प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीमा सहयोग पुर्याउनेलाई ५० मिलियन डलरको पुरस्कार दिने घोषणा गरेको छ। यो पुरस्कारको राशी यसअघिको २५ मिलियन डलरबाट दोब्बर पारिएको हो।
अमेरिकाले मादुरोलाई “विश्वका सबैभन्दा ठूला लागूऔषध तस्करहरू मध्ये एक” भएको आरोप लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोका आलोचक रहँदै आएका छन्। अमेरिकाले मादुरोले यस वर्षको जनवरीमा धाँधलीपूर्ण निर्वाचनमार्फत फेरि पदभार सम्हालेको आरोप लगाएको थियो।
अमेरिकी एटर्नी जनरल पाम बन्डीले यसअघिको २५ मिलियन डलर पुरस्कारलाई दोब्बर बनाउने घोषणा गर्दै मादुरो प्रत्यक्ष रूपमा लागूऔषध तस्करी सञ्जालसँग जोडिएको दाबी गरेकी छन्।
यता, भेनेजुएलाका विदेशमन्त्री इभान गिलले भने यो नयाँ इनामलाई “दुर्भाग्यपूर्ण” र “राजनीतिक प्रचार” बताएका छन्। उनले यो कदमलाई अमेरिकी अधिकारीहरूको “निराशाजनक प्रयास” भनेका छन्।
ट्रम्पको पहिलो कार्यकालमै अमेरिकाले मादुरो र उनका उच्चस्तरीय अधिकारीहरूविरुद्ध नार्को–टेरोरिज्म, भ्रष्टाचार, र लागूऔषध तस्करीसहितका आरोप लगाएको थियो।
अमेरिकी न्याय मन्त्रालयले मादुरोले कोलम्बियाली विद्रोही समूह ‘फार्क’ सँग मिलेर “अमेरिकाभरि कोकिनको बाढी ल्याउने हतियार” का रूपमा प्रयोग गरेको दाबी गरेको थियो।
बन्डीले ‘एक्स’ (पहिले ट्विटर) मा भिडिओ पोस्ट गर्दै मादुरोले ‘ट्रेन दे अरागुआ’ नामक भेनेजुएली समूह र मेक्सिकोमा आधारित शक्तिशाली ‘सिनालोआ कार्टेल’ सँग मिलेर काम गरेको आरोप लगाएकी छन्।
उनका अनुसार अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनले मादुरो र उनका सहयोगीहरूसँग सम्बन्धित ३० टन कोकिन बरामद गरेको छ, जसमध्ये करिब ७ टन मादुरोसँग प्रत्यक्ष सम्बन्धित रहेको बताइएको छ।
मादुरोले भने विगतमा आफू लागूऔषध तस्करीमा संलग्न रहेको अमेरिकी आरोपलाई सधैँ अस्वीकार गर्दै आएका छन्। यो विवाद अमेरिकासँगको लामो समयदेखिको राजनीतिक तनावको निरन्तरता भएको विज्ञहरू बताउँछन्।
सन् २०१३ मा ह्यूगो चाभेजको उत्तराधिकारी बनेका मादुरो भेनेजुएलाको ‘युनाइटेड सोसलिस्ट पार्टी’का नेता हुन्। उनी विपक्षी समूहलाई दमन गर्ने र आलोचकको आवाज दबाउने आरोपमा बारम्बार आलोचित हुँदै आएका छन्।

