प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिएका रिपब्लिकन सांसद थोमस म्यासी पराजित भएका छन्। उनी पुनः निर्वाचन लड्ने प्रयासका लागि भएको आन्तरिक (प्राइमरी) निर्वाचनमा पराजित भएका हुन्।
ट्रम्प समर्थित उम्मेदवार तथा पूर्व नेभी सिल एड गाल्रेन (एड गलरेन) ले केन्टकी प्राइमरी निर्वाचनमा म्यासीलाई हराए। गाल्रेन अब नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार बन्न सफल भएका छन्।
यस प्रतिस्पर्धालाई रिपब्लिकन पार्टीमाथि ट्रम्पको प्रभाव अझै कायम छ कि छैन भन्ने महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको थियो। अमेरिकी प्रतिनिधिसभाको इतिहासकै सबैभन्दा महँगो प्राइमरी निर्वाचनका रूपमा समेत यसलाई लिइएको छ।
राष्ट्रपति ट्रम्पले पटक–पटक मतदाताहरूलाई गाल्रेनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। उनले म्यासीलाई इतिहासकै सबैभन्दा खराब रिपब्लिकन सांसद भन्दै आलोचना गरेका थिए।
सन् २०१२ देखि प्रतिनिधिसभामा रहेका म्यासीले गत वर्ष ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयकको विरोध गरेका थिए। राष्ट्रिय ऋण बढ्ने भन्दै उनले उक्त विधेयकको विपक्षमा मतदान गरेका थिए।
त्यस्तै, उनले क्यारिबियन क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न ढुङ्गाहरूमाथि (बोटहरूमाथि) ट्रम्प प्रशासनले गर्ने आक्रमण सीमित गर्ने पक्षमा मतदान गरेका थिए। इरानसँग जारी युद्धको पनि उनले विरोध गरेका थिए।
म्यासीले डेमोक्र्याट तथा केही रिपब्लिकन सांसदहरूसँग मिलेर ट्रम्प प्रशासनको न्याय मन्त्रालयलाई जेफ्री एप्स्टिनसम्बन्धी सबै फाइल सार्वजनिक गर्न दबाब दिएका थिए।
निर्वाचनमा म्यासी ५५ प्रतिशतका विरुद्ध ४५ प्रतिशत मतान्तरले पराजित भए। ट्रम्पले आफूविरुद्ध बोल्ने रिपब्लिकन नेताहरूलाई हटाएर आफ्ना समर्थक उम्मेदवारलाई अघि सार्ने रणनीतिमा फेरि सफलता पाएको विश्लेषण गरिएको छ।
ट्रम्पका ठूला दाताहरूले गाल्रेनलाई समर्थन गरेका थिए। निर्वाचन अभियानमा मात्रै ३ करोड २० लाख डलरभन्दा बढी खर्च भएको बताइएको छ।
पराजय स्वीकार गर्दै म्यासीले वैदेशिक सहायता खर्च, ह्वाइट हाउसमा नयाँ बलरुम निर्माण योजना, प्रतिद्वन्द्वीलाई दिइएको ठूलो आर्थिक सहयोग तथा रक्षा मन्त्री पिट हेगसेथले गाल्रेनको पक्षमा प्रचार गरेको विषयमा आलोचना गरेका थिए।