मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा



प्रकाशित मिति : १३ असार २०८३, शनिबार

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा

फोटो :एएपी/रासस

अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई कायम राख्दै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत अमेरिकाको टेक्सासमा भएको खेलमा नवप्रवेशी जोर्डनलाई ३–१ को गोल अन्तरले हराउँदै अर्जेन्टिना ९ अङ्कका साथ नकआउट चरणमा प्रवेश गरेको हो।

जोर्डनविरुद्धको खेलमा ६० औँ मिनेटपछि मैदान छिरेका लियोनल मेसीले फ्रि-किकलाई सुन्दर गोलमा परिणत गर्दै यो विश्वकपमा आफ्नो व्यक्तिगत गोल सङ्ख्या ६ पुर्‍याएका छन्। डी-बक्सबाहिर जोर्डनका अमिर जामोसले मेसीलाई लडाउँदा रेफ्रीले फल (Foul) दिएका थिए। सोही अवसरमा मेसीले प्रहार गरेको उत्कृष्ट फ्रि-किकले जाली चुमेको हो।

यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल गरेका थिए। यो गोलसँगै मेसीको विश्वकपमा कुल कीर्तिमानी गोल सङ्ख्या १९ पुगेको छ। गोलकर्ताको सूचीमा मेसीलाई फ्रान्सका उसमान डेम्बेले र किलियन एम्बाप्पेले ४–४ गोलसहित पछ्याइरहेका छन्।

खेलमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र लियोनल मेसीले एक–एक गोल गरे। जोर्डनका तर्फबाट मुसा अल-तामारीले एक सान्त्वना गोल फर्काए। अब नकआउट चरणमा अर्जेन्टिनाले अर्को नवप्रवेशी देश केप भर्डेको सामना गर्नेछ।





Source link

Leave a Comment