मानव–वन्यजन्तु द्वन्द्व: बर्सेनिजस्तै मृत भेटिन्छन् हात्ती : RajdhaniDaily.com


इटहरी । पृथ्वीको सबैभन्दा ठूलो स्थलचर जनावर । मानिसजस्तै भावनात्मक, समूहमा बस्ने, बाँच्न संघर्ष गर्ने । हात्तीको सामान्य परिभाषा यति मात्रै होइन । हात्ती जंगलको राजा पनि हो । हात्तीका थुप्रै परिभाषा छन् । तर, हात्तीको परिभाषा नबुझेरै उसलाई जिस्काउँछन्, चलाउँछन् र ज्यानै लिइरहेका छन् ।

कतै करेन्ट, कतै गोली प्रहार

पछिल्लो समय हात्ती मारिँदै जानु भनेको मानिसको निकृष्ट सोच र औसतभन्दा कम चेतनाको कारण भएको अध्ययनहरूको निष्कर्ष छ ।

सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हरेक वर्षजस्तो हात्ती मृत भेटिने गरेको छ । पछिल्लो १२ वर्षमा मात्रै यहाँ ११ वटा हात्ती मृत भेटिएका छन् । खासगरी हात्ती मृत भेटिएको भन्दा पनि अधिकांश मारिएका छन् । कतै करेन्ट लगाएर त कतै गोली प्रहार गरी हात्ती मारिने गरेको छ ।

मानिसकै असंवेदनशीलताका कारण हात्ती संकटमा परेको विज्ञहरू बताउँछन् । हात्तीलाई शत्रु होइन, साझेदार ठान्न थाले मात्रै मानिस र हात्ती दुवैको सहअस्तित्व सम्भव हुने उनीहरू बताउँछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमका अनुसार कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरीमा सो संख्यामा हात्ती मृत भेटिएका हुन् ।

२०७० सालदेखि असार मसान्तसम्ममा तीन जिल्लामा ११ वटा हात्ती मृत भेटिएको गौतमले बताए । कोशी टप्पु वन्यजन्तु आरक्ष कोशीको सुनसरी, उदयपुर र मधेशको सप्तरीमा विस्तारित छ । हरेक वर्षजस्तो एउटा हात्ती मृत भेटिने गरेको छ । मृत भेटिएका सबैजसो हात्ती भाले रहेका छन् । पोथी हात्ती हत्तपत्त मृत नभेटिने र भाले हात्ती मृत भेटिने गरेको गौतम बताउँछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीको तथ्यांकअनुसार २०७० सालमा २५ वर्षको हात्ती सुनसरीमा मृत फेला प¥यो । २०७२ सालमा सप्तरीमा २० वर्षको हात्ती मृत भेटियो । २०७४ सालमा उदयपुरमा ३० वर्षको हात्ती मृत भेटियो । यसैगरी, २०७५ सालमा सुनसरीमै २५ वर्षको, २०७७ सालमा सप्तरीमा २८ वर्षको र २०७८ सालमा सुनसरीमै ३५ वर्षको मकुना हात्ती मृत भेटियो ।

कोशी गाउँपालिका–३ स्थित स्थानीय कमलादेवी सरदारको खेतमा १७ असोज २०७८ मा मकुना हात्ती मृत भेटिएको थियो । सो हात्ती कोशी टप्पुको हात्तीमध्येको राजा हात्ती थियो । मकुना जंगली हात्ती भए पनि रैथानेकै रूपमा आरक्ष क्षेत्रमै बस्दै आएको थियो । आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गथ्र्यो । मकुनाको आक्रमणमा परी १५ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए । धानखेतमा करेन्ट बिछ्याइएको अवस्थामा करेन्ट लागेर सो हात्तीको मृत्यु भएको पुष्टि भएको थियो । मकुनाको निधनले ठूलो क्षति भएको जानकारहरू बताउँछन् ।

यसैगरी, २०७९ सालमा उदयपुरमा ३४ वर्षको र सुनसरीमा १२ वर्षको गरी दुईवटा हात्ती मृत भेटिए । यस्तै, २०८१ सालमा २४ वर्षको एउटा र २०८२ सालमा दुईवटा १५ र १९ वर्षका गरी तीनवटा हात्ती सुनसरीमै मृत फेला परे ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख गौतम भन्छन्, ‘पछिल्लो अवस्थामा धेरैजसो हात्तीको मृत्यु करेन्टका कारण भएको देखिएको छ, प्राकृतिक रूपमा हात्ती मरेको कारण एकदमै कम छ, कतै–कतै गोली नै लागेर पनि हात्ती मृत भेटिएका छन् ।’

खासगरी करेन्ट लागेर, हतियार प्रयोग (गोली प्रहार) र दुईवटा हात्ती जुधेर लामो समयसम्म घाइते हुँदा इन्फेक्सनका कारण पनि हात्ती मृत भेटिने गरेको अध्ययनबाट देखिने उनी बताउँछन् ।

हात्तीको व्यवहार’bout मानिसलाई सचेतना नभएकै कारण हात्तीले अकालमै ज्यान गुमाउने गरेको उनले सुनाए । ‘हात्तीको व्यवहार’bout सचेतना दिएमा हात्तीबाट बच्न सकिन्छ, अहिले पनि मानिसकै व्यवहारका कारण कतिपय हात्ती घाइते भएका छन्,’ गौतमले थपे, ‘पछिल्लो अवस्थामा हात्तीको मृत्युमा करेन्ट लाग्नु, हतियार प्रयोग गरी घाइते बनाउनु, बम विस्फोट गरी घाइते भएको लामो समयपछि इन्फेक्सन बढ्दै गएर मर्नुजस्ता कारण देखिन्छन् ।’

खासगरी हात्तीजस्ता वन्यजन्तु आफैं मानिससँग निहुँ खोज्न नआउने र मानिसले भने जनावरसँग निहुँ खोज्दै गएको भन्ने कुरामा सत्यता रहने उनी बताउँछन् । ‘जनावर आफैं निहुँ खोज्दै आउँदैन, हात्ती र हात्तीजस्तै अन्य वन्यजन्तुलाई हामीले देख्यौं भने हामी एकातिर साइट लाग्दा हात्तीले सिधै आएर आक्रमण नै गर्दैन,’ उनको तर्क छ, ‘हात्तीले मान्छे मा¥यो, यसलाई किन नमार्ने भन्ने मान्छेको चेतना छ ।’

कोशी टप्पु वन्यजन्तु आरक्ष व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले मान्छेकै हेलचेक्र्याइँका कारण हात्ती मरिरहेको बताए । ‘मान्छेको गल्ती र हेलचेक्र्याइँले हात्ती र मान्छे दुवै मरिरहेका छन्,’ खड्काले भने, ‘हामी पनि कसरी सुरक्षित बन्नसक्छौं त्यस’bout सचेत हुन आवश्यक छ, त्यसो हुँदा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।’

मानिसले हात्तीसँग प्रतिस्पर्धा गर्न खोजिरहेको उनले उद्धृत गरे । अध्यक्ष खड्काले थपे, ‘हात्तीलाई लखेट्नुपर्छ भन्ने र हात्तीसँग प्रतिस्पर्धा गर्ने गर्दा मानिसले ज्यान गुमाइराखेका छन्, मानिस आफैं सावधान नहुँदा हात्तीले आक्रमण गर्छ, हात्ती पनि मानिसकै कारण मरिरहेका छन् ।’

खासगरी मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न राज्यले योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने भए पनि द्वन्द्व थप बढिरहेको उनको भनाइ छ ।

‘हात्तीले बाली क्षति ग¥यो भने सुरक्षित रहनुहोस्, खेद्न नजानुहोस् भन्यो भने मान्छे खेद्न जान्छ, लाग्छ कि हात्तीभन्दा मानिस बलवान हो,’ अध्यक्ष खड्काले भने, ‘हात्तीभन्दा मानिस बलवान होइन भन्ने जान्दाजान्दै बाली क्षति गरेको चुपचाप हेरेर बस्न नसकेकै कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व चर्किंदै छ ।’

हात्तीले बालीनालीको क्षति गरेमा सरकारले उचित मूल्यांकन गरी राहत दिलाएमा केही हदसम्म द्वन्द्व न्यूनीकरण हुने उनले सुझाए । उनका अनुसार हात्तीले बाली रुँग्दा किसान आजित हुन्छन् । बाली जोगाउन धानखेतको छेउमा करेन्ट जोडिन्छ । जसले वन्यजन्तुलाई हेप्ने प्रवृत्तिका कारण हात्ती घाइते हुन्छन्, ढिलो चाँडो मर्छन् ।

हात्तीको पोस्टमार्टममा सक्रिय रहेका राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका वरिष्ठ पशु प्राविधिक पुरुषोत्तम मुडवरीका अनुसार कतिपय मृत फेला परेका हात्तीको शरीरमा बाहिरबाटै घाउ देखिन्छ ।

‘कतिपय हात्तीको शरीरमा गोली पनि लागेका छन्,’ मुडवरीले भने, ‘कतिपय करेन्ट त कतिपय भने अर्को हात्तीले हानेर घाउ हुने र लामो समय इन्फेक्सन भएका कारण मृत फेला पर्ने गरेका छन्, हात्तीको अकालमै मृत्यु हुनु पर्यावरणका लागि खतरनाक कुरा हो ।’

एउटा हात्तीको पोस्टमार्टमका लागि कम्तीमा ४ घण्टा लाग्ने उनले बताए । कोशीमा मृत भेटिएका सबै हात्तीको नमुना संकलन गरी चितवन राष्ट्रिय निकुञ्ज पठाउने गरिएको छ । हात्तीलाई ‘अपराधी’ ठानेर लखेट्ने प्रवृत्तिले द्वन्द्व झनै बढेको उनको टिप्पणी छ ।

‘पछिल्ला वर्षहरूमा हात्तीको मृत्यु अत्यन्तै चिन्ताजनक छ, प्राकृतिक मृत्युभन्दा बढी करेन्ट, हतियार, बम, घाइतेपछिको इन्फेक्सनजस्ता मानवीय कारण जिम्मेवार छन्,’ मुडवरीले भने ।

एउटा हात्तीको मृत्युले जैविक सन्तुलनमा प्रत्यक्ष असर पार्छ । हात्तीको अस्तित्वले सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा रहन्छ । हात्ती ठूलो जनावर भएकै कारण मिचाहा प्रजातिका वनस्पति जंगलमा यसले आहाराका रूपमा ग्रहण गर्दा सो वनस्पतिले वन, जंगल मास्न नदिने गरेको अध्ययनहरूले देखाएका छन् । सचेतना, संरचना, सहकार्य र सहिष्णुता । यी चार ‘स’ले मात्र मानव–हात्ती द्वन्द्व अन्त्य हुनसक्ने जानकारहरू बताउँछन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जहाँ हात्ती, अर्ना, कोशी नदीमा डल्फिनदेखि लोपोन्मुख प्रजातिका वन्यजन्तु, चराचुरुंगी र वनस्पति छन् ।

कहाँ, कहिले कति उमेरका मरे हात्ती ?
साल जिल्ला उमेर (वर्ष)
२०७० सुनसरी २५
२०७२ सप्तरी २०
२०७४ उदयपुर ३०
२०७५ सुनसरी २५
२०७७ सप्तरी २८
२०७८ सुनसरी ३५
२०७९ उदयपुर ३४
२०७९ उदयपुर ३४
२०८१ सुनसरी १२
२०८२ सुनसरी २४
२०८२ सुनसरी १५

(Visited 27 times, 1 visits today)





Source link

Leave a Comment