‘समत्वं योग उच्यते…’ यो भागवत गीताको श्लोकले जीवनको सन्तुलनलाई व्याख्या गरेको छ। जति शब्द र साहित्यबाट जीवनको परिभाषा दिन खोजे पनि, बुझे पनि ऐनमौकामा भनेजस्तो नहुँदा जीवन व्यर्थ, दुःख र सङ्घर्ष लाग्छ, भनेजस्तो भयो भने आहा जीवन ! जीवन सुन्दर छ भनेर खुसी व्यक्त गरिहाल्छ मानिस।
सन्तजनहरू जसले जीवनलाई मन, भावना र व्यवहारको सन्तुलनमा राखेर हेर्न, बोध गर्न र त्यसलाई साक्षी एवं सुमिरनमा जिउन जाने। उनीहरूले दुःख र सुखलाई नकारात्मक उत्तेजना र सकारात्मक उत्तेजना भनेर बुझे र बुझाउने कोसिस गरे। तर, हामी त्यसलाई आत्मसात गरेर बुझ्न चाहन्नौं। त्यसैले सुख र दुःखको नाममा जीवन बितेको हुन्छ। त्यही जीवनमा सुखका निम्ति क्रोध पनि उत्पन्न हुन्छ त दुःख मुक्तिका लागि रुन्चे हाँसो पनि फुत्किन्छ। जीवनलाई बाहिरबाट हेर्ने र अर्थ लगाउने कि आन्तरिक रूपमा यसलाई बोध गर्ने र जिउने? त्यो कला महत्त्वपूर्ण हुन्छ। यसका लागि मन, भावना र व्यवहारलाई सन्तुलनमा राख्दै जीवनमा आउने खुसी, चुनौती, मनोभावना र सामाजिक दबाबलाई साक्षी भएर हेर्न र ती सबैका बाबजुद जीवन जिउन जान्नुपर्छ भन्दा आश्चर्य लाग्छ।
जीवनभर जीवन जिउँदैन मानिस। जब आफन्तको अन्तिम बिदाइमा आर्यघाट पुग्छ, बल्ल थाहा पाउँछ– आर्यघाट पुग्नुअगाडि मात्रै हो जीवन। त्यो पनि भुल्छ एकदुई दिनमै। फेरि जीवन जिउन भन्दै, जीवनलाई अथ्र्याउँदै अनेक भुमरीमा फसिहाल्छ। त्यो भुमरीलाई संघर्ष, कर्म, दुःख, क्रोध, प्रतिस्पर्धा अनेक सकारात्मक या नकारात्मक उत्तेजना भनेर बुझ्ने हो भने साक्षीको जीवन बाँच्न सकिन्छ। तब लाग्छ, जीवन आहा छ। किनकि जीवन कुनै अंकगणित होइन। यो पद हासिल गर्छु अनि जीवनमा सन्तुष्टि मिल्छ भन्ने हुँदैन।
यति सम्पत्ति जोडे खुसी मिल्छ, सम्पत्ति मिल्छ भन्ने लाग्छ तर खुसी मिल्दैन किनकि फेरि मृगतृष्णाले जे प्राप्त हुन्छ, त्यसमा सन्तोष मानेर बस्न दिँदैन। यही हो मन सन्तुलनमा नहुनु भनेको। जीवनमा कसैलाई केही गर्यो या आफ्नै परिवारलाई केही गर्यो, उसबाट पनि पाउने अपेक्षा रहन्छ। अरूबाट पाउन खोजेको कुरा आफ्नो अपेक्षा अनुसार हुँदैन अनि क्रोध उत्पन्न हुन्छ। प्रतिस्पर्धा सुरू हुन्छ, जसले भावनात्मक रूपमा सन्तुलित भएर बाँच्न सहजता मिल्दैन।
कुरा बुझेको हुन्छ तर त्यसलाई व्यवहारमा उतार्नुपर्यो भने मुस्किल हुन्छ। त्यसैले जीवन सुखी छ या दुःखी? महत्त्वपूर्ण होइन। जीवन बाँचेको छु कि छैन? यो महत्त्वपूर्ण हो। आन्तरिक रूपमा जीवनका हरेक क्षणलाई धन्यवाद दिन जानेको छ कि छैन? त्यो महत्त्वपूर्ण हो। अन्यथा जीवन सधैं गुनासो र लोभलालचमै बित्छ।
साक्षी भाव के हो?
मनको खेल बुझ्नु आन्तरिक दृष्टिको यात्रा साक्षी भाव हो। साक्षी भाव भन्नाले हामीले हाम्रो भित्री दृष्टिकोण प्रयोग गरेर मनले बनाएका विचार, कल्पना, भावना र प्रतिक्रिया हेर्ने अभ्यासलाई जनाउँछ। त्यो हेर्ने तरिका केवल हेर्नु हो। त्यसमा मैले भनेजस्तो हुन्छ या हुन्न भन्ने कुनै आशक्ति हुँदैन। आशक्तिरहित भएर बिनावकालत मन, विचार, व्यवहार र भावनालाई हेर्ने कला साक्षी भाव हो।
मानिसले सबै कुरा थाहा पाएर पनि साक्षी भावको अभ्यासमा रहन नसकेकाले नै सद्विचार वा भावनालाई जीवनमा उतार्न सक्दैन। सन्तजनहरूले साक्षी भावमा जिउने कला सिकाए पनि हामीले त्यसलाई अभ्यासमा ल्याउन सकेनौं। त्यसैले जीवनमा गुनासो मात्र गरिरह्यौं। ओशो भन्नुहुन्छ– ‘तिमी मन होइनौ, मनको साक्षी हौ।’
गौतम बुद्धले यसलाई प्रस्ट्याउनुहुन्छ– ‘आफ्ना विचारहरूको साक्षी बन। तिमी त्यो हौ जसले हेर्छ, त्यो होइनौ जुन देखिन्छ।’ लाओत्सुले भन्नुभएको थियो– ‘तिमीले आफ्ना विचारलाई हेर, तिनै शब्द बन्छन्। शब्दले कर्म जन्माउँछन्।’
पश्चिमा विद्वान्हरूले पनि साक्षी भावलाई एउटा महत्त्वपूर्ण जीवन जिउने कला बनाउन प्रेरित गरेका थिए। भिक्टर फ्रान्कलले भनेका थिए– ‘उत्तेजना र प्रतिक्रियाको बिचमा एउटा खाली स्थान हुन्छ। त्यस खाली स्थानमा नै हाम्रो स्वतन्त्रता हुन्छ, प्रतिक्रिया छान्ने स्वतन्त्रता।’
जब हामी मनका प्रक्षेपणहरूलाई टाढैबाट हेर्छौं, आफू त्यसमा फस्दैनौं, तब हामीले अनुभूति गर्छौं कि मन आफैंले एउटा संसार बनाउँछ। त्यो वास्तविकता होइन, केवल व्याख्या मात्र हो।
साक्षी भावबाट प्राप्त हुने शक्ति भनेकै भावनात्मक स्वतन्त्रता हो। कुनै पनि विषय या घटनालाई लिएर भावनामा डुब्न मात्र होइन, तिनीहरूलाई देख्न प्रयास गर्नु साक्षी हो। हर्ष र पीडामा सन्तुलित भएर बाँच्न मद्दत गर्छ साक्षी भावले। साक्षी भावले हामीलाई सुखदुःख दुवैलाई समान दृष्टिले हेर्न सिकाउँछ। यसको अभ्यास जब विकसित हुँदै जान्छ, तब आफैंमा बोध हुन थाल्छ अनाशक्त बुद्धिमत्ता। ‘मेरा विचार म होइन, म विचारलाई देख्ने चेतन हुँ।’ वास्तवमा भन्ने हो भने यो अनुभूति जागृत नहुँदासम्म हामीले जीवनलाई बुझेकै हुन्नौं, जीवन बाँचेकै हुन्नौं।
ध्यान हो सन्तुलनको आयाम
जीवनका चुनौती, मनोभाव र सामाजिक दबाबबिच संघर्ष गरिरहेको हाम्रो जीवनलाई सन्तुलनमा राख्न मद्दत गर्ने आयाम भनेकै ध्यान हो। ध्यान हाम्रो मन, भावना र व्यवहारलाई सन्तुलनमा राख्ने एक अमूल्य साधन हो। विशेषतः क्रोध, प्रतिस्पर्धा, लोभ, मोहजस्ता नकारात्मक ऊर्जा व्यवस्थापन गर्न ध्यान एक प्रभावशाली उपाय हो। ध्यान केवल आँखा चिम्लेर बस्ने प्रक्रिया मात्र होइन, यो जीवनको गहिरो आध्यात्मिक साधनाको अभ्यास हो। साक्षी, सुमिरन, भक्ति, प्रीति र आत्मसम्मानमा जिउन सिकाउने आयाम ध्यान हो। दिनमा २४ घण्टा हुन्छ। त्यसमा एक घण्टा ध्यानका लागि समय छुट्याउनु भनेको स्वयंका लागि, अन्तर्दृष्टिका लागि र आत्मसम्मानका लागि हो। किनभने ध्यानले जीवनप्रति धन्य भएर जिउन, आफूसँग भएका चिजहरूप्रति अहोभाव व्यक्त गर्न र सकारात्मक ऊर्जामा कर्म गर्न सिकाउँछ।
त्यति मात्र नभएर मानसिक स्पष्टता र स्थिरता ध्यानकै अभ्यासबाट प्राप्त हुन्छ। तनाव, चिन्ता र अशान्तिको बिदाइ ध्यानको अभ्यासले गर्छ। आत्म–चेतना र आत्मावलोकन गर्दै आन्तरिक शान्ति र आनन्दको अनुभूति ध्यानबाट नै प्राप्त हुन्छ। ध्यानले संसारको कोलाहललाई साक्षी भएर हेर्न र आन्तरिक तरङ्गसँग जोडिन मद्दत गर्छ। ध्यानको अभाव नै क्रोध, मोह र लोभको उपस्तिथि हो। ध्यान समाधान मात्र होइन, सर्वश्रेष्ठ समाधान हो। ध्यानले हामीलाई हाम्रो भावनाप्रति सजग बनाउँछ।
यो सजगताले हामीलाई प्रतिक्रिया दिनुअघि सोच्ने शक्ति दिन्छ। रिपुहरूलाई नियन्त्रण गर्ने कला भनेको ध्यान र सजगताबाट सुरू हुने कला हो। ध्यानको अभ्यासले आफैंप्रति गहिरो अनुकम्पा र अरूप्रति सहानुभूति जागृत गराउँछ। ध्यानको अभ्यास र अनुभूतिले व्यक्तिगत र सामूहिक रूपान्तरण ल्याउँछ। व्यक्तिगत रूपान्तरणले आत्मावलोकन बढाउँछ, जसले आत्मविश्वास र सहिष्णुता ल्याउँछ। सामूहिक रूपान्तरणका लागि ध्यानको अभ्यास गर्ने समूहहरूमा सकारात्मक ऊर्जा, एक अर्कामा आस्था र आत्मिक सम्बन्ध बढाउँछ।
एउटा शान्त व्यक्तिले नै अरूलाई पनि शान्त बनाउन सक्छ। ध्यान शान्तिको बीज हो। ध्यान जीवनमार्ग हो। क्रोध, तनाव र अन्य नकारात्मक भावना व्यवस्थापनको उत्कृष्ट उपाय हो ध्यान। आजको व्यस्त संसारमा ध्यान अभ्यास गर्नु भनेको आत्मासँगको सम्बन्धलाई पुनस्र्थापित गर्नु हो। ध्यान गर्नु जीवनसँग प्रेम गर्नु हो, घृणा होइन, शान्ति रोज्नु हो। यो क्षणमा केवल गहिरो कृतज्ञता व्यक्त गर्नु छ–आफैंलाई, समाजलाई र संसारलाई अझ राम्रो बनाउने यात्रामा अगाडि बढ्न प्रेरित हुनुछ। यो नै सन्तुलनयुक्त सुखी जीवनको परिचय बन्नेछ।
प्रकाशित: १७ जेष्ठ २०८२ ०९:०१ शनिबार