राजनीतिक उथलपुथलले पनि हल्लाउन सकेन विकास प्रशासन बेथिति


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अनुसार पूँजीगत खर्च १२.१२ प्रतिशतमा सीमित रहँदा विकास प्रशासनमा सुधार हुन सकेको छैन।
  • अर्थमन्त्री रामेश्वर खनालले बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता अभिवृद्धि गर्ने प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
  • भदौ २३ र २४ को आन्दोलनले सरकारी कार्यालयका भवनमा क्षति पुर्‍याउँदा पूँजीगत खर्चमा कमी आएको अर्थ मन्त्रालयले जनाएको छ।

२७ माघ, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् । बरु, कार्यशैली परिवर्तन गर्दै कार्यान्वयनमा रहेका कमजोरी सच्याउन युवापुस्ताले सिकाउन खोजेको सबक थियो ।

आन्दोलनले संसद् ढल्यो, सरकार ढल्यो र नयाँ संसद्का लागि निर्वाचनको मुखमा मुलुक छ । तर, विकास प्रशासनका बेथिति भने यो आन्दोलनले पनि हल्लाउन सकेन ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन र आर्थिक सूचकले यस्तै संकेत गरेका छन् ।

एक त अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय सम्हाले लगत्तै खुद्रे आयोजना कटौतीका नाममा विकासे मन्त्रालयहरूको बजेट रोक्का गरिदिए । अर्कातर्फ, स्वयं खनालकै भाषामा भन्ने हो भने विकास प्रशासन सरकारको प्राथमिकतामा नै परेन । अर्थात्, सरकार निर्वाचनमा केन्द्रित भयो ।

कतिपय मन्त्री निर्वाचनको वातावरण बनाउनतिर लागे । कतिपयले आफ्नो भावी राजनीतिक उद्देश्य प्राप्तिका लागि लोकप्रिय कार्यक्रम र गतिविधि सहित मन्त्रालयका काम उपयोग गरे । जसले गर्दा आर्थिक समृद्धि र विकास प्रशासनमा अन्तरिम सरकारले दीर्घकालीन सुधारको जग राख्न असफल देखियो ।

अर्थमन्त्री खनालले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो प्राथमिकता विनियोजन कुशलता र कार्यान्वयन दक्षता अभिवृद्धि गर्नु हो ।’

विनियोजन कुशलताको जिम्मेवारी वर्तमान सरकारको भागमा परेन । तर, कार्यान्वयन दक्षतामा वर्तमान सरकार समेत खरो उत्रन सकेन । चालु खर्च चुलिएको छ । तर, ६ महिनामा पूँजीगत खर्च १२.१२ प्रतिशतमा सीमित छ । जुन पछिल्लो आधा दशकयताकै कम हो ।

‘आयोजनाको पूर्वतयारी अभाव, जग्गाप्राप्ति र वन उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिले पूँजीगत खर्च कम हुन गएको हो,’ अर्थ मन्त्रालयले मंगलबार सार्वनिक गरेको प्रतिवेदनको निष्कर्ष छ ।

अर्थतन्त्रको अवस्था विश्लेषण गर्दै अर्थमन्त्री खनालले आन्तरिक संस्थागत चुनौती र सुदृढ वाह्य क्षेत्रबीच मुलुकको विद्यमान आर्थिक परिदृष्य जटिल तर आशलाग्दो देखिएको बताए ।

मन्त्रालयका अनुसार यस अवधिमा प्रनिनिधिसभा निर्वाचन खर्च, कर्मचारीको महँगी भत्ता र आन्दोलनका घाइते र मृतकका परिवारलाई दिनुपर्ने राहतले चालु खर्चमा चाप बढेको हो ।

यसबीच सरकारले पूर्वतयारी नभएका, टुक्रे आयोजना र प्रतिफल सुनिश्चित नभएका अनुत्पादक कार्यक्रमको कुल १ खर्ब १९ अर्ब ५३ करोड बराबर बजेट रोक्का गरी प्राथमिकताप्राप्त आयोजनामा रकमान्तरको नीति लिएको थियो । यद्यपि, सुरुमा रोक्का गरिएका धेरै कार्यक्रम क्रमश: फुकुवा भएका छन् ।

कतिपय फुकुवाको चरणमा छन् । अहिलेसम्म ४२ अर्ब २८ करोड रुपैयाँ बराबरको बजेट फुकुवा गरिएको छ । जुन उद्देश्य सहित बजेट रोक्का राखिएको थियो, बजेट कार्यान्वयनका दौरान त्यसको अक्षरश: पालना गर्न स्वयं अर्थ प्रशासन असफल देखियो ।

यस वर्ष पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड बजेट खर्च भएको छ । जुन कुल विनियोजनको ३५.१४ प्रतिशत हो । यसमा चालु खर्च ४ खर्ब ८७ अर्ब अर्थात् लक्ष्यको ४१.२५ प्रतिशत भएको छ ।

पूँजीगत खर्च ४९ अर्ब ४२ करोड (लक्ष्यको १२.१२ प्रतिशत) र वित्तीय व्यवस्थामा १ खर्ब ५३ अर्ब (लक्ष्यको ४०.९५ प्रतिशत) भएको छ । अघिल्लो आवको तुलनामा समग्र बजेट खर्च ३.३९ प्रतिशत बढेको छ ।

यसबीच अर्थ मन्त्रालय स्वयंले प्रणालीगत सुधारमा निकै काम गरेको थियो । सोही गतिमा अन्य मन्त्रालयले कार्यकुशलता देखाउन सकेनन् । जसको असर समग्र विकास प्रशासनमा देखिएको छ ।

न्यून सार्वजनिक खर्च : परम्परागत समस्यामाथि आन्दोलनको भार

अर्थ मन्त्रालयको विश्लेषण अनुसार वार्षिक बजेट तर्जुमा गर्दा पूर्वतयारी सम्पन्न भएका आयोजनामा न्यून विनियोजन गरी नयाँ आयोजनालाई प्राथमिकता दिने गरिएको छ ।

अर्कोतर्फ आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण र वितरण, वन क्षेत्र उपयोग, क्षतिपूर्ति लगायत प्रक्रिया पूरा नभएका आयोजनामा समेत बजेट राख्ने गरिएको छ ।

बजेट कार्यान्वयन कार्यायोजनाको परिपालना हुन नसकेको, आयोजनाको संख्या बढाउँदै जाने र भुक्तानी समस्या दोहोरिने, आयोजना अधुरो रहँदा खर्च व्यवस्थापनमा कठिनाइ आएको समेत अर्थको विश्लेषण छ ।

तीन तहका सरकारका बीचमा पर्याप्त समन्वय नहुनु, सामाजिक सुरक्षा, अनुदान र विकासका कार्यक्रम समेत दोहोरिने समस्या यस वर्ष पनि यथावत रहे ।

आयोजना प्रमुख लगायत कर्मचारीको पदपूर्ति समयमा नहुने, आवश्यक निर्देशिका, मापदण्ड, कार्यविधि लगायत नयाँ कानुन तर्जुमा समयमै हुन नसक्दा अर्धवार्षिक अवधिसम्म पनि खर्चको आधार कमजोर रहन गएको अर्थले स्पष्ट पारेको छ ।

चालु आवको बजेटमा १६ जेठदेखि नै आयोजना कार्यान्वयन गर्न सक्ने प्रावधान राखिएको थियो । तर, त्यस मितिबाट आयोजना कार्यान्वयनका क्रियाकलापलाई सरकारी निकायले प्राथमिकतामा राखेनन् ।

वैदेशिक सहायताबाट सञ्चालित कतिपय आयोजनामा विकास साझेदारले निर्धारण गरेको खरिद प्रक्रिया र लेखांकन सम्बन्धी व्यवस्था पालना नहुँदा तोकिएका सर्त पूरा नभई समयमै सोधभर्ना प्राप्ति नभएको समेत अर्थ मन्त्रालयले जनाएको छ ।

यी परम्परागत समस्यामाथि यस वर्ष आन्दोलनको भार थप भयो । जसले गर्दा सार्वजनिक खर्च अपेक्षाकृत वृद्धि हुन सकेन । मन्त्रालयका अनुसार भदौ आन्दोलनका क्रममा १ हजार ६ सय ९३ सरकारी कार्यालयका २ हजार १ सय ३४ भवनमा क्षति पुगेको थियो । त्यहाँ रहेको अभिलेखमा क्षति पुगेका कारण कतिपय हुँदै गरेका कामसमेत रोकिन पुगेका थिए । यसले पूँजीगत खर्च कम भएको हो ।

  विनियोजन भन्दा १५ प्रतिशत कम बजेट खर्च हुने अनुमान

यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । तर, आवको अन्तिमसम्म १६ खर्ब ८८ अर्ब ३२ करोडमात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । जुन सुरु विनियोजनको ८५.९६ प्रतिशत बराबर हो ।

यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड बराबर हुने अनुमान गरिएको छ ।

वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड बराबर खर्च हुने संशोधित अनुमान अर्थले गरेको छ । विनियोजन भने चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब रुपैयाँ गरिएको छ । पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत बराबर भएको छ ।

राजनीतिक उथलपुथलले पनि हल्लाउन सकेन विकास प्रशासन बेथिति

आधा घट्यो आर्थिक वृद्धि अनुमान

सरकारले चालु आव सुरुमा ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । अर्धवार्षिक समीक्षापछि यो दर ३.५ प्रतिशतमा खुम्चिने नयाँ अनुमान गरिएको छ । धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावट लगायत कारण आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरिएको हो । गत आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत बराबर थियो ।

विकासे मन्त्रालयहरूकै बजेट खर्च दयनीय

ठूलो बजेट ओगटेका विकासे मन्त्रालयहरू नै बजेट खर्चमा दयनीय अवस्थामा रहेको देखिए । सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । यस वर्ष यस मन्त्रालयले ९१ अर्ब ३५ करोड बजेट ओगटेको छ । खर्च भने ५ अर्ब ७६ करोडमात्र भएको छ ।

उता, अर्को ठूलो बजेट ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८.१२ प्रतिशतमात्र खर्च भएको छ । यस मन्त्रालयले चालु आवमा कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट ओगटेको छ । खर्च भने २७ अर्ब ८७ करोडमात्र भएको छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्को ठूलो बजेट ओगटेको मन्त्रालय हो । यो मन्त्रालयको ६ महिनाको खर्च १६.५६ प्रतिशतमात्र छ । ४२ अर्ब ७७ करोडको बजेट राखेको यस मन्त्रालयले ७ अर्बमात्र खर्च गर्न सकेको देखिन्छ ।

प्रतिशतका हिसाबमा सबैभन्दा धेरै बजेट खर्च परराष्ट्र मन्त्रालयले गरेको छ । परराष्ट्रले ६ महिनामै ५५.८० प्रतिशत बजेट खर्च गरिसकेको तथ्यांक छ ।

अर्थ मन्त्रालय स्वयंले ६ महिनामा ३५.५४ प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२.९८ प्रतिशत बजेट खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । अर्थ मन्त्रालयले विकासे मन्त्रालयको ठूलो बजेट सुरुवातमै रोक्का राखेको थियो । यसको असर खर्चमा देखिएको छ ।

मन्त्रालयगत बजेट खर्चको विवरण (२०८२/८३)

सि.नंमन्त्रालय / निकायविनियोजित बजेट (हजारमा)खर्च (हजारमा)खर्च प्रतिशत (%)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय५४,६५६१८,०२३३२.९८
अर्थ मन्त्रालय३,९५,०६७१,४०,४१०३५.५४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय८९,५१९७,५९६८.४८
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय४,२७,७१५७०,८३२१६.५६
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय५,३९४१,६८४३१.२३
कृषि तथा पशुपन्छी विकास मन्त्रालय५,०७,०२९२,१७,८२७४२.९६
खानेपानी मन्त्रालय२,०७,२९८२४,७७८११.९५
गृह मन्त्रालय२१,१७,५८२८,९१,७९९४२.११
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय७६,७२२१०,१९११३.२८
१०परराष्ट्र मन्त्रालय९०,१७१५०,३१७५५.८०
११वन तथा वातावरण मन्त्रालय१,२१,८३२३५,९८८२९.५४
१२भूमिसुव्यवस्था, सहकारी तथा गरिबी निवारण७४,१४१२७,३६९३६.९१
१३भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय१५,३७,८६८२,७८,७२८१८.१२
१४महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय१५,३२८३,१३९२०.४८
१५युवा तथा खेलकूद मन्त्रालय५७,२२९७,६५११३.३७
१६रक्षा मन्त्रालय६,३३,०६९२,९०,४५५४५.८८
१७शहरी विकास मन्त्रालय९,१३,५०४५७,६६७६.३१
१८शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय६,०५,७०६२,८१,००२४६.३९
१९सञ्चार तथा सूचना प्रविधि मन्त्रालय७८,९१९२५,४००३२.१९
२०संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय७५,४०२११,०२५१४.६२
२१स्वास्थ्य तथा जनसंख्या मन्त्रालय५,६३,३३५१,८६,३७५३३.०८
२२श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय१६,३७१२,५४८१५.५६
२३राष्ट्रिय योजना आयोग१,७०८६९८४०.८७

वैदेशिक सहायता परिचालनमा पनि छैन उत्साह

६ महिनामा सरकारले वैदेशिक सहायता प्राप्तिमा समेत उत्साह देखाउन सकेन । यस वर्ष ५३ अर्ब ४४ करोड वैदेशिक अनुदान परिचालन लक्ष्य छ ।

६ महिनामा ७ अर्ब २२ करोड रुपैयाँमात्र परिचालन भएको छ । जुन लक्ष्यको १३.५२ प्रतिशतमात्र हो । २ खर्ब ३३ अर्ब वैदेशिक ऋण परिचालनको लक्ष्य राखिएकोमा २३ अर्ब ७३ करोडमात्र परिचालन भएको छ । जुन लक्ष्यको १०.१६ प्रतिशत हो । वैदेशिक ऋण परिचालन गत आवको तुलनामा २७.७५ प्रतिशत खुम्चिएको छ ।

लक्ष्य भेट्ने गरी उठेन राजस्व

अर्धवार्षिक समीक्षा अवधिमा राजस्व संकलन लक्ष्यको ८१.७५ प्रतिशतमात्र उठेको छ । पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २० करोड राजस्व संकलन हुने अनुमान थियो । तर, यथार्थ संकलन ५ खर्ब ८१ अर्ब ४० करोडमात्र भएको छ । राजस्व गत आवको तुलनामा २.४७ प्रतिशत बढी भएको छ ।

यस अवधिमा वैदेशिक व्यापार अन्तर्गत आयात १७.३६ प्रतिशतले वृद्धि भए पनि भन्सार राजस्व ८.४८ प्रतिशतले मात्र सुधार भएको छ । यसो हुनुमा न्यून राजस्व संकलन हुने वस्तुको आयात अधिक हुनु मुख्य कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसबाहेक चौरी पैठारी नियन्त्रण हुन नसक्नु, खुला सीमा व्यवस्थापन नहुनु र आन्तरिक बजार अनुगमन समेत प्रभावकारी नहुँदा राजस्वमा असर परेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । आन्तरिक राजस्वतर्फ ब्याजदर घट्दा आयकरमा असर परेको छ ।

घरजग्गा तथा सेयर कारोबारमा सुधार हुन नसकेका कारण पूँजीगत लाभकरमा असर परेको देखिएको छ । साथै उद्योग, व्यापार, लगानीसहितका आर्थिक कारोबारमा समेत अपेक्षाकृत सुधार हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

भदौ आन्दोलनका कारण पर्यटन क्षेत्रको मूल्य अभिवृद्ध करको वृद्धिदर ऋणात्मक हुनु, दूरसञ्चार क्षेत्रको भ्वाइस, डेटा र अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी खुम्चिनु, करदाता सिधै अदालतमा पुनरावेदनमा जानुसहितका समस्या समेत अर्थले विश्लेषण गरेको छ ।

सरकारको पूँजीगत खर्च अपेक्षित नहुने र विकास निर्माणले गति नलिँदा समेत राजस्व खुम्चिन पुगेको हो । सोहीकारण अर्धवार्षिक समीक्षा मार्फत अर्थले राजस्व संकलन अनुमान समेत संशोधन गरेको छ । यसअघि १४ खर्ब ८० अर्ब राजस्व संकलन अनुमान गरिएकोमा अब १२ खर्ब ९८ अर्बमात्र संकलन हुने अनुमान छ ।

आवको बाँकी अवधिमा निर्वाचन हुनेछ । यसले निर्वाचन लक्षित खर्च र आर्थिक क्रियाकलाप बढाउने र त्यसले राजस्व संकलन बढाउने अपेक्षा अर्थको छ ।

वैदेशिक व्यापारमा आएको सुधारले आयातबाट हुने राजस्व संकलन लक्ष्य अनुसार हुने समेत अर्थले बताएको छ । १५ जेठमा आगामी आवको बजेट आउने भएकाले बजेट लक्षित आर्थिक गतिविधिले समेत राजस्व बढाउने अर्थको विश्लेषण छ ।





Source link

Leave a Comment