राष्ट्रिय टिमबाट डेब्यूपछि समीरले देखेको सपना

राष्ट्रिय टिमबाट डेब्यूपछि समीरले देखेको सपना


११ चैत, मानामा (बहराइन) । बारा निजगढका १९ वर्षीय समीर तामाङ स्कुल पढ्दा क्रिकेट खेल्थे । क्रिकेटमा विकेटकिपिङ गर्ने उनले फुटबल खेल्दा पनि सुरुमा गोलकिपरको भूमिकामा खेले ।

गोलकिपिङ गर्दा हातमा चोट लागेपछि उनी फरवार्डमा खेल्न थाले । उनै समीरले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बिहीबार बहराइनसँगको खेलमा नेपाली राष्ट्रिय टिमबाट खेल्ने आकांक्षा पूरा गरेका छन् ।

‘पहिलेदेखिको सपना थियो, त्यसैले राष्ट्रिय टिममा डेब्यू क्षण मेरो लागि विशेष थियो’,  समीरले अनलाइनखबरसँग भने, ‘त्यो क्षणमा मलाई घरको धेरै सम्झना आयो । मैले मेरी ममीलाई विशेष रुपमा सम्झिएँ ।’

बहराइनको रिफास्थित नेशनल स्टेडियममा भएको खेलमा ७९ औं मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै समीरले नेपालको सिनियर टिमबाट डेब्यू गरे । उनले करिब १० मिनेट मात्र मैदानमा बिताए । ८८ औं मिनेटमा समीरलाई रिप्लेस गर्दै अर्का फरवार्ड सञ्जीव विष्टले पनि राष्ट्रिय टिममा डेब्यू गरे ।

राष्ट्रिय टिमबाट १० मिनेट मात्र खेल्न पाए पनि समीरले १९ वर्षमै पाएको यो उपलब्धीलाई चानचुने मानेका छैनन् । ‘मैले यति चाँडै डेब्यू गर्छु भनेर सोचेको पनि थिइनँ । अझ बहराइन कठिन प्रतिद्वन्द्वी थियो र त्यस्तो टिमसँग मैले पनि खेलेँ भन्दा अर्कै खालको ऊर्जा आउने रहेछ’, उनी भन्छन् ।

समीर तीब्र गतिका खेलाडी हुन् । उनले बल पाएपछि विपक्षी डिफेण्डरलाई दबाब दिने काम गर्छन् ।

सिधै राष्ट्रिय टिममा

समीरले यसअघि नेपालको यू-२० राष्ट्रिय टिमबाट खेलेका थिए । तर उनले अहिलेसम्म घरेलु लिग खेलेका छैनन् । फुटबल विकासको मेरुदण्ड नै लिगलाई मानिन्छ । नेपालमा लिग नियमित नहुँदा खेलाडीहरु फरक तरिकाले राष्ट्रिय टिमसम्म पुगेका उदाहरण छन् ।

त्यसमा समीर पनि परेका छन् । ‘लिग खेलेकै आधारमा कोचहरुले राष्ट्रिय टिमका लागि छनोट गर्नुहुन्छ । तर मेरो हकमा अनौठो भयो’, उनले भने ।

गत असोजमा काठमाडौंमै भएको साफ यू-२० च्याम्पियनसिपमा समीरले नेपालका लागि ३ गोल गरेका थिए र सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा शीर्ष स्थानमा थिए ।

उनी यु-२० को राष्ट्रिय टिमका लागि जिल्ला, प्रदेश र केन्द्रीय स्तरको छनोटबाट छानिएर अन्तिम २३ जनाको सूचीमा समावेश भएका थिए । त्यसमा उनले आफूलाई प्रमाणित पनि गरेर देखाए ।

समूह चरणमा श्रीलंकाविरुद्ध ४-१ को जितमा दुई गोल गरेका समीरले सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको स्थितिमा बराबरी गोल फर्काए । तर उक्त खेलमा नेपाल पेनाल्टी सुटआउटमा भारतसँग पराजित हुँदै फाइनल पुग्न असफल भयो । तर समीरले भने करियरमा फड्को मारे ।

घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दाको अनुभव पनि उनले बटुले । ‘नेपालीहरुको अगाडि खेल्दा छुट्दै जोश र उर्जा आउने रहेछ’, समीर दशरथ रंगशालामा खेल्दाको अनुभव सुनाउँछन् ।

यु-२० टिमबाट राम्रो प्रदर्शन गरेपछि समीर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे । तर चोटका कारण त्यसबेला उनी बन्द प्रशिक्षणमा जान सकेनन् ।

समीरले गत माघमा पोखरामा भएको आहारारा पोखरा गोल्डकपमा चर्च ब्वाइज क्लबबाट पहिलो पटक घरेलु फुटबल खेले । त्यहाँ उनले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबविरुद्ध गोल गरेका थिए । अहिलेसम्म उनले खेलेको क्लब चर्च ब्वाइज मात्रै हो ।

गत २७ माघमा चिनिया प्रान्तीय टिमविरुद्ध नेपालको यू-२३ टिमले काठमाडौंमा खेलेको खेलमा समीर पनि टिममा थिए । पहिलो रोजाईमा खेलेका उनले नेपालका लागि दुई गोलसमेत गरेका थिए ।

त्यसपछि उनी बहराइनविरुद्ध हुने दुई खेलका लागि सिनियर टिममा पर्न सफल भए । बहराइनविरुद्धको खेलअघि नेपाली टोली मलेसियासँग अभ्यास खेल खेल्न गएको थियो । २ चैतमा मलेसियाविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले नेपालका लागि एक गोल गरेका थिए । उक्त खेलमा नेपाल मलेसियासँग ४-१ ले पराजित भएको थियो ।

पढाइ छाडेर फुटबल

स्कुलमा पढ्दा समीरले सुरुमा क्रिकेट खेल्थे र त्यसमा पनि विकेटकिपरको भूमिकामा हुन्थे । एक दिन उनले आफूभन्दा ठूलाहरुको टिममा गोलकिपरको भूमिका पाए । ‘ गोलकिपर नआएकाले मैले त्यो भूमिका खेलेँ । ग्लोभ्स हुँदैनथ्यो । इँटा राखेर पोस्ट बनाइएको हुन्थ्यो । त्यो दिन मेरो औंलामा चोट लाग्यो’, समीरले फुटबल खेल्दाको सुरुवाती दिन सम्झिए ।

त्यसपछि उनले क्रिकेट छाडेर फुटबल खेले र फुटबलमा पनि फरवार्डका रुपमा खेल्न थाले । उनी पढ्न भन्दा पनि फुटबल खेल्नमै केन्द्रित थिए ।

फुटबल खेल्न थालेपछि उनले पढाइ पनि छाडे । उनको ध्यान फुटबलमै भएपछि घर परिवारले पनि साथ दियो । उनले स्थानीय स्तरका धेरै प्रतियोगिता खेले । एक दिन उनले साफ यू-२० का लागि खेलाडी छनोट हुँदैछ भन्ने थाहा पाए  र त्यसमा सहभागी भए ।

जितपुर सिमरामा भएको जिल्लास्तरीय छनोट पार गरेर उनी प्रदेशस्तरीय छनोटका लागि सर्लाहीको लालबन्दी पुगे । त्यहाँ पनि छनोट भएर उनी राष्ट्रिय स्तरको छनोटका लागि काठमाडौं पुगे । त्यहाँ प्रशिक्षणपछि उनी यू-२० साफका लागि अन्तिम टोलीमा छनोट भए ।

खेलमा उनको गति राम्रो भए पनि फिनसिङमा केही समस्या थियो । यू-२० टिममा परेपछि उनले त्यसमा धेरै मिहिनेत गरे । जसको नतिजा समीरले साफ यू-२० च्याम्पियनसिपमा ३ गोल गरेर देखाए ।

अझ धेरै सपना बाँकी छ

राष्ट्रिय टिमबाट डेब्यू गरेपछि समीरले आफ्नो करिअरमा अझै ठूलो चुनौती आएको महसुस गरेका छन् । ‘छोटो समयमै यति गर्न सकेँ भने करियर त बल्ल सुरु भएको छ । अझै मिहिनेत गरेँ भने यो भन्दा अझ राम्रो गर्न सक्छु’, समीर भन्छन् ।

उनी नेपालका लागि उपाधि जित्न चाहन्छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबाट प्रभावित समीरलाई नेपालमै सर्वाधिक गोलकर्तामध्येका एक अञ्जन विष्टको खेल मन पर्छ ।

‘म पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले राष्ट्रिय टिममा सँगै खेल्न पाउँदा ड्रिम कम ट्रु जस्तै भएको छ’, समीरले भने, ‘दाइहरुले पनि अझै राम्रो गर्नुपर्छ भनेर हौसला दिनुहुन्छ ।’

राष्ट्रिय टिमबाट डेब्यूपछि समीरले देखेको सपना





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School