मूलभट्ट हजुरबुवाका कथाकार नाति

मूलभट्ट हजुरबुवाका कथाकार नाति


भारतका ठुला पुस्तक प्रकाशकहरूमध्ये एक पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले हालै एक नेपालीको कथासंग्रह ‘लिच एन्ड अदर स्टोरिज’ बजारमा ल्याएको छ। यसका लेखक हुन्, रञ्जन अडिगा।

काठमाडौंको कालिकास्थानमा जन्मिएका अडिगाको थर सुन्नेबित्तिकै तपाईंलाई भारतका प्रख्यात लेखक अरबिन्द अडिगा र उनको उपन्यास ‘द ह्वाइट टाइगर’को सम्झना आउन सक्छ। धेरैले रञ्जनलाई सोध्छन् पनि तर उनको कथा त्योभन्दा रोचक छ। र, यो कथा ठीक सय वर्षअघि सुरु हुन्छ ।

रञ्जनका हजुरबुवा सय वर्षअघि भारतको कर्नाटक राज्यस्थित मेंगलोर जिल्लाको कुन्दापुर गाउँबाट नेपाल आए। उनी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको मूलभट्ट नियुक्त भए। कार्यकाल सकिएपछि उनलाई भारत फर्केर जान मन लागेन। उनलाई लाग्यो–मलाई भगवान्ले खटाएर यहाँ पठाए भने म यहीँ बाँच्छु, यहीँ मर्छु। उनी यतै बसे।

उनका चार सन्तान यतै हुर्किए। रामभद्र डाक्टर भए। सोम पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक बने। एक जना भने भारत पढ्न जाँदा पारसी महिलाको प्रेममा परेपछि मूलभट्ट बुवाले जातिच्यूत गरिदिए।

कान्छा छोरा पूर्णभद्र इन्जिनियर बने। उनै पूर्णभद्र र श्यामाका कान्छा सन्तानका रूपमा रञ्जन जन्मिए। रञ्जनले सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरे। त्यसअघि बुवा थाइल्यान्डमा पढुन्जेल उनले पनि बैंककमा पनि पढे। त्यहाँ उनी  विदेशी थिए।

जब उनी नेपाल फर्किए, तब ‘कल्चरल सक’मा परे। विद्यालयमा उनी सामान्य विद्यार्थी थिए। तर साहित्यप्रति रुचि भने त्यहीबेला बसिसकेको थियो।

अलिअलि कविता लेख्ने र पुरस्कार पाउने भइरहन्थ्यो। एकपटक ब्रिटिस काउन्सिलले आयोजना गरेको कथा प्रतियोगितामा उनी प्रथमसमेत भए। सो प्रतियोगिताको निर्णायकमा मञ्जुश्री थापा थिइन्। त्यो पुरस्कारले नै उनलाई लेखनका लागि हौस्याइरहेको थियो।

लेखाइ राम्रो भएकाले उनले मुम्बईस्थित एउटा विज्ञापन एजेन्सीका लागि ‘कपिराइटर’का रूपमा काम पाए। उनलाई जहिले पनि अमेरिका जाने हुटहुटी चलिरहन्थ्यो। कपिराइटर राम्रो भए पनि उनी आफ्नो लेखन तिखार्न क्रिएटिभ राइटिङ पढ्न चाहन्थे।

जब उनी अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइनामा स्नातकोत्तरका लागि भर्ना भए, तब उनले पहिलो पटक सिर्जनशील लेखन यस्तो हुँदोरहेछ भन्ने थाहा पाए। अन्य विद्यार्थीहरू पहिलेदेखि नै क्रिएटिभ राइटिङ पढेर मास्टर्स पढ्न थालेका थिए, उनी भने एकैपटक नयाँ विषय पढ्दै थिए। केही महिना उनलाई यो कक्षाले दिक्क पारे पनि उनले समयमै मास्टर्स सके। त्यसपछि उनलाई पिएचडीको चस्का लाग्यो। उनी हवाई युनिभर्सिटीमा क्रिएटिभ राइटिङमा पिएचडी गर्न पुगे।

‘त्यहाँ धेरै नेपालीले पिएचडी गरिरहनुभएकाले मलाई त्यो ठाउँ रमाइलो लाग्यो,’ रञ्जन भन्छन्, ‘हवाई राज्यले धेरै पिएचडी स्कलरलाई आकर्षित गर्दोरहेछ भन्ने मैले त्यहीँ पुगेपछि मात्र बुझें।’ पिएचडीपछि भने उनले विभिन्न कलेज तथा विश्वविद्यालयमा आफू क्रिएटिभ राइटिङ पढाउन चाहेको भन्दै निवेदन लेखे। यतिबेला उनी उटाहस्थित साल्टलेक सिटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।

यो त भयो उनको साङ्गोपाङ्गो परिचय। विगत १० वर्षयता उनी अमेरिकी नागरिकता लिएर त्यहीँका विद्यार्थीलाई पढाउँदै गर्दा भने उनलाई एउटा परिचयको संकट महसुस भयो। उनी को हुन्? नेपाली हुन्? उनी आफ्ना पितापुर्खाको थर भएका दक्षिण भारतीय ब्राह्मण हुन्? नेपाली हुन् भने अहिले नेपाली रहेनन्। उनी दक्षिण भारतीय ब्राह्मण हुन् भने त्यो परिचय पनि अमेरिकामा काम छैन।

‘खासमा मैले आफूलाई सधैं एउटा आउटसाइडर महसुस गरिरहें,’ रिमाल आमा र अडिगा बाबुका कान्छा छोरा रञ्जन भन्छन्, ‘यो थर, जुन मसँग झुन्डियो, त्यसले मलाई सधैं आउटसाइडर बनाइरह्यो। कहिलेकाहीं मेरा पुर्खाको परिचय खोज्दै दक्षिण भारत पनि पुगें तर त्यहाँको भाषा म बुझ्दिनँ, बोल्दिनँ। म जुन भाषा बोल्छु, जुन देश मेरो हो, त्यहाँका मान्छेले मेरो थरलाई अनौठो तरिकाले हेर्छन्। अझ कतिपय अवस्थामा भारतीय नै ठान्छन्।’

आफ्नो परिचयबाट टाढिँदै जाँदा उनले भने मुम्बईमा भने शान्ति महसुस गरे। त्यहाँ उनी ब्राह्मण हुनुमा फरक पर्दैनथ्यो। त्यहाँ उनी जुनसुकै ठाउँबाट आए पनि मतलब थिएन। मात्र प्रतिभाको बलमा उनले गरिखाएका थिए। तर अमेरिका पुगेपछि उनले फेरि ‘आउटसाइडर’ महसुस गर्न थाले। उनी पुरै अमेरिकी हुन सकेनन्। उनी नेपाली भाषामा सपना देख्छन्, उनी काठमाडौंका गल्लीलाई सपनामा पछ्याउँछन् तर यतिबेला अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका छन्।

यही आउटसाइडर महसुस गराइले उनलाई किताब लेख्न प्रेरित गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘ममा लेख्नुपर्छ भन्ने थियो तर के लेख्ने भन्ने थाहा थिएन। विगत १० वर्षदेखि म फाट्टफुट्ट लेखिरहेकै थिएँ। नेपालमा हुँदा पनि लेखिरहेको थिएँ तर मैले जब पढाउन थालें, आफ्नो पराइपनमाथि लेख्नुपर्छ भन्ने महसुस भयो।’

त्यसपछि उनले केही कथा लेखे। ती कथालाई गएको कोभिड १९ को अवधिमा अन्तिम रूप दिए। कथा त लेखे तर कुनै पनि ठुला अमेरिकी प्रकाशकले कथाकारको पहिलो कृति कथासंग्रह निकाल्दैन भनेर पछि मात्र बुझे। अमेरिकामा हरेक वर्ष चार लाख टाइटलका पुस्तक निस्कन्छन्। तीमध्ये निकै कम कविताका पुस्तक छापिन्छन्। कम छापिनेमध्ये कथासंग्रह पनि हो। बरु उपन्यास बढी संख्यामा छापिन्छ।

उनी कथा छाप्न व्यग्र थिए। त्यसका लागि उनी अमेरिकी प्रकाशकसँग झुत्ती खेलिरहन चाहँदैनथे। ‘तपाईं अमेरिकाजस्तो देशमा लेखकका रूपमा स्थापित हुन चाहनुहुन्छ भने एउटा कुरामा प्रस्ट हुनुस् कि यहाँ हरकोही लेखक बन्न चाहन्छ,’ उनी आफ्नो पुस्तक प्रकाशनको अप्ठेरो खुलाउँदै भन्छन्, ‘यहाँ यति धेरै प्रतिस्पर्धा छ कि तपाईंको कृतिमा केही दम छैन भने जीवनभर साहित्यकार नहुन सक्नुहुन्छ।’

उनी स्वयं क्रिएटिभ राइटिङ पढाउने भए पनि उनले लेखेका कैयौं सिर्जना कैयौं साहित्यिक पत्रिकाले अस्वीकृत गर्थे। ‘तर म मोटो छाला भएको प्राणी परें, मलाई त्यस्ता अस्वीकृतिले खासै फरक पारेन,’ उनी भन्छन्, ‘अस्वीकृतिले तपाईंलाई अझ बढी सिकाउँछ।’

उनले आफ्ना कथा छाप्न अर्को एउटा बाटो रोजे। मञ्जुश्री थापासँग भारतीय एजेन्टहरूको ठेगाना मागे। सम्राट उपाध्यायसँग अन्य कुराको सहयोग मागे। त्यसपछि भारतीय एजेन्टसँग कुरा गरे। एक जना एजेन्टले त उनको एक हजार डलर नै खाइदियो तर आफ्नो कथामा केही सहयोग गरेन। पछि कनिष्क गुप्ताले भने तिम्रा कथा राम्रा छन् भनेर हौस्याए।

गत साता मात्र बजारमा आएको कथासंग्रह ‘लिच एन्ड अदर स्टोरिज’मा १० वटा कथा छन्। ती सबै कथाले उनको हृदयमा गढेको ‘पराइपन’का कथा नै विभिन्न पात्रका माध्यमबाट कहेका छन्। पुस्तक त सम्राट उपाध्यायलाई पनि यति मन पर्‍यो कि उनले त्यसलाई ‘पृथक्पनाको संकलन’ भनेका छन्।

हुन पनि उनले यस कथामा डिभी परेर अमेरिका पुगेका, प्रतिभाका बलमा पुगेका, प्रतिभा भएका, प्रतिभा नभएका सबै किसिमका पात्रहरूबारे मात्र लेखेका छैनन्, दलित युवतीको संघर्षदेखि कुकुरसम्मको समस्या लेखेका छन्। ‘मलाई जहाँसम्म लाग्छ, यस्ता साना ठानिएका विषयमा यसअघि मैले जसरी अरूले लेख्न भ्याएका थिएनन्,’ आफ्नो कृतिको पृथक्पनाबारे रञ्जन भन्छन्, ‘त्यही देखेर पनि होला यो संग्रह प्रकाशित भयो।’

उनको यो संग्रहलाई अमेरिकी मिनेसोटा युनिभर्सिटी प्रेसले आउँदो अक्टोबरमा बजारमा ल्याउँदैछ। यो पुस्तक अमेरिकामा पुगेपछि कथानकहरूको विविधता थपिने र त्यो संसारले नेपालको एउटा पाटो चिहाउने अवसर पाउने उनी बताउँछन्।

‘नेपाल भन्नेबित्तिकै सगरमाथा, बुद्धको देश र नेपालीहरूको सरलपना मात्र बुझ्ने गरिन्छ,’ रञ्जन भन्छन्, ‘तर नेपाली जाति संसारका अन्य जातिजस्तै विविधतायुक्त र क्लिष्ट नै हुन्। उनीहरूका पनि अन्यकै जस्ता समस्या छन्। यहाँको छुवाछूत, यहाँको विभेद, यहाँका समस्याको तह संसारका अन्य मानिसहरूजस्तै पत्रपत्र खाँदिएर बसेका छन्। यो संग्रहले ती पत्रपत्र खाँदिएका समस्यामार्फत नेपालीहरूको मन चिहाउन सक्लान् भन्ने लागेको छ।’

उनको किताब नेपालका केही पुस्तक पसलेकहाँ आइपुगेको छ। उनी किताबबारे खोजखबर लिँदै विभिन्न पसलमा पुगे तर धेरैले थरका कारण र अरबिन्द अडिगाको नातेदार ठानेर उनका किताब कुनामा फ्याँकिदिँदा रहेछन्। ‘यो नेपालीहरूको कथा हो, एउटा नेपाली लेखकले लेखेको कथा हो,’ रञ्जन चित्त दुखाउँदै भन्छन्, ‘नेपाली लेखकले लेखेको किताब भएकाले अन्य नेपाली लेखकलाई जस्तै माया गरिदिनुहोस्, पढिदिनुहोस्।’

‘कथा पढ्दा मन परेन भने त्यो मेरो असफलता होला तर लेखकका रूपमा मैले एउटा मौलिक कृति दिने प्रयास गरेको छु,’ रञ्जन भन्छन्। गत साता मात्र उनी अमेरिकाबाट आइपुगेका हुन्। उनी अझै केही समय नेपाल बस्नेछन् र पुस्तकमाथि चर्चा गर्नेछन्। उनी एउटा लेखकबाट साहित्यकार बनिसकेका छन्। प्रमाणका रूपमा उनको कथासंग्रह छ। अब उनी अर्को के लेख्लान् त? ‘मभित्रको एक्लोपना, मैले महसुस गरेको आउटसाइडरनेस अझै मरिसकेको छैन,’ उनी भन्छन्, ‘मैले ४६ वर्षे जीवनकालमा भोगेको त्यो एक्लोपनमाथि संस्मरण लेख्न सक्छु। थाहा छैन, अरूका लागि त्यो कत्तिको रोचक होला तर मभित्रको क्षुधा भने मेटिएला होला कि?’

प्रकाशित: ६ जेष्ठ २०८१ ०६:५७ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School