माटो बिर्सेको सरकार

माटो बिर्सेको सरकार


हाम्रो जीवनको मूल आधार रहेको माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ । अहिले नै, संसारभरिकै ४० प्रतिशत माटो खोतीयोग्य छैन । सबैतिर माटो मर्ने क्रम तीव्र भएको छ । यदि यस्तै अवस्था रहेमा सन् २०५० सम्ममा सतहको ५० प्रतिशत माटो मरुभूमि भइसक्ने आकलन छ ।

अहिलेसम्म नेपालको कति प्रतिशत माटो मरुभूमीकरण भयो यसको यकिन कुनै तथ्यांक नभए पनि वन फडानी, कृत्रिम रसायन र विषादीमा आधारित भएर गरिएको एकल र सफा खेतीका कारण बर्सेनि लाखौं टन मलिलो माटो हाम्रो खेतबारीबाट पलायन भएको छ ।

यस्तो अवस्थामा कृषिको उत्पादन र उत्पादकत्व बढाउन माटो जोगाउनु अहिलेको नीति तथा कार्यक्रम र बजेटको मुख्य प्राथमिकता हुनुपर्ने हो । तर यी कुनैले पनि यसतर्फको बाटो तय गरेको छैन । उल्टै, सरकार र सरोकारवालाले रोमन साम्राज्यको निरो र उसका पाहुनाले कैदी जलाएर त्यसैको रापतापमा भोजभतेर गरे जस्तै कृषियोग्य माटो मार्ने कृत्रिम रसायन र विषादीको वर्षा गराउँदै कृषि सपार्ने धुन अलापेका छन् ।

उदेकलाग्ने कुरा त के छ भने कृषिलाई प्राथमिकतामा राखेको दाबी गरिएको अर्थमन्त्रीको बजेट भाषणमा कृषि कर्मको मूल आधार माटो भन्ने शब्दसम्म परेको छैन । यसले सरकार र यसका सरोकारवालाको कृषि रूपान्तरण, कृषि लगानी दशक र आत्मनिर्भर कृषि चेतनाको औकात र स्तर उजागर भएको छ । आउनुहोस् आज यसैका वरिपरि चर्चा गरौं ।

जीवन्त माटो जीवनको आधार

पृथ्वीको सतहको माटो नै स्थलचर सबै जीवनको मूल आधार हो । यस्तो जीवन्त माटोले नै पृथ्वीको सतहमा रहने सबैको जैविक जीवनचक्र सम्भव भएको हो । सतहको माटोे खनिज तत्व, प्रांगारिक पदार्थ, हावा, पानी र यसमा रहने असंख्य जीव र तिनका अवशेषको अन्तरसम्बन्धबाट जीवन्त हुन्छ । प्राकृतिक अवस्थामा रहेको प्रांगारिक पदार्थ (ह्युमस) मा रहेको कार्बन र नाइट्रोजन लगायतका बोटबिरुवालाई चाहिने अन्य खनिज तत्व एकापसमा जोडिने र टुक्रिने प्रक्रियामा माटोमा हुने सूक्ष्म जीवका जैविक गतिविधि ऊर्जा चक्र बनाइराख्न महत्वपूर्ण छन् ।

यस्तो जैविक प्रक्रियाले नै माटोको भौतिक, रासायनिक र जैविक गुण निर्धारण हुन्छ । योसँगै माटो बन्ने प्रक्रियामा वातावरणीय र भूबनोटको समेत प्रभाव रहेको हुन्छ । यसरी माटोदेखि बोटबिरुवाको खाना बन्ने र वृद्धि विकास हुने चक्रीय प्रणालीले स्थलचर क्षेत्रको जैविक विविधता र प्राकृतिक चक्रीय प्रणाली व्यवस्थित भएको हुन्छ ।

यिनको आपसी अन्तरक्रियाले माटोमा जैविक र रासायनिक प्रक्रियालाई सक्रिय बनाउँछ जसले बोटबिरुवा र अन्य जीवमा रहेको हरितकोषमा सौर्य ऊर्जाको सहायताले हावामा रहेको कार्बनडाइअक्साइडबाट कार्बन तत्व टुक्र्याउने प्रक्रिया सुनिश्चित गर्छ । यो क्रिया प्रतिक्रियाका लागि चाहिने नाइट्रोजन र अन्य खनिज तत्व माटोबाट प्राप्त हुन्छ । यो नै सम्पूर्ण जीवन ऊर्जाको स्रोत हो ।

यसरी हेर्दा, मानिस र अन्य सबै जीवनको खानाको मुख्य स्रोत यही माटोमा हुने जैविक ऊर्जा चक्रमा निर्भर छ । मानिसको मात्र कुरा गर्ने हो भने ९५ प्रतिशत खाना यही माटोमा उब्जाउने हो । नेपाल जस्तो भूपरिवेष्ठित देशको खानाको शतप्रतिशत निर्भरता यही माटोमा रहेको छ । माटोको सारथि सूक्ष्म जीवको बासस्थान सतहको माटो मरेसँगै खानेकुराको बन्दोबस्त गर्ने हाम्रो खेती प्रणाली चौपट भएको छ । उत्पादन र उत्पादकत्व घट्दै गएको छ ।

माटो किन र कसरी मर्दैछ ?

नाफा मात्र कमाउने औद्योगिक उत्पादनमा संलग्न व्यापारीको आँखा खानाका लागि गरिने खेतीपातीमाथि परेसँगै माटो मर्ने क्रम सुरु भएको हो । आम मानिसको खानाको नियन्त्रण गर्न सके आफ्नो नाफा बढ्ने देखेका व्यापारीले सबैभन्दा पहिले खानाको बन्दोबस्त गर्ने सदियौंदेखि चलिआएको स्थानीय कृषि प्रणालीमा हस्तक्षेप गरे ।

यसका लागि बोटबिरुवालाई चाहिने पोषणभरण गर्न कृत्रिम रूपमा तयार गरिएका खाद्यतत्व खासगरी एमोनिया (नाइट्रोजन) मलको प्रयोग रैथाने बालीहरूमा गरियो । यसको प्रयोगले क्षणिक समयका लागि उत्पादन बढ्ने कुरा स्वाभाविक छ । यसैलाई आधार बनाएर यसको व्यापार गरी नाफा बढाउने क्रम निरन्तर चलिरह्यो । झन् विज्ञान हैन माटो मार्ने प्रविधि उन्नत बनाइएका छन् ।

यसका लागि माटोमा चाहिने खाद्यतत्वमा बाह्य नियन्त्रण र सँगसँगै खेतीपातीमा यान्त्रीकरणले स्थान लियो । यसले रैथाने एकीकृत र मिश्रित खेतीलाई एकल र सफा खेती प्रणालीतर्फ उन्मुख गरायो । जैविक विविधता बेवास्ता गरिएको यस्तो एकल खेतीमा रोग कीराको प्रकोप बढ्यो । जसले रोगजन्य जीवाणु र कीराको प्राकृतिक नियन्त्रण सम्भव भएन ।

यिनलाई नियन्त्रण गर्न भन्दै विषादीको वर्षा गराइयो । यो माटो र बोटविरुवामा आश्रित शाकाहारी र मांसाहारी जीवाणु र कीराको प्राकृतिक चक्र बिथोल्ने कुकर्म थियो । यसले प्राकृतिक सन्तुलन नै खल्बलिन गयो । अहिले यो माटो मार्ने नियोजित कर्म नै आधुनिक कृषि भनेर प्रायोजित भइरहेको छ ।

यसरी माटो मार्ने अभ्यासले बालीनालीको उत्पादन र उत्पादकत्व घटिरहेको छ तर यसलाई सच्याउनुको साटो कृत्रिम रसायनको प्रयोगलाई प्रभावकारी बनाउन भन्दै बालीनाली, बोटबिरुवा र वस्तुभाउको गुण परिवर्तन गरिंदै आएको छ । यो आनुवंशिकी विज्ञानको आविष्कारको दुरुपयोग गरी आनुवंशिक अभियन्त्रण गर्ने व्यापारिक प्रबन्ध हो । यसले रैथाने बालीनाली तथा बस्तुभाउ मात्र नभई समग्र जैविक जगतको विविधतामा बाह्य नियन्त्रण बढ्दै गएको छ ।

अहिले यस्तो प्रविधि रोग तथा कीरा नियन्त्रण गर्न समेत प्रयोग भइरहेको छ । यस्तो नियन्त्रणले एकातिर कृत्रिम रसायन, विषादी, हर्मोन र खनिज तत्वको बाह्य आपूर्ति र किसानको बीउको उनीहरूको नियन्त्रण भन्दा बाहिर गएको छ । यी सबै नाफा बढाउन खेतीपातीमा गरिएका हस्तक्षेपले अन्ततः जीवन्त माटोको मरुभूमीकरण भइरहेको छ ।

राष्ट्रपतिको र अर्थमन्त्रीको पट्यारलाग्दो लामो भाषणमा माटो बचाउने कुरा त परै जाओस् एक शब्दसम्म कतै परेको छैन । उल्टै, सबै दस्तावेजमा माटो मार्ने कृत्रिम रसायनलाई प्रभावकारी बनाएर माटो थप मार्ने जिद्दी प्रस्तुत गरिएको छ । यसका लागि विभिन्न शीर्षकमा बजेट छुट्याइएको छ ।

यी सबैका कारण, माटो मर्ने क्रमसँगै समग्र जैविक क्षेत्रको क्षयीकरण तीव्र भएको छ । प्रांगारिक पदार्थ नहुँदा माटोमा रहेको खनिज, हावापानी र सूक्ष्म जीवबीचको अन्तरसम्बन्धको जालो भत्किंदै गएको छ । मुख्यतः कृत्रिम रसायन, विषादी, जलवायु परिवर्तन र अन्य वातावरणीय ह्रासले माटोमा प्रांगारिक पदार्थ घट्दै गएको छ । यो नै माटोमा हुने असंख्य सूक्ष्म जीवको वासस्थान हो । यिनको वासस्थान भत्केसँगै माटो मर्ने र बोटबिरुवाले खाना बनाउने चक्र विघटित भएको छ । माटोमा रहेका सूक्ष्म जीव विना बोटबिरुवाले खाना बनाउन सक्दैनन् । हामी अहिले यो आधारभूत सत्यबाट भागेर नाफा मात्र कमाउने धूर्तहरूको फन्दामा परेका छौं ।

त्यसमाथि थपिंदै गएको जलवायु संकटले सबैलाई आतंकित बनाएको छ । यी सबैका कारण आम किसान अब खेतीपाती सम्हाल्न नसक्ने देखेर जमिन बाँझो छोडेर पलायन भइरहेका छन् । सरकार भने यसैको रमिते बनेर बसेको छ ।

माटो बचाउने के पहल छ त ?

माटोको मरुभूमीकरण भइरहेको कुराले आसन्न खाद्य संकटको अग्रिम जनाउ दिएको छ । जलवायु परिवर्तनको सम्बोधनसँगै माटो जोगाउन सबै तहमा प्रयास गरिनुपर्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा चासोको साथ उठाइएको छ । खनिज ऊर्जा, कृत्रिम रसायन र विषादि छोडेर पुनः उत्पादनशील जैविक खेतीतर्फ फर्किनुको विकल्प नभएको कुरा आम बहसको विषय बनेको छ ।

मुख्यतः माटो बचाउन प्रांगारिक पदार्थ बढाउनुपर्ने कुरालाई प्राथमिकता साथ उठाइएको छ । जलवायु परिवर्तन र वातावरणीय ह्रासको मूल कारण हरितगृह ग्याँस घटाउन हरित पुनः भण्डारणमा जोड दिइएको छ ।

माटोलाई जीवित राख्न माटोमा जैविक तत्व पुनः भण्डारण, पुनः उत्पादन, जैविक विविधता संरक्षण र माटो तथा पानी चक्रको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरेर मात्र सम्भव हुन्छ । यसका लागि बोटविरुवा र वस्तुभाउका अवशेषलाई जतनका साथ माटोमै मिलाएर पुनर्भरण गर्ने, मिश्रित बाली तथा एकीकृत खेती प्रणाली अपनाएर पुनरुत्पादन गर्ने, कृषि वनको अन्तरसम्बन्धलाई सुदृढ बनाउने, माटो तथा पानी संरक्षण गर्न गरा, बाँध र छेकबार लगाउने, माटोमा प्रांगारिक पदार्थ, खनिज र सूक्ष्म जीवको गतिविधि बढाउन जैविक मल, कम्पोष्ट, छापो जस्ता विधिहरू अवलम्बन गरेर सजिलै गर्न सकिन्छ ।

तर समाजवाद उन्मुख संविधान बनाएको राज्य, पार्टी र सरकारसँग नेपालको माटो बचाउने दूरदृष्टि र ढाँचा नै छैन न त माटो मार्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था । आवधिक योजना, नीति र बजेटमा समेत यी कार्य गर्ने कुनै प्रस्ताव नगरिनुले यस्तो संवेदनशील प्रश्नमा यी कोही पनि गम्भीर नभएको प्रष्ट हुन्छ ।

माटो बिर्सेको सरकार

आवधिक योजनामा जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र, उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता वृद्धि जस्ता शब्दजालले भरिभराउ अमूर्त कार्यदिशा प्रस्तुत गरिएको छ । माटो बचाउन नसके कसरी जैविक विविधता र जलवायु परिवर्तन सम्बोधन हुन्छ ? भन्नेसम्म हेक्का नगरिएका दस्तावेजले उनीहरूको यी विषयमा ज्ञानको सीमा देखाएको छ ।

यही हविगत वार्षिक नीति तथा कार्यक्रमको छ । जीवन्त माटो नै दिगो कृषि प्रणालीको मूल आधार हो भन्न समेत हिच्किचाएको यो सरकारका राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा जैविक कृषिको एउटा वाक्यांश राखेर वैतरणी तर्ने लघुताभासबाट ग्रसित छ । राष्ट्रपतिको र अर्थमन्त्रीको पट्यारलाग्दो लामो भाषणमा माटो बचाउने कुरा त परै जाओस् एक शब्दसम्म कतै परेको छैन । उल्टै, सबै दस्तावेजमा माटो मार्ने कृत्रिम रसायनलाई प्रभावकारी बनाएर माटो थप मार्ने जिद्दी प्रस्तुत गरिएको छ । यसका लागि विभिन्न शीर्षकमा बजेट छुट्याइएको छ ।

विडम्बना, बजेटले माटो मार्ने कृत्रिम रसायन खरिद गर्न मात्र नेपालीको रगत–पसिनामा उठाएको कर र यिनैलाई ऋणको भारी बोकाएर २७ अर्ब छुट्याएको छ ।

अब के ?

माटो जस्तो जीवनको मूल आधार बचाउन विवेकशील किसानले आफू सक्दो गरेकै छन् । उनीहरूलाई सघाउन यसका जिम्मेवार र प्रतिबद्ध जमातले हर सम्भव प्रयत्न गरुन् । संघीय सरकारले प्रस्तुत गरेको नीति, योजना, कार्यक्रम र बजेटले माटो बचाउन सम्भव छैन भन्ने कुराको हेक्का राख्दै यसलाई सच्याउन यसको छलफलमा रहेका सांसदहरूले पहल गरुन् ।

साथै, नीति कार्यक्रम र बजेट बनाउँदै गरेका प्रदेश र स्थानीय सरकारले जीवन्त माटोको मर्म आत्मसात् गरेर यसलाई जोगाउन नीति र कार्यक्रम बनाउने पहल गरुन् । अरू सबैले माटो मारेर समृद्धि भित्र्याउन गरिने कृषि क्षेत्रको रूपान्तरणले हामीलाई कहाँ पुर्‍याउँछ ? बहस, संवाद र दबाब सृजना गरुन् । यसले केही फरक पर्ला कि ?





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School