७ फागुन, जनकपुर । धनुषा–४ को मैदानमा २१ फागुनको घडी नजिकिँदै जाँदा जनकपुरका राजनीतिक बहसमा तिनै उम्मेदवारको बढ्ता चर्चा छ, जो निरन्तर तेस्रो पटक आमने-सामने छन् ।
एक हुन्– एमालेका उपमहासचिव रघुवीर महासेठ र अर्का कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव ।
हुन त, यो प्रतिस्पर्धामा अहिले रास्वपाका राजकिशोर महतो, नेकपाका सञ्जयकुमार महतोदेखि राप्रपाका रामबाबु साह हलुवाइ, जसपा नेपालका कृष्णचन्द्रप्रसाद साह, जनमत पार्टीका इन्द्रजितकुमार यादवदेखि आम जनता पार्टीका सम्पत महतो कोइरीसहित ३७ उम्मेदवार छन् ।
उनीहरू पनि यो क्षेत्रमा जरा गाडेर बसेका महासेठ र यादवको किल्ला भत्काउन सङ्घर्षरत छन् ।
रघुवीर र महेन्द्र दुवै आ–आफ्ना पार्टीका मधेशका पिलर हुन्। पार्टी भित्रको प्रभाव र पहुँचले पनि उनीहरूको राजनीतिक धरातल मजबुत बन्दै आएको हो ।
एमालेका महासेठ अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन्। त्यसैले ओली अध्यक्षका लागि पार्टीमा भिडेका तीनवटै महाधिवेशनमा उनी पदाधिकारीका लागि आकांक्षी थिए । नवौँ महाधिवेशनमा सचिव हारे। दशौँमा जिते। जेनजी आन्दोलनपछि गत मङ्सिरमा भएको ११औँ महाधिवेशनबाट उनी ओलीकै समूहबाट उपमहासचिव बने ।
यता, कांग्रेसका यादव पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् । देउवा राजनीतिक शक्तिमा रहँदा यादवले उनीनिकट भएर आफ्नो राजनीतिक प्रभाव विस्तार गरे ।
तरुण दलको अध्यक्ष भइसकेको पृष्ठभूमि त छँदै थियो, कांग्रेसको १४औँ महाधिवेशनबाट उनी सहमहामन्त्री पनि बने ।
तर, गत पुसको अन्तिम साता कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको उदय भएपछि देउवा समूह रक्षात्मक अवस्थामा छ ।
महाधिवेशनबाट थापाको विजयमाथि प्रश्न उठाउँदै देउवा समूहले अदालतमा मुद्दा-मामिला गरिरहेका बेला यादव जस्ता नेताहरू धनुषामा भने गगनको प्रशंसा गरिरहेका छन् ।
पार्टीभित्र थापालाई स्वीकारिसकेकाले अब यहाँ कुनै समस्या नरहेको उनी बताउँछन् । चुनावी प्रचार अभियानका बीचमा अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले भने, ‘गगन थापाको नेतृत्वमा अब कांग्रेसले बहुमत ल्याउँछ ।’

कांग्रेस बदलिएको सन्देश लिएर उनी यस पटक जित निकाल्ने विश्वासमा छन् । तर उनीसँग लगातार रघुवीर महासेठसँग दुई हार बेहोरेको मनोवैज्ञानिक त्रास छ ।
करिब एक लाख २८ हजार मतदाता रहेको धनुषा–४ मा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो ।
महासेठले प्रतिस्पर्धी यादवलाई १२४ भोटको झिने अन्तरमा पराजित गरेका थिए। महासेठ र यादव दुवैले डेढ सयभन्दा कमको फरकमा ३२ हजारभन्दा बढी मत पाएका थिए ।
त्यतिबेला तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका महाजन यादवले ५ हजार २०० मत पाएका थिए, जुन अरू दुईको तुलनामा खासै उल्लेख्य मत थिएन। समानुपातिकमा पनि एमाले र कांग्रेसले दुई हजारको फरकमा २५ देखि २७ हजार मत पाएका थिए ।
गत चुनावको झिनो मतान्तरलाई अहिले तोड्न सकिने विश्वासमा यादव छन्। त्यसैले उनी यहाँ ठूला राजनीतिक मुद्दाका कुरा गरिरहेका छैनन् ।

धनुषा–४ मा लगातार सांसद भइरहेका महासेठले क्षेत्रमा केही गर्न नसकेको उनको भनाइ छ । ‘आठ वर्षमा अरू धेरै काम गर्न सकिन्थ्यो तर यहाँका निर्वाचित सांसदले केही गर्न सकेका छैनन्,’ उनी भन्छन् ।
राष्ट्रियस्तरका नेता यादव यहाँ अहिलेका राष्ट्रिय एजेन्डाहरूमाथि कुरा गर्न रुचाउँदैनन्। क्षेत्रमा यो वा त्यो नभएको भन्दै पुराना प्रतिस्पर्धीका कमजोरी मात्रै केलाइरहेका छन् ।
यता, लगातारको जित निकाल्दै आएका रघुवीरको अवस्था भने फरक छ । आफू पटक–पटक सांसद र मन्त्री हुँदा यहाँका बाटो लगायतका भौतिक पूर्वाधारमा अकल्पनीय विकास गराएको दाबी गर्छन्। त्यही कारण आफूलाई पटक–पटक यहाँका जनताले विश्वास गरेको उनको दाबी छ ।
‘यहाँ जति पनि विकास निर्माणका काम भएका छन्, यी सबै मैले ल्याएको हो। अहिले हरेक गाउँ छिर्दा विकास पाउनुहुन्छ,’ उनले अनलाइनखबरसँगको अन्तर्वार्तामा भने ।
भौतिक पूर्वाधार विकासको फेहरिस्त उनले सुनाइरहँदा यही क्षेत्रका ग्रामीण बस्तीका गरिब नागरिकहरूले न्यूनतम सुविधा नपाइरहेको तथ्य पनि देखिन्छ। सामाजिक विकासमा उनीहरू पछि परेका छन् ।
महासेठका लागि धनुषामा यो छैटौँ प्रतिस्पर्धा हो । २०६४ सालको संविधानसभा चुनावमा उनी धनुषा–४ बाट प्रतिस्पर्धामा उत्रेका थिए । तर मधेशी जनअधिकार फोरमका सञ्जय साह ‘टक्ला’ सँग हारे ।
रामवरण यादव राष्ट्रपति भएपछि २०६५ मा धनुषाको ५ नम्बर क्षेत्रमा उपनिर्वाचन भयो । क्षेत्र बदलेर आएका महासेठले चुनाव जिते । २०७० सालको संविधानसभा चुनावमा त्यही क्षेत्रबाट रामवरणका छोरा चन्द्रमोहन यादव प्रतिस्पर्धामा उत्रिएपछि रघुवीरका लागि त्यो चुनाव सुखद रहेन ।

२०७४ साल यता भने उनी लगातार विजयी छन् । प्रतिनिधिसभा चुनावको यो भूगोलमा २०६४ सालपछिका सबै चुनावमा एमाले र कांग्रेसबीच जित र हारको इतिहास छ । त्यसैले दुवैले यहाँबाट आफूहरूले जित निकाल्ने दाबी गरिरहेका छन् ।
रघुवीर महासेठले जितका लागि यस पटक पनि विगतका आफ्ना कामहरू देखाउने गरेका छन् ।
तर, उनलाई यहाँ क्षेत्रका एक सांसदको रूपमा मात्र हेरिँदैन। उनी पार्टीको माथिल्लो तहमा भएकाले सबै गतिविधिहरूप्रति पनि जवाफदेही छन्। त्यसैले मधेशमा एमालेमाथि उठेका प्रश्नहरूको जवाफ पनि उनले दिनुपरिरहेको छ ।
यस पटक उनले झेल्नुपरिरहेको मुख्य प्रश्न हो– गत कात्तिक महिनामा मधेश सरकार बदल्ने एमालेको अपरिपक्व निर्णय। जसका कारण एमाले निकै ठूलो रक्षात्मक अवस्थामा छ ।
२०७९ को चुनावबाट मधेशमा पहिलो दल बनेको एमालेले सरकार निर्माणको कच्चा खेल खेल्दा मधेश प्रदेशमा एकै पटक तीनवटा पद (प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख) गुमायो । त्यति मात्र होइन, कांग्रेससँगको सत्ता गठबन्धन पनि टुट्यो र प्रतिपक्षी बेन्चमा पुग्यो ।
एमालेबाट प्रदेश प्रमुख बनेकी सुमित्रा भण्डारीले एउटा होटलमा लगेर सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाइन् र शपथ गराइन् । मधेश प्रदेशको इज्जतै जाने गरी भएको उक्त घटनाको ठूलो राजनीतिक आलोचना छ ।
यो कुरा महासेठले पनि राम्ररी बुझेका छन्। त्यसैले उनी अहिले मधेशमा सरकार बदल्ने पार्टीको निर्णय गलत भएको बताइरहेका छन् ।
‘मधेशमा सरकार बदल्ने हाम्रो प्रयास अपरिपक्व हो। हामीले त्यसो गर्नु हुँदैनथ्यो,’ महासेठले अनलाइनखबरसँगको अन्तर्वार्तामा भने ।

मधेशमा नेताहरूले दिने अभिव्यक्तिको असर छिटो पर्छ। त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधि र विचार अभिव्यक्तिहरूलाई सूक्ष्म ढङ्गले नियाल्ने जमात मधेशमा छ ।
झापाको चुनावी अभियानका क्रममा केही साताअघि ओलीले बालेन शाहलाई लक्षित गर्दै दिएको ‘गुइँठा’ को अभिव्यक्तिको जवाफ पनि दिनुपरिरहेको छ ।
पूर्वदेखि पश्चिमसम्मकै मधेशमा अहिले पनि गुइँठा जलाएर चुल्हो बाल्ने नागरिकहरू धेरै छन् ।
मधेशका भित्री बस्तीहरूमा हिउँद गुइँठा बनाउने समय हो । हिउँदमा जति धेरै गुइँठा बनाएर राख्यो त्यति बर्खामा चुल्हो जलाउन सकिन्छ ।
अधिकांश किसानहरूका घर बाहिर अहिले सुकाइरहेका गुइँठाका थुप्राहरू छन् । गुइँठा बाल्नेहरू पनि सूचनाबाट चाहिँ अनभिज्ञ छैनन्, किनकि सामाजिक सञ्जालको प्रभाव घरघरमा छ । त्यसैले चुनावका बेला अध्यक्षले दिएको अभिव्यक्ति भाइरल भएपछि त्यसको जवाफ एमाले नेताहरूले यहाँ दिनुपरेको छ ।

जनस्तरमा छिनछिनमा पर्ने मनोवैज्ञानिक असरको व्यवस्थापन गर्नुपर्ने चुनौतीबीच महासेठ चुनाव लडिरहेका छन् ।
महासेठ विगतमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री पनि भए। एमालेको विदेश विभाग प्रमुख पनि बने । त्यसैले उनी स्थानीयको मात्र कुरा गरिरहेका छैनन्, यो चुनावलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पनि विश्लेषण गरिरहेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई एमालेले हेर्ने दृष्टिकोणकै निरन्तरतामा उनी छन् । उनी भन्छन्, ‘यो मुलुकलाई कहाँ लगिँदै छ ? के गर्न खोजिँदै छ ? यो कुरा ख्याल गरेर पनि जनताले निर्णय गर्नुपर्छ ।’
जेनजी आन्दोलनपछि राजनीति दुई ध्रुवमा विभाजित छ । नयाँ र युवा मतदाताको मनोविज्ञान फरक बनेको छ । यही मनोविज्ञानलाई आफ्नो भोटको रूपमा क्यास गर्ने गरी नयाँ राजनीतिक शक्तिहरू आइरहेका बेला त्योभन्दा फरक आफूहरू कसरी हुने भन्ने चुनौती चाहिँ महासेठ र यादव दुवैलाई छ ।
पछिल्लो समय जेनजी पुस्ताले उठाएको नयाँ र पुरानो भन्ने भाष्यलाई चिर्दै यी उम्मेदवार अघि बढ्नुपर्ने चुनौती छ ।
मधेश मुद्दा त अहिले सार्वजनिक विमर्शको केन्द्रमा छैन, तर मधेशको मनोदशा भने अझै अस्थिर छ ।
मधेश आन्दोलनले एक दशकअघि बनाएको भावनात्मक ऊर्जा अहिले शिथिल छ । संघीयता कार्यान्वयनको जटिलता, पहिचानको प्रश्न, नागरिकता र प्रतिनिधित्वका मुद्दाभन्दा अरू विषयहरू अहिले हाबी छन् ।
धनुषा–४ मा कांग्रेस र एमालेको प्रतिस्पर्धा केवल मतको गणित होइन, सङ्गठन र सत्ताको मनोविज्ञानको टकराव पनि हो । त्यसैले तेस्रो पटकको महासेठ र यादवको यो भिडन्तले इतिहास दोहोर्याउँछ कि मोडिन्छ ? फागुन २१ ले टुंगो लगाउने छ ।
तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर

