युक्रेन युद्धले रुसलाई यति कमजोर बनाएको छ कि उसले आफ्ना साझेदार र सहयोगीहरूप्रति गरेका प्रतिबद्धताहरू बारम्बार पूरा गर्न असफल भएको छ । रुसका निकटतम मित्रहरूले समेत विकल्प खोज्न थालेपछि क्रेमलिनको शक्ति प्रदर्शन र विश्व मामिलालाई प्रभावित गर्ने क्षमता गम्भीर रूपमा कमजोर बनेको छ।
चार वर्षअघि युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफूले चाहेको सैन्य विजय हासिल गर्न असफल मात्र भएका छैनन्, उनले दशकौं लगाएर बनाएका धेरै अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि कमजोर पारेका छन् । यसको परिणामस्वरूप बोल्सेभिक क्रान्तिको सुरुवाती दिनयताकै सबैभन्दा बढी एक्लिएको अवस्थामा रुस पुगेको छ।
त्यसो त, रुस र उसका सहयोगी काजकस्तानबिच दुरी बढाउन युक्रेनमाथिको आक्रमण पर्याप्त भयो । आखिर, पुटिनले पहिले पनि काजकस्तानको स्वतन्त्र राज्यको वैधतालाई कमजोर पार्ने र त्यहाँका जनताले रुससँग अझ नजिकको सम्बन्ध चाहन्छन् भन्ने दाबी गर्ने गरेका थिए– जुन दाबी उनले युक्रेनबारे पनि गर्दै आएका छन्।
त्यसैले सन् २०२२ को आक्रमणपछि काजकस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायेभले क्रेमलिनको आपसी सहयोगसम्बन्धी आग्रह अस्वीकार गरे । पछि उनले पुटिनलाई काजाकस्तानले युक्रेनमा रुस समर्थित अलगाववादी क्षेत्रहरूलाई मान्यता नदिने स्पष्ट बताए । उनले टर्कीसँग सैन्य सहकार्य सम्झौता पनि गरे, जसले रुस नेतृत्वको कलेक्टिभ सेकुरिटी टे«टी अर्गनाइजेसन (सिएसटिओ) भित्र नाटो सदस्य राष्ट्रसँग यस्तो सहकार्य गर्ने पहिलो सदस्यको स्थान दिलायो । पछिल्ला दिनमा पुटिन र तोकायेभबिच सम्बन्ध केही सुध्रिएको देखिए पनि त्यो दुवै पक्षलाई अझै एकअर्काको आवश्यकता रहेकै कारण हुन सक्छ।
त्यसपछि आउँछ, अर्मेनिया । सेप्टेम्बर २०२३ मा अजरबैजानले आफ्नो भूभागभित्रको जातीय अर्मेनियाली क्षेत्र नागोर्नो–काराबाख नियन्त्रणमा लिन सैन्य अभियान चलाउँदा त्यहाँ रहेका रुसी शान्ति सैनिकहरूले केही गरेनन् । परिणामस्वरूप करिब एक लाख मानिस बसोबास गर्ने सम्पूर्ण क्षेत्र खाली भयो । एक वर्षभित्रै अर्मेनियाले सिएसटिओ छोड्ने योजना घोषणा गर्यो र फ्रान्स तथा भारतबाट हतियार खरिद गर्न थाल्यो । रुसले पनि निर्धारित समयअघि नै आफ्ना शान्ति सैनिक फिर्ता बोलायो।
क्रेमलिनले अजरबैजानसँगको सम्बन्ध पनि बिगार्यो, यद्यपि उसले अर्मेनियालाई धोका दिएर केही फाइदा उठाएको थियो । डिसेम्बर २०२४ मा एउटा रुसी भूमिबाट–हावामा प्रहार गर्ने मिसाइलले अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान खसाल्दा ३८ जनाको मृत्यु भयो । अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभले क्षतिपूर्ति र जवाफदेहिताको माग गरे तर पुटिनले झन्डै एक वर्षसम्म गल्ती स्विकार्न मानेनन् । यसबिच अलियेभले मे २०२५ मा रुसको वार्षिक दोस्रो विश्वयुद्ध विजय दिवस परेड बहिष्कार गरे, रुसी विशेष फौजले येकातेरिनबर्गमा जातीय समूहलाई घातक कारबाही गर्यो र अजरबैजानले बाकुस्थित रुसी सरकारी सञ्चारमाध्यम स्पुतनिकको कार्यालयमा छापा मारेर कर्मचारीहरूलाई पक्राउ गर्यो।
अजरबैजान इरानसम्म पुग्ने महत्त्वपूर्ण व्यापारिक मार्ग पनि हो । अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गर्नुअघि इरानले युक्रेन युद्धका लागि रुसलाई ड्रोन र ब्यालेस्टिक मिसाइल उपलब्ध गराउँदै आएको थियो । इरानमाथि आक्रमण हुँदा रुसले उसलाई प्रभावकारी सहयोग पनि गरेन । त्यसैले व्यापारिक मार्ग खुला राख्न क्रेमलिनले अजरबैजानको अपमान सहनुपर्यो । अन्ततः अक्टोबर २०२५ मा पुटिनले रुसी वायु–प्रतिरक्षा प्रणालीले विमान खसालेको स्विकारे र अस्पष्ट किसिमको क्षतिपूर्तिको प्रस्ताव गरे।
यद्यपि यो औपचारिक माफीले सम्बन्ध पुनःस्थापनाको बाटो खोल्यो । यो घटनाले रुसको विदेश नीतिको ठुलो असफलता उजागर गर्यो । जार शासनदेखि सोभियत युगसम्म, क्रेमलिनका नेताहरूले अर्मेनिया र अजरबैजानबिचको तनावलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै आएका थिए । युक्रेन युद्ध सुरु गरेपछि पुटिनले दुवै देशसँगको सम्बन्ध बिगारेका छन्।
सिरियामा रुसले लगभग एक दशकसम्म बसर अल असदको शासन टिकाइराख्न हवाई आक्रमण, स्थलसेना परिचालन र संयुक्त राष्ट्र सुरक्षा परिषद्मा कूटनीतिक संरक्षण उपलब्ध गरायो । यसको बदलामा रुसले टार्टस नौसैनिक अड्डा र हमेइमिम हवाई अड्डामाथि नियन्त्रण कायम राखेको थियो।
नोभेम्बर २०२४ मा सिरियाली विद्रोहीहरूले अचानक आक्रमण सुरु गर्दा युक्रेन युद्धका कारण कमजोर बनेको रुसी सेना प्रभावकारी प्रतिक्रिया दिन असमर्थ भयो । केही दिनमै आलेप्पो र दमास्कस पतन भए र असद मस्को भागे।
यति धेरै लगानीपछि पनि रुसले अन्ततः केही पाएन। अफ्रिकामा पनि रुसको अति विस्तार लज्जास्पद बन्यो । युक्रेन युद्धअघि बागनर ग्रुपका भाडाका सैनिकहरूले सुरक्षा सम्झौता, राजनीतिक समर्थन र खानी अधिकारको साटो अफ्रिकाभर रुसी प्रभाव विस्तार गरिरहेका थिए । उदाहरणका लागि मालीमा उनीहरूले जिहादी समूहविरुद्ध सैन्य शासनलाई महत्त्वपूर्ण सहयोगीका रूपमा आफूलाई प्रस्तुत गरेका थिए।
सन् २०२४ मा टुआरेग विद्रोहीहरूले टिन्जाउआतेन नजिक माली–वाग्नर काफिलामाथि आक्रमण गर्दा दर्जनौं रुसी भाडाका सैनिक मारिए । त्यसपछि जिहादीहरूले बामाको विमानस्थल र राष्ट्रिय ज्यान्डार्मरी एकेडेमीमाथि आक्रमण गरे । वाग्नरले मालीलाई सुरक्षित बनाइरहेको भन्ने कथा टिक्न नसक्ने बन्यो । वाग्नरले गत जुनमा औपचारिक रूपमा माली छोडेपछि ‘अफ्रिका कोप्र्स’ नाम दिएर केही फौज त्यहाँ राखिएको थियो तर ती पनि अहिले फिर्ता भइसकेका छन्।
युरोपमा पनि पुटिनको अवस्था राम्रो छैन । भिक्टर अर्बान नेतृत्वको रुस–समर्थक सरकार १६ वर्षपछि निर्वाचनमा पराजित भयो । अर्कातर्फ अलेक्जेन्डर भुचिचले पनि चुपचाप आफ्नो बाटो बदल्न थालेका छन् । सुरुवातमा सर्बियाले रुसको युक्रेन आक्रमणलाई समर्थन गरेको देखिए पनि पछि उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पटक–पटक भेट गरे र बुल्गेरिया, चेक गणतन्त्र तथा पोल्यान्डमार्फत युक्रेनलाई कम्तीमा ९० करोड आठ लाख डलर बराबरको गोलाबारुद निर्यात गरे।
भुचिचले रुसी हतियार आपूर्तिकर्तासँगका सैन्य सम्झौताहरू पनि रद्द गर्दै फ्रान्ससँग १२ वटा राफाल लडाकु विमान खरिदका लागि २.७ अर्ब युरोको सम्झौता गरे । पुटिनले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् । युरोपमा बाँकी रहेका थोरै सहयोगीमध्ये एकलाई पूर्ण रूपमा गुमाउने जोखिम उनी लिन चाहँदैनन्।
यसैबिच पुटिनका पुराना सहयोगी बेलारुसी राष्ट्रपति अलेकजेन्डर लुकासेन्कोले पश्चिमसँग सम्बन्ध सुधार्ने प्रयासस्वरूप राजनीतिक बन्दीहरू रिहा गरेका छन् र अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि सम्पर्क गरेका छन् । ‘युरोपका अन्तिम तानासाह’ भनेर चिनिने लुकासेन्कोले क्रेमलिनसँग सम्बन्ध तोडेका त छैनन् तर उनले सम्भावित भाग्ने बाटो तयार गरिरहेका छन्।
यो प्रसंगमा अर्कातर्फ चीन छ । युक्रेन युद्धअघि रुस र चीनले आफूलाई पश्चिमी वर्चस्वविरुद्ध उभिएका दुई महाशक्तिका रूपमा प्रस्तुत गर्थे र आक्रमणअघि ‘सीमाहीन साझेदारी’को प्रचार गरेका थिए । अहिलेको सम्बन्ध शक्तिशाली बराबरी राष्ट्रहरूको गठबन्धनभन्दा असन्तुलित स्वार्थ–आधारित सम्बन्धजस्तो देखिन्छ । चीनले रुसलाई माइक्रोइलेक्ट्रोनिक्स र मेसिन उपकरणजस्ता दोहोरो प्रयोगका सामग्री उपलब्ध गराउँछ तर हतियार होइन । बदलास्वरूप रुसले चीनलाई सस्तो मूल्यमा तेल र ग्यास बेचिरहेको छ।
अहिले रुसको सबैभन्दा बफादार मित्र उत्तरकोरिया हो । उत्तरकोरियाले २०२४ अगस्टमा युक्रेन कुस्र्क क्षेत्रमा प्रवेश गरेपछि १० हजारभन्दा बढी सैनिक रुसी सेनासँगै युक्रेनविरुद्ध पठायो । यो सम्बन्ध पनि मूलतः लेनदेनमा आधारित छ, जसको आधार पश्चिमविरुद्धको साझा असुरक्षा र वैरभाव हो।
पुटिनले युक्रेनमाथिको आक्रमणले रुसलाई पुनः महाशक्ति बनाउने, पश्चिमी प्रभाव कमजोर पार्ने र बहुध्रुवीय विश्व व्यवस्थातर्फको संक्रमण तीव्र बनाउने विश्वास गरेका थिए । यस विश्वासविरुद्ध युद्धले क्रेमलिनको विश्वसनीयता नै ध्वस्त पारेको छ । रुससँग अझै आणविक हतियार, संयुक्त राष्ट्र सुरक्षा परिषद्मा स्थायी सिट र विशाल ऊर्जा स्रोतहरू छन्, तर युक्रेन युद्धले उसलाई यति कमजोर बनाएको छ कि युद्धको धम्की दिनुबाहेक विश्व मामिलामा प्रभाव पार्ने क्षमता निकै सीमित भएको छ।
–निना यु स्कुलकी अन्तराष्ट्रिय मामला विषयकी प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
