प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार

अमेरिकी मध्यावधि निर्वाचनअघि निर्वाचन सुरक्षाबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिन। तस्बिर : अन्ना मोनिमेकर/एएफपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीका नाममा सम्बोधन गर्दै अमेरिकी निर्वाचन प्रणालीको वैधतामाथि पुनः प्रश्न उठाएका छन्। सन् २०२० को चुनावमा आफ्नो हारलाई अस्वीकार गर्दै उनले यसपटक एक कडा मतदाता परिचयपत्र विधेयक पारित गराउने प्रयासलाई न्यायोचित ठहराउन खोजेका हुन्। तर, आफ्नो सम्बोधनका क्रममा उनले मत परिणाममा हेरफेर भएको वा चुनावी नतिजा बदलिएको कुनै पनि ठोस प्रमाण भने पेश गर्न सकेनन्।
यसैबीच, ह्वाइट हाउसमा आयोजित एक ब्रिफिङका क्रममा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मुलिनले ट्रम्पको दाबीलाई समर्थन गर्दै चुनावी धोखाधडीका मामिलाहरूलाई आक्रामक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। मुलिनले आगामी मध्यावधि निर्वाचनमा कसैले अवैध रूपमा मतदान गरेमा उनीहरूलाई खोजेर कानुनी कठघरामा उभ्याइने चेतावनी दिए।
साथै, संवेदनशील मतदाता विवरणहरू लाई बुझाउन अस्वीकार गर्ने राज्यका निर्वाचन अधिकारीहरूलाई जरिवाना, दण्ड वा जेल सजाय हुन सक्ने धम्की समेत उनले दिएका छन्। गैर-नागरिक मतदाताहरू पहिचान गर्न डीएचएसले परिमार्जन गरेको नयाँ प्रणाली प्रयोग नगर्ने राज्यहरूलाई छानबिनको प्राथमिकतामा राखिने मुलिनले बताए। यद्यपि, एक संघीय न्यायाधीशले मतदाताको गोपनीयता र योग्य मतदाताहरूको नाम गल्तीवश हट्न सक्ने जोखिमलाई औंल्याउँदै उक्त प्रणालीको प्रयोगमा रोक लगाइसकेका छन्।
अर्कोतर्फ, मेन राज्यमा यसै साता आइसका एक अधिकारीद्वारा एक कोलम्बियन नागरिकको गोली हानी हत्या गरिएको घटनाबारे मुलिनले अनुसन्धान भइरहेको भन्दै थप टिप्पणी गर्न अस्वीकार गरे। उक्त अधिकारीका आफन्तहरूले भने ती अधिकारी गम्भीर मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हिंसात्मक इतिहास भएकाले उनलाई हतियार र ब्याज दिनै नहुने बताएका थिए।
यसका बावजुद मुलिनले डिपार्टमेन्टले प्रवर्तन कार्यलाई तीव्र पारेको र पक्राउ पर्नेहरूको संख्यामा दैनिक नयाँ रेकर्ड कायम भइरहेको दाबी गरे। उनका अनुसार सन् २०२५ मा ४,४२,६३७ जना र यो वर्ष अहिलेसम्म ४,०३,२९४ जनालाई देश निकाला गरिएको छ। यद्यपि, आइस र डीएचएसले नियमित रूपमा पक्राउ र निष्कासनको आधिकारिक तथ्याङ्क सार्वजनिक नगर्ने भएकाले यी दाबीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिने भन्दै आलोचना भइरहेको छ।