प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले अमेरिकी अध्यागमन एजेन्सी आइससँग सीमित गरिब तथा न्यून आय भएकाहरूका लागि सरकारी स्वास्थ्य कार्यक्रम मेडिकेडको डेटा पुनः शेयर गर्ने योजना घोषणा गरेको छ। यो कदमले पहिला दिइएका आश्वासनहरूलाई उल्ट्याएको छ, जसमा त्यस्तो जानकारी अध्यागमन कारवाहीका लागि प्रयोग नगरिने भनिएको थियो। तथापि अदालतको एक प्रारम्भिक निषेधाज्ञाले हाल यसको कार्यान्वयनलाई रोकेको छ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग अन्तर्गतको निकाय सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसले आज नोभेम्बर २५, २०२५ मा फेडेरल रजिस्टरमा यसबारे एक सूचना प्रकाशित गरेको छ। जसमा आइसको मूल निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अनुरोध गरेमा तोकिएको जानकारी उपलब्ध गराउनेछ। यो संघीय कानुनहरू अनुरूप गरिने उल्लेख गरिएको छ ।
यो नीति सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसले मेडिकेड कार्यक्रम सञ्चालन गर्दा सङ्कलन गरिएको डेटामा लागू हुन्छ, जसमा योग्यता निर्धारण र संघीय कोष गणनाका लागि प्रयोग गरिने आप्रवासन स्थितिको विवरण पनि समावेश हुन्छ । सूचना अनुसार आइसले सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसको अभिलेखहरूबाट व्यक्तिगत विवरण, सम्पर्क र ठेगाना सम्बन्धी जानकारी अनुरोध गर्ने अपेक्षा गरिएको छ। साथै, कानुनी रूपमा अनुमति भएमा थप डेटा पनि केस अनुशार खोज्ने विकल्प सुरक्षित राखिएको छ।
सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसले शेयर गरिने जानकारीमा नागरिकता र आप्रवासन स्थिति, स्थान डेटा, र फोन नम्बरहरू समावेश हुन सक्ने उल्लेख गरेको छ। तर, उसले गोपनीयताको सुरक्षाका उपायहरूसहित न्यूनतम आवश्यक जानकारी मात्र सुरक्षित रूपमा हस्तान्तरण गरिने कुरामा जोड दिएको छ।
सूचनाले होमल्याण्ड सेक्युरिटी र आइसलाई गैर नागरिकको अभिलेखहरूमा पहुँच प्रदान गर्ने धेरै संघीय कानुनहरूको सन्दर्भ दिएको छ। यसमा होमल्यान्ड सेक्युरिटी ऐन र आप्रवासन तथा राष्ट्रियता ऐनका दफाहरू समावेश छन्, जसले संघीय निकायहरूलाई विदेशीको पहिचान र स्थान डेटा आप्रवासन अधिकारीहरूसँग साझा गर्न अनिवार्य गर्छ।
सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसले मेडिकेड कार्यक्रमको डेटा अध्यागमन कारवाहीमा लागि प्रयोग नगरिने आफ्नो पुरानो आश्वासन सन् २०१३ को आइसको मेमोमा आधारित रहेको बताएको छ, जसलाई अक्टोबर २७, २०२५ मा आइसको अर्को मेमोमार्फत खारेज गरिएको छ। आइसले अब मेडिकेड डेटाबाट हुने लाभ अध्यागमन र आपराधिक कारवाहीलागि विगतको निर्भरताको चिन्ताभन्दा बढी महत्त्वपूर्ण भएको ठहर गरेको छ।
यो डेटा साझेदारी दृष्टिकोण प्रशासनको आप्रवासन एजेन्डालाई अगाडि बढाउने २०२५ का कार्यकारी आदेशहरूसँग मेल खान्छ। मार्च २५ मा जारी आदेशले संघीय कोष प्राप्त कार्यक्रमहरूमा ठगी र दुरुपयोग पहिचान गर्न र नियन्त्रण गर्न एजेन्सीहरूलाई अधिकतम अन्तर एजेन्सी डेटा पहुँच गर्न निर्देशन दिन्छ, जसमा अयोग्य विदेशीहरूलाई लाभ पुग्नबाट रोक्ने कार्य पनि समावेश छ।
सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसले राज्यहरू, प्रदायकहरू, लाभार्थीहरू, बीमा कम्पनीहरू र सर्वसाधारणले पहिलेको गैर साझेदारी आश्वासनमा निर्भरता राख्न सक्ने कुरा स्वीकार गरेको छ । तर आइसको पहुँचका लागि स्थापित वैधानिक जनादेशहरू विरुद्ध यी चासोहरूको न्यून वा शून्य महत्त्व रहेको दाबी गरेको छ ।
अमेरिकाको संघीय अदालतमा जुलाई १, २०२५ मा दायर गरिएको र अगस्ट १२, २०२५ मा स्वीकृत प्रारम्भिक निषेधाज्ञाका कारण, हाल आइस वा सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिस कसैले पनि अध्यागमन कारवाहीका लागि निश्चित मेडिकेड डेटा प्रयोग वा शेयर गर्न सक्दैनन्। यो निषेधाज्ञा—प्रशासनिक प्रक्रिया ऐनको तर्कसंगत निर्णय निर्माणका आवश्यकताहरूको उल्लङ्घनका लागि न्यायाधीश भिन्स छाबरियाद्वारा जारी गरिएको हो ।
यो निषेधाज्ञा २० डेमोक्रेटिक राज्यहरूबाट प्राप्त डेटामा लागू हुन्छ। यो निषेधाज्ञा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र होमल्याण्ड सेक्युरिटीले कानुनसम्मत प्रक्रिया पूरा गरेको १४ दिनपछि वा मुद्दाको किनारा लागेपछि हट्नेछ। त्यतीबेलासम्म सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिस अगाडि बढ्ने छैन । साथै आज प्रकाशित सूचना आफैंमा सार्वजनिक टिप्पणीबाट मुक्त एक सामान्य नीति वक्तव्य हो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
