१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथि लागेको अभियोग अदालतको प्रारम्भिक जाँचमा प्रवेश गरेका बेला पार्टीले अन्य वैकल्पिक शक्तिहरूको साथ खोज्न थालेको छ ।
लामिछानेनिकट सह–कोषाध्यक्ष दिपक बोहोरा लगायत रास्वपाका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र विवेकशील साझा पार्टीका नेताहरूसँग लामिछानेको पक्षमा बोलिदिन भन्दै संवाद थालेका हुन् ।
मेयर बालेनको सचिवालय स्रोतका अनुसार, विभिन्न स्रोतमार्फत सम्पर्क गरेर रास्वपाका नेताहरूले लामिछानेको पक्षमा टिप्पणी गरिदिन भन्दै आग्रह गरिरहेका छन् । ‘सचिवालयदेखि अरु सम्पर्क सुत्र प्रयोग गरेर उहाँहरूले अनुरोध गरिरहनु भएको छ, तर मेयर सा’बले अहिलेसम्म यो विषयमा कुनै प्रतिक्रिया जनाउनुभएको छैन’, स्रोतले भन्यो, ‘उहाँ पर्ख र हेरकै स्थितिमा हुनुहुन्छ ।’
रास्वपाबाट सहयोगको प्रस्ताव राख्नेहरूले भने लामिछानेले बालेनलाई स्थानीय तह निर्वाचनका बेला पनि सहयोग गरेको भन्दै उनको पक्षमा उभिन आग्रह गर्दै आएका छन् । तर, बालेनको कुनै सन्देश रास्वपा नेताहरूले पाएका छैनन् ।
बरु रास्वपा कार्यकर्ताहरूले बालेनले रविको रिहाइका लागि आग्रह गरेको भन्दै फेसबुक पोष्टको फेक स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल गराएपछि बालेनले असन्तुष्टि जनाएका थिए । रवि समातिएको केही दिनपछि भाइरल भएको पोष्टमा भ्रष्टाचारविरुद्ध बोलेका कारण उनलाई पक्राउ गरिएको दाबी गरिएको थियो ।
तर, लेख्दै नलेखेको कुरा भाइरल गराइएपछि मेयरको सचिवालयले झुट फैलाउन खोजिएको भन्दै त्यसलाई नरोकिए कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको थियो ।
रास्वपाका नेताहरू पनि पार्टीले अरु शक्तिको साथ खोजेको अस्वीकार गर्दैनन् ।
‘सरकारले अन्याय गरिरहेको कुरा आमजनतामा बुझाउनुपर्ने छ, यस्तोमा वैकल्पिक शक्तिहरूसँग संवाद हुनु सामान्य कुरा हो’, रास्वपाका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा यथासम्भव भएसम्म स्वतन्त्र र अन्य दलका साथीहरूसँग विभिन्न च्यानलमार्फत् कुरा भइरहेको छ ।’
त्यही क्रममा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले बुधबार पोखरा पुगेर सभापति लामिछानेसँग भेट गरेका छन् । रास्वपा स्रोतका अनुसार, भेटका क्रममा लामिछानेले सरकारले वैकल्पिक शक्तिको उदयप्रति नरकरात्मक भावना राखेर दुःख दिएको भन्दै यसबारे सबैलाई बुझाउनुपर्ने बताएका थिए ।
‘झट्ट हेर्दा यो मविरुद्धको मुद्दा जस्तो देखिए पनि सरकारले फरक सन्देश दिन खोजेको छ, खासमा यो मुद्दाबाट म बाहिरिँदा अझ बलियो भएर आउने ठाउँ रहन्छ, त्यसले अरु वैकल्पिक शक्तिलाई पनि फाइदा गर्छ’, लामिछानेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘नभए वैकिल्पक शक्तिमा रहनु भएका सबैजना यो परिस्थितिबाट गुज्रिनुपर्छ ।’
पाण्डेले भने लामिछानेलाई स्वास्थ्य स्थिति र मुद्दाका सामान्य विषयमा जिज्ञासा राखेको विवेकशील पार्टी स्रोतले जनाएको छ । पोखरामै रहेका विवेकशीलका नेता एवं पूर्वबागमती प्रदेश सांसद् रमेश पौड्यालले समेत रास्वपाका नेताहरूसँग भेट गरेका थिए । सांसद् शिशिर खनाल, विराजभक्त श्रेष्ठ लगायतसँग उनको भेट भएको थियो ।
त्यसक्रममा उनले लामिछानेविरुद्धको मुद्दा अदालती जाँचको चरणमा प्रवेश गरिसकेकाले नतिजा हेर्नुको विकल्प नरहेको बताएका थिए । पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियार भने रास्वपाका नेताहरू आफूहरूसँग पहिल्यैदेखि निरन्तर सम्पर्कमा रहेको बताउँछन् ।
‘दुवै वैकल्पिक शक्ति भएकाले कुराकानी हुनु स्वभाविक पनि हो, कसैले व्यक्तिगत रुपमा कसैले पार्टीगत रुपमा भेटिरहनु भएकै हुन्छ’, उनले भने, ‘वैकल्पिक शक्तिबीच सहकार्य, एकीकरण र धुव्रिकरणको मार्ग सधैँ खुला राख्नुपर्छ भन्ने दुवै दलको बुझाइ पनि हो, त्यसैले यसलाई अन्यथा लिनु हुँदैन ।’
स्रोतका अनुसार, २०७९ सालको प्रतिनिधिसभा निर्वाचन अघि विवेकशील साझा पार्टीले लामिछानेसँग मिलेर अघि बढ्न प्रस्ताव समेत राखेको थियो । तत्कालीन पार्टी महामन्त्री डा. मुकुल ढकालसँग यसबारे छलफल भएको थियो । तर, लामिछानेले त्यसबेला सकारात्मक जवाफ नदिएको विवेकशील साझा पार्टीका नेताहरू बताउँछन् ।
‘विराजभक्त श्रेष्ठ, पुकार बम लगायतका साथीहरू त्यता जानुभएपछि पार्टीकै तहमा पनि छलफल भएको थियो’, यसबारे जानकार एक नेताले भने, ‘तर, पार्टीगत रुपमै एकठाउँमा भएर जान उहाँले सकारात्मक जवाफ दिनु भएको थिएन ।’
२०७९ मंसिरमा भएको चुनावमा रास्वपाले अप्रत्यासित सफलता हात पार्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २१ सांसदसहित प्रतिनिधिसभाको चौथो ठूलो दल बन्यो । पार्टी स्थापनाको छोटो अवधिमै सभापति लामिछाने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्री नै बने ।
नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघ २०७९ मा उनलाई पदमुक्त गरिदियो, तर फेरि निर्वाचित भएर दोस्रो पटक समेत लामिछाने गृह मन्त्रालयमा दोहोरिए ।
लामिछाने गृहमन्त्री छँदा काठमाडौंका मेयर बालेनले राजधानीको सुकुम्बासी समस्या समाधानका लागि उनको साथ खोजेका थिए । बालेनले त्यसका लागि २०७९ माघ दोस्रो साता गृह मन्त्रालयलाई पत्राचार नै गरेका थिए ।
पछि उनले लामिछानेलाई मन्त्रालयमै पुगेर भेट्दै काठमाडौंमा सुकुम्बासी समस्या समाधानका लागि सहयोग गरिदिन अनुरोध गरेका थिए । लामिछानेले प्रक्रिया पूरा गरेर समस्या समाधान गर्ने जवाफ फर्काएका थिए । यद्यपि, बालेनले गृह प्रशासनबाट सकारात्मक सहयोग पाएनन् ।
केन्द्र सरकारको अनिच्छाका कारण नेपाल प्रहरीले थापाथली लगायतका क्षेत्रका सुकुम्बासी हटाउन सहयोग नगरेको बालेनको निष्कर्ष थियो । लामिछानेबाट यो मामलामा सहयोग नपाएपछि दुईबीच सम्बन्धमा दूरी बढ्न थालेको थियो ।
त्यसो त चितवनमा उपनिर्वाचन भएका बेला बालेनलाई सहयोगका लागि बोलाउने प्रयास भएको थियो । तत्कालीन महामन्त्री मुुकुल ढकाल, केन्द्रीय सदस्य गणेश कार्की लगायतको निमन्त्रणमा उनी चितवन पुगे पनि लामिछानेसँग भने भेट भएन । त्यसबेला लामिछानेलाई पनि बालेनले आफूलाई सहयोग नगरेको भन्ने परेको थियो ।
काठमाडौं महानगरले लामिछाने गृहमन्त्री भएकै बेला २२ चैत २०८० मा उनकी पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेर केही कागजहरू नियन्त्रणमा लिएको थियो । यो घटनापछि बालेन–रवि मनमुटाव थप चर्किन पुग्यो । यद्यपि, महानगरको यो कदमपछि लामिछानेले बालेनलाई मन्त्रालय बोलाएर छलफल समेत गरेका थिए ।
जानकारहरूका अनुसार, रास्वपा नेताहरूबीच पछिल्लो समय हर्क साम्पाङसँग समेत संवाद गर्नुपर्ने विषयमा छलफल भएको थियो । लामिछानेले एकपटक स्वतन्त्रबाट निर्वाचित भएको हिसाबले बालेन र साम्पाङसँग आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको भन्दै दुवैलाई पार्टीमा समेट्न कोशिश गर्ने बताएका थिए ।
यद्यपि, पछि साम्पाङले समेत लामिछानेको आलोचना गरेका थिए । कीर्तिपुरमा १६ मंसिर २०८१ मा उपनिर्वाचन हुँदा मेयर पदका उम्मेदवार राजमान मानवलाई सहयोग गर्न चुनावी अभियानमा आउँदा उनले लामिछानेप्रति कटाक्ष गरेका थिए ।
‘स्वतन्त्र मात्र भनेर भएन, कोही जनप्रतिनिधि जनतासँग फोटो खिचाउन पनि मान्दैनन् । कोही कति अर्ब ठगी, कति अर्ब भ्रष्टाचारमा मुछिए भन्छन्, यस्तोमा सही स्वतन्त्रलाई चुन्नुपर्छ’, उनले भनेका थिए ।
हर्क मनमौजी भएको भन्दै उनलाई नचिढ्याउने बरु अरुको साथ खोज्ने भन्ने रास्वपा नेताहरूको बुझाइ छ । रास्वपाको सन्देशपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि २१ मंसिरमा लामिछानेलाई भेट्न पोखरा पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको टिप्पणी गरेका थिए । ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु,’ उनले भनेका थिए, ‘त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ ।’
जिल्ला प्रहरी कार्यालय, कास्कीले गरेको अनुसन्धानका आधारमा तयार प्रतिवेदनमा केन्द्रीत रहेर सरकारी वकिलको कार्यालयले ७ पुसमा लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो ।
सरकारी वकिलले दायर गरेको अभियोग–पत्रमा पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा लामिछाने संलग्न रहेको निष्कर्षसहित एक अर्ब ५१ करोड रुपैयाँ बिगो भराउन मागदाबी गरिएको छ । प्रहरीले उनलाई सहकारीको रकम अपचलनबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप समेत लगाउँदै सम्पत्ति शुद्धीकरणको मुद्दा समेत लगाएको छ ।
प्रहरीले लामिछानेविरुद्ध रुपन्देही, चितवन, काठमाडौं र पर्साको सहकारी ठगीमा पनि अनुसन्धान गरिरहेको छ । कास्की अदालतले लामिछानेलाई थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक आदेश दिनेछ । अदालतबाट जे आदेश आएपनि लगत्तै अरु मुद्दाको अनुसन्धान र अभियोजनका लागि लामिछानेलाई दौडाउने प्रहरी तयारी छ ।
लामिछानेलाई सहकारी बचतकर्ताको रकम अनियमिततामा जिम्मेवार बनाउनुपर्ने निष्कर्षसहित एमाले सांसद् सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले ३१ भदौमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनलाई कार्यान्वयन गरेको भन्दै प्रहरीले लामिछानेलाई २ कात्तिकमा पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा लगेको थियो ।
त्यसपछि उनीविरुद्ध विभिन्न जिल्लामा अनुसन्धान थालिएका थिए ।