राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता


सोमबार रत्नपार्क एक दुर्लभ दृश्यको साक्षी बन्यो। पछिल्लो समय विभिन्न बहानामा मिल्न नसकेका पूर्वपञ्च–राजावादी शक्ति तथा पात्रहरू लगभग एउटै मञ्चमा देखिए।

पूर्वपञ्च नवराज सुवेदीदेखि, केशरबहादुर विष्टसम्म, कमल थापादेखि राजेन्द्र लिङ्देनसम्म रत्नपार्कमा भेला भएर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि एकीकृत रूपमा धारेहात लगाए।

यो दृश्यमा केन्द्रमा थिए–कमल थापा र राजेन्द्र लिङ्देन।

यी दुई जना ती पात्र हुन, जो कठिन परिस्थितीमा पनि राजतन्त्र वा राजसंस्थाको अजेन्डा नछाडेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २०७८ मंसिर सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी थिए। उक्त निर्वाचनमा लिङ्देन जिते, थापा हारे।

त्यसयता दुवैको सम्बन्ध राजनीतिक रूपमा तिक्त थियो। थापाले आफूलाई दरबारले हराएको भन्दै राप्रपा परित्याग गरे। राप्रपा नेपालमा सक्रिय भए। त्यसपछि दुवै पूर्ण रूपमा सम्बन्ध विच्छेदको अवस्थामा थिए।

पछिल्लो समय नागरिक असन्तुष्टिमा पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता देखाएपछि राजावादी शक्तिहरू हौसिएका थिए। तर, उनीहरू एकीकृत भने हुनसकेका थिएनन्। एकीकृत नहुनुमा पनि थापा र लिङ्देनकै भूमिका रहेको राजावादी वृत्तमा चर्चा हुन्छ।

रत्नपार्कको दृश्य यो चर्चामा अपवाद भएर निस्कियो।

जहाँ थापाले लिङ्देनलाई हात मिलाएर र अलिंगन गरेर स्वागत गरे। दुवै जना एकै मञ्चमा उभिएर भाषण गरे। सँगै राष्ट्रिय झण्डा फहराए। लिङ्देनले थापालाई ‘श्रद्धय दाइ’ भनेर सम्बोधन गरे, थापाले लिङ्देनलाई ‘प्रिय भाई’ भने।

दरबारकै कारण टुटफूट राजावादी

अहिले एकठाउँमा देखिएका राजावादी विभिन्न कालखण्डमा तत्कालीन दरबार र पूर्वराजाकै कारण छिन्नभिन्न हुने गरेका जानकारहरू बताउने गर्छन्। पञ्चायतकालमा त्यतिबेलाका पञ्च नेताहरूलाई दरबारले परस्पर भिडाएर राज्य सञ्चालन गर्दै आएको विभिन्न इतिहासकारले लेखेका छन्।

कहिले एक नेतालाई हातमा लिने, कहिले अर्कोलाई लिने गर्दै शासन गर्ने दरबारको प्रवृत्ति थियो। त्यसकै उपज पञ्चायतका ३० वर्षसम्म कुनै पनि सरकार ५ वर्ष टिकेको उदाहरण छैन। त्यसो गर्नुमा कुनै पनि नेतालाई शक्तिशाली हुन नदिने दरबारको रणनीति रहेको इतिहासकारले लेखेका छन्।

पछिल्लो समय राजावादी अजेन्डा बोकी हिँडेको राप्रपाभित्रको रडाकोमा पनि दरबारकै हात रहेको जानकारहरू बताउँछन्।

०७८ मंसिरको पार्टीको चुनावमा थापाविरुद्ध लिङ्देनलाई उठाएर हराउनुमा दरबारकै हात रहेको स्वयं थापाले बताउँदै आएका छन्। उनले निर्वाचनमा भोट हाल्न आएका प्रतिनिधिलाई निर्मल निवास डाँकेर ज्ञानेन्द्र आफैले निर्देशन दिएर आफूलाई हराएको बताएका थिए। त्यही कारण उनी रिसाएर राप्रपा छाडे। राप्रपा छाडेको केही समय गणतन्त्रकै पक्षमा समेत सुनिए। 

पछिल्लो पटक राप्रपा अध्यक्ष लिङ्देनसँग पनि ज्ञानेन्द्र सन्तुष्ट नरहेको बताइन्छ। विशेषगरी २०७९ को निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री खान गएपछि ज्ञानेन्द्र लिङ्देनसँग रुष्ट बनेका भनिन्छ।

त्यसपछि महामन्त्री राणा, वरिष्ठ उपाध्यक्ष मिश्रलाई हातमा लिएर लिङ्देनको विकल्पमा राप्रपालाई हिँडाउन खोजीरहेको जानकारहरू बताउने गर्छन्।

यस्तै लिङ्देनसँग असन्तुष्टि देखाउन नै २०७९ फागुनमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले झापामा आयोजना गरेको कार्यक्रममा ज्ञानेन्द्र सपरिवार सहभागी बनेका थिए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

प्रसाईँलाई यसरी सहजै भाउ दिएका ज्ञानेन्द्रसँग भेट गर्न लिङ्देनलाई भने हम्मेहम्मे पर्दै आएको उदाहरणले देखाउँछन्। उता ज्ञानेन्द्रको धाप पाएका प्रसाईँ त्यसयता राप्रपा र लिङ्देनप्रति आक्रामक सुनिँदै आएका छन्।

पछिल्लो समय पनि ज्ञानेन्द्रले लिङ्देनकै विकल्पमा नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति बनाएका बताइन्छ। सुवेदीबाट सबै नेतृत्व सम्भव नहुने भएपछि निर्मल निवासकै इशारामा चैत १५ गते दुर्गा प्रसाईँ कमान्डर तोकिएका थिए।

यसरी ज्ञानेन्द्रबाट बाइपास भएका र उनकै आड पाएका आफ्नै पार्टीका नेताहरूबाट पनि अटेरी व्यहोरिरहेका लिङ्देनले भने आफ्नै पार्टीको नेतृत्वमा आन्दोलन गर्ने भन्दै सुवेदी र प्रसाईँ नेतृत्वको आन्दोलनमा समर्थनबाहेक सहभागी नहुने निर्णय लिएका थिए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

तीनकुने घटनापछि भने ज्ञानेन्द्रले बल नयाँ कोर्टमा फाल्ने रणनीति अख्तियार गरेको देखिन्छ। प्रसाईँ जघन्य अपराधको कसुरमा धेरै समय जानसक्ने, राप्रपा नेताद्वय मिश्र र राणामाथि सरकारले सख्त अनुसन्धान थालेपछि लिङ्देनलाई पनि रिझाउन थालेका छन्। त्यही रणनीति स्वरुप उनले लिङ्देनसहितका सातभाइ नेतालाई दर्शनभेट दिएर ‘लन्च’ पनि खुवाएका छन्। 

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

रत्नपार्कको सभा थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको हो। आयोजनाको उद्देश्यमा थापाले चतुर्‍याइँ गरेको देखिन्छ।

चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए। क्यान्सरपीडित राणालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ। तीनकुने प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँसहितका अन्य अभियुक्त पनि प्रहरी हिरासतमा छन्।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

पछिल्लो समय मिश्र र राणा राप्रपामा लिङ्देनसँग फरक मत राख्दैआएका थिए। यस्तै निर्मल निवासले संयोजक तोकिदिएका नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिप्रति लिङ्देन सकारात्मक थिएनन्।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

त्यो समिति बनाउनुमा पनि मिश्र र राणाको सक्रिय हात थियो। कहीँ न कहीँ उनीहरुले लिङ्देनको भूमिका संकुचन गर्न त्यो समिति बनाउने र सक्रिय पार्ने भूमिका निर्वाह गरेको राप्रपाभित्रको ‘ओपन सेक्रेट’ रहेको जानकारहरू बताउँछन्। 

यस्तोमा मिश्र र राणा पक्राउपछि लिङ्देनले खास्सै चासो राखेनन्। राप्रपाले उनीहरू पक्राउ परेको धेरै समय घर्किसकेपछि मात्रै औपचारिकतामा धारणा व्यक्त गरेको थियो। धारणा दिए पनि उनीहरूलाई छुटाउन सार्थक पहल/संघर्षमा ध्यान दिएन।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

यस्तोमा बरु उनीहरू नजिक पुग्ने र उनीहरूका पक्षमा खुलस्त बोल्ने काम राप्रपा नेपालका अध्यक्ष थापाले गरिरहेका छन्। त्यही आवाज बोल्न उनले चतुर्‍याइँस्वरुप रत्नपार्कको सभा राखेका हुन्।

सभाको मुख्य नारा नै उनले ‘आस्थाका बन्दीहरू तत्काल रिहा गर’ भनेर मुल ब्यानरमा लेखाएका छन्। यस्तै सोही ब्यानरमा धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउन पाइँदैन’ भन्ने अर्को नारा लेखेका छन्।

यसबाहेक थापाले रत्नपार्कको सभामार्फत अर्को राजनीतिक चतुर्‍याइँ पनि गरेका छन्। उनले लिङ्देनले अस्वीकार गरेका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पनि लिङ्देनकै अघि ‘नेता’ स्वीकार्नुपर्ने सुनाए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

‘कुनै स्वार्थ नभएका, उमेरले पनि राजनीतिक आशा राख्न श्रद्धय व्यक्तित्व नवराज सुवेदी संयोजन गर्न आउनुभएको छ। यद्यपि व्यक्ति र पात्रका बारेमा बहस गर्न सकिने अवस्था हुन्थ्यो,’ थापाले भने, ‘अब जेसुकै भएपनि विशिष्ट परिस्थितीमा उहाँ संयोजक भएर आउनुभएको छ।’

यो सब पछाडि लिङ्देनको पनि बाध्यता देखिन्छ। उनका अगाडि आफ्नै पार्टीका नेताको रिहाइका लागि गरिएको सभामा आमन्त्रण गर्दा पनि नजाँदा हुनसक्ने सम्भावित क्षति एकतर्फ थियो।

अर्कातर्फ वैशाखको पहिलो साता पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा खुवाएको ‘लन्च’ को भारी थियो। ज्ञानेन्द्रले लामो समयपछि लिङ्देनसहित राप्रपाका सातभाइ नेता बोलाएर लन्च खुवाएका थिए। जसमा उनले राजावादी शक्ति एकढिक्का नभएको भन्दै दुखमनाउ गरेका थिए।

त्यसैले थापाले बोलाउँदा बोलाउँदै पनि रत्नपार्कको सभामा नजाँदा लिङ्देनका लागि ज्ञानेन्द्रको आज्ञा पालन नगरेको ठहर हुनसक्थ्यो।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

यही मौकामा रत्नपार्कको सभामार्फत थापाले चौका हाने। जहाँ राजावादी–पूर्वपञ्च शक्तिलाई एकठाउँमा ल्याएर उनी दरबारमा आफू सबैको नेता भएको सन्देश दिन सफल देखिएका छन्।

लिङ्देनको शंसय, थापाको आह्वान

थापामा मञ्चमा उभिए पनि लिङ्देनले भाषणमा तमाम शंसयका पन्तराहरू लुकाएनन्। उनले ‘राजसंस्था, हिन्दुराष्ट्र, संघीयता खारेजीका सम्बन्धमा हुने सबैखाले शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता हुने’ भन्दै उनी सुरुमै औपचारिक सुनिए।  

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

‘आज पनि राप्रपा नेपाल र श्रद्धय दाइ कमल थापाले आमन्त्रण गर्नुभयो, धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु,’ भन्दै लिङ्देनले आफ्नो शंका प्रकट गरे, ‘हामी सँगै छौँ, सँगै रहेर काम गर्न राप्रपा तयार छ भन्नु छ मलाई। मेरो भन्नु यत्ति हो, यसमा कुनै द्विविधा नरहोस्।’

त्यसपछि उनी राजावादीहरू भन्दै आएका साझा कुरामा प्रवेश गरे। ‘देश विशिष्ठ परिस्थितिले अगाडि बढिरहेको छ। बाहिर आँखाले ठिकठाक चले पनि एकदमै कठिन अवस्थामा छ। भ्रष्टाचार र कुशासनले देख आक्रान्त छ,’ उनले भने।

आफ्नै र सन्ततीको भविष्यसमेत अन्योलग्रस्त बनेकाले अस्मिताको रक्षाका लागि सबै देशभक्त राष्ट्रवादी शक्ति एक ठाउँमा आउन जरुरी रहेको उनले बताए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

‘अहिले प्रजातन्त्रको नाऊमा, लोकतन्त्रको नाऊमा जुनप्रकारको लुटतन्त्र हाबी भइराखेको छ त्यसको अन्त्यको लागि हामी बाहेक अर्को विकल्प र शक्ति छैन,’ लिङ्देनले भने।

त्यसपछि सबै प्रकारका आग्रहपूर्वाग्रह त्यागेर एक ठाउँमा आउन सबै राजावादी शक्तिलाई उनले आग्रह गरे। राजसंस्थाका बारेमा आवाज उठाउनेलाई खोजीखोजी हिरासतमा राखेको उनले आरोप लगाए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

लिङ्देनपछि भाषण गरेका राप्रपा नेपालका अध्यक्ष थापाले रत्नपार्कको मञ्च ‘एउटा पार्टीको मात्र नभई राष्ट्रवादी विचारधारा राख्ने व्यक्ति, समूह र दलहरुको साझा मञ्च र प्रदर्शन’ रहेको भन्दै सन्देश सुनाए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

त्यसपछि उनी ‘रवीन्द्र मिश्र र धवलशमशेर राणाले अपराध गरेका छैनन्’ भन्दै सहानुभूति बटुल्न प्रस्तुत भए। ‘हिन्दूराष्ट्र र राजसंस्थाको विचारको संवाहक र योद्धा हुन्। उनीहरु एक्लै छैनन्। बिनाशर्त रिहाइको निम्ति संघर्ष हामी सबै तयार छौँ भन्ने आजको उद्घोष हो,’ थापाले भने।

भाषणकै क्रममा थापाले राजावादी विचार बोक्ने शक्तिमा राप्रपा सबैभन्दा ठुलो र संसद्मा रहेको शक्ति रहेको थापाले बताए। ‘त्यस पार्टीका अध्यक्ष मेरो प्रिय भाइ राजेन्द्र लिङ्देनले भन्नुभयो–हामी सँगै छौँ र सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ उनले भने, ‘म त्यसको स्वागत गर्न चाहन्छु।’

अहिले एकातिर हिन्दुराष्ट्र र राजसंस्था हुने माहोल बनिराखेको भन्दै त्यसमा कसैको संगठनात्मक प्रयास भन्दा पनि जनता स्वस्फूर्त आइराखेको थापाले दाबी गरे।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

उनले भने, ‘एकातिर गणतन्त्र पक्षधरको असफलता। अर्को तिर राजसंस्थाको लोकप्रियताको माहोल। अन्तिम धक्काको आवश्यकता छ।’ यस्तो बेला आफ्ना व्यक्तिगत स्वार्थ र कुण्ठाको कारणले चुप लागेर बस्दा विचार र मान्यताको अस्तित्व समाप्त हुनसक्ने खतरा रहेको लिङ्देनलाई सुनाए।

पछिल्लो समय सरकारले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको बारेमा बोल्नै नपाउने कानुन बनाउन लागेको बताउँदै उनले त्यो कानुन बने राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल र विपी कांग्रेसको विचार र मान्यता नरहने पनि थापाले बताए।

‘यसको रक्षा गर्ने दायित्व हाम्रो हो कि होइन ? यदि हामीले नगरे हामी त कति दिन राजनीति गरौँला र भोलिको पिढिले के प्रश्न गर्ला ?,’ थापाले प्रश्न गरे।

राजसंस्थाका पक्षमा राम्रो वातावरण रहेका अवस्थामा त्यो विचार र मान्यतालाई समाप्त पार्ने षडयन्त्र चल्दा ‘एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने’ चेतावनी दिए।

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

‘कमसेकम केही समयका लागि भए पनि एकढिक्का भएर बसौँ, आवश्यक प्रबन्ध मिलाएर। अझ राप्रपालाई पनि भनिरहेको छु, राजेन्द्र लिङ्देन भाइलाई भनिरहेको छु,’ उनले भने, ‘राजनीतिक आरोह घटनाक्रममा केही घटना भए होलान्। अहिलेको परिस्थितीले उहाँको आवश्यक छ।’

राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता
राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता

सबै मिलेमा केही हप्ता वा केही महिनाभित्रै हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिने उनले दाबी गरे।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १५ वैशाख २०८२ २१:०० सोमबार





Source link

Leave a Comment