प्रकाशित मिति : असार १६, २०८२ सोमबार
फोटो : स्वेडर ब्रीट
रुसले युक्रेनको एउटा एफ १६ लडाकु विमान खसालेको छ। रुसले प्रहार गरेको ड्रोन तथा मिसाइल आक्रमणमा विमान खसेको युक्रेनले बताएको छ। विमान दुर्घटनामा परेपछि यसका चालक लेफ्टिनेन्ट कर्नल म्याक्सिम उस्तिमेन्कोको पनि मृत्यु भएको छ।
यो घटनाले एफ १६ उडाउने तेस्रो युक्रेनी पाइलटको ज्यान लिएको हो। साथै, यो एफ १६ को चौथो दुर्घटना हो। यो विमान युक्रेनले गत वर्षदेखि उडानमा ल्याएको थियो।
युक्रेनी वायु सेनाका अनुसार उस्तिमेन्कोले विमानलाई बस्तीबाट टाढा लैजाने भरपुर प्रयास गरे पनि सफल हुन सकेनन्।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मृत्यु हुनुअघि पाइलटले सातवटा लक्ष्य नष्ट गरेको बताएका छन्। उनले युक्रेनी वायु सेनाको प्रशंसा पनि गरेका छन्।
शनिबार राति रुसले ४७७ वटा ड्रोन र ६० वटा मिसाइल विभिन्न ६ स्थानहरूमा प्रहार गरेको थियो। यो अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमलामध्ये एक भएको बताइएको छ।
ओडेसामा एउटा आवासीय भवन रुसी ड्रोन आक्रमणमा परेर क्षतिग्रस्त भएको पनि पुष्टि गरिएको छ।
https://www.youtube.com/watch?v=videoseries
पछिल्ला केही सातादेखि रुसले हरेक रात युक्रेनमा सयौँ ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ। यी आक्रमणहरू पहिलेभन्दा ठूलो, तीव्र र कठिन भएर आएका छन्। युक्रेनी वायु सेनाका अनुसार, प्रायः उच्च उचाइमा उडाइएका हुनाले तिनीहरूलाई रोक्न झन् गाह्रो भएको छ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै युक्रेन अमेरिकी हवाई रक्षा प्रणाली खरिद गर्न तयार रहेको बताएका छन्। यो पेट्रियट हवाई रक्षा प्रणाली हाइपरसोनिक र ब्यालिस्टिक मिसाइलहरूविरुद्ध सबैभन्दा प्रभावकारी मानिन्छ।
हाल युक्रेनसँग करिब आधा दर्जन पेट्रियट हवाई रक्षा प्रणालीहरू छन्, तर तिनको स्थान र सङ्ख्या गोप्य राखिएको छ।
यद्यपि, मिसाइल आपूर्ति कम हुँदै गएको र ट्रम्प प्रशासनले सहयोग कटौती गर्ने चेतावनी दिएकोप्रति जेलेन्स्कीले चिन्ता व्यक्त गरे।
युक्रेनी वायु सेनाका अनुसार, आइतबार बिहानसम्म २११ वटा ड्रोन र ३८ वटा मिसाइल खसालिएको छ।



