मध्यपूर्व संकट : हजारौँ अमेरिकी नागरिक अलपत्र, ट्रम्प प्रशासनको तयारीमाथि प्रश्न



प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार

मध्यपूर्व संकट : हजारौँ अमेरिकी नागरिक अलपत्र, ट्रम्प प्रशासनको तयारीमाथि प्रश्न

अमेरिकी विदेशमन्त्री मार्को रुबियो । तस्वीर : जोनाथन अर्न्स्ट/एपी-रासस

अमेरिका र इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेपछि उत्पन्न भएको तनावका कारण मध्यपूर्वका विभिन्न देशमा हजारौँ अमेरिकी नागरिक अलपत्र परेका छन्। इरानले अमेरिकी सैन्य तथा कूटनीतिक संरचनामाथि ड्रोन आक्रमण गर्दै प्रतिशोध लिन थालेपछि अवस्था झन् जटिल बनेको हो।

अमेरिकी विदेश मन्त्रालयले हवाई आक्रमण सुरु भएपछि मात्र क्षेत्रका केही देशहरूमा यात्रा नगर्न वा यात्रा पुनर्विचार गर्न चेतावनी जारी गरेको थियो। तर त्यसबेलासम्म धेरै अमेरिकी नागरिक मध्यपूर्वका विभिन्न देशमा पुगिसकेका थिए।

यस घटनापछि अमेरिकी कंग्रेसका डेमोक्र्याट सांसदहरू र केही पूर्व कूटनीतिज्ञहरूले सरकारको तयारीमाथि प्रश्न उठाएका छन्। उनीहरूले यस्तो अवस्था पहिले नै अनुमान गर्न सकिने भए पनि आवश्यक योजना र समन्वय नगरेको आरोप लगाएका छन्।

जोर्डन, कुवेत र संयुक्त अरब इमिरेट्सजस्ता देशहरूमा रहेका अमेरिकी नागरिकहरूले विदेश मन्त्रालयबाट स्पष्ट निर्देशन नपाएको गुनासो गरेका छन्। कतिपयलाई विमानस्थल बन्द हुँदासमेत तत्काल देश छोड्न भनिएको थियो। साथै, अमेरिकी दूतावाससँग सम्पर्क गर्न भनिए पनि धेरैलाई सहयोग पाउन कठिन भएको बताइएको छ।

पछिल्ला केही दिनमा जोर्डनस्थित अमेरिकी दूतावास सुरक्षा जोखिमका कारण खाली गरिएको छ भने कुवेत र साउदी अरेबियास्थित अमेरिकी कूटनीतिक परिसरहरूमा ड्रोन आक्रमण भएको जनाइएको छ। यूएईको दुबईस्थित अमेरिकी कन्सुलेट बाहिरको पार्किङ क्षेत्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको थियो।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि हालसम्म कम्तीमा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। यद्यपि अमेरिकी सर्वसाधारणको मृत्यु भएको खबर भने आएको छैन।

अमेरिकी रक्षा मन्त्रालयले उद्धार कार्यमा सी-१७ कार्गो विमान प्रयोग गर्ने योजना बनाएको जनाएको छ भने विदेश मन्त्रालयले युद्धग्रस्त क्षेत्रबाट अमेरिकी नागरिकलाई निकाल्न चार्टर उडानहरूको व्यवस्था गरिरहेको बताएको छ।

विदेशमन्त्री मार्को रुबियोले हवाई क्षेत्र बन्द भएका कारण उद्धार कार्यमा चुनौती रहेको स्वीकार गरेका छन्। तर, उनले प्रत्येक अमेरिकी नागरिकलाई सहयोग गरिने विश्वास व्यक्त गरेका छन्।

यसबीच विदेश मन्त्रालयले बुधबारसम्म विदेशमा रहेका करिब ६ हजार ५ सय अमेरिकीलाई सुरक्षा सम्बन्धी मार्गदर्शन र यात्रा सहयोग उपलब्ध गराएको जनाएको छ।





Source link

Leave a Comment