चारैतिर हरिया पहाड र भीरहरूले घेरिएको पर्यटकीय स्थल । ’roundबाट आउने झरना तथा खोलाको छङ्गङ आवाज । हेरिरहुँ लाग्ने प्रकृतिको मनमोहक दृश्य, यसैबीचमा गुञ्जने शंक घण्टीको कर्णप्रिय धुन । प्रकृतिको काखमा धार्मिक आस्था बोकेर युग बोकिरहेको छ सुपा देउराली मन्दिर, युग बोकिरहेको छ अर्घाखाँचीको प्रकृति । जुन धार्मिक तथा पर्यापर्यटकीय अवलोकनको लागि खुला किताब बनेको छ ।
आस्थाको केन्द्र पर्यटकीय भूमि
हो, अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर आस्थाको एउटा केन्द्र मात्रै हैन, एक युग हो, एक इतिहास हो । सुपा देउराली मन्दिर अर्घाखाँचीको शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमाना पर्दछ । यो मन्दिर पूर्व पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा छ । मन्दिरको दुबैतर्फ अग्लाअग्ला सुन्दर महाभारत पहाड रहेका छन्। गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा यो मन्दिर रहेको र पक्की सडक भएकाले आवतजावत गर्न सजिलो छ ।
समुद्री सतहबाट ४ हजार ५ सय फिटको उचाइमा अवस्थित यस मन्दिरको निर्माण वि.स. १६०० सालमा खाँचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको हो । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो । त्यति बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उक्त देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो र यस देवीमा त्यति बेला कुनै पनि किसिमको विशेष पूजा अर्चना गर्ने चलन थिएन।
प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवीलगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिवलगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन्। सुपा देउरालीलाई अर्घाखाँचीको मुख्य देवीको रूपमा मानिएको छ। यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले आफ्नो मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास समेत रहेको छ । मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन।
मन्दिरमा शनिवार तथा बिदाको समय र विभिन्न पर्व र विजयादशमीमा भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्न नेपालका विभिन्न स्थललगायत छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । २०४२ सालमा मन्दिर निर्माण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

लाहुरे टाँसिएको भिर
सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएपछि देवीले भाकल गर्नेलाई भिरमा टाँसिदिएको किम्बदन्ती छ। अहिले पनि उक्त भिर यथावत् छ। जुन लाहुरे टाँसिएको भिरको नामले निकै नै प्रसिद्ध छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अर्घाखाँची एउटा सुन्दर पहाडी जिल्ला हो । अर्घा र खाँची दुई पुराना चौबीसे राज्य थिए । दुबैलाई मिलाएर अर्घाखाँची नामाकरण गरिएको हो । प्राकृतिक दृष्टिले सुन्दर छ यो जिल्ला । पर्यटकीय स्थलहरू पनि छन् । सुपा देउराली मन्दिरको महिमा निकै फैलिएको छ । सुपा देउराली अर्घाखाँचीमा मात्र नभई पश्चिम नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास र विस्तार भईरहेको छ । स्वदेशका विभिन्न भाग र छिमेकी देश भारतका विभिन्न भागबाट समेत मानिसहरू पूजा अर्चना गर्न सुपा देउराली पुग्ने गर्दछन् ।
यसको महिमा गुल्मी र अर्घाखाँची जिल्लामा निकै फैलिएको छ । गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा सुपादेउराली मन्दिरका शाखा मन्दिरहरू स्थापना गरिएका छन् । कपिलबस्तु जिल्लाको पिपरामा समेत शाखा मन्दिर स्थापना गरिएको छ । यही सुपादेउराली मन्दिरको फैलिदोँ महिमाका कारण खाँचीकोट र नरपानी डाँडामा बजार नै विकास भएको छ । पर्यटकीय पूर्वाधार सडक, होटल तथा रेष्टुरेन्ट एवं रिसोर्टहरू स्थापना गर्ने क्रम दिन प्रतिदिन बढ्दो छ । नरपानी डाँडामा राम्रैसँग पर्यटकीय पूर्वाधारहरू विकास भएका छन् । शितल हावापानी पाइने नरपानी आफंैमा एउटा सुन्दर डाँडा हो । यहाँबाट डाँडाकाँडा र प्राकृतिक दृश्यहरू अवलोकन गर्न पाइन्छ । शितल हावापानी भएकोले सुपादेउराली देवीको दर्शन गरी शितलताको आनन्द लिन नेपालको तराईका विभिन्न भाग र भारतबाट समेत गर्मी मौसममा ठूलो सङ्ख्यामा पर्यटकहरू पुग्ने गर्दछन् ।

किम्बदन्ती
सुपादेउराली मन्दिरको ऐतिहासिक प्रमाण र किम्बदन्ती पनि रोचक छन् । किम्बदन्ती अनुसार वि.सं. १६०० मा खाँचीको राजकुलमा सुपादेउराली देवीले जन्म लिएकी थिइन् । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो बिवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन् । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखिएको त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोग व्याधी फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो । एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरीदिइएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोग व्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भईन । त्यसपछि त्यहाँ देवीको पुजाद्वारा अर्चना गर्न शुरु गरियो भन्ने किम्बदन्ती छ।
सँस्कृतिविद राजेन्द्र आचार्यका अनुसार ऐतिहासिक प्रमाण अनुसार खाँचीका राजा ध्वजन शाहको छोरी लिलावतीका रूपमा उनको जन्म भएको थियो । खाँचीका राजबंशको बंशावली टिप्पन अनुसार वि.सं. १६२७ देखि १६६९ सम्म ध्वजन शाहले खाँचीमा राजकाज सञ्चालन गरेका थिए । लिलावती सानैदेखि एकान्तप्रिय र बैरागी जस्ती एवं देवी देवताको पूजा प्रार्थना गर्ने स्वभावकी थिइन । उनको विवाह हालको गण्डकी प्रदेश अन्तर्गतको गोर्खाका राजा राम शाहसँग भयो । उनको यो विवाह इच्छा विपरित गरिदिइएको थियो ।
उनले अभिभावकसँग मेरो विवाह नगरीदिनुहोस् सिद्ध भएर बस्छु भनेकी थिइन । उनी गोर्खामा विवाह भएर रानी बनेपनि राजकाजमाभन्दा देवीदेवताको पूजा प्रार्थनाप्रति इच्छा गर्ने सिद्धिका रानीको रूपमा प्रख्यात भईन । देहावशानपछि उनी मनकामना देवीको रूपमा प्रकट भईन । गृह देश गोर्खामा मनकामना देवीका रूपमा र माइती देश खाँचीमा सुपादेउराली देवीका रूपमा प्रकट भईन । पछि यसले किम्बदन्तीको रूप लियो । यिनलाई जगदम्बा देवीको रूपमा मानिन्छ ।
ऐतिहासिक प्रमाण र किम्बदन्ती अनुसार सुपादेउराली मन्दिर १७ औं शताब्दीदेखि प्रचलनमा आएको मानिन्छ । यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युगदेखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । गोर्खाको मनकामना मन्दिर मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । त्यस्तै अर्घाखाँचीको सुपादेउराली मन्दिर पनि मनोकामना सिद्ध गरिदिने देवीका रूपमा पुजिदै आएको छ ।

आस्थाको स्थल
सुपा देउराली मन्दिरमा असोजदेखि मङ्सिर महिनासम्म पूजाका लागि निकै भिड लाग्छ । यो मौसममा दैनिक ७ हजार जनासम्म भक्तजन आउँछन् । सुपादउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रबद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको बताउँछन् शितगंगा २ लाहुरेका होटल संचालक विष्णु प्रसाद घिमिरे । सुपा देउराली मन्दिर पश्चिम नेपालमा एक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रबद्र्धन हुँदै गइरहेको छ । यसले धार्मिक र सामाजिक दुबै क्षेत्रमा योगदान दिईरहेको छ ।
यस स्थल पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपूर्ण समेत रहेको छ। पर्यटकहरूले दृश्यावलोकन गर्नको लागि पहाडको उच्च भागमा सस पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७८ सालमा २७२.८५ मिटर लामो झोलुगें पुलको समेत निर्माण गरिएको छ । सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अहिले पनि छ।
दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्। परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी देवीको मन्दिरमा खस्ने धारोको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ। मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन्।

मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ–बिहान पाठ–पूजा गर्न ब्राह्मणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङगार हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर । पछिल्लो समय सातामा २ दिन बिदा दिने सरकारी निर्णयले यो क्षेत्रमा आन्तरिक पर्यटकहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

(Visited 1 times, 1 visits today)
