मानव सभ्यताको यात्रामा काम, सङ्घर्ष र जीविकोपार्जनसँगै मानिसले क्रमशः ऐसआराम र मनोरञ्जनको पनि खोजी गर्न थाल्यो। समयसँगै मनोरञ्जन विलास मात्र रहेन, यो जीवनशैली, अर्थतन्त्रको मेरुदण्ड र शहरी परिवेशको पहिचानसमेत बन्यो। आज विश्वका धेरै शहरहरू मनोरञ्जनकै बलमा उभिएका छन्, जहाँ रमाइलो केवल व्यक्तिगत आनन्द होइन, राष्ट्रिय आम्दानीको स्रोत बनेको छ।
त्यही सन्दर्भमा, विश्वकै सबैभन्दा चर्चित मनोरञ्जन शहरको नाम लिँदा संयुक्त राज्य अमेरिकाको मोजावे मरुभूमिको बीचमा फुलेको एक रङ्गीन स्वप्न शहर लस भेगासको नाम अग्रपङ्क्तिमा आउँछ। २०२२ को जुलाई ३ का दिन मैले पनि यस शहरमा पाइला टेक्ने अवसर पाएको थिएँ। यस अवसरको चाँजोपाँजो लिला भाइ र कविता बुहारीले मिलाएका थिए।
चारैतिर उजाड मरुभूमिको बीचमा उभिएको यो शहर अहिले विश्वभरिका मानिसलाई तान्ने आकर्षणको केन्द्र भएको छ। चम्किला बत्ती, सङ्गीत, क्यासिनो र अनिँदा रातहरूको शहरले मरुभूमिको नीरसतामाथि कल्पनाको रङ पोतेर मनोरञ्जनलाई उद्योगको रूपमा विकास गरेको छ।
सनफ्रान्सिस्कोदेखि लस भेगाससम्म
हामी जुलाई ३, २०२२ को बिहानै सनफ्रान्सिस्कोबाट लस भेगासतर्फ निस्किएका थियौँ। गाडी लिला भाइले चलाएका थिए र गाडीभित्र हामी पाँच जना थियौँ– म, लिला भाइ, कविता बुहारी, रवि भाइ र लिला भाइको सानो छोरो। सनफ्रान्सिस्कोको चिसो हावालाई छोड्दै हामी क्यालिफोर्नियाको खुला राजमार्ग हुँदै अघि बढ्यौँ। बाटोभरि कहिले भजन, कहिले सदाबहार नेपाली र हिन्दी गीतहरू सुन्दै, अनि कहिले गीत बन्द गरेर विगतदेखि वर्तमानसम्मका कहानीमा गफिँदै, हाँस्दै यात्रा अघि बढिरह्यो। बीच-बीचमा गाडी रोकेर बाटोमै केही खाँदै, चिया-कफी पिउँदै गर्दा यात्रा झन् रमाइलो बनेको थियो।
लिभरमोर, ट्रेसी, स्टकटन हुँदै सेन्ट्रल भ्याली पार गर्दा बाहिर देखिएका हरिया खेत, खुला आकाश र टाढासम्म फैलिएका पहाडहरूले हाम्रो मन पनि उस्तै खुला बनाइरहेका थिए। फराकिलो सडक र बदलिँदो दृश्यले समय बितेको पत्तै भएन। प्रत्येक फरक ठाउँका दृश्य लिला भाइको वर्णनले यात्रामा उत्साह थप्दै गएको थियो।
बेकरस्फिल्ड आसपास पुगेपछि हरियाली बिस्तारै हराउँदै गयो र मोहाभे मरुभूमितर्फको यात्रा सुरु भयो। टाढासम्म फैलिएका सुक्खा पहाड, बालुवाले भरिएका मैदान र टाढा-टाढासम्म खुला आकाश देखिन्थ्यो। बार्स्टो र बेकरजस्ता साना मरुभूमि बस्ती पार गरेपछि साँझपख नेभाडा प्रवेश गरी उज्यालो बत्तीहरूको चमकसहितको शहर लस भेगास पुगियो।
मरुभूमिमा उभिएको शहर
सन् १८२९ मा राफेल रिभेराले लस भेगास नाम दिएको यो स्थानको इतिहास रोचक छ। सुरुमा सानो बस्ती मात्र रहेको यो स्थान सन् १९३० मा अमेरिकाका तत्कालीन राष्ट्रपति हर्बर्ट हुभरले बोल्डर ड्याम (आजको हुभर ड्याम) निर्माणसम्बन्धी विधेयकमा हस्ताक्षर गरेपछि यस ठाउँको विकास सुरु भएको हो।
कोलोराडो नदीमा बनेको यो बाँध आज पनि विश्वमा सिभिल इन्जिनियरिङको अनुपम उदाहरणका रूपमा चिनिन्छ। प्राविधिक रूपमा अनुपम नमुनासँगै यो बाँध एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पनि विकास भएको छ।
बाँध निर्माणमा खटिएका हजारौँ मजदुरहरूको थकान मेट्न र उनीहरूलाई मनोरञ्जन दिन खोलिएको सानो क्यासिनो नै आजको लस भेगासको बीउ बन्यो। क्रमशः सडक सञ्जाल विस्तार हुँदै गयो। पूर्वाधार थपिँदै गयो र मरुभूमिको त्यो सानो बस्ती बिस्तारै विश्वकै रात्रिकालीन जीवनको राजधानीमा रूपान्तरण भयो।
विलास र उज्यालोको साम्राज्य
आज लस भेगास विश्वकै सबैभन्दा महँगा र विलासी शहरहरूमध्ये एक हो। अमेरिकाभित्रका छिमेकी राज्यहरूदेखि विश्वका विभिन्न कुनाकाप्चाबाट क्यासिनो खेल्न, रमाइलो गर्न र रात्रिकालीन जीवनको स्वाद चाख्न लाखौँ मानिस यहाँ आइपुग्दा रहेछन्। झन्डै सात लाख मात्र जनसङ्ख्या भएको यस शहरमा सन् २०२५ मा भ्रमण गर्ने पर्यटकको सङ्ख्या एकै वर्षमा ४ करोड हाराहारी रहेको थियो भन्ने तथ्य आफैँमा चकित पार्ने खालको छ।
रात पर्नासाथ हजारौँ बत्तीले लस भेगासलाई विश्वको उज्यालो शहर बनाउँदो रहेछ। विश्वका ठूला २० होटलमध्ये आधा यही शहरमा छन्। अझ रोचक कुरा के रहेछ भने यहाँ एक सय पचासभन्दा बढी क्यासिनोहरू सञ्चालनमा रहेका रहेछन्; जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम जोडिएका होटलदेखि लिएर विश्वप्रसिद्ध लक्जरी होटल र सामान्य पर्यटकका लागि उपयुक्त आवाससम्मका होटेलका झन्डै दुई लाख कोठाहरू दिनरात पाहुनाको सेवामा व्यस्त रहेछन्। अझ क्यासिनोप्रेमीहरूका लागि यो शहर धार्मिक मानिसहरूको कुनै तीर्थस्थलभन्दा कम रहेनछ।
स्ट्रीपमा हिँड्दा देखिएको संसार
“ह्वाट ह्यापन्स हियर, वन्लि ह्यापन्स हियर” – सन् २०२० देखि प्रयोगमा आएको यो नारा लस भेगासका लागि केवल प्रचारको वाक्य मात्र होइन, अहिले जीवनशैलीको परिभाषा बनेको अनुभूति भयो। साँझ ढल्कँदै जाँदा शहर ब्युँझिन थाल्दो रहेछ। रात जति गहिरिँदै जान्छ, शहर त्यति नै उन्मादपूर्ण, उत्ताउलो र जीवित हुँदै जाँदो रहेछ।
होटलैपिच्छे क्यासिनो, क्यासिनोपिच्छे मानिसहरूको लर्को। कोही क्यासिनोको दाउमा झुलिरहेका, कोही जितको खुसीमा रमाइरहेका, कोही हारको पीडामा मलिन अनुहार लगाएर जितको प्रतीक्षामा देखिन्थे।
क्यासिनोका लबीहरूमा चुरोटको धुवाँ, मदिराको गन्ध र सङ्गीतको आवाज मिसिएर एक प्रकारको सम्मोहक वातावरण सिर्जना भएको थियो। बाहिर झन् ठूलो भिड, चम्किला बत्ती र ठूला स्क्रिनको उज्यालोमा स्ट्रीप सडकमा हिँडिरहेका मानिसहरूको थामिनसक्नुको लर्को थियो। स्ट्रीपमा हिँड्दा यस्तो अनुभूति भयो कि संसारका सबै रङ यहीँ मिसिएका छन्।
नवयुवायुवतीहरू प्रेम साटिरहेका, युवा दम्पतीहरू स्ट्रोलरमा सुतिरहेका बालबच्चाहरूसहित रमाइरहेका, उमेर ढल्केका जोडीहरू एकअर्कालाई अँगालो हालेर हिँडिरहेका भेटिन्थे। हरेक उमेर, हरेक रुचि, हरेक मनोविज्ञानका मानिसहरू आ-आफ्नै तरिकाले लस भेगासको स्वाद लिइरहेका थिए। मदिरा, गाँजाको नशा र सङ्गीतको तालमा रमाएका मानिसहरूको घुइँचो अस्वाभाविक होइन, यहाँको रात्रिकालीन जीवनको पर्याय नै बनेको रहेछ।
झन्डै सात किलोमिटर लामो स्ट्रीपको दायाँ-बायाँ विश्वप्रसिद्ध क्यासिनो, क्लब र मनोरञ्जन स्थलहरू रहेछन्। बेलाजियोको आइकोनिक फोहरा, विशाल फेरिस ह्वील, अग्ला स्थानमा रहेका रोलर कोस्टर र नियमित रूपमा हुने विश्वप्रसिद्ध कलाकारहरूको कन्सर्टले शहरलाई निरन्तर ऊर्जावान् बनाइरहेका थिए।
रातमा उठ्ने र दिनमा सुत्ने शहर
यो शहर रातको मात्रै शहर रहेछ। बिहान उज्यालो हुँदै जाँदा लस भेगास सुस्ताउँथ्यो। राति देखिएको चमक, कोलाहल र उन्माद दिनमा फिक्का र उराठलाग्दो देखिन्थ्यो। दिन र रातको लस भेगासबीच आकाश-पातालको अन्तर देखिँदो रहेछ। दिनभरि शहर निदाउँथ्यो, मानौँ रातको तयारीमा ऊ ऊर्जा सञ्चित गरिरहेको छ।
त्यही दृश्यले मलाई बाल्यकालमा आमा-हजुरआमाले सुनाएका राति जाग्ने र दिनमा निदाउने भूतका कथाहरू सम्झायो। मलाई मनमनै भन्न मन लाग्यो, ‘यो त भूतको शहर रहेछ।’ तर यहाँको भूत डरलाग्दो होइन, यो मनोरञ्जनको भूत हो, जसले मानिसलाई रातभर जाग्राम राखेर संसार बिर्साइदिन्छ।
स्वाद र स्वतन्त्रता
लस भेगास विश्वभरिका मानिस आउने शहर भएकाले यहाँ खानाको स्वादमा पनि संसार नै भेटिने रहेछ। चिनियाँ, इटालियन, जापानी, थाई, टर्किस, स्पेनिस जुनसुकै स्वाद खोजे पनि यहाँ पाइन्थ्यो। घण्टौँ लाइन बसेर प्रसिद्ध बफे, लन्च-डिनर र फाइन डाइनिङको स्वाद लिन मानिसहरू आतुर देखिन्थे।
यहाँ देखिने केही दृश्यहरू अरू शहरका लागि असामान्य भए पनि लस भेगासका लागि सामान्य रहेछन्। निर्वस्त्र शरीरलाई क्यानभासझैँ बनाएर विभिन्न रङ पोतेर फोटो खिच्न उभिएका नग्न युवतीहरूले स्वतन्त्र समाजको सङ्केत दिएका हुन् कि जस्तो लाग्थ्यो। त्यो दृश्य उत्तेजनाभन्दा बढी व्यक्तिगत स्वतन्त्रताको निर्बाध अभिव्यक्ति थियो जस्तो लाग्थ्यो। हुलमा मिसिएर हामी अगाडि बढ्यौँ। स्ट्रीपको दायाँ-बायाँ सङ्गीतको तालमा नाचिरहेका युवा तथा मदिरा र गाँजाको नशामा रमाएका वयस्कहरू पनि प्रशस्त देखिए। यहाँ कसैलाई कसैले प्रश्न गर्दैनथ्यो।
लस भेगासले सबैलाई आफ्नै ढङ्गले बाँच्न छुट दिएको जस्तो लाग्थ्यो। नेभाडा राज्य अमेरिकाको एकमात्र राज्य हो, जहाँ निश्चित काउन्टीहरूमा लाइसेन्सप्राप्त यौन व्यवसायले कानुनी मान्यता पाएको छ। त्यसैले त क्यासिनोको जितको उन्माद होस् या हारको पीडा, रमाइलोको खोजी होस् या व्यक्तिगत यौन चाहनाको पूर्ति, त्यसका लागि मानिसहरू यहाँ धाउने गर्दा रहेछन्।
लस भेगासको दुईदिने बसाइको अनुभूति
मेरो दुई दिनको लस भेगास बसाइले शहरका सबै पाटा अनुभूत गर्न त सकेन। तर जे देखेँ, जे महसुस गरेँ, त्यसले मनमा गहिरो छाप छोड्यो। मरुभूमिको छातीमा उभिएको यो शहरले मलाई एउटा गहिरो सन्देश के दियो भने जब सपना र भावना (ड्रिम र इमोसन) एकअर्कामा घुलमिल हुन्छन्, तब उजाड भूमि पनि सम्भावनाको बगैँचा बन्न सक्छ। जहाँ बालुवा मात्र थियो, त्यहाँ उज्याला सडकहरू छन्; जहाँ मौनता थियो, त्यहाँ सङ्गीत, हाँसो र जीवनको कोलाहल छ।
यो शहरले प्रमाणित गर्छ कि विकास केवल स्रोतको कुरा होइन, दृष्टिकोण र साहसको परिणाम पनि हो। लस भेगासले मरुभूमिमा सपनाको खेती गरिरहेको छ। उसले बालुवामा बीउ रोपेर मनोरञ्जन, आश्चर्य र आकर्षणको फसल उब्जाएको छ।
योसँगै अर्को एउटा यथार्थता पनि मनमा गमिरहेँ। नियति सबैका लागि एउटै हुँदो रहेनछ। कसैले मरुभूमिमा अन्न फलाउँछ, कसैले भने सुनको थाल हातमा लिएर पनि भिक्षा माग्छ। सम्भावना र विडम्बनाको यो द्वन्द्व मानव सभ्यतासँगै हिँडिरहेको सत्य हो। विश्वका कैयौँ ठाउँहरू सुनको थालमा भिख मागिरहेको बेला लस भेगासले भने मरुभूमिमा सपनाको खेती गरेर संसारलाई रमाइलो बाँडिरहेको छ।
