महिनावारीका विषयमा खुलेर कुरा गर्न थालेका छन् विद्यालयका छात्र


केही समयअघिसम्म महिनावारीको कुरा गर्दा हाँसोमा उडाउने, घरको कामलाई महिलाको जिम्मेवारी ठान्ने र आफ्ना भावना व्यक्त गर्न हिच्किचाउने किशोरहरू अहिले समानता, सम्मान र जिम्मेवारीका पक्षमा खुलेर बोल्न थालेका छन्।

ललितपुर र काठमाडौंका विभिन्न विद्यालयमा सञ्चालन भइरहेको ‘वी मेन क्लब’ले व्यावहारिक सिकाइमार्फत उनीहरूको सोच मात्र नभइ व्यवहार र पारिवारिक सम्बन्धसमेत बद्लिन थालेको छ।

किताबी ज्ञानमा सीमित नरही खेल, समूहगत छलफल, भिडियो, रोल प्ले र अनुभव आदानप्रदानमार्फत सञ्चालन हुने क्लबले किशोरहरूलाई समाजमा स्थापित विभेदपूर्ण सोचमाथि प्रश्न गर्न र समानताको व्यवहार अपनाउन प्रेरित गरिरहेको छ।  

वी मेन क्लब जुनियरका सहजकर्ता प्रजय श्रेष्ठका अनुसार सुरुमा केही विद्यालयमा केटाकेटी दुवैलाई सहभागी गराएर कार्यक्रम सञ्चालन गरिएको थियो। तर किशोरहरू आफ्ना भावना, समस्या र अनुभव खुलेर व्यक्त गर्न नसकेको अनुभवपछि उनीहरूका लागि छुट्टै सुरक्षित सिकाइ वातावरण तयार गरिएको हो। उनका अनुसार यसले बालिकालाई अलग गरेको नभइ केटाहरूलाई जिम्मेवार, संवेदनशील र समानतामूलक नागरिक बनाउने उद्देश्य राखेको हो।

क्लबका २५ वटा सेसनमा लैङ्गिक समानता, पितृसत्ता, विषाक्त पुरुषत्व, सहमति, अनलाइन हिंसा, साइबर सुरक्षा, विविध लैङ्गिक तथा यौनिक पहिचान, जलवायु न्यायलगायतका विषय व्यवहारिक अभ्यासमार्फत सिकाइन्छ।  

कार्यक्रमको प्रभाव विद्यालयमा देखिन थालेको छ। श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयकी प्रधानाध्यापक निरा श्रेष्ठका अनुसार सुरुमा कार्यक्रम नयाँ अभ्यासजस्तो लागे पनि अहिले विद्यार्थीहरूको व्यवहार, अनुशासन, पढाइप्रतिको रुचि र खेलकुदमा सहभागितामा सकारात्मक परिवर्तन देखिएको छ। विशेष गरी समस्या भएका र संकोची स्वभावका विद्यार्थीहरू खुल्न थालेका छन्।

यस विद्यालयका कक्षा ९ का विद्यार्थी लवराज पाण्डेका अनुसार समाजमा ‘घरको काम महिलाले गर्ने र बाहिरको काम पुरुषले गर्ने’ भन्ने सोच अझै बलियो छ। तर क्लबमा सहभागी भएपछि घरको काम महिला–पुरुष दुवैले बराबरी गर्नुपर्ने र केटाहरूले पनि आफ्ना भावना खुलेर व्यक्त गर्न सक्नुपर्ने बुझाइ विकास भएको छ। विदेश जाँदा वा एक्लै बस्दा पनि घरायसी कामको सीप आवश्यक हुने भएकाले छोराछोरी दुवैले सबै काम सिक्नुपर्ने उनको धारणा छ।  

कक्षा ८ का जुनिष थामीले क्लबबाट आत्मविश्वास बढेको बताउँछन्। पहिले कक्षामा खुलेर बोल्न हिच्किचाउने उनी अहिले आफ्ना विचार निर्धक्क राख्न सक्ने भएका छन्। आफूले सिकेका कुरा अन्य साथीहरूलाई पनि सुनाउँदा सिकाइ अझ बलियो भएको उनको अनुभव छ। त्यस्तै निसल राईले बालविवाह कानुनी रूपमा गलत भएको, सबै मानिससँग समान व्यवहार गर्नुपर्ने र सम्मानपूर्वक बोल्नुपर्ने कुरा यही कार्यक्रमबाट सिकेको बताए।

महिनावारीका विषयमा खुलेर कुरा गर्न थालेका छन् विद्यालयका छात्र

यस्तै, श्री महालक्ष्मी माध्यमिक विद्यालय, लुभुमा पनि यस कार्यक्रमको प्रभाव परेको देख्न सकिन्छ। प्रधानाध्यापक प्रमिला श्रेष्ठका अनुसार क्लबमा सहभागी विद्यार्थी र सहभागी नभएका विद्यार्थीबीच व्यवहारमै फरक देखिन्छ। विद्यार्थीहरूमा सरसफाइको बानी बढेको छ भने लैङ्गिक विभेद गर्ने प्रवृत्ति घट्दै गएको छ। महिनावारीलाई रोग वा लाजको विषय नभइ प्राकृतिक प्रक्रिया भनेर बुझ्न थालेका विद्यार्थीहरू अहिले यसबारे खुलेर छलफल गर्न र आवश्यक पर्दा प्याड किनेर ल्याउनसमेत सहज भएका छन्।  

यस विद्यालयका कक्षा ८ का फैजान मन्सुरीले घरको काम छोरीले मात्र गर्ने भन्ने पुरानो सोच परिवर्तन भएको बताए। अहिले उनी घरको काम सबैले बाँडेर गर्नुपर्ने र महिला, पुरुष तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक सबैलाई समान सम्मान गर्नुपर्ने विश्वास राख्छन्।  

त्यस्तै सुमित बिकका अनुसार महिनावारी कुनै फोहोर वा लाजको विषय होइन भन्ने कुरा क्लबबाट सिकेपछि उनले आफ्ना साथीहरूलाई पनि यसबारे सचेत गराउन थालेका छन्। कक्षा ८ का रेहान लामाले आवश्यक परे आफ्नी आमाका लागि आफैँ प्याड किनेर ल्याउन सक्ने आत्मविश्वास विकास भएको सुनाउँछन्। उनका अनुसार प्राकृतिक प्रक्रियालाई लुकाउनुपर्ने वा लाज मान्नुपर्ने विषयका रूपमा हेर्नु गलत हो भन्ने बुझाइ अहिले आफूमा विकास भएको छ।  

यी अनुभवहरूले क्लबले केवल कक्षाकोठामा ज्ञान दिने काम मात्र नगरी विद्यार्थीहरूको दैनिक व्यवहार, पारिवारिक सम्बन्ध र सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याइरहेको देखाउँछन्।

यस्तै सकारात्मक परिवर्तन आदर्श शौल युवक माध्यमिक विद्यालयमा पनि देखिएको छ। क्लबका फेसिलिटेटर सम्बित खड्काका अनुसार २५ वटा सेसनमा लैङ्गिक समानता, विषाक्त पुरुषत्व, नारीवाद, लैङ्गिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, साइबर सुरक्षा, अनलाइन उत्पीडन, एलजीबीटीक्यूआई अधिकार, शक्ति र विशेषाधिकारलगायत विषय व्यवहारिक रूपमा सिकाइएका छन्। उनका अनुसार विद्यार्थीहरूले सिकेका विषय घर–परिवार र साथीभाइबीच पनि लागू गर्न थालेका छन्। महिलाको सम्मान गर्ने, विभेदपूर्ण सोचको विरोध गर्ने, आफ्ना भावना व्यक्त गर्ने र अरूको भावनालाई सम्मान गर्ने व्यवहारमा उल्लेखनीय परिवर्तन देखिएको उनी बताउँछन्।  

यस विद्यालयका कक्षा १० का दिक्षान्त शर्माले क्लबमा सहभागी भएपछि ‘सेक्स’ र ‘जेन्डर’बीचको फरक स्पष्ट रूपमा बुझेको बताए। उनका अनुसार फेमिनिज्म महिलाको मात्र अधिकारका लागि नभइ महिला र पुरुष दुवैलाई समान अवसर र सम्मान दिलाउने विचार हो भन्ने बुझाइ विकास भएको छ। यसले समाजमा सुन्दै आएको धेरै भ्रम हटाउन सहयोग पुगेको उनी बताउँछन्।  

कक्षा ९ का क्यारोन ढंगोलले एलजीबीटीक्यूआई समुदायप्रति सम्मान गर्न सिकेको अनुभव सुनाए। साइबर सुरक्षाबारे पनि धेरै नयाँ कुरा सिकेको बताउँदै उनी भन्छन्, ‘सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने, अकाउन्ट ह्याक भए के गर्ने र आवश्यक परे साइबर ब्यूरोसँग कसरी सम्पर्क गर्ने भन्ने जानकारी अहिले उपयोगी भइरहेको छ।’

त्यस्तै कक्षा ८ का सुजित चौधरीले पहिले एलजीबीटीक्यूआई समुदायका व्यक्तिलाई नबुझेर जिस्काउने गरेको स्वीकार गर्छन्। तर क्लबका कक्षापछि उनीहरू पनि समान अधिकार भएका मानिस हुन् भन्ने बुझाइ विकास भएको छ। महिनावारीलाई पनि सामान्य जैविक प्रक्रिया भनेर बुझ्न थालेपछि यस विषयमा रहेको संकोच हटेको उनी बताउँछन्।

विद्यार्थीहरूको परिवर्तनलाई छात्राहरूले पनि महसुस गरेका छन्। कक्षा ८ की प्रिन्सो भण्डारीका अनुसार क्लबमा सहभागी भएका साथीहरू अहिले कक्षामा खुलेर बोल्ने, सबैलाई समान व्यवहार गर्ने र अरूलाई सहयोग गर्न तत्पर देखिन्छन्। यसले कक्षाको वातावरण नै सकारात्मक बनेको उनी बताउँछिन्। 

त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयमा पनि क्लबले विद्यार्थीहरूमा आत्मविश्वास र सामाजिक चेतना बढाएको छ। प्रधानाध्यापक हरिप्रसाद खनालका अनुसार यो कार्यक्रमले पाठ्यपुस्तकमा सीमित सिकाइभन्दा फरक अनुभव दिएको छ। विद्यार्थीहरू विद्यालय समय सकिएपछि र बिदाको दिनमा समेत उत्साहपूर्वक कार्यक्रममा सहभागी हुने गरेको उनले बताए। व्यावहारिक अभ्यासमार्फत सिकेका विषयले उनीहरूको भविष्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास उनको छ।

कक्षा ९ का रिवाज अधिकारीका लागि क्लब समाजलाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर बनेको छ। उनका अनुसार पहिले समाजमा भइरहेका विभेद र असमानतालाई सामान्य रूपमा लिइन्थ्यो, तर अहिले त्यसको कारण र समाधानबारे सोच्न थालेका छन्। समाजले केटामाथि पनि विभिन्न प्रकारका अपेक्षा र दबाब सिर्जना गर्ने गरेको बुझ्दै उनले अरूलाई सम्मान गर्ने र समान व्यवहार गर्ने संस्कार विकास गरेको बताए। 

महिनावारीका विषयमा खुलेर कुरा गर्न थालेका छन् विद्यालयका छात्र

कक्षा ७ का रामबहादुर अधिकारीले क्लबले आफ्नो आत्मविश्वास बढाएको अनुभव सुनाउँछन्। पहिले आफ्ना कुरा खुलाएर भन्न नसक्ने उनी अहिले कक्षामा सक्रिय रूपमा सहभागी हुने गरेका छन्। घरको काम महिलाले मात्रै गर्ने भन्ने पुरानो सोच परिवर्तन भएको र महिला–पुरुष दुवैले जिम्मेवारी बाँडेर काम गर्नुपर्ने बुझाइ विकास भएको उनी बताउँछन्।

त्यस्तै अंशद चौधरीले ‘समानता’ र ‘समता’ बीचको फरक बुझ्न पाएको बताए। सबैलाई एउटै सुविधा दिनु मात्र समानता नभई आवश्यकताअनुसार अवसर र सहयोग उपलब्ध गराउनु नै समता भएको उनले सिकेका छन्। अहिले साथीहरूले ‘यो केटाको काम, यो केटीको काम’ भन्ने विभेदपूर्ण धारणा व्यक्त गर्दा त्यसको विरोध गर्दै सही जानकारी दिने प्रयास गर्ने गरेको उनी सुनाउँछन्।

चारवटै विद्यालयका अनुभवले एउटा साझा सन्देश दिएका छन्। किशोर केटाहरूलाई समानता, सम्मान र जिम्मेवारीबारे व्यावहारिक रूपमा सिकाउने अवसर दिँदा उनीहरूमा सकारात्मक परिवर्तन सम्भव हुन्छ। यो परिवर्तन केवल कक्षाकोठामा सीमित छैन; घर–परिवार, साथीभाइ र समुदायसम्म विस्तार हुन थालेको छ। महिनावारीबारे खुला रूपमा कुरा गर्ने, घरको काममा सहभागी हुने, महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सम्मानजनक व्यवहार गर्ने, आफ्ना भावना अभिव्यक्त गर्न सक्ने र विभेदपूर्ण सोचको विरोध गर्ने व्यवहार यसका उदाहरण हुन्।

विद्यालयहरूले पनि यो कार्यक्रमले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहभागिता र सामाजिक उत्तरदायित्वमा सुधार ल्याएको अनुभव गरेका छन्। विद्यार्थीहरू केवल परीक्षाका लागि होइन, जिम्मेवार नागरिक बन्ने दिशामा अघि बढेको उनीहरूको निष्कर्ष छ।

समाजमा लैङ्गिक समानता र सम्मानको संस्कार विकास गर्न बालिका मात्र होइन, बालकहरूलाई पनि सही उमेरदेखि सही शिक्षा आवश्यक हुन्छ भन्ने सन्देश ‘वी मेन क्लब’ले व्यवहारमै प्रमाणित गरिरहेको छ। चार विद्यालयका यी अनुभवहरूले देखाएको परिवर्तनले यस्ता कार्यक्रम विद्यालय तहमा अझ विस्तार गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा उजागर गरेको छ।

प्रकाशित: १९ असार २०८३ १२:४९ शुक्रबार





Source link

Leave a Comment