मधेसमा बढ्दै आपराधिक घटना, घट्दै समभाव

मधेसमा बढ्दै आपराधिक घटना, घट्दै समभाव


सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया गाउँका धनिकलाल यादव र रमेशकुमार यादवको घर मात्र जोडिएको होइन मन पनि जोडिएको थियो। एउटै उमेर करिब तीन वर्षका रमेशकी छोरी र धनिकलालकी नातीसँगै खेल्थे। उनीहरूको सम्बन्ध घनिष्ठ थियो।

वैशाख १२ गते रमेशकी छोरी रियाको हत्यापछि उनीहरूको सम्बन्ध मात्र होइन मन पनि फाटेको छ। रियाको हत्यामा धनिकलालकी श्रीमती र छोरीको संलग्नता देखिएपछि रमेश परिवार प्रश्न गछन्, ‘अब कोमाथि विश्वास गर्ने? यो घटनाले त विश्वास शब्दलाई नै लज्जित तुल्याइलिएको छ।’

सिरहा प्रहरीले रिया हत्यामा संलग्न रहेको आरोपमा धनिकलाल यादवकी श्रीमती ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।

सिरहा प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार गत वर्ष रमेशको काखे छोराको मृत्यु भएको थियो। सोनावतीले बोक्सी लगाएर छोरा मारेको रमेश परिवारले आरोप लगाएका थिए। त्यो रिस सोनावतीको मनबाट मेटिएको थिएन। उनले त्यो रिस फेर्न मौका पर्खेर बसेकी थिइन्।

१२ गते वैशाखमा आफ्नै नातीसँग खेलिरहेकी रियालाई बिस्कुट दिएर फकाउँदै घरभित्र ल्याएर सोनावतीले छोरी पूजाको सहयोगमा घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रियाको शव तीन दिनपछि वैशाख १४ गते राति करिब साढे ११ बजेतिर धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङको चौतरामा मसुरोको झ्याङ्टा नजिक कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो।

यस्तै, डेरानजिकका साथीसँग खेल्ने गरेका पाँच वर्षीय आयुष साह वैशाख ११ गते साँझसम्म घरबाहिर नदेखिएपछि छिमेकीले आमा सरितासँग उनको बारेमा सोधखोज गरे। सोधखोज गर्ने क्रममा सरिताले छोराको विषयमा ‘हरायो होला, मलाई पनि थाहा छैन’ भन्दै डेराबाट हिँड्न लागेपछि स्थानीयले तत्काल लहान प्रहरी चौकीमा खबर गरे।

आयुष हराएको स्थानीयको सूचनापछि प्रहरीले सरिताको डेराको खानतलासी गर्दा सरिता सुत्ने कोठाको बक्स पलङको घर्राभित्र तन्नामा बेरेको अवस्थामा आयुषको शव भेटिएको थियो। पतिसँग सम्बन्धबिच्छेद गरी लहानस्थित डेरामा छोरासहित बस्दै आएकी सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ की ३४ वर्षीया सरिताकुमारी साह छोरा हत्याको अरोपमा अहिले प्रहरी हिरातभित्र छिन्।

साहलाई उनीसँगै रहेका एक्लो छोरा आयुषको हत्या गरेको अभियोगमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

यस्तै, गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका–६ की ३२ वर्षीया अनितादेवी साहको विभत्स हत्या भयो। बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो।

साह दम्पती गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर ‘न्यु स्टार’ नामबाट होटेल सञ्चालन गरेका थिए। होटेलभित्रै सुत्ने कोठामा अनिताको शव फेला पर्‍यो। शरीरका विभिन्न भागमा धारिलो हतियार तथा ढुंगा प्रहार भएको थियो। प्रहरीले घटनालगतै उनका पति महेन्द्रसहित केही व्यक्तिलाई नियन्त्रणमा लियो।

तालिमप्राप्त कुकुरसहितको अनुसन्धानबाट पति महेन्द्रले नै पत्नी अनिताको विभत्स हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रमुख (एसपी) सन्तोष आचार्यले बताए। १२ वर्षअघि अनिता र महेन्द्रको सामाजिक परम्पराअनुसार बिहे भएको थियो। उनीहरूका एक छोरी र दुई छोरा छन्। माइती पक्षका अनुसार बिहेको केही वर्षदेखि महेन्द्रले श्रीमती अनितालाई कुटपिट गर्ने गरेका थिए। कयौंपटक गाउँ समाजमा छलफलसमेत भएको थियो।

फागुन २७ गते अपराह्न सिरहा नगरपालिका–६ बसबिट्टाकी ६० वर्षीया निर्मलादेवी यादवको हत्या भयो। घाँस ल्याउन तथा बाख्रा चराउन गएकी निर्मलाको कमला नदीको बाँधनजिक अपराह्न ४ बजे शव फेला पर्यो। पति राम उदगार साहले नै पत्नी निर्मलाको घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पति राम उदगारलाई तत्कालै प्रहरीले पक्राउ गरी कर्तव्य ज्यामा मुद्दा अघि बढाइएको छ।

छोरा ३२ वर्षीय सन्तोष साहले आमाको हत्या भएको भन्दै बुबाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन्। उनीहरूका पाँच छोरा र एक छोरी छन्।

सिरहा प्रहरी प्रमुख आचार्यका अनुसार अनिता र निर्मला हत्या घटना यौनसँग सम्बन्धित छ। प्रहरीको अनुसन्धानमा अनिताको हत्याको मूल कारण श्रीमान–श्रीमतीले एक अर्कामाथि शंका गर्दथे। महेन्द्रले आफैं परस्त्रीसँग सम्बन्ध राख्ने र पत्नीलाई परपुरुषसँग सम्बन्ध राख्ने गरेको आरोप लगाउने गर्दथे। ‘महेन्द्र आफू परस्त्रीहरूसँग लागिरहने र उल्टै श्रीमतीमाथि शंका गर्ने गर्दथे। त्यसकारण पटकपटक दुवैजनाको झैझगडा विवाद भइरहन्थ्यो, कुटाकुट पनि हुने गरेको थियो,’ एसपी आचार्य भन्छन्, ‘हत्याको कारण पनि यही नै देखियो।’

आचार्यका अनुसार निर्मला देवीको घटनामा पति–पत्नीबीच लामो समयदेखि शारीरिक सम्बन्धलाई लिएर विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका राम उदगारले आफूसँग श्रीमतीले १० वर्षदेखि शारीरिक सम्बन्ध नराखेको प्रहरीमा बयान दिएका छन्। ‘आफूसँग शारीरिक सम्बन्ध नराखेको आरोपमा रामउदगारले आवेशमा आएर पत्नीको हत्या गरेको खुलेको छ,’ एसपी आचार्य भन्छन्।

गत चैत १ गते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुरकी ४० वर्षीया कुमिया देवी दास बारीमा दाउरा ल्याउन गएकी थिइन्। सवा ४ बजेतिर उनको शव फेला पर्यो। उनको शरीरका विभिन्न भागमा बञ्चरो प्रहार भएको घाउ थियो।

पति ५६ वर्षीय रामसितलले बञ्चरो प्रहार गरी पत्नीको हत्या गरेको खबर पाउनेबित्तिकै प्रहरी घटनास्थल पुगे। उनको घाँटी, चिउँडो, गालालगायत शरीरका विभिन्न भागमा अन्धाधुन्ध बञ्चरो प्रहार भएको थियो।

प्रहरीले पति रामसितललाई हत्यामा प्रयोग भएको बञ्चरोसहित नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा रामसितलले नै बञ्चरो प्रहार गरी श्रीमती कुमिया देवीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।। रामसितलमाथि कर्तव्यज्यान मुद्दामा कारबाही चलाइएको छ।

श्रीमतीले जथाभावी ऋण उठाउने गरेको र साहुहरू घरमा आएर दबाब दिने गरेको कारण आवेशमा आएर हत्या गरेको रामसितलले प्रहरी समक्ष बयान दिएको एसपी आचार्यले बताए।

गत कात्तिक १० गते राति घरमा कोही नभएको बेला श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका सुदिपले रेखाको टाउकोमा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भयो।

बन्चरो प्रहारबाट श्रीमतीको मृत्युभएपछि सुदिपले दाजु उदितसँग सो विषयमा जानकारी गराएका थिए। दुई दाजुभाइको छलफल पछि घरैमा खाल्डो खनेर रेखाको शव लुकाएका थिए। हत्यापछि दाजुभाई घर छाडेर भारत फरार भएका थिए।

घरमा गाडेको शवको चिन्ताले सताएपछि उनीहरू घटनाको बीस दिनपछि भारतबाट फर्केर घरको खाल्डोबाट शव निकालेर टुक्राटुक्रा पारेर बोरामा राखी धबौलीस्थित नदीमा गाडेर पुनः भारत फरार भएको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ।

भारतको दिल्लीमा भाडा बनाउने कम्पनीमा काम गर्न थालेका उनीहरू डेढ महिनापछि पुनः फर्केर नेपाल आएका थिए। सुदिप दाजुसँगै छोरीको घरमा गएको बेला पक्राउ परेका छन्।

पक्राउ परेका दाजुभाईले देखाएपछि प्रहरीले सो नदीबाट रेखाको कंकाल बरामद गरेको छ। पक्राउ परेका दुबैजनालाई कर्तव्य ज्यानमा मुद्दा अघि बढाइएको छ। बियर खाएर साथीबीच विवाद चुलिएपछि धनुषाको जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भयो।

नदाफको घाँटी चक्कुले रेटेर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरी कारावाही चलाएको छ। ‘रोजा सकेर तीनैजना बियर खान गएछन्। फर्किने बेला बियरको पैसा तिर्ने र मोबाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद भएको थियो।

चैत ७ गते सप्तरीको सप्तकोसी नगरपालिका–३ सखबनी नयाँ बस्तीका ४५ वर्षीय हिराई सदाको उनकै छोराले हत्या ग¥यो। हिराईका छोरा २२ वर्षीय लालदेब सदाले घरायसी विवादमा बन्चरोले घाँटीमा प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ।

रौतहटको वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबा र ३५ वर्षीया श्रीमती सोती माया वाइबासँगै घाँस काटिरहेका थिए। घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भयो। गालीगलोजपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भयो।

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए। आफ्नै घाँटीमा पनि हँसियाले रेटेको अबस्थामा तीर्थलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घटना भएको बेला तीर्थले मदिरा सेवन गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ।

दुई महिनाभित्र मधेस प्रदेशका जिल्लामा भएका यी हत्याका घटनाले समाजलाई झस्काएको छ। यी घटनाबाट यहाँको समाजमा बदला भाव, आवेग, कुन्ठा, निरासा, क्रुरता उच्चतम् बिन्दुमा पुगेको बुझ्न सकिन्छ, सामाजिक अभियन्ता एवं पत्रकार अर्जुन थपलिया बताउँछन्।

वैदेशिक रोजगारले समाजमा घरहरू पक्की र मजबुत बनिरहेका छन् तर सम्बन्ध कमजोर बन्दै गएको छ। विश्वासको ठाउँ शंकाले लिन थालेको छ। आदरको ठाउँ आक्रोशले लिन थालेको छ। समग्रमा समाज अविश्वास, रिस, निरासाले थिलथिलो हुँदै गएको उनले बताए।

सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य भन्छन्, ‘श्रीमानले श्रीमती, आमाले छोरा, नातेदारले आफन्त मार्न थालेपछि समाज कसरी जोडिएर बस्न सक्छ। ‘पछिल्ला घटनाक्रमले यहाँको समाजिक कठजोर नाजुक हालतमा पुगेको सहजै अनुमान लगाउन सकिन्छ,’ उनले भने, ‘सामूहिक प्रयासबाट समाज जोड्ने काम गर्न नसके अवस्था भयावह बन्ने संकेत देख्न सकिन्छ।’

समाजमा चरम निराशा छ। आर्थिक संकटले मानिसमा तनाव बढ्दो छ। तनाव कम गर्न भन्दै नशा सेवन गर्नेहरूको भीड बढ्दै गएको छ। यी सबको कारण पत्ता लगाएर निदान गर्नतर्फ सरोकारवाला सबैको सामूहिक प्रयत्न जरुरी छ,’ एसपी आचार्यले भने।

पछिल्लो समय मधेस प्रदेशमा हत्या अपराधको ग्राफ बढ्दो छ। प्रदेशका आठवटै जिल्लामा दर्ता भएका मुद्दालाई आधार मान्ने हो भने हत्याजन्य आपराधिक घटना बढ्दो देखिएको हो।

मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कर्जब्य ज्यान सम्बन्धि ८५ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा ८५ जनाको हत्या भएको छ। जसमा ४२ जना पुरुष, ३४ जना महिला, ४ जना बालक र पाँचजना बालिका छन्।

सप्तरीमा १३ जना, सिरहामा १० जना, धनुषामा ११ जना, महोत्तरीमा सातजना, सर्लाहीमा आठजना, रौतहटमा १२ जना, बारामा १३ जना र पर्सामा ११ जनाको हत्या भएको तथ्यांक छ।

प्रकाशित: २१ वैशाख २०८१ ०८:३३ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School