युरोपेली संघ मुख्यालय ब्रसेल्समा मिथिला कला प्रदर्शनी हुँदै



प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार

युरोपेली संघ मुख्यालय ब्रसेल्समा मिथिला कला प्रदर्शनी हुँदै

ब्रसेल्सको युरोपियन क्वार्टरमा रहेको युरोपेली संघको एक्सटर्नल एक्शन सर्भिसको मुख्यालय भवन। (तस्बिर: JLogan, CC BY-SA 4.0, विकिमिडिया कमन्स)

मिथिला कला पहिलोपटक युरोपेली संघमा प्रदर्शन हुने भएको छ। “आर्ट फर एसडीजीज: द मिथिला हेरिटेज” शीर्षकको वर्ल्ड टुर प्रदर्शनी जुन ५ देखि २० सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपेली संघ मुख्यालयमा आयोजना हुँदैछ।

प्रदर्शनी नेपाल दूतावास, ब्रसेल्स र मिथिला सेन्टर यूएसएको सहकार्यमा युरोपेली संघको एक्सटर्नल एक्शन सर्भिसको सहयोगमा हुन लागेको हो। आयोजकका अनुसार प्रदर्शनीले मिथिला कलालाई सांस्कृतिक अभिव्यक्तिमात्र नभई विश्वव्यापी संवाद, कूटनीति र दिगो विकाससँग जोडिएको माध्यमका रूपमा प्रस्तुत गर्नेछ।

औपचारिक उद्घाटन समारोह जुन ९, २०२६ मा दिउँसो २ बजे युरोपेली संघको एक्सटर्नल एक्शन सर्भिस मुख्यालयमा हुने तय गरिएको छ। कार्यक्रममा युरोपेली संघ, बेल्जियमको परराष्ट्र मन्त्रालय, विभिन्न देशका दूतावासका प्रतिनिधि तथा नेपाल र संयुक्त राज्य अमेरिकाका मिथिला कलाकारहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत भोजन र नेपाली आतिथ्य समावेश गरिनेछ।

युरोपेली संघ मुख्यालय ब्रसेल्समा मिथिला कला प्रदर्शनी हुँदै

नेपाल र भारतको मिथिला क्षेत्रसँग सम्बन्धित मिथिला कला शताब्दी पुरानो सांस्कृतिक परम्परा हो। जनकपुरधामसँग जोडिएको यो कला पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको छ। सूक्ष्म ज्यामितीय आकृति, चम्किला रङ र प्रकृति, मिथक तथा दैनिक जीवनबाट प्रेरित प्रतीकात्मक अभिव्यक्तिका कारण चिनिने यो कला विशेषगरी महिलाहरूको अभिव्यक्तिको माध्यमका रूपमा परिचित छ।

सन् २०१९ मा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा सुरु भएको “आर्ट फर एसडीजीज” पहलले मिथिला कलामार्फत दिगो विकास लक्ष्य (SDGs) सम्बन्धी सन्देश प्रवाह गर्दै आएको छ। यसले जलवायु परिवर्तन, लैंगिक समानता, शिक्षा र स्वास्थ्यजस्ता विषयलाई दृश्य कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। मिथिला सेन्टर यूएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहको नेतृत्वमा यो अभियान विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा विस्तार हुँदै आएको छ।

आयोजकका अनुसार यस पहलले सांस्कृतिक संरक्षणसँगै आर्थिक र सामाजिक प्रभाव पनि पारेको छ। विशेषगरी ग्रामीण क्षेत्रका महिला कलाकारहरूलाई आयआर्जन, अन्तर्राष्ट्रिय पहुँच र सिर्जनात्मक अर्थतन्त्रमा सहभागिताका अवसर प्राप्त भएको बताइएको छ।

नीतिगत तहमा पनि यस अभियानको प्रभाव देखिएको छ। सन् २०२१ मा नेपाल सरकारले दिगो विकास लक्ष्य प्रतिनिधित्व गर्ने मिथिला कला प्रेरित १७ वटा हुलाक टिकट जारी गरेको थियो।

यस पहलले सांस्कृतिक कूटनीतिमा पनि योगदान पुर्‍याएको आयोजकको दाबी छ। विभिन्न देशका कलाकार, कूटनीतिज्ञ र नीति निर्मातालाई जोड्दै यसले अन्तरसांस्कृतिक संवादलाई प्रवर्द्धन गरेको बताइएको छ।

संस्थागत मान्यताअन्तर्गत सन् २०२३ मा न्यूयोर्क सहरले “मिथिला संस्कृति तथा फेस्टिभल दिवस” घोषणा गरेको थियो भने २०२४ मा ग्रेसी म्यान्सनमा मिथिला हेरिटेज रिसेप्शन आयोजना गरिएको थियो। यसले विभिन्न अमेरिकी निकायबाट समर्थनसमेत पाएको जनाइएको छ।

मिथिला सेन्टर यूएसएले वार्षिक फेस्टिभल, युवा कार्यक्रम र प्रकाशनमार्फत गतिविधि विस्तार गर्दै आएको छ। न्यूयोर्कमा मिथिला कला संग्रहालय स्थापना गर्ने दीर्घकालीन योजना पनि अघि सारिएको छ।

संयुक्त राष्ट्रसंघबाट सुरु भएको यो पहल टाइम्स स्क्वायर हुँदै अहिले युरोपेली संघसम्म पुगेको छ। ब्रसेल्स प्रदर्शनीले कला, सांस्कृतिक कार्यक्रम र पाक अनुभवमार्फत मिथिला कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।





Source link

Leave a Comment