विश्व स्वास्थ्य संगठनले विश्वमा प्रत्येक वर्ष झन्डै दुई करोड मानिस हृदयरोगका कारण मर्ने भन्छ। मुटु रोगले सम्पूर्ण मृत्युको एकतिहाइ हिस्सा ओगटेको छ। त्यस्तै हृदय रोगलाई दशकौंदेखि नियालिरहेको जेनेभास्थित अन्तर्राष्ट्रिय संस्था वर्ल्ड हेल्थ फेडरेसन (डब्लुएचएफ) ले हालै सार्वजनिक गरेको तथ्यांकले मुटु रोगीको संख्या विश्वभर आकासिएको देख्यो।
सन् १९९० मा मुटु रोगका कारण एक करोड २१ लाख मानिस मरेकामा सन् २०२१ मा उक्त संख्या बढेर दुई करोड पाँच लाख पुगेको भन्छ डब्लुएचएफको रिपोर्टले। यसरी पृथ्वीमा पछिल्लो तीन दशकमा हृदय रोगीको संख्या झन्डै ७० प्रतिशत बढ्नु आफैंमा कहालीलाग्दो छ। त्यसमाथि रिपोर्टले नेपालजस्ता गरिब मुलुकमा मुटु रोगका कारण मर्नेको संख्या अन्यत्रको दाँजोमा अझ भयावह देख्यो। मुटु र रक्त नली सम्मिलित संयन्त्रलाई रक्त सञ्चार प्रणाली (कार्डियो भास्कुलर सिस्टम) भनिन्छ भने उक्त पद्धतिमा आउने खराबीका कारण लाग्ने रोगको समूहलाई समष्टिगत रूपमा मुटुरोग तथा ‘कार्डियो भास्कुलर डिजिज’ भनिन्छ।
हृदय रोगीको संख्या आकासिनुमा मुख्यतः उमेर ढल्किएकालाई लाग्नुपर्ने मुटुरोगले युवा तथा अधबैंसे समूहमा पनि प्रभुत्व फैल्याउनु नै देखियो। हृदयरोगले अप्रत्याशित रूपले युवाहरूलाई थल्याएको छ। वंशाणुगत चरित्र, उच्च रक्तचाप, मधुमेह, धुमपान, मद्यपान, मोटोपन तथा अस्वस्थकर खाना र आलसी दैनिकीले मुटुरोगलाई हौस्याउने हो। तर उल्लिखित लक्षण नभएका हट्टाकट्टालाई पछिल्लो समय मुटुको व्यथाले बढी नै सताउन थाल्यो। कुनै पनि खराब आदत नभएको अनि आहारविहारमा रहने युवालाई ‘हार्टडिजिज’ले सताउँदा समाज नै अचम्मित हुन्छ। आखिरमा त्यस्तो प्रतिकूलता किन देखिन्छ त मुटुमा भन्ने प्रश्नको उत्तर दिने प्रयास गरेका छन् वैज्ञानिकहरूले। युवामा लाग्ने हार्ट डिजिजको चिरफार नै यो आलेखको लक्ष्य रह्यो।
मानिसको शरीरमा आनुवंशिक तत्त्वको अंशका रूपमा हजारौं जिन छन्। त्यसमध्येका सयौं जिन मुटुसँग सम्बन्धित हुन्छन्। पृथक् जिनले फरक किसिमको इन्जाइम प्रोटिन बनाउँछ। यसरी शरीरमा रहेका हजारौं प्रोटिनहरूले एक अर्कासँग कस्तो संवाद गर्छन्, त्यसले व्यक्तिको स्वास्थ्य भविष्य निर्क्योल गर्छ। असङ्ख्य संयोगको सम्भाव्यता भएकाले स्वास्थ्यलाई जिनका उत्पादनहरूले कसरी असर पार्छन् भन्ने कुराको ठ्याक्कै उत्तर पाउन सम्भव छैन। यद्यपि उपलब्ध उपकरण र संकलित तथ्यांकको आधारमा विज्ञानले आयुर्विज्ञान क्षेत्रलाई परिमार्जित भने गर्दै लग्यो। आधुनिक मेसिन र नवीन आँकडाले विज्ञानलाई परिष्कृत बनाउने भएकाले आवधिक अनुसन्धानको आधारमा आयुर्विज्ञानका संहिताहरू फेरिन्छन्। तसर्थ सफल चिकित्सक बन्नका लागि नवीन आविष्कारसँगको सामीप्य आवश्यक हुन्छ।
मुट्ठी आकारको मुटु मानव शरीरको सबैभन्दा परिश्रमी अंग हो। मुटुले रक्त नलीमार्फत रगतलाई शरीरको प्रत्येक अंग–प्रत्यंगमा पुर्याउने काम गर्छ। प्रत्येक ढुकढुकीमा मुटुले प्राणवायु अक्सिजन र पोषण पदार्थसहितको स्वच्छ रगतको आपूर्ति मात्र गर्दैन, शरीरका विभिन्न भागमा जम्मा भएका कार्बनडाईअक्साइड ग्यासलगायतका खराब पदार्थको बहिर्गमनमा समेत सहयोग गर्छ। जन्मेदेखि मृत्यु नहुन्जेलसम्म मुटुले दैनिक एक लाख ढुकढुकीमार्फत करिब आठ हजार लिटर रगत शरीरभर पुर्याउँछ।
मुटु जाँचमार्फत व्यक्तिको उमेर आँकलन गर्न सक्ने विधि विज्ञानले आविष्कार गरेको छ। मुटुको उमेर निर्धारण गर्दा रक्त सञ्चार प्रणालीका संयन्त्रको आकृति र कार्यक्षमताको सहारा लिन्छन्। सामान्यतया मिले पनि कहिलेकाहीँ व्यक्तिको उमेर र मुटुको अवस्थाबिच तालमेल हुँदैन। कोही वृद्धको मुटु बच्चाको जस्तो सबल हुन्छ भने कुनै हृदय भने सानामै वृद्धको जस्तो लाचारी देखाउँछ। अविरल खट्नुपर्ने मुटुका मांसपेशी कमजोर हुँदा अथवा रक्त नली खुम्चँदा शरीरमा रक्त सञ्चारको कमी हुन्छ। पर्याप्त रक्त प्रवाह नहुँदा शरीरमा खाद्यपदार्थ र अक्सिजनको कमी हुन्छ अनि व्यक्ति थलिन्छ, मर्छ। उमेरमा हृदय सशक्त हुनुपर्नेमा पछिल्लो समय युवावस्थामै पाको मुटु भएकाको संख्या बढ्दो छ।
मानसिक थकानले रक्तचाप बढाउँछ भन्ने कुरा नयाँ होइन। व्यक्तिले जीवनमा विभिन्न किसिमको मानसिक थकान भोग्छ। जागिरको समस्या, गृहिणीको चुनौती, देशको दुर्गति, पारिवारिक रडाको, आर्थिक चुनौतीलगायतका समस्याले व्यक्तिलाई तनाव दिन्छ। समस्याविहीन मानिस हुँदैन नै। मानसिक शिथिलता नै समस्याको कारक हो भने संसारका सबै मानिस मुटुरोगी हुन्थे, तर त्यसो हुँदैन।
अब प्रश्न उठ्छ, के सबै किसिमका ‘स्ट्रेस’ खराब हुन्छन् त ? लामो समयदेखि दिमागी थकानका आयामहरूको अध्ययन गरिरहेकी संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीकी साइकोलोजीकी प्राध्यापक एलिया क्रमको विचारमा भोक, प्यास, निन्द्राझैं ‘स्ट्रेस’ पनि प्रकृतिको अनुपम वरदान हो। अन्य पक्षझैं दिमागी थकानका सकारात्मक र नकारात्मक दुवै पाटा भएको आवश्यक संवेदनशीलता ठान्छिन्। न्यु योर्क युनिभर्सिटीमा न्युरोलोजीकी प्राध्यापक एवं ‘गुड एड्ग्जाएटी’ पुस्तककी लेखक डा. बिन्डी सुजुकीको धारणा डा. क्रमको भन्दा कुनै फरक छैन। बेलाबखतको चिन्ता, तनाव, थकानजस्ता मानसिक दबाबले हाम्रो स्वास्थ्य, क्षमता र उत्पादकत्वका लागि ऊर्जा दिन्छ भन्छिन् अनुसन्धानकर्ता सुजुकी।
सबै किसिमका थकान खराब हुँदैनन् भन्ने चर्चाकै बिचमा गत महिना मात्र संयुक्त राज्य अमेरिकास्थित मेयो क्लिनिकका अन्वेषणकर्ताहरूले मानसिक चिन्ता र मुटु स्वास्थ्यको अन्तरसम्बन्ध कायम गर्ने एक अनुसन्धान प्रकाशित गरे। चिकित्सक अमिर लरम्यानको नेतृत्वमा गरिएको उक्त अध्ययनले मुटुको व्यथाको कारक हुन सक्ने ‘स्ट्रेस’ पहिल्याए। मेयो क्लिनिकमा सन् २०१८ देखि २०२३ को बिचमा मुटु जँचाउन आएका दुई लाख ८० हजार बिरामीको तथ्यांकलाई प्रशोधन गरी हृदय स्वास्थ्यलाई आर्थिक तनावले कसरी प्रभाव पार्छ भन्ने कुरा चित्रण गरेको छ लरम्यानसहितको अनुसन्धान टोलीले। रोगीले उपचारका क्रममा घोषणा गरेका विवरणलाई प्रशोधन गर्दा आफ्नो आर्थिक पक्षसँग चिन्तित व्यक्तिहरूमा मुटुको समस्या उच्च रहेको पाइयो भन्ने उक्त आलेखको निचोड हो। स्ट्रेस बढाउने भिन्न संवेदनशीलतामध्ये किन आर्थिक पक्षले मात्र मुटुको स्वास्थ्यलाई नकारात्मक रूपमा प्रभावित पार्यो त ?
मानवले जीवनमा विभिन्न झमेला बेहोर्छ। पारिवारिक कलह, जागिरको तनाव, सामाजिक आवेगलगायतका समस्या केही समयपछि शिथिल हुन्छन्। व्यक्तिले समस्या बिर्सन्छ। तर अन्य झमेलाभन्दा फरक आर्थिक दयनीयताले सधैं पछ्याइरहने भएकाले व्यक्ति सदैव थकानमा हुन्छ। दीर्घकालीन मानसिक चिन्ताका कारण भोक, निद्रालगायतका सबै दैनिकी प्रभावित हुन्छ।
सबै किसिमको घबडाहटले कोर्टिसोल, एड्रिनालिन र नोर्पिनेफ्रिनजस्ता स्ट्रेस हर्मोनको मात्रा बढ्छ। क्षणिक तनावले पैदा भएका स्ट्रेस हर्मोनहरूको घनत्व परिस्थिति सुध्रने बित्तिकै सामान्य बन्छ। तर पैसाको अभावले सिर्जित चिन्ताले व्यक्तिलाई कहिल्यै नछोड्ने भएकाले आर्थिक अभाव अन्य चिन्ताभन्दा फरक हुन्छ भन्छिन् जर्ज बासिंगटन विश्वविद्यालयकी प्राध्यापक लिन बेन। आर्थिक पक्ष सुध्रन लामो समय लाग्ने भएकाले अर्थसँग सम्बन्धित स्ट्रेस हर्मोनहरूको घनत्व शरीरमा लामो समयसम्म उच्च रहन्छ।
कोर्टिसोल, एड्रिनालिन र नोर्पिनेफ्रिनजस्ता स्ट्रेस हर्मोनले कार्डियो भास्कुलर सिस्टमलाई बिस्तारै मक्याउने भएकाले आर्थिक समस्यामा जकडिएको मानिसको मुटु युवा अवस्थामै शिथिल हुन्छ, रक्तसञ्चार प्रणालीमा आघात पर्न सक्छ। मानसिक थकानले मुटुरोगलाई हौस्याउने भएकाले चिकित्सकले हृदय रोगीको उपचार गर्दा केवल क्लिनिकल तथ्यांकलाई केन्द्रमा राखी रोगको निदान खोज्नुहुँदैन, बरु व्यक्ति कस्तो किसिमको चिन्तामा जकडिएको छ, त्यसको परीक्षण पनि आवश्यक छ भन्ने मेयो क्लिनिकको संहिता मननयोग्य देखियो।
मुटुको उपचार गर्ने क्रममा चिकित्सकले रोगीको आर्थिक तथा सामाजिक परिवेशको पनि मूल्यांकन गर्न आवश्यक देखियो। रोगीको इलाज गर्न केवल ओखती लेख्नुको बदला समस्यासँग जुधेको व्यक्तिलाई चिन्ताबाट टाढा राख्ने उपाय सुझाउनु पनि चिकित्सकीय दायित्व हो। मानसिक थकान व्यवस्थित गर्ने धेरै उपायमध्ये योग, ध्यान, भजनकिर्तन डाक्टरी ओखतीभन्दा प्रभावकारी छन् भन्ने कुरा बिर्सनुहुँदैन। दिमागलाई पुनर्लेखन गरी आर्थिक समस्यालाई सामान्य दिनचर्याका रूपमा लिन सक्ने हो भने रोग आफैं निको हुन्छ नै। चिन्ता सिर्जित हृदयरोग मानसिक थकानसँगै बिसेक हुने भएकाले वैकल्पिक उपचार लाभप्रद हुन सक्छ।
