प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार

स्पेन भ्रमणमा रहेका पोप लियो चौधौँ ‘कर्पस क्रिस्टी’ चाडको विशेष प्रार्थना सभाको अध्यक्षता गर्न आइतबार म्याड्रिडको प्लाजा डे सिबेलेसमा। एपी फोटोःअलेसान्ड्रा टारेन्टिनो/रासस
स्पेन भ्रमणमा रहनुभएका पोप लियोको एक हप्ता लामो भ्रमणकै सबैभन्दा ठूलो कार्यक्रम मानिएको म्याड्रिडको मुख्य क्षेत्रमा आयोजित खुला प्रार्थना सभामा १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन्।
ऐतिहासिक ‘प्लाजा डे सिबेलेस’ क्षेत्रमा रहेका सुरक्षा घेराहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। पोप लियो आफ्नो सेतो ‘पोपमोबाइल’ गाडीमा आउँदा उपस्थित जनसागरले झण्डाहरू फहराउँदै पोप दीर्घायु रहून् भनी नारा लगाएका थिए। उनी उक्त चोकमा आइपुग्दा कतिपयले फूलका पत्रहरू समेत बर्साएका थिए।
भ्याटिकन र स्थानीय आयोजकहरूका अनुसार उक्त चोक र वरपरका सडकहरूमा झण्डै १२ लाख मानिस उपस्थित थिए।
प्रार्थना सभालाई सम्बोधन गर्दै पोप लियोले उपस्थित जनसमुदायलाई अरूको सेवा गरेर आफ्नो क्याथोलिक आस्थालाई जीवित राख्न आग्रह गरे। उनले ईश्वरले गरीब, उत्पीडित, एक्लो र असहायहरूका साथमा आफूलाई उभ्याउने कुरा बताए।
यसअघि म्याड्रिडका मेयरबाट शहरको साँचो ग्रहण गर्दै त्यहाँको अतिथि पुस्तिकामा पोपले एक सन्देश लेखेका थिए। उक्त सन्देशमा उनले म्याड्रिड एक स्वागतयोग्य र समावेशी शहरका रूपमा रहिरहनेछ, जहाँको सामाजिक जीवन वास्तविक मानवीय मूल्यहरूबाट प्रेरित हुनेछ, भन्ने आशा व्यक्त गरे।
पोप लियोले शनिबार आप्रवासी तथा घरबारविहीन मानिसहरूसँगको भेटघाट र म्याड्रिडमा करिब ६ लाख युवाहरूसँगको विशेष प्रार्थना सभाबाट आफ्नो भ्रमणको सुरुवात गरेका हुन्। जुन ६ देखि १२ सम्म हुने उनको यस भ्रमणका क्रममा बार्सिलोना र क्यानारी टापुहरूको पनि भ्रमण समावेश छ, जहाँ उहाँले पश्चिम अफ्रिकाबाट ज्यान जोखिममा पारेर समुद्र पार गरी आएका मानिसहरूलाई भेट्नेछन्।
इटालीबाहिर युरोपेली सङ्घको कुनै देशमा यो आफ्नो पहिलो भ्रमण भएको उल्लेख गर्दै उनले यसले “प्रत्येक मानव” लाई सम्मान गर्ने मामिलामा विश्वलाई एउटा उदाहरण दिने आशा व्यक्त गरे। साथै उनले नेताहरूलाई मतदाताहरूलाई विभाजित नगर्न आग्रह गरे।
आफ्नी छोरीसँगै ह्विलचेयरमा बसेर भिडमा पर्खिरहेएकी ७२ वर्षीया पेरुभियन नागरिक एन्ड्रिया मार्गरिटाले भनिन्, पोपले हामी आप्रवासीहरू र हाम्रो सुरक्षाका लागि प्रार्थना गरिरहेकोमा म निकै खुसी छु।”
प्रार्थना सभा सकिएपछि पोप लियोले दिउँसो आफ्नै ‘अगस्टिनियन’ धार्मिक समुदायका सदस्यहरूसँग निजी भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले म्याड्रिडको एक कन्सर्ट हलमा मनोरञ्जन, खेलकुद र संस्कृतिका क्षेत्रका व्यक्तित्वहरूलाई भेट्नेछन्।
