News Summary
Generated by OK AI. Editorially reviewed.
- जलवायु परिवर्तन र रासायनिक विषादीको अत्यधिक प्रयोगले नेपालमा माटोको गुणस्तर खस्कँदै गएको छ ।
- नेपाल भित्रिएका ३० भन्दा बढी प्रजातिका मिचाहा वनस्पतिले कृषि क्षेत्रमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्याएको आकलन छ ।
- सल्यानको सामुदायिक वनमा १४ हेक्टर जमीनको वनमारा फाँडेर ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा जडीबुटी खेती शुरू गरिएको छ ।
प्रत्येक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा पृथ्वीको भविष्यप्रति विश्व समुदायलाई सचेत गराउने अवसर प्रदान गर्दछ ।
आज विश्वले सामना गरिरहेका वातावरणीय चुनौतीहरूमध्ये जलवायु परिवर्तन, रासायनिक विषादीको बढ्दो प्रयोग, माटोको गुणस्तरमा आएको ह्रास तथा मिचाहा वनस्पतिको फैलावट प्रमुख समस्याका रूपमा देखिएका छन् ।
यी समस्याहरू अलग–अलग जस्तो देखिए पनि वास्तवमा एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । वातावरण दिवसले प्रत्येक वर्ष नारा फेरिरहेको छ, तर समस्या अरू बल्झिँदो छ ।
नेपाल कृषिप्रधान देश भए पनि पछिल्ला दशकहरूमा कृषि प्रणालीमा धेरै परिवर्तन आएका छन् । उत्पादन वृद्धि गर्ने उद्देश्यले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग बढेको छ । व्यावसायिक बन्ने बाध्यता, रहर वा उक्साहटमा हामी जानी–नजानी बहुराष्ट्रिय कम्पनीहरूको चङ्गुलमा फस्यौँ या हामीलाई नराम्ररी फसाइयो ।
अर्कोतर्फ जलवायु परिवर्तनका कारण मौसमी चक्र असन्तुलित बन्दै गएको छ । यी दुवै कारणले माटोको स्वास्थ्यमा नकारात्मक असर परेको छ । कमजोर हुँदै गएको माटो र बदलिँदो वातावरणीय अवस्थाले मिचाहा वनस्पतिहरूलाई फैलिने अवसर प्रदान गरेको छ । फलस्वरूप कृषि उत्पादन, जैविक विविधता तथा मानव स्वास्थ्यसमेत प्रत्यक्ष प्रभावित हुन थालेका छन् ।
जलवायु परिवर्तन र कृषि प्रणाली
जलवायु परिवर्तन वर्तमानको सबैभन्दा ठूलो वातावरणीय सङ्कट हो । पृथ्वीको तापक्रम वृद्धि, अनियमित वर्षा, लामो खडेरी, आकस्मिक बाढी तथा अत्यधिक गर्मीका लहरहरू यसका प्रमुख प्रभाव हुन् । नेपालमा पनि वर्षाको समय र मात्रा अनिश्चित बन्दै गएको छ । कतिपय क्षेत्रमा अत्यधिक वर्षा हुँदा भूक्षय र पहिरो बढेको छ भने अन्य क्षेत्रमा खडेरीले खेती प्रणालीलाई असर पुर्याएको छ । वातावरण बिगार्न ठूलो हिस्सा नबोकेका नेपालजस्ता देश प्रभाव वा असरका हिसाबले भने अगाडि छन्, यो विडम्बना हो ।
जलवायु परिवर्तनले कीरा तथा रोगहरूको प्रकृतिमा समेत परिवर्तन ल्याएको छ । पहिले सीमित क्षेत्रमा मात्र देखिने कीरा र रोगहरू नयाँ क्षेत्रमा फैलिन थालेका छन् । कतिपय अवस्थामा रोगकिरा हाम्रो अनुसन्धान र विज्ञतालाई पछि पार्दै अघि–अघि दौडिरहेका छन् । यसको परिणामस्वरूप किसानहरू विषादी प्रयोगतर्फ झन् बढी निर्भर हुन थालेका छन् । यसरी जलवायु परिवर्तन र विषादीको प्रयोगबीच एउटा चक्र निर्माण भएको छ, जसले वातावरणीय समस्या झन् जटिल बनाइरहेको छ ।
विषादीको बढ्दो प्रयोग : आवश्यकता कि निर्भरता ?
हरित क्रान्तिपछि कृषि उत्पादन बढाउन रासायनिक विषादीको प्रयोग विश्वभर तीव्र रूपमा विस्तार भयो । नेपालमा पनि तरकारी, फलफूल तथा नगदे बालीमा विभिन्न प्रकारका कीटनाशक, ढुसीनाशक र झारनाशक विषादी प्रयोग गरिन्छ । उचित मात्रामा र वैज्ञानिक सिफारिसअनुसार प्रयोग गरिएका विषादीले केही हदसम्म बाली संरक्षणमा सहयोग पुर्याउँछन् । तर अनियन्त्रित र अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ ।
जलवायु परिवर्तनका कारण कालो वनमारा, जलकुम्भी र पार्थेनियमजस्ता मिचाहा झारको प्रकोप बढ्दै गएको छ । मर्दै गरेको माटो जोगाउन र मिचाहा वनस्पतिको व्यवस्थापन गर्न हामीले के गर्नुपर्ला ?
धेरै किसानहरूले रासायनिक विषादीको मात्रा, समय र प्रयोग विधिबारे पर्याप्त जानकारी नपाउँदा र लोभको भकारी नभरिँदा आवश्यकताभन्दा बढी प्रयोग गर्ने गरेका छन् । कतिपय अवस्थामा एउटै बालीमा पटक–पटक विषादी छर्किने चलनले माटो, पानी र खाद्य पदार्थमा रासायनिक अवशेष बढाइरहेको छ ।
दीर्घ रोगका बिरामी दिन दुई गुणा, रात चौगुणा बढ्दै छन् । पालिका र वडाहरूमा निको नहुने रोगका लागि राहत खोज्नेहरूको भीड बढ्दो छ । गाईवस्तु मोबाइलमा मात्रै देखिन थालेका छन् । खेतबारीमा हालिने कम्पोस्ट मल कथा बन्दै छन् । रासायनिक विषादी र मलको प्रयोग वास्तवमा तत्काल राहत जस्तै देखिए पनि दीर्घकालीन सङ्कट बन्दै छ ।
विषादीले माटोको गुणस्तरमा पार्ने असर
माटो केवल धुलो वा खनिज पदार्थको थुप्रो मात्र होइन; यो करोडौँ सूक्ष्मजीव, जैविक पदार्थ, खनिज तथा पोषक तत्त्वले बनेको जीवित प्रणाली हो । स्वस्थ माटोले मात्र स्वस्थ बाली उत्पादन गर्न सक्छ । तर विषादीको अत्यधिक प्रयोगले माटोको स्वास्थ्यमा विभिन्न प्रकारका असर पुर्याउँछ ।
१. लाभदायक सूक्ष्मजीव नष्ट हुनु : माटोमा रहेका ब्याक्टेरिया, फङ्गस, एक्टिनोमाइसेट्स तथा अन्य सूक्ष्मजीवहरूले जैविक पदार्थ विघटन गर्ने, नाइट्रोजन स्थिरीकरण गर्ने तथा बोटबिरुवालाई पोषक तत्त्व उपलब्ध गराउने काम गर्छन् । अत्यधिक विषादी प्रयोगले यस्ता लाभदायक जीवहरूको सङ्ख्या घटाउँछ । परिणामस्वरूप माटोको जैविक सक्रियता कमजोर बन्छ ।
२. जैविक पदार्थमा कमी : माटोको उर्वराशक्तिको मुख्य आधार जैविक पदार्थ हो । विषादीले जैविक पदार्थ विघटन गर्ने प्राकृतिक प्रक्रियामा असर पुर्याउँछ । यसले माटोको कार्बन मात्रा घटाउन सक्छ, जसका कारण माटोको पानी धारण क्षमता र संरचना कमजोर हुन्छ ।
३. माटोको रासायनिक सन्तुलन बिग्रिनु : लामो समयसम्म विषादी प्रयोग गर्दा माटोको पीएच, सूक्ष्म पोषक तत्त्व तथा अन्य रासायनिक गुणहरूमा परिवर्तन आउन सक्छ । कतिपय विषादीहरू माटोमा लामो समयसम्म रहिरहने भएकाले तिनको अवशेषले माटोलाई प्रदूषित बनाउँछ ।
४. गड्यौला तथा अन्य जीवको कमी : गड्यौलालाई माटोको प्राकृतिक इन्जिनियर मानिन्छ । यसले माटो खुकुलो बनाउने, पानी सोस्ने क्षमता बढाउने तथा पोषक तत्त्वको उपलब्धता सुधार्ने काम गर्छ । विषादीको अत्यधिक प्रयोगले गड्यौला लगायत माटोमा पाइने अन्य जीवहरूको सङ्ख्या घट्दै गएको छ ।
खस्कँदो माटोको गुणस्तर र कृषि उत्पादन माटोको स्वास्थ्य बिग्रँदै जाँदा उत्पादन बढाउन अझ बढी रासायनिक मल र विषादी प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यसले उत्पादन लागत बढाउँछ तर दीर्घकालीन रूपमा उत्पादन क्षमता घट्दै जान्छ । स्वस्थ माटोले न्यून लगानीमा पनि राम्रो उत्पादन दिन सक्छ, तर कमजोर माटोले धेरै स्रोत खर्च गर्दा पनि अपेक्षित उत्पादन दिन सक्दैन ।
नेपालका धेरै कृषि क्षेत्रहरूमा माटोमा जैविक पदार्थको मात्रा क्रमशः घट्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् । यसको प्रत्यक्ष असर खाद्य सुरक्षा, किसानको आय तथा ग्रामीण अर्थतन्त्रमा परेको छ ।
जलवायु परिवर्तन र मिचाहा वनस्पतिको प्रकोप
मिचाहा वनस्पति भनेको आफ्नो प्राकृतिक क्षेत्रभन्दा बाहिर गएर तीव्र रूपमा फैलिने र स्थानीय वनस्पति तथा पारिस्थितिक प्रणालीलाई असर पुर्याउने प्रजाति हुन् । हालसम्म नेपालमा तीस प्रजातिका मिचाहा वनस्पतिहरू भित्रिएको विभिन्न अध्ययनले देखाउँछन् । तीमध्ये कालो तथा सेतो वनमारा, कनिके वा पाती झार (पार्थेनियम), माइकानिया (लहरे वनमारा), वन फाँडा वा काँडे वनमारा (लान्टाना), जलकुम्भी आदि प्रमुख हुन् । यी वनस्पतिहरूले स्थानीय वनस्पति, चरन क्षेत्र, कृषि भूमि तथा वन्यजन्तुको वासस्थानमा नकारात्मक असर पुर्याउँछन् ।
जलवायु परिवर्तनले मिचाहा वनस्पतिहरूको फैलावटलाई थप सहज बनाएको छ । तापक्रम बढ्दा, वर्षा प्रणाली परिवर्तन हुँदा तथा प्राकृतिक पारिस्थितिक प्रणाली कमजोर बन्दा यस्ता वनस्पतिहरूलाई नयाँ क्षेत्रमा फैलिन सजिलो हुन्छ । अत्यधिक वर्षा र बाढीले मिचाहा वनस्पतिका बिउहरू टाढासम्म पुर्याउँछन् । त्यसैगरी खडेरी र अन्य वातावरणीय असरका कारण स्थानीय वनस्पति कमजोर हुँदा मिचाहा प्रजातिहरूले ती क्षेत्रहरू छिटो ओगट्न सक्छन् ।
विषादी र मिचाहा वनस्पतिको सम्बन्ध
झार नियन्त्रणका लागि प्रयोग गरिने झारनाशक विषादीले धेरैजसो अवस्थामा सबै प्रकारका झारहरूलाई समान रूपमा नियन्त्रण गर्न सक्दैन । केही प्रतिरोधी प्रजातिहरू बाँकी रहन्छन् र बिस्तारै प्रमुख वनस्पतिका रूपमा फैलिन्छन् । विश्वका धेरै देशहरूमा झारनाशक प्रतिरोधी झारहरू ठूलो समस्याका रूपमा देखा परिरहेका छन् ।
अर्कोतर्फ, विषादीले स्थानीय वनस्पति र सूक्ष्मजीव समुदायलाई कमजोर बनाउँदा मिचाहा वनस्पतिहरूलाई फैलिन थप अवसर मिल्छ । यसरी विषादीको अत्यधिक प्रयोगले अप्रत्यक्ष रूपमा मिचाहा वनस्पतिको प्रकोप बढाउन योगदान पुर्याउन सक्छ ।
जैविक विविधता र मानव स्वास्थ्यमा असर
मिचाहा वनस्पति र विषादी दुवैले जैविक विविधतामा गम्भीर असर पार्छन् । कालो वनमाराको प्रकोपले सल्यानमा हराउँदै गइरहेको सुगन्धवाल (समायो) एउटा उदाहरण हुन सक्छ । स्थानीय वनस्पति विस्थापित हुँदा त्यसमा आश्रित चराचुरुङ्गी, कीरा तथा वन्यजन्तुहरू पनि प्रभावित हुन्छन् । परागसेचन गर्ने मौरी तथा अन्य उपयोगी कीराहरूको सङ्ख्या घट्दा कृषि उत्पादनमा समेत असर पर्छ । विस्तृत अध्ययन नभए पनि कृषि क्षेत्रका मिचाहा झारले कृषि उत्पादनमा मात्रै वार्षिक तीन अर्बभन्दा बढी क्षतिको आकलन छ । जैविक विविधता क्षेत्रको क्षति अध्ययन प्राथमिकतामा परेको छैन सायद ।
मानव स्वास्थ्यका दृष्टिले पनि विषादीको अत्यधिक प्रयोग चिन्ताजनक विषय हो । विषादीको प्रत्यक्ष सम्पर्क, दूषित खाद्य पदार्थको सेवन तथा वातावरणीय प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन् र भइरहेका पनि छन् । कनिके झार वा पाती झार भनिने पार्थेनियमजस्ता मिचाहा वनस्पतिले छालामा एलर्जी, श्वासप्रश्वास समस्या तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छन् ।
यदि आजैदेखि माटो स्वास्थ्यको संरक्षण, जिम्मेवार विषादी प्रयोग, जैविक खेतीको प्रवर्द्धन तथा मिचाहा वनस्पति व्यवस्थापनमा ध्यान दिन सकिएन भने भविष्यका पुस्ताले अझ गम्भीर वातावरणीय सङ्कटको सामना गर्नुपर्नेछ ।
अपनाउन सकिने समाधानका सम्भावित उपाय यी समस्याहरूको समाधानका लागि बहुआयामिक प्रयास आवश्यक छ:
१. एकीकृत कीरा व्यवस्थापन (आईपीएम) अपनाउने : जैविक तथा यान्त्रिक विधिलाई प्राथमिकता दिने । विषादी अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने । सुरक्षित भएर सिफारिस गरिएको मात्रा मात्र प्रयोग गर्ने ।
२. माटो स्वास्थ्य सुधार गर्ने : कम्पोस्ट, गोठेमल तथा जैविक मलको प्रयोग बढाउने । हरियो मल र आवरण बाली प्रयोग गर्ने । कोसेबालीलाई प्राथमिकता दिएर बाली चक्र प्रणाली अपनाउने ।
३. मिचाहा वनस्पति नियन्त्रण गर्ने : प्रारम्भिक अवस्थामै पहिचान र व्यवस्थापन गर्ने । सामुदायिक सहभागिता बढाउने । यथासम्भव जैविक नियन्त्रण प्रविधिको प्रयोग गर्ने ।
४. जलवायु अनुकूल कृषि प्रवर्द्धन गर्ने : कृषि–वन प्रणाली विस्तार गर्ने/गराउने । वर्षाको पानी सङ्कलन र संरक्षण गर्ने । स्थानीय तथा अनुकूलित जातहरूको संरक्षण गर्ने ।
५. जनचेतना र अनुसन्धान बढाउने : किसानलाई सुरक्षित विषादी प्रयोगबारे फिल्डमै पुगेर तालिम दिने । माटो स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्ने । मिचाहा वनस्पति व्यवस्थापनमा अनुसन्धान विस्तार गर्ने ।
निष्कर्ष
विश्व वातावरण दिवस केवल उत्सव मनाउने दिन होइन, पृथ्वीप्रति हाम्रो दायित्व स्मरण गर्ने अवसर पनि हो । र, यो दिनलाई अब माटोलाई माया गर्ने दिनको रूपमा पनि सम्झिइनुपर्छ । जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोग, माटोको गुणस्तरमा आएको ह्रास तथा मिचाहा वनस्पतिको फैलावट आजका प्रमुख वातावरणीय चुनौतीहरू हुन् । यी समस्याहरूले कृषि उत्पादन, खाद्य सुरक्षा, जैविक विविधता तथा मानव स्वास्थ्यलाई एकैसाथ नराम्ररी प्रभावित गरिरहेका छन् ।
यदि आजैदेखि माटो स्वास्थ्यको संरक्षण, जिम्मेवार विषादी प्रयोग, जैविक खेतीको प्रवर्द्धन तथा मिचाहा वनस्पति व्यवस्थापनमा ध्यान दिन सकिएन भने भविष्यका पुस्ताले अझ गम्भीर वातावरणीय सङ्कटको सामना गर्नुपर्नेछ । त्यसैले ‘स्वस्थ माटो, स्वच्छ वातावरण र समृद्ध जैविक विविधता’ लाई विकासको आधार मान्दै दिगो र प्रकृतिमैत्री जीवनशैली अपनाउनु आजको आवश्यकता हो । गोष्ठी–सेमिनार कम र विज्ञले किसानका बारी, घर–आँगन टेक्नु आजको समय र किसानको माग पनि हो ।

रासायनिक विषादीलाई पूर्ण रूपमा एकैपटक विस्थापन गर्न नसकिए पनि जैविक विषादी, वनस्पतिजन्य विषादी, जैविक नियन्त्रण, आईपीएम तथा स्वस्थ माटो व्यवस्थापनको संयोजन (सम्बन्धित निकायबाट तालिम धेरै भएका तर कमै व्यवहारमा उतारिएको विषय) बाट यसको प्रयोग उल्लेखनीय रूपमा घटाउन सकिन्छ । यसले उत्पादन मात्र होइन, माटोको स्वास्थ्य, वातावरणीय सन्तुलन र मानव स्वास्थ्यको समेत संरक्षण गर्छ ।
सम्बन्धित निकायहरू र आम किसान अब रासायनिक विषादीको विकल्प खोज्दै मर्दै गरेको माटो जोगाउन लागौँ । सल्यानका कतिपय सामुदायिक वनले जस्तै जडीबुटी खेती तथा फलफूलले मिचाहा वनस्पतिको व्यवस्थापन गर्न (सल्यानमा सामुदायिक वनमा १४ हेक्टर जमिनमा वनमारा फाँडेर पाँच हेक्टर बढी क्षेत्रफलमा जडीबुटी खेती गरिएको छ), जैविक विविधताको रक्षा गर्दै हाम्रा रैथाने बालीको खोजी, संरक्षण तथा प्रवर्द्धन गर्न लागियो भने वास्तविक वातावरण दिवस मनाएको सार्थकता हुन्थ्यो होला । विश्व वातावरण दिवसले यही सन्देशलाई व्यवहारमा उतार्ने प्रेरणा प्रदान गरोस् ।
सबैमा शुभकामना !
