प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार

नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएकोमा अमेरिकाले बधाई ज्ञापन गरेको छ । बिहीबार निर्वाचनको मतदानको अवधी सकिएपछि सामाजिक सञ्जालमार्फत नेपालस्थित अमेरिकी दूतावासले बधाई दिएको हो ।
अमेरिकाले नयाँ बन्ने सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य उत्सुक रहेको स्पष्ट पारेको छ । दूतावासले भनेको छ, निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ । आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।
बिहीबार छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान देशभरै शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।
निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताएका हुन् ।
उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरुको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले बिहीबार निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सञ्जाल (फेसबुक) मार्फत भनेकी छिन्, “निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।”
प्रधानमन्त्री कार्कीले आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि उच्च सम्मान व्यक्त गरेकी छिन् । त्यसैगरी, राष्ट्रपतिले निर्वाह गर्नुभएको अभिभावकीय भूमिकाका लागि प्रधानमन्त्री कार्कीले कृतज्ञता व्यक्त गरेकी छिन् ।