मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा डेमोक्रेटिक प्राइमरीमा ह्यारी भण्डारी विजयी



प्रकाशित मिति : १० असार २०८३, बुधबार

मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा डेमोक्रेटिक प्राइमरीमा ह्यारी भण्डारी विजयी

मेरिल्याण्ड राज्य संसदका लागि डिस्ट्रिक्ट ८ को डेमोक्रेटिक प्राइमरीमा नेपाली मूलका अमेरिकी डा. ह्यारी भण्डारी विजयी भएका छन्। बहालवाला उम्मेदवारका रूपमा मैदानमा उत्रिएका भण्डारी ४,१२८ मत ल्याएर पहिलो स्थानसहित विजयी भएका हुन्। यद्यपी सबै मतगणना हुन र औपचारिक घोषणा हुन भने बाँकी नै छ। अब उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा रिपब्लिकन उम्मेदवारको सामना गर्नुपर्नेछ। नोभेम्बरमा विजयी भएमा उनले मेरिल्याण्ड राज्य संसदमा तेस्रोपटक प्रतिनिधित्व गर्नेछन्।

सन् २०१८ मा मेरिल्याण्डको पहिलो नेपाली अमेरिकी स्टेट लेजिस्लेटर बनेर भण्डारीले इतिहास रचेका थिए। उनी शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, र श्रमिक तथा श्रमजीवी परिवारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्। समुदायसँगको निरन्तर संवाद र नीति निर्माणमा सक्रिय सहभागिताका कारण उनी अनुभवी र प्रभावशाली नेताका रूपमा स्थापित छन्।

खसोखासलाई प्रतिक्रिया दिँदै डा. भण्डारीले भने, “यो डिस्ट्रिक्ट अत्यन्तै चुनौतीपूर्ण क्षेत्र थियो। १२ वर्षमा मैले यसलाई फ्लिप गरेको थिएँ। यो डिस्ट्रिक्टमा जनतासँग जोडिन मैले कडा मिहिनेत गरिरहेको छु। यसलाई ‘ब्लु’ बनाउन कडा मिहिनेतका साथ काम गरेँ। प्रारम्भिक समर्थनका लागि म सम्पूर्ण मतदाता, स्वयंसेवक, परिवारजन र नेपाली अमेरिकी समुदायप्रति आभार व्यक्त गर्छु। अझै ‘मेल-इन’ मतपत्रको गणना बाँकी नै छ। सम्पूर्ण मतगणना नसकिँदासम्म मेरा प्रतिस्पर्धीहरूको सम्मानका लागि म आफैँलाई विजेता घोषणा गर्न चाहन्न।”

“यो मेरो मात्र नभई समुदायको शक्ति, आप्रवासीहरूको योगदान र जनसेवाप्रतिको प्रतिबद्धताको प्रमाण पनि हो। यहाँ नेपाली समुदायको सङ्ख्या सयौँमा मात्र भए तापनि यस क्षेत्रका आम जनताले मलाई पूर्ण सहयोग गर्नुभयो। नोभेम्बरमा हुने आम निर्वाचनतर्फ अगाडि बढ्दै गर्दा जनताको विश्वास र सेवा गर्ने मेरो सङ्कल्पलाई अझ बलियो बनाउन चाहन्छु। म निरन्तर कर्म गरिरहनेछु। संसारभरका नेपालीहरू हाम्रा दाजुभाइ हुन् भन्ने मूलमन्त्रका साथ जहाँ परे पनि, जुनसुकै देशमा रहेका नेपालीलाई दुःख पर्दा साथ दिन म सधैँ तत्पर रहनेछु,” डा. भण्डारीले भने।

नेपाली समुदायको राजनीतिक मूलधारको यात्राबारे डा. भण्डारी भन्छन्, “अमेरिकामा नेपाली अमेरिकी समुदाय संख्यात्मक रूपमा सानो भए तापनि यो यहाँको सबैभन्दा तीव्र गतिमा बढिरहेको आप्रवासी समुदाय हो। हामीमध्ये अधिकांश नेपालीहरू यहाँ एउटा सुन्दर सपना लिएर आयौँ—कसैको शिक्षा, कसैको अवसर त कसैको स्वतन्त्रताको सपना होला। तर, हामी सबैको साझा र मुख्य उद्देश्य भनेको आफ्नो परिवारको उज्ज्वल भविष्य नै हो।”

मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा डेमोक्रेटिक प्राइमरीमा ह्यारी भण्डारी विजयी

उनले अमेरिकाको हिस्सा बन्नु भनेको यहाँको लोकतान्त्रिक प्रक्रियामा सामेल हुनु भएको स्पष्ट पार्दै थपे, “जब नेपालीहरूले मतदान गर्छन्, संगठित हुन्छन्, स्वयंसेवा गर्छन् र चुनावी प्रतिस्पर्धामा उत्रिन्छन्, तब मात्र हाम्रो समुदाय समाजमा देखिन थाल्छ र हाम्रो उपस्थिति महसुस हुन्छ। शिक्षा, साना व्यवसाय, अध्यागमन, स्वास्थ्य सेवा, जनसुरक्षा, आवास र भाषाई पहुँचदेखि लिएर हाम्रा बालबालिकाको अवसरका सवालहरूसम्म—हाम्रो दैनिक जीवनलाई असर गर्ने हरेक मुद्दामा हाम्रो आवाज तब मात्र सुनिनेछ।”

राजनीतिक प्रतिनिधित्वलाई आगामी पुस्ताका लागि ढोका खोल्ने माध्यमका रूपमा व्याख्या गर्दै डा. भण्डारी आफ्नो विगत सम्झिन्छन्, “म आफ्नै विगत सम्झिन्छु—जब म पहिलो पटक चुनावमा उठेँ, त्यो समय निकै चुनौतीपूर्ण र कठिन थियो। तर बिस्तारै-बिस्तारै शैक्षिक, कानुनी, भाषाई र राजनीतिक समायोजन हुँदै गयो। आज धेरै साथीहरू अगाडि आउनुभएको छ र स्थानीय तहमा प्रतिनिधित्व गरिरहनुभएको छ। यसको प्रत्यक्ष प्रभाव पर्छ। समाजका लागि ‘रोल मोडल’ बन्नु निकै महत्त्वपूर्ण कुरा हो।”

आफूहरू यस देशमा केवल पाहुना मात्र नभएर करदाता, अभिभावक, श्रमिक, शिक्षक, उद्यमी र सार्वजनिक सेवकका रूपमा योगदानकर्ता भएको उल्लेख गर्दै डा. भण्डारीले मूलधारको राजनीतिको महत्त्वबारे प्रस्ट पारे, “मूलधारको राजनीति किन महत्त्वपूर्ण छ भने, यहीँबाट नै देशको कानुन, बजेट, नीति र स्रोतसाधनको बाँडफाँड तय हुन्छ। यदि हामी हाम्रो समुदायका आवश्यकता र सरोकारहरूलाई सम्मान गराउन चाहन्छौँ भने हामीले पूर्ण रूपमा सहभागी हुनैपर्छ। उदाहरणका लागि, मैले मेरिल्याण्डको बाल्टिमोर क्षेत्रमा मात्र नेपाली समुदायका लागि साढे ९ लाख डलर बजेट ल्याउन सफल भएँ, जबकि मेरो समग्र डिस्ट्रिक्टका लागि मैले १५० मिलियन डलरभन्दा बढी बजेट ल्याएको थिएँ। यो कामबाट सिकेर अहिले भर्जिनिया लगायत अन्य राज्यहरूमा पनि बजेटका लागि प्रयासहरू हुन थालेका छन्।”

पर्वतको सरकारी विद्यालयदेखि अमेरिकी राज्यसंसदको उच्च ओहोदासम्म पुगेका डा. ह्यारी भण्डारीको जीवनयात्रा अथक मिहिनेत, दृढ संकल्प र अविचलित आत्मविश्वासको एउटा जीवन्त दस्तावेज हो। पहाडी जिल्ला पर्वतको एक सामान्य किसान परिवारमा जन्मिएका भण्डारीको बाल्यकाल गाउँकै डाँडापाखा र गोरेटोहरूमा बित्यो।

लाहुरे बुबाले भारतमा रगत-पसिना बगाएर कमाएको पैसाले गाउँको स्कुलको छाना टालेको देख्दै हुर्केका उनले बाल्यकालदेखि नै शिक्षाको महत्त्वप्रति निकै सचेत थिए। गाउँकै सरकारी विद्यालयमा अध्ययन गर्दा उनी यति जेहेन्दार थिए कि शिक्षकहरूले उनको तीक्ष्ण क्षमता देखेर कक्षा ६ बाट एकैपटक कक्षा ८ मा भर्ना गरिदिएका थिए। हरेक दिन विद्यालय पुग्न झण्डै एक घण्टाको पैदल यात्रा तय गर्नुपर्ने र बिहान घरबाट निस्केपछि बेलुका मात्र फर्कन पाउने कठिन दैनिकीका बीच उनले आफ्नो शैक्षिक जगलाई बलियो बनाए।

उच्च शिक्षाको तीव्र चाहनासहित पर्वतबाट पोखरा ओर्लिएका भण्डारीले त्यहाँ पनि सरकारी क्याम्पसमै भर्ना भएर अंग्रेजी साहित्य रोजे। विश्व साहित्यलाई नजिकबाट बुझ्ने र भाषामा पकड जमाउने उद्देश्यका साथ अध्ययन अघि बढाउँदै गर्दा आफ्नो दैनिक खर्च धान्न उनले खाली समयमा विद्यालयहरूमा पढाउन सुरु गरे। पोखराको बसाइपछि अध्ययन र पेसाकै सिलसिलामा काठमाडौँ प्रवेश गरेका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) पूरा गरे। काठमाडौँमा रहँदा उनले झण्डै १३ वर्ष शिक्षण पेसामा बिताए, जसका क्रममा उनी दुईवटा प्रतिष्ठित निजी विद्यालयको प्रिन्सिपल समेत बने। त्यस समयमा उनले आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाएर सामाजिक सेवा र नेतृत्वको पहिलो जग बसालेका थिए।

सन् २००५ मा अमेरिका पुगेका भण्डारीका लागि नयाँ देशमा स्थापित हुन ‘घनघस्याको उकालो’ चढेजस्तै चुनौतीपूर्ण थियो। सुरुवाती दिनहरूमा जीवन धान्नका लागि उनले ग्यास स्टेसनमा रातभर काम गरे, तर आफ्नो लक्ष्यमा स्पष्ट भएकाले उनले त्यस कठिन काममा पनि कहिल्यै हीनताबोध गरेनन्। बरु, ग्यास स्टेसनको रात्रिकालीन शान्त समयलाई उनले कविता लेखन र सिर्जनामा उपयोग गरे। नेपालको शैक्षिक प्रमाणपत्रका आधारमा अमेरिकाको प्रतिष्ठित क्षेत्रमा सिधै प्रवेश पाउन असम्भवप्रायः थियो। यद्यपि, कसैको सहयोगबिना नै गुगलको सहारा लिएर प्रक्रियाहरू बुझ्दै उनले दिनरात एक गरेर अमेरिकी शिक्षण लाइसेन्सको परीक्षा दिए र पहिलो प्रयासमै उत्तीर्ण भएर अमेरिकी कलेजहरूमा अंग्रेजी प्राध्यापनको काम सुरु गरे।

शिक्षण पेसामा स्थापित भएसँगै सन् २०११ मा अमेरिकी नागरिकता प्राप्त गरेका भण्डारी अमेरिकी राजनीति तर्फ आकर्षित भए। अमेरिकी समाजको मूलधारमा नछिरेसम्म आप्रवासी नेपाली समुदायको हकहित, भाषा, संस्कृति र पहिचान सुरक्षित हुन सक्दैन भन्ने दृढ विश्वासका साथ उनी राजनीतिक मैदानमा उत्रिए। सुरुवाती निर्वाचनमा पराजयको तितो स्वाद चाख्नुपरे पनि “जो मान्छे हार स्वीकार्न तयार हुन्छ, जित उसैको हुन्छ” भन्ने मूलमन्त्र आत्मसात गर्दै उनी निरन्तर जनताको घरदैलोमा लागिरहे। अन्ततः सन् २०१८ मा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा डिस्ट्रिक्ट ८ बाट ऐतिहासिक जित दर्ता गर्दै उनी अमेरिकाको राज्यसंसदमा पुग्ने पहिलो नेपाली अमेरिकी बने।

अमेरिकी राजनीतिज्ञका रूपमा संसदमा शपथ लिँदा हिन्दू धर्मग्रन्थ ‘वेद’ लाई साक्षी राखेर सपथ लिएका डा. भण्डारीले आफ्नो पुर्खाको इतिहास र नेपाली पहिचानलाई सधैँ उच्च स्थानमा राखेका छन्। उनी नेपालका निजी कलेजबाट पढेर आएका कतिपय युवाहरू कम्फर्ट जोनमा मात्रै बस्ने प्रवृत्तिको आलोचना गर्दै क्षमतालाई सही ठाउँमा उपयोग गर्न दृढ संकल्प चाहिने बताउँछन्। आफूलाई नेपाली अमेरिकी राजनीतिज्ञ हुनुमा गर्व रहेको उल्लेख गर्दै उनले जहाँ रहे पनि र संसारभरका जुनसुकै देशमा रहेका नेपालीलाई दुःख पर्दा आफ्नो तर्फबाट सहयोग गर्न सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गर्छन्।





Source link

Leave a Comment