यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • वात्सल्या एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछ।
  • लिगका लागि थाइल्याण्ड, नेदरल्याण्ड्स, रुस, ब्राजिल लगायत १० देशका १८ विदेशी खेलाडी नेपाल आएका छन्।
  • पहिलो संस्करणको विजेता कर्णाली यशविसले ब्राजिल र ग्रीसका खेलाडी अनुबन्ध गरी उपाधि रक्षा गर्ने तयारी गरेको छ।

१८ भदौ, काठमाडौं । नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण यही भदौ २० गते शुक्रबार देखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।

लिगका लागि सहभागी ६ फ्रेन्चाइज टिमहरु पोखरा पुगिसकेका छन् भने लिग खेल्न विश्वका विभिन्न देशबाट पनि खेलाडीहरु नेपाल आएका छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिगको पहिलो संस्करण काठमाडौंमा भएको थियो भने दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुँदैछ ।

त्यसमा खेल्न थाइल्याण्ड, नेदरल्याण्ड्स, रुसदेखि ब्राजिलसम्मका खेलाडीहरु नेपाल आइसकेका छन् । दोस्रो संस्करणमा पनि ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक लिगका लागि प्लेअर अक्सन समेत गरिएको थियो । जुन नेपाली भलिबल इतिहासमै पहिलो पटक भएको हो ।

पहिलो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स गरी चार टिम निरन्तर छन् भने लुम्बिनी लाभाज र पोखरा निन्जाज नयाँ टिमको रुपमा छन् ।

पहिलो संस्करण खेलेको गण्डकी थण्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिमको रुपमा लिगमा भित्रिएको हो ।

कुन देशबाट कति खेलाडी ?

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा खेल्न विभिन्न १० देशबाट १८ खेलाडी नेपालको पर्यटकीय नगरी पोखरा आइपुगिसकेका छन् ।

जसमा एसियाली राष्ट्र थाइल्याण्ड देखि युरोपको नेदरल्याण्ड्स, रुस, क्रोएसिया, ग्रीस, रोमानिया, बुल्गेरिया अनी अमेरिका र ब्राजिलसम्मका खेलाडीहरु छन् ।

लिग खेल्ने ६ फ्रेन्चाइज टिमले ३-३ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । ६ वटै फ्रेन्चाइजमा ३-३ विदेशी खेलाडी छन् ।

यस पटक थाइल्याण्डबाट सबैभन्दा धेरै ५ खेलाडी नेपाल आएका छन् । यस्तै नेदरल्याण्ड्सबाट ३, रुस र ब्राजिलबाट २-२ खेलाडी अनुबन्ध भएका छन् ।

यसैगरी अमेरिका, कीर्गिस्तान, क्रोएसिया, ग्रीस, रोमानिया र बुल्गेरियाबाट १-१ खेलाडी अनुबन्ध भएका छन् ।

एभरेस्ट महिला भलिबल लिगमा अनुबन्ध भएका विदेशी खेलाडीहरु नेपालमा आएर लिग खेल्न निकै उत्साहित छन् । त्यसमा अधिकांश खेलाडी पहिलो पटक नेपाल आएर खेल्न लागेका हुन् ।

पहिलो संस्करणमा ललितपुरबाट खेलेका दुई थाइल्याण्डका खेलाडी वारान्या र सान्त्राकुन बाहहेक अरु सबै नयाँ विदेशी खेलाडी छन् ।

यस पटक विश्व महिला भलिबलमा चर्चित राष्ट्र ब्राजिल र नेदरल्याण्ड्सबाट पनि खेलाडीहरु आएका छन् । पहिलो संस्करणमा छिमेकी भारतका खेलाडीहरु पनि खेलेपनि यस पटक भने भारतका खेलाडी छैनन् ।

कुन टिममा कुन विदेशी खेलाडी ?

कर्णाली यशविस

साविक विजेता कर्णाली यशविसले यस सिजन ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट दुई र युरोपियन राष्ट्र ग्रीसबाट एक खेलाडी अनुबन्ध गरेको छ ।

कर्णालीले ब्राजिलबाट सेटर आना फ्लाभिया र आउटसाइड हिटर मायरा भिटोरिया र ग्रीसकी एभान्जेलिया चान्टाभालाई अनुबन्ध गरेको हो ।

पहिलो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको कर्णालीले मार्की प्लेअर सुमित्रा रेग्मीको कप्तानीमा खेल्दैछ । अक्सनबाट नयाँ खेलाडी अनुबन्ध गरेको कर्णालीले विदेशी खेलाडीको आगमनपछि उपाधि रक्षा गर्ने अभियान बनाएको छ ।

कर्णालीको अन्य नेपाली खेलाडीमा सफिया पुन, पुजा थारु, जसना महतो, रश्मिता दुरा, नेविका चौधरी, रेविका लामा तामाङ र एलिसा भुजु छन् ।

ललितपुर क्विन्स

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

साविक उपविजेता ललितपुर क्विन्सले यस पटक पनि थाइल्याण्डबाटै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

ललितपुरले पहिलो संस्करणको लिग खेलेको आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनलाई निरन्तरता दिएको छ भने पहिलो संस्करण खेलेकी सुताड्दा चुएवुलिनको स्थानमा थाइल्याण्डकै राष्ट्रिय टिमबाट खेलिसकेका अर्का खेलाडी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको हो ।

राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठलाई मार्कीमा निरन्तरा दिएको ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् । ललितपुरले पनि विदेशी दुई र मार्की सलिना बाहेक नयाँ खेलाडीहरु अनुबन्ध गरेको हो ।

मधेश युनाइटेड

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

पहिलो संस्करणमा एक खेल पनि नजिती पुछारमा रहेको मधेश युनाइटेडले यस पटक युरोपियन राष्ट्र नेदरल्याण्ड्सबाट तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

मधेशले नेदरल्याण्ड्सका आउटसाइड हिटर रोमी भिनस्ट्रा र सेटर डानिक आर्डेमालाई र आउटसाइड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ ।

मधेशले यस पटक राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेकी कोपिला उप्रेतीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि नेदरल्याण्ड्समा गएर विभिन्न कार्यक्रमहरुमा भाग लिइसकेकी कोपिलालाई मुख्य प्रशिक्षक बनाएपछि उनकै सम्बन्धका आधारमा मधेशले नेदरल्याण्ड्सकै खेलाडी अनुबन्ध गरेको हो ।

राष्ट्रिय टिमकी मुख्य स्पाइकर निरुता ठगुन्नालाई मार्कीमा निरन्तरता दिएको मधेशले अक्सनबाट आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्ना लाई अनुबन्ध गरेको थियो ।

काठमाडौं स्पाइकर्स

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

पहिलो संस्करणमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो संस्करणमा अझ बलियो भएर आउने लक्ष्यसहित टिम निर्माण गरेको छ ।

त्यसका लागि राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारीलाई मार्कीमै निरन्तरता दिएको काठमाडौंले थाइल्याण्डका दुई तथा बुल्गेरियाका एक खेलाडी अनुबन्ध गरेको छ ।

काठमाडौंले थाइल्याण्डका अपोजिट हिटर अपिन्या प्रतिबाथोङ र आउटसाइड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरियन सेटर पोलिना नोकोलाएभा नेकोभालाई अनुबन्ध गरेको हो ।

काठमाडौंले यसअघि बुल्गेरियाकी सेटर पोलिना नेकोभाहसति इटलीकी मिडल ब्लकर/आउटसाइड हिटर ओउमायमा कोडिएल र काजखस्तानकी अपोजित हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरेपनि अलेना र कोडिएल नआउने भएपछि थाईल्याण्डका दुई खेलाडी भित्र्याएको हो ।

नेपाली राष्ट्रिय टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बालमिलका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । उषासहित कमलाले पनि पहिलो संस्करण काठमाडौंबाटै खेलेकी थिइन् ।

लुम्बिनी लाभाज

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

लुम्बिनी लाभाज एभरेस्ट महिला भलिबल लिगको नयाँ टोली हो । पहिलो संस्करण खेलेको चितवन शक्तिले दोस्रो संस्करण नखेल्ने लुम्बिनी नयाँ टोलीको रुपमा लिग खेल्न लागेको हो ।

लुम्बिनी लाभाजले पहिलो संस्करणमा चितवनको मार्की रहेकी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई नै मार्की खेलाडी बनाएको छ ।

यस्तै लुम्बिनीले रुसबाट दुई र कीर्गिस्तानबाट एक खेलाडी अनुबन्ध गरेको छ । लुम्बिनीले रुसबाट आउटसाइड हिटर भेरोनिका जुबारेभा र केसेनिय तिसिना तथा कीर्गिस्तानकी आउटसाइड हिटर ओगुलाई कुडाई कुलोभालाई अनुबन्ध गरेको हो ।

अरुणा मार्की रहेको लुम्बिनीमा कामना विष्ट, शान्तिकला तामाङ, एलिशा मानन्धर जेनिशा विश्वकर्मा, अनुशा चौधरी रोमा महतो, रिकजना माझी छन् । यस्तै लुम्बिनीले ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्ध गरेको छ ।

पोखरा निन्जाज

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

पोखरा निन्जाज यस पटक सिजन अर्को नयाँ टिम हो । पहिलो संस्करण खेलेको गण्डकी थण्डर्सले यस पटक लिग नखेल्ने भएपछि पोखरा निन्जाज नयाँ टोलीको रुपमा खेल्न लागेको हो ।

पोखरामै लिग हुने भएपछि यस पटक पोखरा निन्जा घरेलु टोलीको रुपमा रहनेछ र घरेलु समर्थन पनि पाउनेछ ।

पोखराले युवा सेटर प्रगती नाथलाई मार्की खेलाडी बनाएको छ । यस्तै पोखराले लिगका लागि तीन फरक देशका खेलाडीलाई अनुबन्ध गरेको छ ।

पोखराले अमेरिकन आउटसाइड हिटर एडेओला ओवोकोनिरान, क्रोएसियाकि मिडल ब्लकर लियो बोबान र रोमानियाकी आउटसाइड हिटर एना-मारिया बेरडिलालाई अनुबन्ध गरेको हो ।

पोखराले सुरुमा युरोपियन राष्ट्र सर्वियाकी आउटसाइड हिटर ल्युबिका केकमानलाई पनि अनुबन्ध गरेपनि उनी पारिवारिक समस्याका कारण अकस्मात आफ्नै देश फर्किएपछि उनको स्थानमा रोमानियाकी एना-मारिया बेरडिलालाई भित्र्याएको हो ।

यस्तै पोखराको अन्य खेलाडीमा कामना विष्ट, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ छन् ।





Source link

Leave a Comment