मिनेसोटाको चर्चमा भएको प्रदर्शनमा संलग्न थप ३० जना विरुद्ध मुद्दा दायर



प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार

मिनेसोटाको चर्चमा भएको प्रदर्शनमा संलग्न थप ३० जना विरुद्ध मुद्दा दायर

अमेरिकी न्याय मन्त्रालयले मिनेसोटा राज्यको एक चर्चमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा थप ३० जना विरुद्ध मुद्दा दायर गरेको छ।

अधिकारीहरूका अनुसार, गत महिना आप्रवासन कानुन कार्यान्वयनको विरोधमा भएको प्रदर्शनमा सहभागी भएको अभियोगमा उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो।

महान्यायाधिवक्ताले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नयाँ अभियोगपत्रमा उल्लेखित ३० मध्ये २५ जनालाई संघीय एजेन्टहरूले पक्राउ गरिसकेको र बाँकीलाई पनि चाँडै नियन्त्रणमा लिइने बताएका छन्।

यसअघि सोही प्रदर्शनका क्रममा पूर्व टेलिभिजन प्रस्तोता डन लेमनसहित १० जनालाई पक्राउ गरिएको थियो। उनीहरू प्रदर्शनकारीहरूसँगै सेन्ट पलस्थित ‘सिटिज चर्च’ भित्र प्रवेश गरेका थिए।

प्रदर्शनकारीहरूले चर्चका एक पादरी ‘आइस’ का एजेन्ट भएको दाबी गरेका थिए। लेमन र सुरुमा पक्राउ परेका अन्य व्यक्तिहरूले भने धार्मिक अधिकार उल्लङ्घनसम्बन्धी अभियोग अस्वीकार गरेका छन्।

हालसम्म पक्राउ परेका सबै ३९ जनामाथि उपासनास्थलमा धार्मिक स्वतन्त्रता विरुद्ध षड्यन्त्र गरेको, धार्मिक अधिकार प्रयोगमा अवरोध पुर्‍याएको, डर-त्रास सिर्जना गरेको र हस्तक्षेप गरेको अभियोग लगाइएको छ।

अभियोगपत्रका अनुसार करिब ४० जनाको समूहले योजनाबद्ध रूपमा चर्चभित्र प्रवेश गरी कब्जा गर्ने शैलीमा धम्की, हस्तक्षेप र शारीरिक अवरोध सिर्जना गरेका थिए।

गत जनवरी १८ मा भएको उक्त घटनामा प्रदर्शनकारीहरूले चर्चको प्रार्थना सभामा अवरोध पुर्‍याउँदै “आइस अधिकारी बाहिर जाऊ” र “रेनी गुडलाई न्याय देऊ” भन्दै नाराबाजी गरेका थिए। रेनी गुड तीन सन्तानकी आमा थिइन्, जसको मिनियापोलिसमा एक आइस अधिकारीको गोली लागेर मृत्यु भएको थियो।

घटनाको भिडियो दृश्यहरूमा चर्चभित्र प्रदर्शनकारी र प्रार्थनामा सहभागीहरूबीच चर्काचर्की भएको देखिन्छ। सिटिज चर्चका कानुनी प्रतिनिधिले थप पक्राउको स्वागत गर्दै उपासनास्थल राजनीतिक उद्देश्यका लागि अराजकता फैलाउने र डर देखाउने स्थान बन्न नसक्ने स्पष्ट सन्देश दिएका छन्।

उनका अनुसार, उक्त प्रदर्शनले प्रार्थनामा सहभागीहरू, विशेष गरी बालबालिकाहरूमाझ त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो।

रेनी गुडको मृत्यु भएको तीन हप्तापछि र चर्चको घटना भएको एक सातापछि अर्का एक व्यक्तिको पनि संघीय एजेन्टको गोली लागेर मृत्यु भएको थियो। सघन उपचार कक्ष मा कार्यरत नर्स एलेक्स प्रेट्टीको पनि सोही क्रममा ज्यान गएको थियो।

गुड र प्रेट्टी दुवै जना ट्रम्प प्रशासनको आप्रवासन कार्यान्वयन अभियान विरुद्धको प्रदर्शनमा सहभागी थिए। मिनेसोटामा सञ्चालन गरिएको उक्त आप्रवासन अभियान अहिले भने समाप्त भइसकेको छ।





Source link

Leave a Comment