मिनेसोटामा आप्रवासन नीतिको विरोध गर्ने १५ प्रदर्शनकारीमाथि सङ्घीय मुद्दा



प्रकाशित मिति : २ असार २०८३, मंगलबार

मिनेसोटामा आप्रवासन नीतिको विरोध गर्ने १५ प्रदर्शनकारीमाथि सङ्घीय मुद्दा

तस्वीर : आइस

मिनेसोटामा प्रदर्शनमा उत्रिएका १५ जना प्रदर्शनकारीहरूमाथि सङ्घीय अधिकारीहरूको काममा बाधा पुर्‍याएको, आक्रमण गरेको र सरकारी सम्पत्ति नष्ट गरेको लगायतका गम्भीर आरोपहरूमा मुद्दा चलाइएको छ। अमेरिकी जस्टिस डिपार्टमेन्ट र होमल्याण्ड सेक्युरिटीले मङ्गलबार यसको घोषणा गरेका हुन्।

यो मामला यसै वर्षको सुरुतिर ट्रम्प प्रशासनको सामूहिक आप्रवासन लागू गर्ने कडा कदम विरुद्ध मिनियापोलिस र वरपरका क्षेत्रमा भएका प्रदर्शनहरूसँग जोडिएको छ।

मिनेसोटाका सरकारी वकिल डेनियल रोजेनका अनुसार प्रदर्शनकारीहरूले सङ्घीय हिरासत केन्द्रबाहिर गुडिरहेका अधिकारीहरूका गाडीलाई रोक्न वा ढिलो गराउन आफ्ना सवारी साधन र बरफका ठूला टुक्राहरू प्रयोग गरेका थिए। साथै, प्लास्टिक, काठ र धातुबाट बनेका घरेलु ढालहरू प्रयोग गरेर सुरक्षाकर्मीलाई भौतिक रूपमा अवरोध पुर्‍याएका थिए।

वकिल रोजेनले भने, “उनीहरू सबैले वैधानिक आप्रवासन परिचालनमा बाधा पुर्‍याउने एउटा योजनाबद्ध षड्यन्त्र गरेका थिए। यो अवरोध आवाजले मात्र नभई बल प्रयोग गरेर गरिएको थियो, जुन अपराध हो र यसलाई अमेरिकामा सहन गरिने छैन।

आरोप लागेका १५ मध्ये १२ जनालाई मङ्गलबार बिहान गिरफ्तार गरिएको छ, एक जना पहिले नै हिरासतमा छन् भने दुई जना अझै फरार रहेका छन्। जनवरी २३ र मार्च १ मा भएका ती प्रदर्शनहरूमा कोही अधिकारी घाइते भए-नभएको बारे रोजेनले केही खुलाउन चाहेनन्।

मिनेसोटामा आप्रवासन नीतिको विरोध गर्ने १५ प्रदर्शनकारीमाथि सङ्घीय मुद्दा

यसैबीच, अमेरिकी सरकारको यो घोषणालगत्तै सेन्ट पलस्थित सङ्घीय भवनबाहिर पुनः ठूलो प्रदर्शन चर्किएको छ। प्रदर्शनकारी र सङ्घीय एजेन्टहरूबीच झडप भएपछि प्रहरीले अश्रुग्यास र पेपर स्प्रे  प्रहार गरेको छ।

 ट्रम्प प्रशासनले गत नोभेम्बरको अन्त्यमा मिनेसोटामा ‘मेट्रो सर्ज’ नाम दिएर ३,००० सङ्घीय एजेन्टहरू खटाएको थियो। एजेन्टहरूले सर्वसाधारणमाथि अत्यधिक बल र पेपर स्प्रे प्रयोग गरेपछि क्षेत्रमा तनाव बढेको थियो। यसै धरपकडका क्रममा आप्रवासन अधिकारीहरूको गोली लागेर दुई जना अमेरिकी नागरिक-रेनी गुड र एलेक्स प्रेट्टीको छुट्टाछुट्टै घटनामा मृत्यु भएको थियो। उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर तीव्र आक्रोश र प्रदर्शन सुरु भएको थियो।

नागरिकमाथि हिंसा गरेको आरोपमा पछिल्लो दुई महिनामा दुई जना आप्रवासन आइस अधिकारीहरूमाथि समेत अदालतमा मुद्दा दायर गरिएको छ।





Source link

Leave a Comment