प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार

तस्वीर : रासस
सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। मध्यपूर्वमा जारी युद्धका बीच पनि यतिको सङ्ख्यामा पर्यटक नेपाल भ्रमणका लागि आएको देखिएको छ।
नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो।
युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नभए पनि यो स्थिर देखिएको छ। पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ।
एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ। युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक सङ्केत भएको पर्यटन बोर्डले बताएको छ।
युरोप र अमेरिकाजस्ता बढी खर्च गर्ने देशका पर्यटक लक्षित बजारमा नेपालको उपस्थिति अन्तर्राष्ट्रिय ‘मार्ट’ मार्फत सशक्त बनाउँदै लगिएको बोर्डले जनाएको छ।
तथ्याङ्कअनुसार मार्च २०२६ मा सार्क मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको करिब ३५ दशमलव ४ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार ७२८ पर्यटक आएका छन्।
श्रीलङ्काबाट १० हजार ७५९, बङ्गलादेशबाट चार हजार ६७६ तथा सार्कका अन्य मुलुकबाट पनि पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए।
चीनबाट ११ हजार २२०, म्यानमारबाट छ हजार २० र थाइल्याण्डबाट तीन हजार ८९७ पर्यटक नेपाल आएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि पर्यटकको उल्लेख्य आगमन भएको छ। समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७ दशमलव ७ प्रतिशत हो।
सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा एक लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ। सन् २०२६ को फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ पर्यटक भित्रिएको बोर्डले जनाएको छ।
मार्च/अप्रिललाई पर्यटकीय मौसम र ट्रेकिङ यामलगायत पक्षका कारण पर्यटक आगमन वृद्धिको महिनाका रूपमा हेरिन्छ। यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किंदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ का कारण पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन।
विशेषगरी यो याममा अरू महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बोर्डले जनाएको छ। राससको सहयोगमा