मन्टगोमरी काउन्टीमा आप्रवासी संरक्षणसम्बन्धी नयाँ कानुन लागू



प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

संयुक्त राज्य अमेरिकाको मन्टगोमरी काउन्टीका कार्यकारी अधिकारी मार्क एलरिचले काउन्टी काउन्सिलका सदस्यहरूसँग मिलेर अध्यागमन प्रवर्तनलाई सीमित गर्ने चारवटा नयाँ विधेयकहरूमा हस्ताक्षर गरी तिनलाई कानुनको रूप दिएका छन्।

रकभिलस्थित एक्जुकेटिभ अफिस बिल्डिङमा आयोजित पत्रकार सम्मेलनमा एलरिचले स्थानीय आप्रवासी समुदायलाई काउन्टीमा आफूहरू पूर्ण रूपमा सुरक्षित रहेको आश्वस्त पार्न यी कदम चालिएको बताए। उनले स्थानीय सरकार आप्रवासीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको र उनीहरूको दैनिक जीवनमा कुनै पनि व्यवधान खडा हुन नदिने दृढता व्यक्त गरे।

यी विधेयकहरूले विशेष गरी संघीय निकाय आइसको स्थानीय गतिविधिमाथि कानुनी बन्देज लगाउने लक्ष्य राखेका छन्।

यी कानुनहरूमध्ये ‘मन्टगोमरी काउन्टी भ्यालुज एक्ट’ ले काउन्टी अन्तर्गतका सबै एजेन्सीहरूका लागि नयाँ निर्देशिका जारी गर्ने बाटो खोलेको छ। यस ऐनले काउन्टीको स्वामित्वमा रहेका पार्किङ स्थल वा सरकारी भवनहरूलाई देवानी अध्यागमन अधिकारीहरूले मानिस पक्राउ गर्ने गढ वा प्रशोधन केन्द्रका रूपमा प्रयोग गर्न पूर्ण निषेध गरेको छ।

काउन्सिल सदस्य क्रिस्टिन मिन्कले विगतमा आईसले सरकारी तथा निजी दुवै क्षेत्रका पार्किङ स्थलहरूलाई लुकेर छापा मार्ने ठाउँ बनाएका कारण यो नियम ल्याउनु परेको स्पष्ट पारिन्। काउन्टी काउन्सिल अध्यक्ष नाताली फानी-गोन्जालेजले काउन्टीमा ३० प्रतिशतभन्दा बढी जनसङ्ख्या आप्रवासीहरूको रहेको उल्लेख गर्दै यसअघि नै ‘ट्रस्ट एक्ट’ मार्फत सरकारी कर्मचारीलाई कसैको अध्यागमन स्थिति सोध्न प्रतिबन्ध लगाइसकिएको स्मरण गराइन्।

हस्ताक्षर गरिएका विधेयकहरूमध्ये तीनवटा कानुन तुरुन्तै लागू हुने गरी द्रुत मार्गबाट पारित गरिएका हुन्। विधेयक ५-२६ अर्थात् ‘अनमास्क आईस एक्ट’ ले विशेष परिस्थितिबाहेक कानुन प्रवर्तन अधिकारीहरूलाई ड्युटीको समयमा मास्क लगाउन प्रतिबन्ध लगाएको छ।

जसले गर्दा अधिकारीहरूको पहिचान पारदर्शी हुनेछ। काउन्सिल सदस्य विल जावान्डोले यस नियमले संघीय निकायसँग कानुनी विवाद निम्त्याउन सक्ने भए पनि स्थानीय नागरिकको हक अधिकारका लागि अदालतसम्म जान काउन्टी तयार रहेको बताए। त्यस्तै, काउन्सिल सदस्य इभान ग्लासद्वारा प्रायोजित विधेयक १३-२६ (आईस आउट एक्ट) ले काउन्टीभित्र निजी स्वामित्वमा सञ्चालन हुने गरी अध्यागमन हिरासत केन्द्रहरू खोल्नका लागि भवन निर्माण वा उपयोग अनुमति दिन रोकेको छ।

चौथो कानुन (विधेयक १४-२६) ले भने आप्रवासी परिवारहरूले भोग्दै आएको एउटा ठूलो व्यावहारिक समस्याको अन्त्य गरेको छ। काउन्सिल सदस्य केट स्टुअर्टका अनुसार, यसअघि कुनै आप्रवासीलाई गाडी चलाइरहेकै अवस्थामा आईसले हिरासतमा लिँदा उक्त गाडी सडकमै अलपत्र पर्ने र प्रहरीले जफत गर्ने गरेको थियो।

पीडित परिवारहरू आफ्नो मान्छे कहाँ थुनिएको छ भनेर खोजतलास गरिरहँदा, गाडीको स्वामित्वको कागजमा नाम नभएकै कारण जफत भएको गाडी फिर्ता लिन नसकेर थप मानसिक र आर्थिक सास्ती भोग्न बाध्य हुन्थे। नयाँ कानुनले यो झन्झटिलो प्रावधानलाई हटाएर परिवार वा घरका सदस्य भएको प्रमाणित गर्ने अन्य खुकुलो कागजातका आधारमा पनि सवारी साधन तुरुन्तै रिलिज गर्ने व्यवस्था गरेको छ।

नयाँ कानुनहरूले स्थानीय प्रहरीको कार्यक्षमतामा असर पार्न सक्ने संशयबारे प्रष्टीकरण दिँदै काउन्सिल अध्यक्ष फानी-गोन्जालेजले यस विषयमा स्थानीय प्रहरी प्रशासनसँग पूर्ण परामर्श गरिएको जानकारी दिइन्।

मन्टगोमरी काउन्टीका प्रहरी प्रमुख मार्क यामाडाले सुरुदेखि नै यी कानुनहरूको शतप्रतिशत समर्थन गरेको उनले बताइन्। प्रहरी प्रशासनको बुझाइमा, समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराधीहरूलाई कानुनी दायरामा ल्याउनका लागि स्थानीय सर्वसाधारणमा प्रहरीप्रति पूर्ण विश्वास र सुरक्षित भएको अनुभूति हुनु अनिवार्य हुन्छ।

आप्रवासीहरू प्रहरीसँग डराउनु पर्ने अवस्थाको अन्त्य भएपछि मात्रै समुदाय र प्रहरीबीचको सहकार्य बलियो हुने निष्कर्ष काउन्टीले निकालेको छ।





Source link

Leave a Comment