मुस्ताङ, यो शब्द नै सुन्दा मनमा एक अनौठो आकर्षण जाग्ने गर्छ। त्यसमाथि हिमालपारिको जिल्ला भनेर परिचित। यो यस्तो भूमि हो जहाँ माटो, आकाश र पर्वतहरूको सम्मिश्रणले एउटा अनमोल छविका रूपमा जीवनका अनेकौं यात्रामा रङ घोल्छ। घोलिएर निर्माण भएका ती आकृतिहरूमा प्रकृति र जीवनका विविध दृश्य-रमणको सौन्दर्य देख्न पाइन्छ। कुनै न कुनै तरिकाले, मुस्ताङको यात्रा जीवनभरको स्मरणीय अनुभव बनिरहन्छ।
मुस्ताङको यात्रा गर्दा त्यहाँको प्राकृतिक सौन्दर्यको समग्र छवि अनुहारमा उत्रन थाल्छ। अचम्मका पहाड, उचाइमा फैलिएका सुनसान अपूर्व पहाडी तरेलीहरूले मलाई यो स्थल स्वर्गको आगमनको अनुभूति गराए। त्यसैले यहाँका समग्र पक्षलाई समष्टिमा उतार्न वा वर्णन–व्याख्या गर्न समय लाग्छ। दृश्यका मनोरम छविहरूले शब्दहरू अनायासै चुपचाप मौन हुन्छन्।
लाग्छ, नेपालभित्रकै अलौकिक भूमिसँगको सम्वन्धले यात्राका प्रत्येक पाइलाहरूलाई नवीनतम् अनुभूतिको आभास दिइरहेको छ। यहाँको स्वरूप र भूगोल नै फरक र अनौठो लाग्छ। यसले मलाई जीवनको अर्कै आयाममा पुर्याइदिएको मैले महसुस गरें। यहाँको वातावरण, पर्वत र तिनीहरूको समृद्धि प्राकृतिक चमत्कारको रूपमा प्रस्तुत हुन्छ।
यहाँको हावामा एक रहस्यमय शान्ति र सन्देश छ, जसले यात्रुका हृदयलाई न्यानोपन र शान्तिले भरिन्छ। मुस्ताङको शान्त र छायाँयुक्त प्राकृतिक सौन्दर्यले मनलाई एक अनौठो सुखद अनुभूति प्रदान गर्छ। जब कागबेनीबाट मरुभूमि जस्ता पहाडी बाटोहरूमा हिँड्दै उकालो लागिन्छ त्यसबिचमा समेटिएका दृश्यहरूले आत्मासम्म सन्तुष्ट गरिरहन्छ।
यस्ता रोमाञ्चक दृश्यहरूले आँखामा हर्ष मिश्रित न्यानो आँसु ल्याउँछन्। मन मस्त र आन्तरिक शान्तिका साथ असीम आनन्दले भरिभराउ हुन थाल्छ। मुस्ताङको अद्वितीय प्रकृतिको संरचनामा डुबुल्किँदा अनुभूतिका चाङ बोक्न नसक्ने भारी बन्छन्। तर ती गह्रौं बोझका भारी लाग्दैनन्। बरु तिनले दिने भावनात्मक अनुभूतिको मिठासमा म हराउँदे, रमाउँदै यात्राका मीठा पलहरूमा पल्टिरहन्छु।
प्रकृतिको यस अपूर्व रचना हेर्नुको प्यासले व्याकुलता बढाउँछ। एक कदमअघि बढाउँदा अर्काे न्यानो, नयाँ दृश्य प्रतीक्षारत हुन्छ। मुस्ताङको यस्तो अपूर्व प्राकृतिक संसार मलाई एक अर्काे धर्तीमा पुग्न जस्तो अनुभूति गराउँछ। यहाँको वातावरण, दृश्य र प्राकृतिक सौन्दर्य सबै मिलेर एउटा अद्वितीय आन्तरिक यात्रामा मलाई हिँडाइरहे। यस भव्य प्रकृतिमा डुबुल्की मार्दा हृदयको क्यानभासमा रचनात्मक र जीवित चित्रहरूको एकपछि अर्काे नौलो दृश्य झल्किरहन्छन्।
यस यात्रामा मैले हिँडेको बाटो लुटुपुटु र छुनुमुनु गर्दै, जहाँ म एउटा नयाँ संसारको पर्खाइमा थिएँ। यहाँको माटो, आकाश र रङ्गीचङ्गी दृश्यहरूले मेरो मन र आत्मालाई अझ धेरै प्रगाढ सौन्दर्यको उचाइतिर मलाई लोभ्याउँदै लगिरहेको हुन्थ्यो। यस यात्राले मेरो जीवनलाई एउटा नयाँ दिशा दियो, जहाँ म आफ्नो सारा रहरलाई चित्रमय दृश्यमा रूपान्तरण गर्न सक्षम थिएँ।
अन्ततः यात्रामा भएका प्रत्येक दृश्य, प्रत्येक कदम र प्रत्येक अनुभव एक अति विशिष्ट र अपूर्व संस्मरणका रूपमा सम्झना र हृदयमा रहन्छन्। यस्ता यात्राहरू एक जीवनमा अनेकौं पल सिर्जना गर्छन्, जसले आत्मा र मनलाई नयाँ ऊर्जा र उत्साह प्रदान गरिरहन सक्छन्।
मुस्ताङको यात्रा यस्तै एक रहस्य र रोमाञ्चले भरिएको यात्रा थियो। एक यस्तो यात्रा, जहाँ प्रकृतिको काखमा रमाउँदै मैले जीवनको साँचो अर्थलाई अनुभूति गरें।
जीवनको कुनै पनि यात्राले हामीलाई सधैं एउटा अनौठो र अदृश्य मार्गको सम्झना दिलाइरहन्छ। हरेक पाइला, हरेक मोड र हरेक अनुभवले हामीलाई केही नयाँ कुरा सिकाउँछ। नयाँ अन्वेषण गर्न उत्प्रेरित गर्छ। यो यात्रा भनेको शारीरिक रूपले एक स्थानबाट अर्काे स्थानसम्मको यात्रा मात्र होइन। यो आत्मा र विचारको पनि यात्रा हो। यो यात्राभित्रको यात्राको नाम हो जुन हामीले समयसँगै भोग्दै जान्छौं। ती यात्राले हाम्रो मनलाई शान्त र शीतल अनुभव दिनुका साथै ऊर्जामय भावनाको उद्घाटन गराउन पनि सार्थक हुनुपर्छ।
वास्तवमा हरेक यात्रामा रहेका प्रत्येक क्षण अनुभवको खजाना बनेर, जीवनको पृष्ठमा सजिन्छन्। एकजना यात्रीको दृष्टिकोणले गर्ने अनुभव जीवन्त र त्यो जीवनलाई परिवर्तनको मार्गमा अग्रसर गराउन सक्षम हुनुपर्छ। यात्रा भन्नु गन्तव्य पुग्नुको कुनै स्थायी स्थान होइन। बरु यो निरन्तरको खोजी प्रक्रिया पनि हो।
अन्ततः मैले मेरो यात्रालाई भावनात्मक थुङ्गा बटुलेर सुगन्धमय माला उन्नु छ। यहाँ म केवल शारीरिक यात्रा गर्दैछु। अपितु भावना र संवेदनाका थुँगा पनि बटुल्दैछु। हरेक क्षणमा मैले नयाँनयाँ ताजापनको अनुभव गर्दै, मनको गहिराइमा पाइला चाल्दैछु।
यात्राका क्रममा देउरालीमा पुग्दा शीतल बताससँग कुरा गर्दै एउटा अनौठो मिठास अनुभव गर्न सकिन्छ। त्यहाँको वातावरणमा लट्ठ पर्ने सुगन्ध, मस्तिष्कलाई शान्ति र आनन्दको अनुभूति दिलाउँछ। साथै त्य उचाइ भूमिबाट दृष्टिगोचर हुने प्रकृतिका तमाम छटा यति मनोरम लाग्छन् कि त्यसले यात्राको दिव्य धामको दर्शन गराउँछन्। यो स्थितिमा समय पनि स्थिर लाग्छ। यस्तो लाग्छ, त्यो सपना पूरा गर्न म प्रकृतिको अस्तित्वसँग एकाकार भएको छु। त्यहाँ बिताएका पलहरू आफ्नो गन्तव्यसँग मात्र होइन, आफ्नै अस्तित्वसँग जोडिएका रहेछन्।
यात्रा भनेको बाह्य यात्राको कुरा होइन, यो त हाम्रो भित्री यात्राको पनि संकेत पनि हो। हिँड्दा हिँड्दा मैले आफूलाई क्रमशः अक्षरमा अनुवाद गर्दै जान्छु। हरेक अनुभवले मेरो अस्तित्वलाई एउटा नयाँ दृष्टिकोण दिन्छ। यही हो जीवनको वास्तविक गन्तव्य। जीवनको पथ भनेको चढाइ मात्र होइन, यसमा उतारचढाव, संघर्ष र शान्तिको सन्देश पनि लुकेको हुन्छ।
यात्राको गन्तव्य कहिल्यै टुङ्गिदैन। हाम्रो यात्रा एक निरन्तर प्रक्रियाको रूपमा अघि बढिरहन्छ। हाम्रा सरल र जटिल गन्तव्यहरू आजको क्षणमा अप्रत्याशित ढंगले पूरा भएर एक नयाँ गन्तव्य खोज्न उक्साउँछन्।
अतः जीवनको गन्तव्य भन्नु यौटा ठेगाना मात्र होइन। अपितु यो नयाँ सम्भावनाहरूको अन्वेषण समेत हो। एउटा गन्तव्य समाप्त भएर पुनः अर्काे नयाँ दृश्यले भरिएका नयाँ प्रारम्भ हुन्छ। त्यसा भए, हामी कहिल्यै स्थिर हुँदैनौं। यात्राको यात्रा यति अनमोल र अद्भुत हुन्छ कि यो हाम्रो अस्तित्वको हिस्सा जीवनभरि बनिदिन्छ।
जीवनको यस यात्रामा, हरेक अनुभूति र अनुभवलाई जोड्दै अगाडि बढ्नु नै साँचो यात्रा हो। हाम्रा यात्री मनहरू अन्वेषणका लागि सधैं तत्पर रहन्छन्। र, यो यात्रा गर्दा हामी आफैंलाई नयाँ विचार र दृष्टिकोणबाट चिन्न सक्छौं। यसै अनवरत यात्रा मार्फत् जीवनलाई असल अर्थ र उद्देश्य दिन सक्छौं।
यसरी जीवनको यो यात्रालेमलाई शारीरिक स्थान परिवर्तनका साथै मानसिक, दार्शनिक र आत्मिक परिवर्तनका लागि पनि प्रेरित गरिरहन्छ। यात्रा अन्तिम गन्तव्य खोज्ने क्रममा होइन, आफैंलाई पत्ता लगाउने प्रक्रियामा परिणत हुन्छ। र, यात्रा सधैं नवीनता प्राप्तिका निम्ति उत्साही भइरहनुपर्छ। मुस्ताङको अद्वितीय प्रकृतिले मलाई मेरो लेखनमा धेरै नयाँ विचार–सौन्दर्यको पदापर्ण गर्न मलाई प्रेरित गरिदिएको छ।
हिमालपारिको मेरो यो यात्रा प्रकृतिका स्वप्निल दृश्यका सौन्दर्यले मलाई भुतुक्कै पारे। शायद यता आउने हरेकलाई यस्तै अनुभूति हुँदो हो। मरूभूमिजस्तै लाग्ने बालुवाको अनन्त विस्तार मात्र होइन, यहाँको शान्त र सुनसान वातावरणले मेरो मनलाई गहिरो सन्देश दिन्छ। यहाँको शून्य र अनन्तताको बीचमा म देख्न चाहन्छु प्रकृतिको शक्ति र संवेदनशीलता। हिमालको काखमा मरूभूमिको उत्खननले प्रकृति र जीवनको रहस्य पनि खोतल्न मद्दत गर्छ। हाम्रो मनको शान्ति र समर्पणले हामीलाई मार्गदर्शन गर्न सक्छ।
मुस्ताङको अनौठो संसारमा पाइला राख्ने छ। हिमालभन्दा पारिको यात्रामा यात्रा गर्दा, मैले अनौठो संसारमा प्रवेश गर्ने अवसर पाएँ। यहाँका भौगोलिक अवस्थितिहरूले मलाई प्रकृतिको रहस्यमय बनौटबारे सोंच्न प्रेरित गरिरह्यो। म अग्लिँदै गएको माटोका पहाडहरू जहाँ ढुंगाभन्दा बालुवा छन् र तिनले अनेकौं आकृति निर्माण गरेका छन्।तिनले मेरो कल्पनालाई जीवित राख्न सक्छ। ती आकृतिहरूका आकारसँग म सामञ्जस्य बनाउँदै, जीवनका धेरै अकल्पनीय रूप देख्न सक्छु। यसरी प्रकृतिका विभिन्न रूपहरूले मलाई आफ्ना संवेदनशीलतामा डुबाएर एक अनन्त खुसी र शान्तिको यात्रा दिन्छ।
प्रकाशित: ९ फाल्गुन २०८१ १२:५६ शुक्रबार