानको मृत्यु भएको थियो। मृतक रहमान एक बच्चाका पिता हुन्।

यस घटनामा २५ वर्षीय रोबर्ट इभान्स जुनियरले ज्यान मार्ने मनसाय नभए पनि लापरवाहीका कारण मृत्यु भएको कसुरमा आफ्नो गल्ती स्वीकार गरेका छन्। यस्तै, उनका ४९ वर्षीय पिता रोबर्ट बस्बी इभान्स र ५६ वर्षीय काका ब्यारी इभान्सले अपराधमा सहयोगी बनेको स्वीकार गरेका छन्।

‘करी हाउस’ रेस्टुरेन्टका मालिक रहमानको सन् २०२३ अगस्ट १७ मा रेस्टुरेन्टको बिलको विषयलाई लिएर तीन जना पुरुषहरूसँग भनाभन भएको थियो। सोही क्रममा भएको कुटपिटको एक हप्तापछि अस्पतालमा उनको निधन भएको थियो।

१५० डलरको खानाको बिल तिर्ने विषयमा विवाद बढेपछि रेस्टुरेन्ट अगाडिको सडकमा झगडा भएको थियो। इभान्स जुनियरले रहमानको अनुहारमा मुक्का हानेका थिए, जसका कारण उनी भुइँमा लड्न पुगे र टाउकोमा गम्भीर चोट लाग्यो।

रेस्टुरेन्टको बिल तिर्ने विवादमा बेलायती पर्यटकद्वारा ‘करी हाउस’ सञ्चालकको हत्या

रेस्टुरेन्टका एक कर्मचारीले उनलाई सडकमा अचेत अवस्थामा फेला पारेका थिए। लडेका कारण रहमानको टाउकोको हड्डी फुटेको थियो भने मस्तिष्कमा रक्तस्राव भएको थियो। उनलाई एक हप्तासम्म लाइफ सपोर्टमा राखिएको भए पनि अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

बेलायती बुबा रोबर्ट बस्बी इभान्स र काका ब्यारी इभान्सलाई अदालतले हिरासतमा बिताइसकेको समय र थप एक दिनको सजाय सुनाएको छ। उनीहरूलाई अहिले क्यानेडियन सीमा अधिकारीहरूकहाँ बुझाइएको र बेलायत देशनिकाला गर्ने प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

मुख्य अभियुक्त इभान्स जुनियरलाई भने सजाय सुनाउन बाँकी छ। सरकारी र रक्षा पक्षका वकिलहरूले संयुक्त रूपमा उनलाई साढे तीन वर्षको जेल सजाय दिन सिफारिस गरेका छन्। न्यायाधीशले यसबारे आगामी जुलाई १० मा निर्णय सुनाउनेछन्।

बेलायतको म्यानचेस्टरका बासिन्दा ठानिएका यी पुरुषहरू घटनाको समयमा पर्यटक भिसामा क्यानाडा आएका थिए। घटना लगत्तै उनीहरू बेलायत फर्किएका थिए।

इभान्स जुनियर र उनका बुबालाई स्कटल्याण्ड प्रहरीले एडिनबर्गबाट पक्राउ गरेको थियो भने काकालाई डल्किथबाट हिरासतमा लिइएको थियो। गत वर्ष उनीहरू आफैं सुपुर्दगीका लागि सहमत भएपछि उनीहरूलाई स्कटल्याण्डबाट कानुनी प्रक्रियाका लागि क्यानाडा ल्याइएको थियो।





Source link

Leave a Comment